जिन्दगीले नजानिँदो तरिकाले परीक्षा लिने गर्छ । अनि त्यो परीक्षामा कति उत्तीर्ण हुन्छन् त कति अनुत्तीर्ण । परीक्षा दिँदा दिँदै मानव चोला सकिने गर्छ । र पनि परीक्षाका केही भाग पृथ्वी जगतमा छाड्दै बिदा हुनु निर्विकल्प हो । यहि मानव चोला हुर्कदै गर्दा कलिलो मस्तिष्कमा तिमी के बन्छौं वा तिमी के बन्छेउ भन्ने प्रश्नले बाल मानसपटललाई हलचल गराइदिने गर्छ । त्यो हलचलमा बालमनोविज्ञान भेटिन्छ । अभिभावकले भनेकै शैलीमा सबैजना सफल हुन्छन् भन्ने छैन । अनि त्यहीँ लक्ष्य पछ्याउनुपर्छ भन्ने पनि छैन । कोही प्रतिभाहरु यस्ता भेटिन्छन् जसले जीवनको गोरेटो आफै तय गर्छन । कडा मेहनत पछि सफताको सूचीमा सूचीबद्ध बन्न पुग्छन् । यस्तै जाँगरिला र जोसिला छन् मक्कखन धामी । संघर्षमय जीवन जिएका मख्खन धामीले व्यापरिक क्षेत्रमा बेग्लै पहिचान बनाएका छन । नेपालगन्जमा मख्खन धामी भनेपछि सफल व्यापारी भनेर गनिन्छन् । साथै उनको सामाजिक कामप्रतिको सेवाभाव र नेपाली राजनीति प्रतिको चासो अनि सहभागिता पनि चर्चा गर्न लायक छ । सानैदेखि पारिवारिक अनुशासनमा बाँधिएका मख्खन साँच्चिकै नाम जस्तै मथिएका छन् पल—पलका छल्काहरुमा । अनवरत रुपमा व्यापारिक क्षेत्रमा होमिएका उनका पाइला सफलताको सिँढीमा छन् ।
विक्रम संवत् २०३९ साल भदौ ११ गते मंगलबार आमा ललिता देवी धामी र बुमा हंश बहादुर धामीको कोखबाट संसार चिहाएका मख्खनले अहिले नेपालगन्जमा बेग्दै पहिचान बनाउन सकेका छन् । उनको जन्मस्थान बर्दिया जिल्ला हो । बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ गिदरपुरमा जन्मिएका मख्खनले कर्मस्थान भने बाँकेको नेपालगन्जलाई रोजे । बर्दिया जिल्लामा अहिले पनि उनको घरपरिवार रहेको छ । नेपालगन्जको स्थाई बासिन्दा बनिसकेका मख्खनको पहाडघर अछाम जिल्लाको पञ्चदेवल नगरपालिका वडा नम्बर २ विनायक धामी गाउँ हो । त्यहाँबाट उनका पुर्खाहरु विक्रम संवत् २०२२ सालमा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ अर्थात् साबिकको गोला गाविसमा आएका हुन् । अहिले मख्खनका २ वटा छोरी र १ वटा छोरा छन् । उनको जेठी छोरी निकिता ९ कक्षामा पढ्छिन् भने उनको सानी छोरी लियाना कक्षा १ मा पढ्छिन् त्यस्तै सानो छोरा प्रथम साढे ३ वर्षका छन् । उनको श्रीमती रुपाली धामीले पनि व्यापारमा सहयोग गर्छिन । मख्खनकी श्रीमती रुपाली निकिता फुड प्याकेजिङ उद्योगकी प्रबन्धक समेत हुन् । श्रीमतीको यो सहयोगले मख्खन मख्ख छन् ।
मख्खनको ससुराली कैलालीको टिकापुर हो । मख्खनको हजुरबुबा पहलमानसिंह धामीले ६३ वर्षको उमेरमा संसार छाडे । त्यसबेला मख्खनलाई सहिनसक्नु भयो । यो क्षणलाई उनी जीवनको अविस्मरणीय क्षणको रूपमा लिने गर्छन । हजुरबुबाले संसार छाडे पनि उनकी ९३ वर्षीया हजुरआमाले मख्खनको साथ छाडेकी छैनन् । यस्तै मख्खनको परिवारमा अर्को नमिठो घटना भयो । जुन घटनाले मख्खनलाई अहिले पनि भावविह्वल बनाइदिने गर्छ । सडक दुर्घटनामा उनको जेठो भिनाजु उज्वल बुढाको ३४ वर्षको उमेरमा र भानिज निमेश बुढाको ११ वर्षको उमेरमा भएको निधनले निकै पिरोल्ने गर्छ । विक्रम संवत् २०७१ सालमा घटेको यो भयानक दुर्घटना मख्खनको मानसपटलमा कहिल्लै नमेटिने घाउ बनेको छ । मख्खन आफ्नो दिदीलाई खुसी बनाउने प्रयास गरिरहेका छन् । मख्खनको सहयोगी भावनाका कारण घरपरिवारदेखि समुदायका सबै व्यक्तिहरुले रुचाउने गर्छन । अहिले उनको कामको जन्मस्थानको जिल्ला बर्दियामा पनि उत्तिकै चर्चा चल्ने गर्छ ।
मख्खले एसएलसीसम्मको शिक्षा बर्दिया जिल्लामा नै हासिल गरे । उनको पहिलो शिक्षा नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय गिदरपुमा लिने मौका पाए । त्यस विद्यालयमा उनले कक्षा ५ सम्म अध्ययन गरे । त्यसपछि एसएलसीसम्मको शिक्षा जनता मावि गोलामा अध्ययन गरे । उनले विक्रम संवत् २०५८ सालमा एसएलसी पास गरे । एसएलसी पास गरेपछि उनका बुबाले उनलाई शिक्षक बनेको देख्न चाहने इच्छा व्यक्त गरे । तर त्यतिबेलासम्म मख्खनले यो नै बन्छु भनेर सोचेका थिएनन् । यस्तै सोचाइका बीच मख्खन अध्ययनका लागि काठमाण्डौ हानिए । उनले पिपल्स कलेज पकनाजेल कलेज काठमाण्डौमा विक्रम संवत् २०२० सालमा आइकम उत्तीर्ण गरे । त्यसपछि नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट विक्रम संवत् २०६३ सालमा ग्रामीण शास्त्र र समाज शास्त्रमा स्नातक तह उत्तीर्ण गरे । कमर्श विषय पढ्दा पढ्दै मानविकी संकाय रोजेका मख्खनले स्नाकोत्तर तह उत्तीर्ण हुुनका लागि तयारी गर्दागर्दै पारिवारिक तथा कामकाजी अवस्थाले गर्दा पूरा गर्न सकेनन् । घरव्यवहार र कार्यालयको कामले अहिले झनै च्याप्दै लगेको छ मख्खनलाई ।
मख्खन स्कुले जीवनदेखि नै राजनीतिमा प्रवेश गरेका हुन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघबाट उनी सदस्य पदमा निर्वाचित भएका थिए । उनले अत्यधिक मत ल्याएर बिजयी भएको क्षण अहिले पनि सम्झिन्छन् । त्यतिबेला स्ववियु सभापति पुष्प शर्मा थिए । अहिले उनी अछामको तुर्मखाद गाउँपालिकाको अध्यक्ष छन् । अहिले मख्खनले नेपाली कांग्रेस बर्दिया जिल्लाबाट उनले सक्रिय राजनीति गर्छन । व्यवसायका साथसाथै राजनीतिलाई पनि अगाडि बढाएका छन् मख्खनले । भविष्यमा काम गर्दै जाँदा अवसर पाए नेतृत्व सम्हाल्ने उनको सपना पनि छ । मख्खन महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा बर्दिया–नेपालगन्ज सम्पर्क समितिका सभापति समेत थिए । मख्खनको कान्छो हजुर बुबा पनि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा रहेका छन् । ७० वर्षीय उनका हजुरबुबाको सक्रियताले मख्खनलाई राजनीति क्षेत्रमा तानेको हो ।
मख्खनले अध्ययन सँगसँगै विक्रम संवत् २०६१ सालबाट व्यापारको काम सुरु गरे । उनी बोहोरा गु्रप इन्डस्ट्रिजमा नेपालगन्जको शाखा प्रकन्धकको रुपमा काम गर्न थाले । त्यतिबेला धामीको मासिक तलब मात्र १२ हजार रहेको थियो । यस कार्यालयमा मख्खनले डेढ वर्ष काम गरेर चाचान गु्रपमा काम गर्न सुरु गरे । यी दुवै गु्रप खाधान्न सम्बन्धी काम गर्ने गु्रप हुन् । खाद्यान्न सप्लाई गर्ने काम यी गु्रपको मुख्य काम हो । यहाँ मख्खन ७ वर्षसम्म रहे । त्यसपछि मख्खनले विक्रम संवत् २०६८ साल ७ महिला १३ गतेबाट आफ्नै निजी खाद्यान्न उद्योगमा पनि केही समय व्यस्त रहन थाले । उनले संस्थाको विकासबारे योजना बनाउने गर्थे । साथै उनले चाचान गुप्रमा पनि समय दिन्थे । अन्ततः विक्रम संवत् २०७१ सालमा जेठी छोरीको नाममा निकिता इन्टरप्राइजेज लन्च गरेर व्यापारिक प्रतिस्पर्धामा पाइला अगाडि बढाए । सुरुमा नेपालगन्जको विकासनगर स्थित आफ्नै निवासबाट कार्यालय सञ्चालन गरेका थिए भने अहिले कार्यालयको बेग्लै भवन निर्माण गरिसकेका छन् । अहिले मख्खनले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित भुजइ गाउँमा निजी भवन निर्माण गरेर कार्यालय सञ्चालन गरेका छन् । मख्खनको निरन्तरको मेहनत र लगनशीलता आज सफलसिद्ध भएको छ । उनको कार्यालयको सेवा क्षेत्र मध्य र सुदूरपश्चिम हो । अहिले मख्खनले ६ जनालाई रोजगार दिएका छन् । तोरीको तेल, सनफ्लावर तेल, पामोलिन तेल र सेतो केराउँलगायतका खाद्यान्नको होलसेल विक्रेता मख्खन भन्छन् ,‘नेपालगन्जमा बढिरहेको अस्वस्थ प्रतिस्पर्धा चिर्दै गुणस्तरीय खाद्यान्नको बिक्री गर्न निकै चुनौती हुँदा हुँदै मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मन जित्न सक्नु नै मेरो सफलता हो । आगमी दिनमा नेपालगन्ज क्षेत्रमा खाद्यान्न सम्बन्धी लियाना जिरा मसिनो चामल ब्राण्डको उद्योग सञ्चालन गर्ने योजना रहेको छ । यो ब्राण्ड दर्ता गरेर अहिले अरु कामहरु अगाडि बढाइरहेको छु ।’
मख्खनका पुर्खाहरु परम्परादेखि नै सम्पन्नशाली भएकाले मख्खनले बाल्यकालमा आर्थिक रुपमा कुनै कष्ट झेल्नु परेन । मख्नका बुवा नेरा निमावी गिदरपुरमा अहिले पनि प्रधानाध्यापक छन् । ५६ वर्षीय हंशबहादुर धामी विद्यालयको प्रधानाध्यापक मात्र होइन घरमा पनि मख्खनका लागि प्रधानाध्यापकै भूमिकामा अनुशासन सिकाउथे । अनि उनी ५५ वर्षीया आमा ललिता देवीले अहिले पनि मख्खनलाई काम गर्न प्रेरणा दिने गर्छिन । उनकी आमा भने गृहणी हुन् । मख्खनका बुबा आमाले मख्खनलाई सरकारी जागिर खाएको हेर्न चाहन्थे । मख्खन आफू नेपाल प्रहरीमा जागिर खान चाहन्थे । तर समयले उनलाई नेपाल प्रहरीमा प्रवेश गर्ने अवसर दिएन । खाद्यान्न कम्पनीमा जागिरे जीवन सुरु गरेपछि उनी आत्मनिर्भर भएर बाँच्न सिके । अनि त्यो सिकाइले आज साँच्चिकै आत्मनिर्भर बनाइदियो मख्खनलाई ।
तर मख्नन निजी क्षेत्रमा कडा परिश्रम गरेर सबैको आँखामा मात्र होइन मनमा समेत अटाउन सकेका छन् । मख्खनको जीवनमा घरपरिवारले दिएको साथले उर्जा थपिएको छ । अहिले उनको व्यापार व्यावसायमा उनका ३४ वर्षीय भाइ महेश धामीले उत्तिकै साथ दिएका छन् । मख्खको दिदी मिठ्ठु कुमारी धामी ४१ वर्षकी भइन भने बहिनी सोना धामी ३२ वर्षकी भइन । दिदी बहिनीले पनि मख्खनलाई हौसला प्रदान गर्दै आएका छन् । मख्खनको मामाघर काठमाण्डौमा छ । मख्खन काम विशेषले र चाडपर्वमा मामाघरमा जाने गर्छन । मामा घर जाँदा निकै रमाइलो लाग्ने गरेको मख्खन बताउँछन । मावलीकै प्रेरणाले यहाँसम्म पुगेकाले मावली प्रतिका सहानुभूति सदैव उनको मनमा रहेको छ । विशेष गरी मख्खनले उनका मामा वीरबहादुर रोकायलाई निकै सम्झन्छन् । उनका माया वीरबहादुर अहिले अधिवक्ता छन् ।
मख्खनले बर्दिया जिल्लामा त्यो पनि कर्णाली नदीको छालमा बिताएका पलहरु निकै सम्झिने गर्छन । अहिले पनि बर्दिया घरमा जाँदा कर्णाली नदीमा डुबुल्की मार्छन । बर्दियामा जिल्लामा पुग्दा काम गर्दा हुने गरेको तनाव एकछिन भए पनि शान्त भएको महसुस गर्छन । बिदाको दिनमा उनी र उनका साथीहरु कर्णाली नदीमा डुबुल्की मार्ने गर्थे । टिफिन टाइम भयो कि उनीहरु कर्णाली नदीमा कुदिहाल्थे । साथै मख्खनलाई फुटबल खेल्न निकै नै मन पर्ने ग¥थ्यो । बुबाले घरमा नियम कडा लगाएकाले उनी त्यति बाहिर डुल्न पाउदैनथे । त्यति पनि साथीहरु सँग समय निकालेर खेल्ने गर्थे । निकै जेहेनदार मख्खन सधैँ विद्यालयमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल थिए ।
मख्खन सामाजिक क्षेत्रमा पनि उत्तिकै अब्बल छन् । आधा दर्जन बढी संघसंस्थामा पदीय दायित्व निभाइरहेका छन् । व्यापारिक सँगसँगै सामाजिक क्षेत्रमा मख्खनले लेखेको भूमिका अतुलनीय छ । उनी नेपाल रेडक्रस सोसाइटीमा आजीवन सदस्य, लायन्स कल्ब अफ नेपालगन्जमा द्वितीय उपाध्यक्ष, नेपालगन्ज स्थित रेडियो सदभावको बोर्ड निर्देशक, किराना तथा खाद्य व्यावसायी संघको सदस्य, विकासनगर टोल विकास समितिको उपाध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको कार्यसमिति सदस्य रहेका छन् । मख्खनले राम्रो काम गरेबापत विभिन्न सामाजिक संघ संस्थाबाट पुरस्कृति हुने अवसरसमेत पाएका छन् ।
व्यापारिक कामको व्यस्तताबाट बचेको समय मख्खन सामाजिक क्षेत्रमा दिन्छन् । घरपरिवारमा भने सोचे अनुसारको समय दिन नसकेको मख्खन बताउँछन् । निदाउनु रहरको विषय भएको बताउने मख्खन राति अबेरसम्म कार्यालयकै काम गर्छन भने बिहान सबेरै कार्यालयको काम गर्न थाल्छन् । कोरोना महामारीका बेला केही समय आराम गर्न पाएको उनले बताए ।
मख्खनले भारत र थाइल्याण्डसम्मको यात्रा गरेका छन् । व्यपारिक कामको सिलसिलमा उनी त्यहाँसम्म पुगेका हुन् । नेपालका अधिकांश जिल्ला भ्रमण गरिसकेका मख्खनले नेपाल र विदेशहरु बीचको व्यापारिक भिन्नताबारे नजिकैबाट केलाएका छन् । कडा मेहनत र संघर्षपूर्ण यात्राबाट यहाँसम्म पुगेका मख्खनको आगामी यात्रा अझै सफल बनोस् । शुभकामना ।