सामाजिक सेवाभावले ओतप्रोत डाक्टर नाग

नागले शहरमा डिप्रेशनका बिरामी धेरै भेटे भने ग्रामीण क्षेत्रमा स्वास प्रस्वासका बिरामीहरु धेरै भेटे । फरक प्रकृतिक बिरामी अनि फरक परिवेशको उपचारको भिन्नता केलाइसकेपछि डाक्टर प्रकाश नागको सक्रियता अझै बढ्दै गयो ।

असल शासन प्रतिनिधि

जीवनमा आउने सामुन्द्रिक छालहरुलाई व्यवस्थापन गर्दै कर्म गर्नेहरुले नै शीतल चौतारीमा ओत लाग्न पाउँछन् । त्यस्ता व्यक्तिहरुमा प्रचण्ड गर्मी सहन सक्ने क्षमता हुन्छ । ती व्यक्तिहरु सफल पनि हुन्छन् । हुन त मानव चोला सबैको उस्तै हो तर कर्मले मानिसको स्तरीयता मापन गर्छ । सेवामा अनवरत रहनु मात्र ठूलो कुरा होइन सामाजिक सेवा भाव राख्नु ठूलो कुरा हो । अत्यन्तै व्यस्त जीवनशैलीका बीचमा पनि समय निकालेर सामाजिक काममा सहभागिता जनाउनु निकै चुनौतीपूर्ण छ । यो सोच राख्नु र कार्यान्वयन गर्नु पनि चानचुने कुरा होइन त्यसमा पनि चिकित्सकले । बिरामीलाई रातदिन उपचारत चिकित्सकलाई न खाना खानो फुर्सद हुन्छ नत मनोरञ्जनका लागि भ्रमण गर्ने या आफन्त भेटघाट गर्ने । एकदमै छोटो समय हुन्छ परिवारका लागि । यस्तै जीवनशैली बिताउँदै आएका नेपालगन्जका चर्चित तथा सबैको मनमुटुमा बस्न सफल फिजिसिएन डाक्टर प्रकाश नाग । अहिले प्रकाश नाग भन्ने बित्तिकै नेपालगन्जमा उनको माग बढेको छ । टाढा—टाढबाट बिरामीहरु खोज्दै आइपुग्छन् । यो सम्मान पाउने अवस्थासम्म आइपुग्दा डाक्टर नागले गरेको जीवन संघर्ष सबैका लागि प्रेरणादायी छ ।

बुवा यशपाल चौराशिया र आमा कलावती नागको कोखबाट बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित रानी तलाउमा जन्मिए । विक्रम संवत् २०३७ साल जेठ १२ गते जन्मिएका प्रकाशको संघर्षपूर्ण जीवन कहानी नेपालगन्ज, सल्यान, भारतको बहराइच र लखनउसँग छन् । उनले विभिन्न राष्ट्रमा पुगेर अध्ययन गर्ने र अनुभव सङ्गाल्ने मौका पाएता पनि यी क्षेत्रहरुले प्रकाशको जीवनमा प्रकाश छर्न भरपुर रहे । जहाँबाट उनले जीवनको वास्तविक लक्ष्य भेट्टाए अनि संघर्ष निरन्तर गरिरहे । सन् २००९ मा एमबीबीएस पढाइ सकेर नेपालगन्ज मेडिकल कलेजमा कार्यरत प्रकाश नाग अहिले पनि सेवामा छन् । यसरी सेवा गर्दै जाँदा आफ्नो निजी मेडिकल कलेजलाई पनि व्यवस्थित गर्दै सेवाको दायरा बढाएका छन् । सन् २०१९ बाट प्रकाश मेडिकल सुरु गरेका नागले अहिले अस्पताल खोल्ने योजना बनाएका छन् । त्यस अस्पतालमा विशेषज्ञ सेवा दिने उनको सोच छ । घाँटी, मुटु, प्रेसर, सुगर, थाइराइड, मिर्गी र पेटसम्बन्धी धेरै बिरामीहरु उपचार गर्न आउने भएकाले यस्ता समस्या निराकरणका लागि विशेषज्ञ सेवा दिने तयारीमा रहेका छन् नाग । सन् २००९ देखि हालसम्म नेपालगन्ज मेडिकल कलेजमा अनवरत रुपमा कार्यरत भए पनि नाग सन् २०१० देखि सन २०११ को बीचमा आफ्नो रुचिले सल्यान जिल्लामा सेवा दिन पुगे । नेपालगन्ज शहरमा जन्मिएका अनि भारतको शहरमा गएर अध्ययन गरेका नागलाई पहाडी जीवनशैली भोगेका व्यक्तिहरुले सहनु परेका रोगहरुका बारेमा नजिकैबाट नियाल्ने र सेवा दिने अवसर पाए । त्यतिबेला उनले गाउँले जीवनको वास्तविक पीडा र उपचारको अभाव महसुस गरे । सल्यानको सल्ली बजारमा बसेर सेवा दिएका नाग समक्ष सबैभन्दा धेरै गाढागुठी दुख्ने, टाउको दुख्ने र कमजोर महसुस हुने प्रकृतिका बिरामीहरु धेरै आउथे । यही अवधिमा सल्यानको सल्ली बजारसँगै नागले दाङ जिल्लाको लमहीस्थित एक सामुदायिक अस्पतालमा पनि सेवा गरे । त्यसपछि पुनः सन् २०१२ मा नेपालगन्ज मेडिकल कलेजमा कार्यरत हुन थाले । नागले शहरमा डिप्रेशनका बिरामी धेरै भेटे भने ग्रामीण क्षेत्रमा स्वास प्रस्वासका बिरामीहरु धेरै भेटे । फरक प्रकृतिक बिरामी अनि फरक परिवेशको उपचारको भिन्नता केलाइसकेपछि डाक्टर प्रकाश नागको सक्रियता अझै बढ्दै गयो । यसैको परिणाम डाक्टर नागले सन् २०१९ बाट निजी सेवालाई समेत सँगसँगै लैजान सके । डाक्टर प्रकाशको धैर्यता र लगनशीलताले आज साँच्चिकै पे्ररणाको पात्र बनाइदिएको छ ।

डाक्टर नागले निजी मेडिकलमा उपचार गर्न आउने गरिब तथा असहाय व्यक्तिहरुको उपचारमा सहयोग गर्छन् । बिरामीहरुको अवस्था हेरेर केहीलाई छुट तथा केहीलाई निशुल्क उपचारको प्रवन्ध मिलाउँछन् । नेपालगन्जस्थित निलसागर वृद्धाश्रममा रहेका सम्पूर्ण व्यक्तिहरुलाई त्यहीँ पुगेर सेवा दिँदै आएका छन् । भारतको विभिन्न ठाउँमा अध्ययनको सिलसिलामा पुगेका नागले नेपाल र अन्य देश बीचको उपचारको तात्विक भिन्नता केलाएका छन् । अनि उपचार पद्धति बिरामीहरुको अवस्था हेरेर गर्दै आएका छन् । नाग भारतका विभिन्न स्थान, पेरिस, बेल्जिएम, इटली, टर्की र अमेरिकालगायतका देशमा पुगेर चिकित्सकीय सेवाबारे अध्ययन गरी सकेका छन् । नेपालका पनि विभिन्न जिल्लाहरुलाई नजिकैबाट नियाल्ने मौका पएका छन् नागले । समय मिलेमा अझै पनि अध्ययन गर्ने उनको सोच छ तर कार्यव्यस्तताले भ्याएका भने छैनन् । घरपरिवारमा पनि समय दिन भ्याउँदैनन् । कहिलेकाही साथीभाइसँग घुमफिर गर्न गएपछि कतिबेला बिरामीको अवस्था गम्भीर हुने हो भन्ने कुराले चिन्ता थप्ने गर्छ नागलाई ।

डाक्टर नागको घरमा ६७ वर्षीया आमा र ७१ वर्षीय बुबा छन् । बुबा आमाले नागलाई अहिले पनि प्रेरणा दिन्छन् । उनका बुबा र आमाले खुसीका साथ चिकित्सक क्षेत्रमा अध्ययन गर्ने वातावरण मिलाए । आज आएर उनका बुबा आमाको सपना पूरा गरेर प्रकाश असल सन्तान बनेका छन् बुबा आमाका लागि । डाक्टर प्रकाश नागका बुवा नेपाल राष्ट्र बैंक नेपालगन्जमा शाखा प्रमुखका रुपमा कार्यरत भएर अहिले रिटायर्ड जीवन बिताइरहेका छन् । उनले भारतबाट जुही चौरासियासँग सन् २०११ मा बिहे गरे । बिहे गर्दा नाग २९ वर्षका थिए भने उनको श्रीमती जुही २१ वर्षकी थिइन । नागका ९ वर्षीय छोरा शुर्यन र ८ वर्षीय छोरा प्रान्जल छन् । उनको ठूलो छोरा ४ कक्षामा पढ्छन् भने सानो छोरा ३ कक्षामा पढ्छन् ।

उनका दाजु प्रमोद नाग र भाउजू खसबु चौरासियाको पनि राम्रो साथ र सहयोग पाएका छन् नागले । डाक्टर नागका दुई दिदी बहिनी छन् । उनीहरुको भारतमा बिहे भएको छ । डाक्टरको नागको श्रीमती, भाउजू र आमा गृहणी हुन भने उनका दाजु प्रमोद नाग महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा प्रबन्धक छन् । डाक्टर नागकी श्रीमती जुही चौरासियाले अंगेजी विषयमा स्काकोत्तर गरेता पनि जागिर गर्न इच्छा देखाइनन् र पारिवारिक काममा व्यस्त भइन । घरपरिवार र सन्तानको लालन पोषणमा उनले समय दिने गरेकी छिन् । श्रीमतीको पनि राम्रो सहयोग पाएका छन् डाक्टर नागले । नाग आफ्नो ठूलोबुबा रामगोपाल तमोलीको छोरा डाक्टर शुरेश नागको प्रेरणाले चिकित्सक बनेका हुन् । अध्ययन गर्दै जाँदा नागले चिकित्सक क्षेत्रमा सक्दिन कि भन्ने कुरा कहिलेकाही महसुस गर्थे त्यतिबेला डाक्टर शुरेश नागले प्रकाशलाई सम्झाएर फेरि अध्ययनमा रुचि जगाउने गर्थे । भविष्यको बाटोमा हिँड्न सिकाएकाले दाजु शुरेशको योगदान प्रकाश कहिल्लै भुल्न सक्दैनन् । डाक्टर प्रकाशलाई निरन्तर हौसला प्रदान गर्ने नेपालगन्ज मेडिकल कलेजका एमडी डाक्टर सुरेश कनौडियाले अहिले पनि हौसला दिन्छन् । उनी अध्ययन गर्ने क्रममा नेपालगन्ज मेडिकल कलेजकै डाक्टर आसिम किदुवाइले पनि धेरै सहयोग गरे । उनको सहयोगी र मिलनसार बानी व्यहोरा भएका कारणले अग्रजबाट धेरै नै सहयोग पाए । डाक्टर गोपाल श्रेष्ठले दिएको प्राविधिक सीप उनले कहिल्लै बिर्सन सक्दैनन् । घरपरिवारमा पनि सबैको प्रिय व्यक्ति भएकाले प्रकाश नागलाई अभाव महसुस भएन । पारिवारिक आर्थिक अवस्था मध्यम खालको भए पनि उनले कहिल्लै पनि अभाव महसुस गरेनन् ।

डाक्टर नागले पहिलो शिक्षा नेपालगन्जस्थित जय बागेश्वरी माध्यामिक विद्यालयमा लिए । त्यहाँ उनी कक्षा १ सम्म अध्ययन गरे । त्यसपछि घर नजिकैको चन्द्र मेवालाल स्कुलमा अध्ययन सुरु गरे । त्यहाँ उनले कक्षा २ देखि ६ सम्म पढे । उनी पढ्दा त्यस स्कुल ८ कक्षासम्म संचालनमा थियो भने हालको अवस्थामा उच्च मावि भैसकेको छ । उनले कक्षा ७ देखि कक्षा १० सम्मको अध्ययन नेपालगन्जस्थित महेन्द्र उच्च माध्यामिक विद्यालयमा पढे । डाक्टर नागले विक्रम् संवत् २०५३ सालमा एसएलसी उत्तीर्ण गरे । उनी त्यसबेलाको एक्जाम टपर समेत हुन् । दैनिक १५ देखि १६ घण्टा अध्ययन गर्ने नागले अध्ययनबाहेक अरु कुरा सोचेनन् । एसएलसी सकेपछि उनी भारतको लखनउमा अध्ययनका लागि होमिए । उनले भारतको लखनउस्थित सिटी मण्टेश्वरी चौक ब्रान्चमा बायोलोजी अध्ययन गरे । विज्ञान विषयमा राम्रो अंकसहित आइएसी उत्तीर्ण गरेपछि डाक्टर नाग मेडिकल अध्ययनको तयारीमा लागे । त्यतिबेला उनलाई अध्ययन गर्न निकै चुनौती भयो । नेपालगन्जमा एसएलसीसम्म अध्ययन गरेका नागलाई सुरु सुरुमा अंग्रेजी भाषा बुझ्न निकै कठिन भयो । अब अध्ययन गर्न सक्दिन कि झै भयो तर पनि उनले निकै कडा मेहनत गरे र आज सफल बने । कडा मेहनत पछि उनले विक्रम संवत् २०५५ सालमा आइएससीको अध्ययन पूरा गरेर भातरको आगरा युनिभर्सिटीमा मेडिकल अध्ययनको पढाइ सुरु गरे । उनले सन् २००९ मा एमबिबिएस अध्ययन पूरा गरे । त्यसपछि डाक्टर नागले आफ्नै गृह जिल्लामा काम गर्ने अवसर पाए । त्यसपछि नेपालगन्ज मेडिकल कलेजमा सन् २००९ मा कार्यरत भए । उनी मडिकल अधिकृतको रुपमा त्यहाँ जोडिए । काम गर्दै जाँदा सन् २०१२ मा फिजिसिएनको पढाइ सुरु गरे । काम गर्दै पढाइलाई पनि रिन्तरता दिँदै डाक्टर प्रकाश नागले सन् २०१६ मा फिजिसिएन अध्ययन पूरा गरे । फिजिसिएन पास भएपछि नेपालगन्ज मेडिकल कलेजमा मेडिसिन डिपार्टमेन्टमा लेक्चर पोष्टमा पनि कार्यरत रहे । अनि बिरामीहरुलाई पनि सेवा दिए । अहिले पनि नेपालगन्ज कलेजसँग जोडिएर निजी मेकिडल सञ्चालन गर्दा उनले भविष्यमा अझै प्रभावकारी काम गर्ने सोच राखेका छन् । अहिले नागको निजी मेडिकलमा १४ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

काम गर्दै जाँदा नागको जीवनमा एउटा अविष्मरणीय घटनाले अहिले पनि मन दुख्छ । उनले लामो प्रयास गर्दा पनि एक बिरामीको अवस्थामा सुधार आउन सकेन उनी भेण्टिलेटरमा गए । पछि ती बिरामी बाँचे पनि बिरामीले पाएको दुःख अहिले पनि सम्झिन्छन् । बिरामीलाई सकुसल घर पठाउँदा नाग खुसी हुन्छन् । उनी आफूले उपचार गर्न नसक्ने बिरामीलाई अरु ठाउँमा रिफर गर्छन । बिरामीले सम्पूर्ण जानकारी दिएमा उपचार गर्न सहज हुने डाक्टर नाग बताउँछन् । उनले आफूसँग अध्ययन गरेका साथीभाइलाई पनि उत्तिकै सम्झिने गर्छन । साथीभाइको पीडा देखेर उनलाई एकदमै गाह्रो हुन्छ तर उनको आँखाबाट आँशु आउँदैनन् । मन दुखेको छ भन्ने कुरा आँशुले मात्र व्यक्त नहुने उनी बताउँछन् । उनी सँग अध्ययन गरेका साथीहरु कोही गैर सरकारी क्षेत्रमा छन्, कोही उनी जस्तै डाक्टर छन् त कोही अन्य व्यापार व्यवसायमा छन् ।

डाक्टर प्रकाश नागले जीवनको परिभाषा फरक —फरक किसिमले दिएका छन् । उनी भन्छन्,‘गरिबका लागि एक छाक खाना जीवन हो । धनीका लागि आराम जीवन हो । विद्यार्थीका लागि किताब जीवन हो । मजदुरका लागि रोजगार जीवन हो । जीवन भनेको यस्तो कुरा जो सँग जे छैन त्यही प्राप्ति हो । यहाँ जीवन जिउनका लागि जुन संघर्ष भएको छ त्यो नै वास्तवमा जीवन हो ।’ डाक्टर नागले आफ्नो आखाँ अगाडि धेरैको जन्म भएको मात्र होइन मृत्यु भएको पनि देखेका छन् । बोल्दै गरेको मान्छेले संसार छाडेर गएको नजिकैबाट नियालेका छन् । अनि यो संसारका विकृति र विसङ्गति पनि देखेका छन् । त्यसैले उनी भन्छन्,‘जीवनमा बाँचुन्जेल असल कर्म गर्नु पर्छ अनि त्यही कर्मले नै हामीलाई जीवन्त बनाउँछ ।’ आज सबैमाझ सफल डाक्टरको परिचय बनाएका प्रकाश नागले हिजोको अध्ययन गर्दा गरेको दुःख र मेहनतलाई भुलेका छैनन् । अझै आगामी दिनमा अध्ययन गर्ने समाज सेवाको दायरा गर्ने ठूलो योजना बनाएका छन् । बाल्कालदेखि नै डाक्टर बन्ने सपना देखेका नागको सपना पूरा भएको छ । अब आफ्नो निजी मेडिकललाई अस्पतालमा रुपान्तरण गर्ने सपना पूरा गर्न नागले दिनरात मेहनत गरिरहेका छन् । त्यस अस्पतालमा अझै स्तरीय सेवा दिन प्रयासरत छन् नाग । सबै सेवासहितको अस्पताल खोल्ने चाहना पूरा गर्न दौडिएका नागको यो सपना पूरा होस् शुभकामना ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech