कसरी बिताउने बन्दाबन्दीको समय ?

कतिपय व्यक्तिहरुले बन्दाबन्दीको समयलाई व्यवस्थापन गर्न नसक्दा तनाव उत्पन्न भइरहेको हुन सक्छ भने कतिपय मान्छेहरुले यो समयलाई सदुपयोग गरिरहेका पनि छन् ।

मन भण्डारी

अहिले कोरोना माहारीको कारण सबै क्षेत्रहरु बन्द छन् । सबै ठाउँको बजार बन्द छन्, धेरै व्यक्तिहरुले काम गर्ने कार्यालय बन्द छन्, कम्पनी बन्द छन्, व्यापार व्यवसाय, शैक्षिक संस्थाहरु बन्द छन्, संघ संस्थाहरु बन्द छन् । यो बन्दाबन्दीको समयमा धेरै जसो मान्छेहरु घरमै बस्नु परिरहेको छ । रहरले नभई बाध्यता र आफ्नो स्वास्थ्य सुरक्षाका लागि घरमै बस्नु परेको छ । दिनभरि घर बाहिर काममा व्यस्त हुने व्यक्तिहरु घरमै बस्नु पर्दा धेरैलाई समय बिताउन गाह्रो भइरहेको छ । आफूले दैनिक रूपमा गर्दै आएको काम घरमा बसेर गर्न नसकिने र गर्ने वातावरण छैन । यो कारणले धेरै मान्छेलाई तनाव भएको हुन सक्छ । कतिपय व्यक्तिहरुले बन्दाबन्दीको समयलाई व्यवस्थापन गर्न नसक्दा तनाव उत्पन्न भइरहेको हुन सक्छ भने कतिपय मान्छेहरुले यो समयलाई सदुपयोग गरिरहेका पनि छन् । बन्दाबन्दीको समयमा पनि धेरै कामहरु गर्न सकिने र आफूलाई व्यस्त बनाउन सकिने धेरै कुराहरु छन् । तर धेरैलाई के गर्ने, कसो गर्ने, कहाँ जाने, कसरी समय बिताउने भन्ने पिरले पिरोलिरहेको छ । हामीले यो समयमा गर्न सकिने र समयको व्यवस्थापन गर्न सकिने केही विषयहरुको बारेमा चर्चा गर्न गइरहेको छु ।

१. सकारात्मक सोच्ने, सोच बदल्ने
धेरै मान्छेहरुले आफ्नो सोचलाई सकारात्मक बनाउन नसक्दा समस्या तथा तनाव उत्पन्न भइरहेको हुन्छ । हरेक कुरालाई आशा र भरोशामा रुपान्तरण गर्नुको साटो निराश हुने, अनावश्यक कुराहरु मनमा खेलाउने र समस्याहरु मात्रै देख्ने गर्नाले तनाव उत्पन्न हुने गर्दछ । समाजमा घटिरहेका समस्याहरु, नकारात्मक घटनाहरु, बिग्रिएको र समस्या समाधान हुन नसकेको विषयको बारेमा धेरै सोच्ने र चिन्ता लिनुको सट्टा समस्या समाधान भएका, सफलता हासिल गरेका, सम्भावनाहरु भएका, परिवर्तन भएका र सकारात्मक प्रभाव पारेका विषयहरुको वारेमा बुझ्ने, सोच्ने र चिन्तन गर्न सक्नु पर्दछ । कुनै एउटा सानो समस्यालाई चारैतिर हल्ला फैलाउने तर धेरै राम्रा कामहरुलाई नदेख्ने, प्रचार नगर्ने र सूचना प्रवाह नगर्नाले झन मान्छेलाई समस्या उत्पन्न गर्छ । मान्छे परिवर्तन हुन धेरै समय लाग्दैन । धेरै मान्छेहरु परिवर्तनका लागि ठाउँ बदल्छन्, बसेको स्थान बदल्छ, लगाएको कपडा बदल्छन्, खाना खाने तरिका बदल्छन्, साथी बदल्छन्, काम गर्ने कार्यालय बदल्छन्, नाता बदल्छन्, पेशा बदल्छन्, घर बदल्छन् तर सोच बदल्दैन । तनाव व्यवस्थापन गर्न, परिवर्तन हुन सोच बदल्नु पर्दछ, सकारात्मक सोच नै उत्तम उपाय हो ।

२. अध्यायन अनुसन्धान गर्ने, व्यस्त रहने
अहिलेको यो समयमा हामीले आफूलाई व्यस्त बनाउने र धेरै कुराहरु मनमा खेल्न नदिने अर्को महत्वपूर्ण उपाय हो अध्यायन अनुसन्धान गर्ने । अघिपछिको सहज वातावरण र परिस्थितिमा हामीलाई कामबाट फुर्सद हुँदैन, काममै व्यस्त हुनुपर्ने भएकाले हामीलाई अध्यायन गर्ने, नयाँ कुराको बारेमा जानकारी लिने अनुसन्धान गर्ने समय मिलेको नहुन सक्छ । अहिलेको यो स्थितिमा घरमै बसिरहेको समयमा विभिन्न पुस्तकहरु पढ्ने, विभिन्न विषयमा खोज गर्ने, उत्पे्ररणात्मक भिडियोहरु हेर्ने, मनोरञ्जन लिने, आफूलाई मन पर्ने विषयको बारेमा बिचारहरु लेख्ने, साहित्य सिर्जना गर्ने, सकारात्मक विषयमा अध्ययन गर्ने, अध्ययन गरेका र अध्ययनबाट सिकेको कुरा अरुलाई भन्ने गर्नाले आफूलाई व्यस्त बनाउन सकिन्छ भने अर्कोतिर ज्ञान बढ्छ । हाम्रो अधिकांश समय खेर गइरहेको छ तर हामी अध्ययन तथा खोज अनुसन्धानमा ध्यान दिइरहेका हुँदैनौँ । आफूलाई व्यस्त बनाउने, समय व्यवस्थापन गर्ने, क्षमता विकास गर्ने र ज्ञान वृद्धि गर्ने उपयुक्त कार्य हो अध्ययन गर्नु ।

३. फेसबुक चलाउनुको सट्टा सिर्जनशील कार्य गर्ने
धेरैको अधिकांश समय फेसबुक चलाउनमा बितिरहेको हुन्छ । फेसबुक चलाउनाले नयाँ सूचना तथा जानकारी प्राप्त हुने, विभिन्न गतिविधिहरु थाहा हुने र आफ्ना आफन्त र साथीभाइसँग कुराकानी हुने र हालखबर थाहा हुने फाइदा भइरहेको छ । त्यसको साथै फेसबुकमा राम्रा कुरा, राम्रा सूचना र राम्रा समाचार तथा जानकारी भन्दा बढी नराम्रा र नकारात्मक विषयको सूचना तथा जानकारी छिटो आउने भएकाले मान्छेलाई निरास बनाउने, चिन्तित बनाउने र तनाव दिने भएकाले सकेसम्म फेसबुकको कम प्रयोग नगर्दानै राम्रो हुन्छ । अहिलेको यो अवस्थामा त कोरोनालाई जितेर, निको भएका व्यक्तिहरुको बारेमा कम र कोरोनाको कारणले मृत्य भएका र कोरोना संक्रमित भएकाको बारेमा बढी प्रचारबाची गर्ने गरेको पाइन्छ । जसको कारण आम मानिसमा नकारात्मक सन्देश गइरहेको हुन्छ । फेसबुक चलाउने समयमा अनलाइनमार्फत् आफूलाई मन पर्ने विषयको बारेमा खोज गरी अध्ययन गर्ने, जीवनोपयोगी सीप सिक्ने, जीवन जिउने कला सिक्ने, विभिन्न विषयको सीप सिक्ने, आफूलाई मन परेको र समाजमा राम्रो सन्देश दिने सामाग्रीहरु सेयर गर्ने, सूचना प्रवाह गर्नाले आफ्नो जीवनमा धेरै सिकाइ हुने, ज्ञान हासिल हुने, सीप सिकिनुका साथै समय पनि व्यवस्थापन हुन्छ ।

४. आफूले योजना बनाएको र गर्न बाँकी रहेका काम गर्ने
हामीले जीवनमा विभिन्न किसिमका काम गर्ने योजना बनाएका हुन्छौँ, उद्देश्य बनाएका हुन्छौँ अनि सफल व्यक्ति बन्ने सपना देखेका हुन्छौँ । विडम्बना हामीले बनाएका योजना, उद्देश्य र सपना पूरा गर्न सकिरहेका हुँदैनौँ । कतिपय कामहरु व्यस्त समयका बावजुत गर्न सकिरहेका हँुदैनौँ भने कतिपय कामहरु पछि गरौँला भनेर साचेर राख्दा गर्न सकिरहेका छैनौँ । हामीसँग धेरै योजना छन्, गर्न बाँकी रहेका काम छन् र सपना छन् । व्यस्तताको कारण लामो समयदेखि गर्न नसकिएका कामहरु छन्, योजनाहरु पूरा गर्न बाँकी छन् । अहिलेको बन्दाबन्दीमा घरमा बसिरहेको समयमा ती बाँकी रहेका काम र योजनाहरु पूरा गर्न सकिन्छ । धेरै अपूरा र अधुरा कामहरु पूरा गर्न सकिन्छ, पछि गरौँला भनेर साचेर राखेका कामहरु गर्न सकिन्छ र धेरै राम्रा कामहरुको थालनी गर्न सकिन्छ । जीवनमा जति अल्छि ग¥यो त्यतिनै काम साचिन्छन् र थुपारिन्छन् । हाम्रो जीवनलाई अल्छि बनाउने वा उर्जाशील बनाउने त्यो हाम्रै हातमा छ । काम गर्नलाई कसैले रोक्दैन र छेक्दैन पनि । अहिलेको समय कसरी बिताउने भनेर चिन्तित हुनुपर्ने कारणै छैन विगतदेखिका साचेर बसेका कामहरु गरौँ, योजनाहरु पूरा गरौँ र नयाँ योजना बनाउन लागि परौँ ।

५. आफ्नो बारेमा र आफूले गरेका कामको बारेमा मूल्याङ्कन गर्ने
विगतको सामान्य समयमा हामी विभिन्न काममा व्यस्त हुने भएकोले हामी आफैंले गरेको कामको मूल्याङ्कन गर्ने समय प्राप्त थिएन, भएर पनि मूल्यङ्कन गरेका थिएनौँ । त्यसकारण यो समयमा हामीले गरेका र गरिरहेका कामहरुको र समग्र आफ्नो बारेमा स्व मूल्याङ्कन गर्न सक्छौँ र आगामी दिनहरूमा आफ्नो कार्यलाई थप व्यवस्थित, प्रभावकारी र संगठित बनाउन यो समयलाई सदुपयोग गर्न सक्छौँ । हाम्रा उपलब्धिहरू विगतका कार्यको प्रतिफलको रूपमा रहेका हुन्छन् । यो समयमा आफ्नो विगत सम्झिने, रमाउने विगतबाट सिक्ने र विगतबाट सिकेको पाठलाई वर्तमान र भविष्यमा सामान्यीकरण गर्न सक्छौँ । विगतमा आफूले गरेका राम्रा र नराम्रा अथवा बिगारेका कामहरुको सम्झना गर्ने, राम्रो पक्षलाई अझैँ राम्रो बनाउँदै लैजाने, कमीकमजोरीलाई सुधार गर्ने र नराम्रो पक्षलाई त्याग गर्न यो समयलाई उपयोग गर्न सकिन्छ ।

६. अनलाइन कलास तथा तालिममा सहभागी हुने
अहिले सामान्य अवस्थाको जसरी विभिन्न कार्यक्रमहरु हुने, कलासहरु तथा तालिमहरु सञ्चालन हुने अवस्था छैन । यो समयमा प्रविधिको प्रयोग गर्दै अनलाइनका माध्यामबाट बिभिन्न किसिमका कलास तथा तालिमहरु सञ्चालन भइरहेका छन् । आफ्नो अध्ययनको विषय वा रुचिको विषयका कलासहरुमा जोडिएर ज्ञानलाई बढाउन यो समयलाई प्रयोग गर्न सकिन्छ । त्यसैगरी अहिले विभिन्न संस्था तथा व्यक्तिहरुले अनलाइनमार्फत् विभिन्न खालका क्षमता विकास, मोटिभेसनल तथा व्यक्तित्व विकासका तालिमहरु संचालन गरिरहेका छन् । यस्ता तालिमहरुमा सहभागी भएर आफ्नो क्षमता विकास, बोल्ने कलाको विकास, जीवन जिउने कलाको विकास गर्नुका साथै ज्ञान आर्जन गर्न पनि यो समयलाई उपयोग गर्न सकिन्छ ।

७. सामानहरु मिलाउने, व्यवस्थापन गर्ने
समयको व्यस्तताले हाम्रो घरको, कार्यालयको र व्यक्तिगत सामान समेत अस्तव्यस्त अवस्थामा हुन सक्छन् । कतिपय हाम्रा कागजपत्र, प्रमाणपत्र जथाभावी अवस्थामा राखिएका हुन सक्छन् अथवा कुन कागजपत्र कहाँ छ, कुन सामान कहाँ छ भन्ने थाहा नहुन पनि सक्छ । त्यसैले अहिलेको यो समयमा हाम्रा नभेटिएका सामानहरु खोज्ने र नमिलेका सामानहरु मिलाएर राख्न सकिन्छ । हाम्रो दराज वा ¥याकमा धेरै किताबहरु कुहिने अवस्थामा हुन सक्छन्, कपडाहरु पनि त्यस्तै अवस्थामा हुन सक्छन् र अन्य धेरै सामानहरु अव्यवस्थित हुन सक्छन् । आफू काम गर्ने कार्यालय, संस्था तथा व्यवसायका विभिन्न फाइल तथा कागजजातहरु लथालिंग अवस्थामा हुन सक्छन्, मिलाएर नराखिएको हुन सक्छ धेरै फाइलहरुमा धमिरो लागेको हुन सक्छ, मुसाले खाएको हुन सक्छ । यस्तो अवस्थामा सामानहरुलाई मिलाउने, व्यवस्थित गर्ने र सफाइ गर्ने यो उपयुक्त समय हुन सक्छ ।

यीलगायत धेरै कामहरु गर्न सकिन्छ यो समयमा । घरायसी काममा सघाउ पुर्‍याउने, बालबालिकासँग अन्तक्र्रिया गर्ने, आफन्तहरुसँग छलफल तथा अन्तक्र्रिया गर्नेलगायतका कामहरुमा समेत व्यस्त हुन सकिन्छ । आफूलाई व्यस्त, स्वस्थ र व्यवस्थित बनाउन यो समयको सही सदुयोग गरी बन्दाबन्दीलाई समस्या होइन अवसरको रूपमा बुझौँ ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech