लोकहितमा तल्लीन लोक बहादुर

गाउँघरमा जस्तो गाईबाख्रा चराउन नपर्ने, काम गरै पैसा आउने, फिल्म हेर्न गए पनि भयो । यो सबै माहोल देखेपछि लोकबहादुरले भारतमै बस्ने निधो गरिसकेका थिए ।

साबित्री गिरी

परिवर्तनशील दुनियाँमा विकासका नयाँ—नयाँ संरचना बनेका छन् । सुविधाले जीवनशैली आरामदायी बनेका छन् । हाम्रो भाषा फेरिएको छ, रहनसहन फेरिएको छ तर प्रकृतिको नियम फेरिएको छैन । हामी यस सत्यताभित्र आफ्नो जीवनको लक्ष्य खोज्न सक्छौं अनि त्यो लक्ष्य प्राप्तिका लागि कठोर संघर्ष गर्न सक्छौं । यसरी समय र प्रकृतिको बीचमा संघर्ष गरेर जीवनको परिभाषा खोज्ने र सबैमाझ परिचित हुने आँट र साहस थोरै व्यक्तिहरुले गर्ने गर्छन् । अनि त्यस्ता व्यक्तिहरु सबैको नजरमा अटाउँछन् पनि । यस्तै न्यायको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल कानुन व्यवसायी नेपालगन्ज निवासी लोकबहादुर शाहको सफलताको बेग्लै कथा छ । न्यायको क्षेत्रमा दुई दशक बढी समय व्यतीत गरेका शाहको जन्मस्थान अछाम जिल्ला हो । लोकबहादुरको जन्मस्थान पहिले अछाम जिल्लाको शान्तडा गाविस वडा नं. ७ मा पथ्र्यो भने अहिले रामारोशन गाउँपालिका वडा नं. ३ मा पर्छ । सफल कानुन व्यवसायीको परिचय बनाएका अधिवक्ता लोकबहादुर शाहले सुदूरपश्चिमको पहाडी जिल्लाको गरिबी र दुःखलाई नजिकबाट नियालेका मात्र छैनन् भोगेका पनि छन् । त्यो विकट गाउँबाट उठेर फराकिलो क्षितिज पहिल्याउनु त्यति सहज कहाँ छ र !

आमा ऐनादेवी शाह र बुबा विष्णुबहादुर शाहको कान्छो छोराका रूपमा वि.सं. २०३१ वैशाख १० गते बिहीबारका दिन जन्मिएका हुन् । उनको न्वारनको नाम भने इमबहादुर शाह हो । शाह घरपरिवारमा सबैका प्रिय व्यक्तित्व हुन् । उनका दुई दिदिबहिनी र दुईवटा दाजुभाइ छन् । उनको मामाघर बाजुरा जिल्ला हो । लोकबहादुर शाह सानो छँदा चञ्चले स्वभावका थिए । उनलाई अरुको ध्यान आफूतिर तान्न मन लाग्थ्यो । जुल्फी पारेर कपाल कोर्न मन लाग्थ्यो । सानो गोलो ऐना र काइँयो सधैं साथमा बोकेरै हिँड्थे । लोकबहादुर शाह आफू ५ वर्षको हुँदाको क्षणलाई धेरै सम्झन्छन् । साथीभाइहरुसँग खेलेको कुरा निकै याद आउँछ उनलाई । स्कुले जीवनलाई पनि धेरै स्मरण गर्छन् । उनले आफ्नो घरपरिवारलाई धेरै सम्झन्छन् । मेलापात गरेको र जङ्गल गएर बस्तुभाउ चराएको कुरा सम्झँदा अहिले पनि त्यहीँ भएको अनुभूति गर्छन् । लोकबहादुर सानोमा खोपी खेल र ढुङ्गा फाल्ने खेल, पैसा फाल्ने खेलहरु धेरै खेल्ने गर्थे । उनका त्यतिखेरका साथीहरु आफ्नो घरमा खाना खाने र बेलुका एकै ठाउँमा सुत्ने गर्थे । उनका ५÷६ जनाहरु साथी थिए उनीहरु एकछिन पनि छुट्दैन थिए । लोकबहादुरले अछामको मेल रूख डाँडाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट अक्षर चिन्ने अवसर पाए । घरबाट आधा घण्टा हिँडेर स्कुल जानु प¥थ्यो । उनी पाँच वर्षको उमेरबाट पढ्न सुरु गरेका हुन् । कहिलेकाही खाली खुट्टा विद्यालय गएको लोकबहादुर स्मरण गर्छन् । त्यतिबेला कापी, किताब, मसी, कलम वा डटपेन पनि सहजै पाइँदैनथ्यो । अक्षर चिन्न कालो सिलटपाटी र चकको प्रयोग हुन्थ्यो । तीन कक्षा पास भएपछि उनी चाफामाडौँ निमावि मुजामा कक्षा चारमा भर्ना भएँ । त्यहाँ उनले कक्षा सातसम्म पढे । अङ्ग्रेजीको एबिसीडी पनि यही स्कुलबाट सिके । पसेला र धाम्बाडा गाउँ भएर चाफामाडौँ जानुप¥थ्यो । सधैजसो सर्ट र हाप पाइन्ट लगाएर स्कुल जाने लोकबहादुर कहिलेकाही पाइन्ट लगाएर स्कुल जाँदा सबै जना गलल्ल हाँस्ने गर्थे । उनी सरहरु सँग बोल्न डराउने गर्थे । कक्षा आठदेखि एसएलसीसम्म उनले यशोदा मावि नेटाकोट, तडीगैडा अर्थात हालको रामारोशनमा पढे । स्कुल पुग्न गाउँबाट झन्डै दुई घन्टा पैदल हिँड्नुपथ्र्यो । विद्यालयबाट फर्किंदा कैलाश खोलामा पौडी खेलेको, माछा मारेको र काफल टिपेर खाएको यादले कहिले काही सताउने गर्छ लोकबहादुरलाई । जङ्गलका गुना बाँदरसँग भने असाध्यै डराउने गर्थे लोकबहादुर । एसएलसी दिँदा उनी मात्र १५ वर्षका थिए । बयलपाटमा केन्द्र परेको थियो । उनको नागरिकता नभएको र समयमा जनकारी नपाएर टेस्ट परीक्षा भन्दा पूर्व भर्नु पर्ने रजिस्ट्रेसन फर्म भर्न छुटेको थियो । उनलाई उनका शिक्षकहरुले त्यतिबेला सहयोग गरे । त्यसपछि उनले विक्रम संवत् २०४६ सालमा एसएलसी परीक्षा दिए र पास पनि भए ।

त्यतिबेला उनको घरपरिवारमा निकै खुसीयाली छाएको थियो । अछाममा क्याम्पस खुलेका थिएनन् । पढ्नका लागि नेपालगन्ज या काठमाण्डौ जानुपर्ने अवस्था थियो । उनले नेपालगन्ज आएर पढ्ने निधो गरेका थिए । जब उनले नेपालगन्ज क्याम्पसमा आइए भर्नाको अवधि सकिएको थाहा पाए । त्यसपछि त्यस वर्षको समय त्यतिकै खेर जाने भयो भन्दै लोकबहादुरले चिन्ता व्यक्त गर्न थाले । त्यसपछि उनी दाइको पछि—पछि लागेर भारत जाने तयारी गरे । दाइहरु जाँदै गर्दा रुदै पछि लागे । घरका सदस्यहरुले नजान आग्रह गरे । तर पनि उनी घरमा लगाएको लुगासँगै भागेर रुदै जिद्दी गरेर भारतका लागि भनेर जन्मभूमि छाडे । उकालो ओरालो गर्दै मनमा हजारौ सपना बुन्दै उनी बर्दियाको सत्तीघाट हुँदै भारतको यात्रा तय गरे । त्यो यात्राका क्रममा जब उनले रेल, बस, जिपलगायतका सवारी साधनहरु गुडेको देखे । शहरी चलहपहल देखे । त्यसपछि उनले त्यो दृश्यलाई पहाडको दृश्यहरु सँग नियाल्न थाले । विकासको अवस्थालाई तुलना गर्न थाले । मनमा अनेकन कुराहरु खेलाउन थाले अनि पाइलाहरु पनि चाल्दै गए । आफ्नो गाउँको भन्दा फरक ठाउँ पनि हुँदो रैछ भन्ने कुरा उनले त्यतिबेला महसुस गरे । उनलाई शहरको माहोल निकै अनौठो लाग्यो । अनि सुविधा सम्पन्न पनि लाग्यो । पहिलोपटक घर छोडेर रुदै निस्केका लोकबहादुर शाहले भारतमा धेरै कुराको अनुभवन गर्न पाए । जुन अनुभवले अहिले पनि लोकबहादुरलाई काम गर्न ऊर्जा मिल्छ ।
भारतमा छँदा उनी दाइसँग कहिलेकाही चौकिदारी पनि गर्ने गर्थे । काम गरेबापत पारिश्रमिक पनि पाउथे । गाउँमा जति बाख्रा चराए पनि अनि काम गरे पनि कसैले पैसा नदिने तर शहरमा पैसा पाइने कुराले उनको मन तानेको थियो । यसै सिलसिलामा उनका दाजुले एक घरमा काम लगाइदिए । तर त्यहाँ उनले धेरै समय काम गरेनन् बरु कम्प्युटर सिक्ने अवसर पाए । त्यहाँ बस्दा उनले टाइप राइटर सिक्ने वातावरण राम्रो पाए । गाउँघरमा जस्तो गाईबाख्रा चराउन नपर्ने, काम गरै पैसा आउने, फिल्म हेर्न गए पनि भयो । यो सबै माहोल देखेपछि लोकबहादुरले भारतमै बस्ने निधो गरिसकेका थिए । यस्तो वातावरण देखेपछि लोकबहादुरलाई भारत छोडेर घर फर्किन मन लागेन । त्यही बसेर केही काम गर्छु भन्ने सोच राखे । तर उनका बुबाले उनलाई शिक्षक बनेको हेर्ने रहर गरेका थिए । गाउँघरमा मास्टर पेसालाई निकै ठूलो मान्छे मान्ने भएकाले बुबाले निकै कर गरेको उनी बताउँछन् । त्यसपछि बुबाले पटक—पटक चिठ्ठी लेखेर छोरालाई पठाउन थाले । बुबाले निरन्तर बोलाएपछि लोकबहादुरले अन्तः घर फर्किने निर्णय गरे ।

त्यसपछि शहरी वातावरण त्यहाँको सुविधा अनि नेपालीहरुको अवस्था मनन गर्दै घरसम्म पुगे । घर पुगेपछि शैक्षिक यात्रा अगाडि बढाउने कुरा सोचे । कुन विषय पढ्ने र कहाँ पढ्ने भन्ने कुराले लोकबहादुरलाई दोधारमा पा¥यो । उनलाई नेपालगन्ज पढ्न पठाउने कुरा थियो तर कहाँ बस्ने निधो नभएकाले उनले सुर्खेत जाने सोच बनाए । त्यहाँ उनका ठूलोबुबाका छोरा थिए । त्यसपछि भर्नाको लागि आवश्यक पर्ने कागजपत्र जुटाउन तिर लागे । सुर्खेतका क्याम्पसमा कुन—कुन विषयमा पढाइ हुन्छ उनलाई केही ज्ञान थिएन । उनी अंग्रेजी र गणित विषयमा निकै कमजोर थिए । उनले अंग्रेजी र गणित पढ्न नपर्ने विषय मात्र पढ्ने इच्छा व्यक्त गरे । त्यसपछि कानुन पढ्दा गणित पढ्नु नपर्ने र अंग्रेजी सबैमा अनिवार्य पढ्नै पर्ने कुरा थाहा पाएपछि उनी सुर्खेत जिल्लामा कानुन विषय पढ्न पुगे । उनले वकिल बन्छु भनेर त्यो विषय रोजेका होइनन् तर आज त्यहीँ विषयको अध्ययनले र कर्मले यहाँसम्म पु¥यायो ।

सुर्खेतबाट आइएल पास भएपछि उनले अगाडिको शैक्षिक यात्रालाई पनि निरन्तरता दिन चाहे । स्नातक पढ्न नेपालगन्ज जाने कि काठमाण्डौ भन्ने कुराले फेरि उनलाई चिन्तनशील बनायो । त्यसपछि विक्रम संवत् २०५० सालमा नेपालगन्ज झरे । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट उच्च शिक्षाको सुरुवात गरे । सुर्खेतमा आफन्ती भए पनि नेपालगन्जमा कोही थिएनन् । उनी बाँके गाउँमा डेरामा बस्न सुरु गरे । नेपालगन्ज बसाइ डेराबाट सुरु भए पनि अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित भृकुटीनगरमा लोकबहादुरको निजी निवास छ । नेपालगन्ज बसाइ शुभ रहेको लोकबहादुर बताउँछन् । किनभने शाहले वकालत पनि नेपालगन्जबाटै सुरु गरे भने अहिले पनि यही पेसालाई नेपालगन्जमै निरन्तरता दिइनै रहेका छन् । अहिले नेपालगन्जकै स्थायी बासिन्दा भएकोमा उनलाई गर्व छ । नेपालगन्जको स्थायी बासिन्दा हुनु अघि उनका १८ वर्ष डेरामा बित्यो । बाँके गाउँबाट सुरु भएको उनको डेरा यात्रा बुलबुलिया हुँदै भृकुटीनगरसम्म आइपुग्दा चारवटा घरमा बसे । डेरामै विवाह गरे । डेरामै सन्तान जन्माए ।

उनले विवाह भने विक्रम संवत् २०५५ सालमा गरेका हुन् । बिएल दोस्रो वर्षमा पढिरहँदा घरबाट विवाहका लागि दबाब आएको थियो । तर उनलाई पढाइ सकेर बिहे गर्ने सोच थियो । उनका बुबा दमका रोगी थिए । उनका बुबाले उनको विवाह हेर्ने अन्तिम इच्छा व्यक्त गरेका थिए । उनी नेपालगन्ज आएको दुई वर्ष मात्र भएको थियो । आयश्रोत केही नभएकाले तुरुन्तै बिहे गर्न चाहन्थेनन् । तर पनि बुबाको इच्छा अनुसार केटी मन पराएको र बिहेको तयारी गर्नु भनि चिठ्ठी पठाए । त्यही बेला उनका बुबालाई दमले च्याप्दा विक्रम संवत् २०५२ साल फागुन २ गते स्वर्गारोहण भयो । उनको बुबाको छोरोको बिहे हेर्ने सपना पूरा हुन सकेन । बुबाको स्वर्गवासले उनको बिहे धकेलियो । विक्रम संवत् २०५४ सालमा बीएलको पढाइ पूरा गरे लोकबहादुरले । यसबेला उनी कानुन व्यवसायमा प्रवेश गरिसकेका थिए । बीएल सकिएको र कानुन व्यवसायमा प्रवेश गरेकाले अब विवाह हुन्छ भन्ने उनको श्रीमतीका घरपरिवारलाई लागेको थियो । बीचमा बिहेको मिति पटक—पटक सार्नु पर्ने अवस्था आयो । त्यसपछि विक्रम संवत् २०५५ साल फागुन २७ तय भएको मितिमा उनको बिहे भयो । बिहे गर्दा उनी २४ वर्षका थिए । उनले कैलालीको लम्कीबाट मागी विवाह गरेका हुन् । उनको बिहे हुन तीन वर्ष समय लाग्यो । विक्रम संवत् २०५३ सालमा मगनी गरेता पनि विवाहका लागि लामो समय कुर्नु पर्ने परिस्थिति आइलाग्यो । समय बित्दै जाँदा विक्रम संवत् २०५७ साल कात्तिक १५ गते पहिलो सन्तानको रूपमा छोरीको जन्म भयो । उनको नाम सिजन हो । यो कुराले उनकी श्रीमती कन्चन र लोकबहादुर दुवैजना निकै खुसी भए । त्यसबेला लोकबहादुर भर्खरै वकालत पेसामा लागेका थिए । आर्थिक कठिनाइहरु थिए । उनी बिहान अफिस गएर साँझ मात्र घर पुग्थे । जेठी छोरी सिजन जन्मिएको चार वर्षपछि लोकबहादुर र कन्चनको कोखबाट दोस्रो सन्तानका रूपमा एभिनको जन्म भयो । अहिले शाह दम्पतीको जेठी छोरी काठमाण्डौमा बीएल अध्ययन गर्दै छिन् भने कान्छी छोरी कक्षा ९ मा पढ्छिन् ।

पारिवारिक र कार्यालयको दुवै जिम्मेवारीलाई सँगसँगै बढाउँदै लैजाँदा कहिलेकाही महत्वपूर्ण कार्यक्रममा लोकबहादुर सहभागी हुन पाउँदैनन् । नेपाल बार एसोसिएसनको राष्ट्रिय सम्मेलन विक्रम संवत् २०६२ फागुन १७, १८ र १९ गते काठमाण्डौमा आयोजना गरिएको थियो । उनी तत्कालीन पुनरावेदन बारको सचिव थिए । पारिवारिक समस्याका कारण जान पाएनन् । अहिले लोकबहादुर उनका दुई छोरीहरु प्रति गर्वित छन् ।

गणित र अंग्रेजी विषयबाट लखेटिएर कानुन सङ्कायमा पुगेका लोकबहादुरको सफलताको यात्रा अनौठो छ । उनले बीएल गरिसकेपछि आफ्नो जिन्दगीमा के गर्ने भनेर गहन रूपमा सोचे । उनले त्यतिबेला लोकसेवा जाने, व्यापार गर्ने वा निजी ल फर्मबाट वकालत गर्ने भन्ने विषयमा धेरै सोचे । त्यसबेला उनले नेपाल प्रहरीमा पनि जागिर खाने सोच बनाए । तर उनी निकै दुब्लो भएका कारण लाइनमै उनलाई अस्वीकार गरेको महसुस भयो । यसको मुख्य कारण नै आफू पातलो भएको नै थियो । धेरै खाना खाएर मोटाएर ५ वर्षपछि आउनु भनेपछि पुलिस बन्ने सपना तुहियो । उनलाई पुलिस बन्न सोर्स फोर्स नै चाहिन्छ भन्ने पनि लाग्यो । यो समयमा उनलाई बिहे पनि गर्नु थियो अनि रोजीरोटी पनि चलाउनु थियो । उनले अधिवक्ता डिल्लीराज पन्तसँग भेटघाट गरी उनकै ल फर्मबाट काम सुरु गरे ।

त्यस ल फर्ममा केही दिन सहयोगीको काम गरे । उनले यो काम अर्को विकल्प नआउँदासम्मको लागि भनेर काम सुरु गरे । त्यसपछि उनले यही ल फर्ममा वकालतको काम पनि गर्ने अवसर पाए । अनि आफ्नो जिम्मेवारीलाई कटिबद्ध रूपमा निभाए । उनको त्यहीँ मेहनतको परिणाम अहिले पन्त कान्त परामर्श तथा अनुसन्धान केन्द्र नामको सोही ल फर्मलाई निरन्तरता दिएर काम गरेका छन् । उनले आफ्ना गुरु डिल्लीराज पन्तलाई स्मरण गर्दै सोही कार्यालयलाई आफ्नो कार्यालय बनाएर काम गरेका छन् । डिल्लीराज पन्त अहिले काठमाण्डौंमा छन् । आफ्नो शिष्यले यसरी काम गरेको देख्दा डिल्लीराजले पनि खुसी व्यक्त गर्ने गरेको लोकबहादुर बताउँछन् । लोकबहादुर भन्छन्,‘अन्त बसेको भए के हुन्थ्यो थाहाँ थिएन, तर म डिल्लीराज पन्त गुरुसँग बस्दा धेरै कुरा सिक्न पाएँ । पेसामा टिकिरहने वातावरण तयार गरिदिनुभयो । सबै कुराहरु उहाँबाटै सिकें । कर्मको हिसाबले उहाँ मेरो अभिभावक हो र उहाँकै कारणबाट म वकिल बनें । त्यसैले मेरो जीवनको महत्वपूर्ण व्यक्तित्व हो उहाँ । उहाँले कहिल्लै अर्को ल फर्म खोल भन्नु भएन अनि मैले त्यो वातावरण पनि दिएन । उहाँको आम्दानी हेरेर वकिल भएर पनि बाँच्न सकिने रैछ भन्ने लाग्यो । उहाँ क्याम्पसमा पनि पढाउनु हुन्थ्यो । उहाँ नै मेरो सफलताको प्रेरणाको श्रोत हो ।’

लोकबहादुर काम सुरु गर्दा प्रविधिको प्रयोग विस्तार भएको थिएन । अधिकांश कुराहरु हातले नै लेख्नु प¥थ्यो । उनको अक्षर राम्रो भएका कारण लेख्ने काम धेरै पाउथे । उनले धेरै लेखेको लेखै गरेको देख्दा लेखनदास भनेर कतिपयले भन्ने गर्थे । ल फर्ममा काम गर्न थालेपछि उनलाई घरव्यवहार चलाउन सजिलो भयो ।

उनी भन्छन्,‘कोट नै वकिलको पहिचान हो । एकदिन मेरो ल फर्म अगाडि एकजना भारतीय नागरिकले वकिल खोजिरहेका थिए । कसैले कोट नलगाएका कारण वकिल पहिचान गर्न सकेका रहेनछन् । मैले कोट लगाएर जाँदै गर्दा उनले वकिल भनेर खोके । अनि उनको समस्या डिल्लीराज पन्त समक्ष लगें । यो मेरो मार्फत आएको केस भएकाले मैले बहस गर्ने मौका पाएँ । यही बहसले नै आज मलाई यहाँसम्म पु¥यायो । यतिबेला मैले मेरो पहिलो कमाइ ५ सय रुपैयाँ पाएँ । अहिले सम्झिँदा निकै खुसी लाग्छ ।’ लोकहादुर जीवनमा न्यायको क्षेत्रबाहेक अन्त कुनै पनि क्षेत्रमा व्यवसायिक रूपमा लागेनन् । उनले काम गर्ने बेला धेरै धम्की पाए । असुरक्षा महसुस गरे । राजनीतिसँग मुछिएका विषयबस्तुमा बहस गर्दा धेरै असुरक्षा हुने गरेको उनको अनुभव छ । मुगु जिल्लामा भएको युवाहरुको झगडा मिलाउँदा आएको धम्की उनलाई अविस्मरणीय लाग्छ । असाध्यै पीडित र न्याय नपाएको मान्छेले न्याय पाउँदा उनलाई खुसी लाग्छ । अपराधी व्यक्तिले सजाय पाउँदा निकै खुसी लाग्ने लोकबहादुर बताउँछन् ।

उनले सार्वजनिक सरोकारको विषयमा पनि थुप्रै वकालत छन् । उनको पहलमा नागरिकता पाएको विषयले उनलाई निकै खुसी बनाउने गर्छ । सामाजिक क्षेत्रमा प्रत्यक्ष रूपमा सहभागी भएर काम गर्न नपाए पनि न्यायका माध्यमबाट समाजमा शान्ति स्थापना गर्न लोकबहादुरले उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् । न्याय, कानुन र अधिकारको विषयया समाजले भूमिका खेल्नु पर्ने लोकबहादुर बताउँछन् । न्यायको लामो प्रक्रिया भएका कारण न्याय पाउन त्यति सजिलो नभएकाले गरिब दुःखीहरुलाई धेरैपटक सहयोग गरेका छन् लोकबहादुरले । कहिलेकाही राजनीतिक कोणबाट आउने संविधान विपरीतका फैसलाहरुले आफूलाई निकै तनाव उत्पन्न हुने गरेको उनी बताउँछन् । राजनीतिक व्यक्तित्वहरुले आफ्नो धरातल बिर्सिएका कारण समाजमा समस्या उत्पन्न भएको कुराले उनलाई कहिलेकाहीँ वितृष्णा लाग्छ । राजनीतिक आस्था जुन र जे होस् राम्रोलाई राम्रो भन्न सक्नु पर्ने कुरामा लोकबहादुर शाहले जोड दिन्छन् ।

उनले सार्वजनकि सरोकारका विषयमा समेत वकालत गर्छन । यो उनको अर्को खुबी हो । जुन खुबीले आज सबैमाझ थप परिचान बनाएको छ । विक्रम संवत् २०६८ सालमा नेपालगन्जको लोडसेडिङविरुद्ध आवाज उठाउँदै गर्दा उनलाई धेरैले लोडसेडिङ वकिल समेत भने । तर उनको निरन्तरको मेहनतले लोडसेडिङ रोकियो । यो उनको मेहनतको परिणाम हो । यस्तै सफलताका परिणामहरुको हौसलाले नेपालगन्ज सार्वजनिक सरोकारको मुद्दा उठान गर्ने नेपालकै अग्रणी भूमि सिद्ध भएको छ । वरिष्ठ अधिवक्तादेखि नवोदित कानुन व्यवसायीसम्म यस कार्यमा सक्रिय छन् । पिआइएल टिम बनाएर काम गरिरहेका लोकबहादुर र उनको टिमले स्वैच्छाले र निःशुल्क रूपमा (प्रो बोनो सेवा) वायु प्रदूषण, ध्वनि प्रदूषण, वातावरणीय समस्या, विकास निर्माण, यातायात, विद्युत, पानी, सूचना, बालबालिका, ज्येष्ठ नागरिक, दैवी प्रकोप, कैदी बन्दी, कोरोना भाइस (कोभिड—१९) लगायतका दर्जनौँ सार्वजनिक सरोकारका विषयमा अदालतमा पैरवी गर्ने गरेको छ । यस्ता विषयमा मुद्दा दायर गरी मुद्दामा बहस पैरवी गर्ने, कानुन र फैसला कार्यान्वयनमा वकालत गर्ने काममा निरन्तर लागि परेका छन् लोकबहादुर शाह । यसले कानुन व्यावसायीहरु बीचको सम्बन्ध र सहकार्यलाई पनि अगाडि बढाउन मद्दत पुगेको छ । उनको सक्रियतामा सवारी साधनमा हुट हटाउने आदेश कार्यान्वयन भएको छ । जसले सवारी दुर्घटना न्युनीकरणमा सहयोग पुगेको छ । साथै सार्वजनिक सवारी साधनमा सिट सङ्ख्या भन्दा बढी यात्रु राख्न नहुने, सिटबाहेक अन्य भागमा यात्रुलाई राख्न नहुने, अशक्त महिला र ज्येष्ठ नागरिकका लागि निश्चित सिट सङख्या छुट्याउनु पर्ने, लामो दूरीमा कम्तीमा दुई जना सवारी चालक राख्नु पर्ने व्यवस्था अहिले बनेको छ ।

नेपालगन्जको प्रसिद्ध धार्मिक शक्तिपीठ बागेश्वरी मन्दिरको व्यवस्थापनको विषयमा आवाज उठाउँदा लोकबहादुरले मन्दिरका महन्तबाट श्राप समेत पाएका छन् । विक्रम संवत् २०७१ साल चैत १८ गते बागेश्वरी मन्दिर व्यवस्थापन समिति, बागेश्वरी मन्दिरका महन्त, जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका समेतलाई विपक्षी बनाई तत्कालीन पुनरावेदन अदालत नोलगन्जमा परमादेशको रिट दायर गरिएको थियो । बहसकै प्रसङगलाई लिए घाँटी काटिदिने र हातखुट्टा भाँचिदिनेसम्मका धम्कीहरु लोकबहादुरले सहेका छन् । सानो दुःख र मेहनतले लोकबहादुर शाह सबैका प्रिय बनेका होइनन् । यसका लागि उनले हजारौं खुसीहरु बलिदान गरेका छन् ।
लोकबहादुर शाहले वातावरण, जनस्वास्थ्य, शिक्षा, विद्युत, दैवीप्रकोप, बालअधिकार, यातायात, धार्मिक तथा सांस्कृतिक स्थल, सूचनाको हक, नाकाबन्दी, प्रशासन, नागरिकता, कारागार, कैदी बन्दी, पशुपंछी, स्थानीय सरकार र विकास, भूमि सुधार तथा मालपोत, स्थानीय कर, शुल्क, कोरोना भाइरस (कोभिड—१९), लकडाउन (बन्दाबन्दी) जस्ता विषयगत क्षेत्र अर्थात सार्वजनिक सरोकारको विवादमा महत्वपूर्ण बहस गरेका छन् । यस्तो बहसपछि महत्वपूर्ण फैसलाहरु समेत भएका छन् । यी लोकबहादुरका गर्व गर्न लायक विषय बस्तु हुन् । लोकबहादुरका प्रकाशित कृतिहरुमा कानुन व्यवसाय सफलताका आधारहरु र केही अनुभव (वि.सं. २०६६) चौकिदारदेखि वकिलसम्म (संस्मरण वि.सं. २०७७), अ स्टडी अन कलेक्टिभ बार्गेनिङ इन इण्डिया फिलोसोपी प्रोसेस र प्राक्टिस, (वि.सं. २०६९) र कानुन, न्याय, विकास, समाज र अधिकारका विषयमा विभिन्न लेख र रचनाहरु रहेका छन् ।

उनले अहिलेसम्म ४ वटा पुस्तक लेखिसकेका छन् । उनले आगामी दिनमा पनि थुप्रै पुस्तकहरु निकाल्ने तयारी गरिरहेका छन् । साथै कविता सङग्रह निकाल्ने तयारी पनि गरिरहेका छन् लोकबहादुरले । साहित्य क्षेत्रमा पनि उनको उत्तिकै रुचि छ । लोकबहादुर शाहले नेपालका अधिकांश जिल्लाहरुको भ्रमण गरेका छन् । एकपटक भिनाजुको साथीको रूपमा चाइनासम्म पुगेका छन् । केही समय त्यहाँ बसेर उनी फर्किएका थिए । भारतमा उनको जीवनको अविष्मरणीय क्षण बिताएका छन् । जुन क्षणले उनलाई पलपलमा शिक्षा दिन्छ । लोकबहादुरलाई आफ्नो जन्मस्थानमा बिताएका पलहरु उनलाई अहिले सपना जस्तो लाग्छ । उनका दाइहरुले भने धेरै पढेनन् । कान्छो छोरा भएकाले होला लोकबहादुरलाई ठूलो मान्छे बनाउने सबै घरपरिवारको सोच थियो । आज त्यो सोच पूरा भएको छ । उनले बुबालाई आफूले गरेको सफलताहरु देखाउन पाएनन् । यो कुराले उनलाई दुःखी बनाउँछ । उनको दाजुका घरपरिवार अझै पनि अछाममा छन् तर काम विशेषले अछाम गइरहन उनले समय नै पाउँदैनन् । उनको आमाको पनि स्वर्गवास भइसकेको छ । आफ्नो जीवन सफल बनाउन बुवा आमाले खेलेको भूमिकाले उनलाई भावुक बनाउँछ । आफूले बुबा आमाको लागि सुविधा दिन सक्ने बेला बुबा आमा गुमाउँदाको पीडाले उनलाई निकै सताउने गर्छ । गाउँघरमा बुबा आमाले घिउ बनाएर घरायसी सामान किन्ने, बाख्राहरु धरै पाल्ने, बचत गर्ने जस्ता बुबा आमाको गुणहरुलाई अहिले पनि याद गर्छन । गाउँघरमा हुने अर्मपर्ख, बिहेवारी, पूजापाठ र काम गर्दा एकले अर्कालाई सहयोग गर्ने कुरा उनको गाउँमा अझै पनि छ । गाउँघरमा हुने बिहेवारी र मान्छे मर्दा सबैले अन्न उठाएर दिने चलन निकै प्रिय लाग्छ लोकबहादुरलाई । तर शहरिया जीवन पनि अदालत जस्तै प्रभावित भएको उनले महसुस गर्छन । आवश्यक पर्दा सम्झने नत्र नसम्झने भन्दै व्याङ्ग्यात्मक रूपमा शहरी जीवनप्रतिका वितृष्णाहरु उनका मनमा खेलिरहन्छन् ।

अहिले लोकबहादुर गाउँमा पुग्दा गाउँवासीले निकै खुसी व्यक्त गर्ने गर्छन । पढे लेखेर वकिल बनेर गाउँलाई बिर्सियो अनि बजारमै घर बनाएर बस्यो भनेर उनका गाउँवासी र आफन्तले गुनासो गर्ने गर्छन । गाउँमा घर बनाएर नबसेता पनि लोकबहादुरले समय परिस्थिति अनुसार सामाजिक काममा सहयोग गर्दै आएका छन् । शाहले विभिन्न गैर सरकारी संघ संस्था तथा नियकाबाट दर्जन बढी पुरस्कार समेत पाइसकेका छन् ।

फुर्सदको समयमा लोकबहादुरलाई गीत सुन्न मन पर्छ । उनले कविताहरु लेख्छन् । नृत्य गर्न पनि लोकबहादुरलाई असाध्यै रहर लाग्छ । लोकबहादुरले पुस्तक लेखनमा पनि उत्तिकै समय व्यतीत गर्ने गर्छन । जीवनका र देशका महत्वपूर्ण घटनाहरुको बारेमा उनले अभिलेखीकरण पनि गर्ने गर्छन । समसामयिक तथा सामाजिक विषयबस्तुमा दैनिक नियमित लेख लेख्ने गर्छन । लोकबहादुर निकै अध्ययनशील छन् । उनलाई जीवनीहरु पढ्न असाध्यै मन पर्छ । चलचित्र हेर्दा कथाअनुसार निकै भावुक हुने गर्छन उनी । उनले क्राइम प्रेटोल धेरै हेर्छन । लोकबहादुरले अदालती कामबाहेक नेपालगन्जका विभिन्न क्याम्पसहरुमा अध्यापन गराउने कामलाई पनि सँगसँगै लगेका छन् । तर लोकबहादुरले घरपरिवारमा पर्याप्त रूपमा समय भने दिन पाउँदैनन् । कहिलेकाही घुम्न जाँदासमेत कामहरु आइपर्ने भएकाले घरपरिवारले सोचे अनुसार समय दिन नसकेको बताउँछन् । उनले साँझ बिहानको समयमा पनि श्रीमतीलाई घरको काममा सहयोग गर्ने गर्छन । नेपालगन्जलाई कार्यक्षेत्र बनाई विक्रम संवत् २०५४ सालदेखि कानुन व्यवसायीको रूपमा अभ्यासरत र कानुन विषयमा प्राध्यापन गराइरहेका सफल व्यक्तित्व लोकबहादुर शाहको जीवनशैली र कार्यप्रगति अझै उचाइमा पुगोस् । शुभकामना ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech