व्यवसायिक पत्रकारिताका धरोहर पूर्णलाल चुके

चुकेले पत्रकारिताको बारेमा थाहा पाउने समयमा पत्रपत्रिकाहरु सीमित मात्रामा थिए । उनले नियमित रुपमा रेडियो सुन्ने र पत्रपत्रिका पढ्ने, विभिन्न पत्रपत्रिकामा आफ्ना लेख रचनाहरु पठाउने गर्थे । उनले कविता लेख्ने र पत्रमित्रता गर्ने गर्थे ।

सावित्री गिरी

जीवनको गोरेटोमा अनेक मोडहरु आउने गर्छन् । ती मोडहरु कुनै सजिला हुन्छन् त कुनै अत्यन्त कष्टकर । जसले कष्टकर मोडहरुलाई पार गर्दे गन्तव्य तय गर्छ अन्ततः उही व्यक्ति नै सबैको लागि प्रेरणाको स्रोत बन्न पुग्दछ । यो साँसारिक जगतमा जन्म र मृत्यु एक प्रक्रिया हो, अनि शाश्वत सत्य हो । जन्म र मृत्युको वीचमा गरिने असल कर्म र अनुकरणीय अभ्यासले जीवनलाई जीवन्त बनाइदिने गर्छ । जीवनमा सपना देख्नु एउटा पाटो हो, तर त्यो सपना पूरा गर्न कसरत गर्न सक्नु अर्को पाटो हो । समाजलाई बुझ्ने भएदेखि पत्रकार बन्ने सपना देखेका नेपालगन्जका वरिष्ठ पत्रकार पूर्णलाल चुके चिरपरिचित नाम हो । उनले गरेका असल कर्महरु र उनका अनुभवहरुको चर्चा नेपालगन्जमा मात्र होइन देशभरी नै हुन्छ । मोफसलमा पत्रकारिता गरेर राष्ट्रभरी छाउनु उनको खुवी हो । यो प्राप्ति गर्न चुकेले गरेको संघर्षको कथा चर्चा गर्न लायक छ, मनन् गर्न योग्य छ ।

संघर्षको दौडानमा आएका कठिनाईहरुसँग डराएर भागेको भए आज उनी समग्र पत्रकारिता जगतका लागि नमुना पात्र शायद बन्दैन थिए होला । मानव जीवनका वास्तविक भोगाईहरु नजिकैबाट नियालेका चुकेले सामाजिक सेवामा पनि उत्तिकै सक्रिय सहभागिता जनाएका छन् । सामाजिक सेवालाई कर्तव्य ठान्ने चुकेले अरुको दुःखमा मलम लगाउन पाउँदा निकै आनन्दको महसुस गर्ने गर्छन् । सकारात्मक पत्रकारिता र निःस्वार्थ समाज सेवाको मान्यतालाई अङ्गीकार गर्ने पूर्णलाल चुकेको नाम सामाजिक क्षेत्रमा मात्रै नभइ पत्रकारिता क्षेत्रमा समेत अग्रपङ्तिमा आउँछ । सामाजिक क्षेत्र र पत्रकारिता क्षेत्रलाई संँगसँगै शुरुवात गरेका चुकेले दुबै क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर निःस्वार्थ भावले लागीरहे । नेपाली समाजमा व्याप्त विकृति, विसंगति, भ्रष्टाचार, दुराचार विरुद्ध आवाज विहिनहरुको आवाज बुलन्द र उजागर गर्ने उद्देश्यले पत्रकारिता रोजेका चुके २०३१ सालको अन्तिमदेखि पत्रकारिता क्षेत्रमा अविछिन्न रुपमा लागिरहेका छन् ।

चुकेले पत्रकारिताको बारेमा थाहा पाउने समयमा पत्रपत्रिकाहरु सीमित मात्रामा थिए । उनले नियमित रुपमा रेडियो सुन्ने र पत्रपत्रिका पढ्ने, विभिन्न पत्रपत्रिकामा आफ्ना लेख रचनाहरु पठाउने गर्थे । उनले कविता लेख्ने र पत्रमित्रता गर्ने गर्थे । पत्रमित्रतामा सामाजिक विषयवस्तु र विभिन्न स्थानको बारेमा जानकारी हाँसिल गर्ने मौका समेत मिल्ने गथ्र्याे । पहिलो पटक पत्रिकामा आफ्नो नाम छापिंदा निकै गर्व महसुस भएको थियो उनलाई । आत्म गौरवको महसुस र खुसीले बुरुक्क उफ्रिएको अनुभव छ चुकेसँग । हुने विरुवाको चिल्लो पात भनेझैं अध्ययनशील, लगनशील र मेहनती चुकेको पोखराबाट निस्कने आह्वान साप्ताहिक पत्रिकामा विक्रम सम्वत् २०२८ सालमा पहिलो शुभकामना शीर्षकमा कविता प्रकाशन भएको थियो । त्यतिबेला चुके १७ वर्षका थिए । यो कविता तत्कालीन रानी ऐश्वर्यको जन्मोत्सव विशेषाङ्कमा छापिएको थियो । त्यसबेला हुलाक मार्फत् कविता तथा लेख रचना पठाउनु पथ्र्यो ।

वि.सं.२०२५ सालतिर आफ्नो जन्मथलो गुल्मीको वामी टक्सारबाट बुबासँग लमजुङ जिल्लाको कुन्छा भन्ने बजारमा आफ्नो ठुली आमा (बुबाको पहिलो पत्नी) का छोरा दाईहरु) को घरमा गए । उनिहरुको त्यहाँ पुस्तक पसल र कपडा थियो । पुस्तक पसल हेर्ने जिम्मेवारी पाएकोले विभिन्न पत्रपत्रिका र पुस्तकहरु अध्ययन गर्ने अवसर पाएका चुकेले त्यतिबेलाको हाइस्कुले जीवनमा केही न केही लेखीरहन्थे । उनलाई माया गर्ने गुरु इन्द्र विलाश अकेलाले उनको सिर्जनशील प्रतिभा देखेर तिमी कुनै न कुनै दिन साहित्यकार र पत्रकार बन्नेछौ भनेर उत्प्रेरणा दिइरहेको उनले अहिले पनि बिर्सेका छैनन् ।

पत्रिकामा रचनाहरु छापिंदा उनको मनमा प्रफुल्ल र निकै उत्प्रेरणा जाग्थ्यो । त्यसबेला काठमाण्डौंबाट थुप्रै मनोरञ्जनात्मक पत्रिकाहरु निस्कन्थे । ती पत्रिकाहरुमा प्रश्नोत्तर, पत्रमित्रता, पाठकलाई पत्र छापिंदा त्यतिबेला नै चुकेले म एक दिन पत्रकार बन्छु भनेर सपना देखिरहेका थिए । उनी कुन्छा छाडेर २०२९ सालतिर बुटवल स्थित मामाघरमा आए । उनले स्वर्गीय ठुलोमामा श्याम प्रसाद श्रेष्ठलाई निकै स्मरण गर्छन् । मावलीमा रहँदा मामा, माईजु, भाई र बहिनीको माया र साथ पाए । मामा र माइजु साइँबाबाका भक्त हुनुहुन्थ्यो, घरमा साईबाबाका भक्तहरुको जमघट विशेष कार्यक्रमहरु ह्ुन्थ्यो । तर चुकेले त्यसबेला साईबाबालाई भगवानको रुपमा मान्दैनथे । त्यहीबेला माइजुको साथ लगाएर मामाले भारतको बैङ्गलोर ह्वाइट फिल्ड र पुट्टवर्ती स्थित साईबाबाको आश्रम पुग्ने अवसर पाए । त्यहाँ पुगेर उनलाई साईबाबाका बारेमा धेरै कुरा जान्ने मौका मिल्यो । साईबाबाको जन्मोत्सवको अवसर भएकोले पनि देश विदेशबाट हजारौं भक्तजनहरुको जमघट उनले देखे । साईबाबा भगवान होइनन्, तर बाबामा अलौकिक शक्ति भएको उनले प्रत्यक्ष अनुभव गरेका थिए उनले ।
मामाघरमा बसेर बुटवल क्याम्पसमा अध्ययन गर्ने क्रममा वुटवलको खस्यौली बजार स्थित गणेश जनता माध्यमिक विद्यालयमा अध्यापन गर्ने अवसर पनि मिल्यो । त्यतिबेला उनको मासिक तलब रु.१ सय ५० रुपैयाँ थियो । विद्यालयका प्रधानाध्यापक आनन्द प्रसाद श्रेष्ठले चुकेलाई जनजागृति पुस्तकालयको कार्यसमिति सदस्य बनाए । यो पुस्तकालय अहिले पनि बुटवलमा छ । यो उनको पहिलो सामाजिक संस्थामा आवद्धता थियो । पुस्तकालयमा आवद्ध भएपछि उनी झनै अध्ययनशील बने ।

उनको शिक्षण पेशा अस्थाई थियो । आफू पनि पढ्ने र पढाउने गर्दे अध्ययनलाई अगाडी बढाउनका लागि उनी केहि समयको लागि मात्र यो पेशामा जोडिएका हुन् । त्यतिबेला अध्यापन गर्न अहिलेको जस्तो सहज थिएन । विद्यार्थीहरु अध्ययन गर्न मान्दैनथे । त्यसपछि अध्यापन गराउने काम छोडेर काठमाण्डौं पुगेका चुके डेरा गरेर बस्न थाले । काठमाडौं लैनचौर स्थित सरस्वती क्याम्पसमा आई.ए.मा भर्ना भए । सामाजिक क्षेत्रमा र पत्रकारिता क्षेत्रमा काम गर्ने रुची भएकाले चुकेले मानविकी संकाय रोजेका थिए । त्यहाँ हप्तामा एक पटक विदाको दिन शनिवार साथीहरुसंग नुहाउन जान्थे । २५ पैसा प्रवेश शुल्क तिरेर बालजु जाने गरेको उनी स्मरण गर्छन् । साथीभाइ सँग रमाएको र घुमेको ती दिनहरु अहिले पनि उनको मानस पटलमा ताजै छन् ।

काठमाण्डौ बसेर सम्पूर्ण अध्ययन गर्ने सपना बोकेर पुगेका चुकेको यो सपना पूरा हुन सकेन । आर्थिक व्ययभार बढ्दै गएको र आम्दानीको स्रोत बलियो नभएपछि उनी फेरि बुटवल मामाको घरमा फर्किए । त्यतिबेला नेवारको छोराले व्यापार गर्नुपर्छ । नेवारको छोराले पढेर के गर्ने ? व्यापार व्यवसाय गर्नुपर्छ भनेर उनको बुबाले भन्ने गर्नु हुन्थ्यो । तर पनि चुकेले मामाघरमा बसेर प्राइभेट अध्ययन गरेर आई.ए. अध्ययन पुरा गरे । विक्रम संवत् २०३१ सालमा चुकेले आई..ए. सम्मको अध्ययन पूरा गरेका हुन् । यस अगाडीको शिक्षा भने उनले चाहेर पनि अध्ययन गर्ने मौका पाएनन् । व्यवहारिक पाटोले च्याँप्दै गएको र समय अनुकुल नहुँदा अध्ययन बाँकी अध्ययन पूरा गर्न सकेनन् ।
विक्रम सम्वत् २०३१ सालको अन्त्यतिर उनलाई नेपालगन्ज आउनुप¥यो । नेपालगन्ज उनी कामको सिलसिलामा उनको ठुलीआमाका छोरा गंगालाल कक्षपतीको साथमा आए । उनका दाजु कक्षपतीले नेपालगन्ज सुर्खेत राजमार्ग निर्माणको ठेक्का लिएका थिए । यो राजमार्ग नेपाली लगानी, नेपाली प्राविधिकहरुबाट निर्माण भएको पहिलो आयोजना थियो । दाईको ठेक्काको कामको लेखा राख्ने जिम्मा चुकेले पाएका थिए । उक्त आयोजनामा काम गर्दै जाँदा उनलाई केहि बेथितिहरु देखे । सबैभन्दा धेरै चित्त काम गरेका मजदुरहरुले समयमा पैसा नपाउँदा दुख्थ्यो । आयोजनाले समयमा भुक्तानी नगरिदिंदा मजदुरहरुलाई तलब समयमा दिनसक्ने अवस्था हुन्थेन । त्यसपछि आयोजना भित्रको भ्रष्टाचारबारे खुलेर विरोध गर्न थाले । आयोजनाका ईन्जिनियर र ओभरसियरले ठेकेदार र मजदुरमाथि गरेको अत्याचार, घुसखोरी उनलाई मन परेन । यो कुराले चुकेले मनमा गुम्साएर राख्न सकेनन् । त्यतिबेला सुदूरपश्चिम क्षेत्रीय विकास केन्द्र सुर्खेतमा स्थापना गरिएको थियो । तत्कालीन राजा वीरेन्द्र वर्षमा एक पटक विकासको अवस्था बुझ्न आइरहन्थे । राजा वीरेन्द्रले क्याम्प नै बनाएर एक महिनासम्म विभिन्न जिल्लाको भ्रमण गर्ने गर्दथे । त्यसपछि चुकेले आयोजनामा व्याप्त अत्याचार र सुधार गर्नुपर्ने कुराहरु सहितको बिन्तिपत्र लेखेर हुलाकबाट राजा वीरेन्द्रलाई पठाए । त्यसबेला आकाशमा हेलिकप्टर आफु बस्ने गरेको देउराली डाँडा माथि उडेको देखेपछि चुकेलाई राजाको आफ्नो विन्तिपत्रबारे बुझ्न सवारी भयो कि भन्ने लाग्थ्यो ।

तर, चुकेले लेखेको बिन्तिपत्र त आयोजनाकै कार्यालयमा आवश्यक कारबाहीको लागि राजाको मुकाम सुर्खेतबाट परियोजनालाई नै जिम्मा दिएर पठाइयो । त्यसपछि सबैकुरा बाहिर आयो । सँगसँगै यसको बारेमा कसले लेख्यो भन्ने कुरा पनि बाहिर आयो । बिन्तिपत्र चुकेले लेखेर पठाएको विषयमा सबैलाई थाहा भएपछि चुकेलाई त्यहाँ काम गर्ने बातावरण सहज भएन भने अर्कोतर्फ उनलाई सुशासन बिनाको आयोजनामा काम गर्न पनि मन लागेन । त्यसपछि चुके नेपालगन्ज आएर घरबारी टोलमा आफ्ना दिदी भेनाजु तीर्थमान श्रेष्ठ पटवारीको घरमा बसेर व्यवसायिक पत्रकारिता शुरु गरे । सामाजिक विकृति, सरकारी कार्यालय भित्र हुने भ्रष्टाचार, अत्याचार र व्यथितिका विरुद्धमा कलम चलाउन थालेर सक्रिय पत्रकारिता शुरु गरे । नेपालगन्ज आएर चुके भैरहवाबाट निस्कने निश्पक्ष ध्वनि साप्ताहिक पत्रिकमा रिपोर्टरको रुपमा काम गर्न थाले । पछि त्यो पत्रिका विचार साप्ताहिकका रुपमा प्रकाशित हुन थाल्यो । विचार साप्ताहिक पत्रिका सँगसँगै काठमाण्डौंबाट प्रकाशित हुन अर्पण साप्ताहिकमा पनि उनले रिपोर्टिङ गर्न शुरु गरे । यो क्रम विक्रम सम्वत् २०४६ सालसम्म चल्यो ।

यसभन्दा पहिला काठमाण्डौमा केहि समय बस्दा हिमाली हुलाक साप्ताहिक पत्रिकामा रिपोर्टिङ गर्थे । अध्ययन गर्ने र बचेको समयमा रिपोर्टिङ गर्ने गर्थे । त्यतिबेला पूर्ण समय पत्रकारितामा खर्चिएका थिएनन् । व्यवसायिक पत्रकारिता गर्दा पत्रकारिताको सैद्धान्दिक ज्ञान चुकेमा सून्य थियो, तर पनि व्यवहारिक ज्ञानले सक्षम बनाउँदै लग्यो । उनले आफूले लेखेर पठाएको समाचार डायरीमा लेखेर राख्थे पछि समाचार छापिएर आएपछि त्यो हेरेर आफूलाई सुधार गर्ने गर्थे । त्यतिबेला पत्रकारिता गर्न अहिलेको जस्तो टेलिफोन, इमेल र इन्टरनेटको सुविधा थिएन । आकाशवाणीबाट समाचार लेखेर पठाउनु पथ्र्यो या त हुलाको भर पर्नु पथ्र्यो । हुलाकबाट समाचार पठाएको १५ दिनपछि पत्रिकामा छापिएर आउँदा पनि त्यो समाचार सबैका लागि ताजा हुन्थ्यो नेपालगन्जका लागि । भारतीय पत्रिकाहरुको मात्र वाहुल्य भएको नेपालगन्जमा त्यसबेला वुद्धिजीवि र सचेत पाठक वर्गले समाचारलाई चासोका साथ हेर्ने गर्थे ।

चुकेले नेपालगन्जमा बसेर व्यवसायिक पत्रकारिता शुरु गर्ने बेला नेपालगन्जबाट २ वटा पत्रिका किरण साप्ताहिक र सुरमा सरोबर साप्ताहिक पत्रिका प्रकाशित हुन्थे । त्यसबेला उनका पत्रकारिता क्षेत्रका सहकर्मी लियाकत अलीले खसोखास साप्ताहिक (भैरहवा) र राम गोपाल वैश्यले चेतना साप्ताहिक (काठमाडौं) रिपोर्टिङ गर्थे भने विजय कुमार गुप्ताले किरण साप्ताहिकमा सम्पादकको रुपमा कार्यरत थिए । विक्रम संवत् २०३२ सालदेखि नै निरन्तर उनीहरुसँग भेटघाट र छलफल भइरहेको छ । त्यसबेला पत्रकारिता क्षेत्र प्रतिको आकर्षण निकै कम थियो । त्यसबेला राष्ट्रिय समाचार समितिमा कार्यरत खिलराज ध्वज थापाले उनलाई सल्लाह सुझाव दिने गर्थे । उनी निकै नाम चलेका पत्रकार थिए । त्यसबेला आफु बाँच्ने र पत्रिकालाई बचाउने भन्ने कुरा नै प्रमुख थियो । अहिले जस्तो मार्केटिङ गर्ने छुट्टै, विज्ञापन उठाउने अलग्गै थिएनन् । त्यसबेला राजा रानीका जन्मदिन र चाडबाडका शुभकामना विज्ञापन मात्र आउने गथ्र्यो । वार्षिक ग्राहक बनाएको ८ रुपैयाँ मूल्य थियो भने फूल पेजको विज्ञापन दर २०० रुपैयाँ थियो । उनले २ सयसम्म ग्राहक बनाउन सकेका चुकेलाई आफूलाई पुग्ने जति आम्दानी पर्याप्त भएको बताउँछन् ।

उनले विक्रम संवत् २०४५ साल तिर पहिलो पटक नेपाल प्रेस ईन्स्टिच्युटले नेपालगन्जको भेरी होटलमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र भित्रका पत्रकारहरुका लागि आयोजना गरेको दुई दिवसीय कार्यशालामा पत्रकारिताको सैद्धान्तिक पक्षका विषयमा धेरै कुरा सिक्ने अवसर चुकेले पाए । त्यतिबेला प्रशिक्षकको रुपमा द राइजिङ नेपालका प्रधानसम्पादक भारतदत्त कोइराला र गारखा पत्र दैनिकका प्रधानसम्पादक गोकुल पोखरेलबाट धेरै कुरा सिक्ने अवसर पाए । प्रशिक्षकद्वय नेपाल प्रेस ईन्सिच्युटका संस्थापक हुन् । प्रशिक्षकहरुले सुदूरपश्चिमको पत्रकारिताको स्थितिका बारेमा लेख्न आग्रह गरे । यो आग्रह पछि चुकेले राती २ बसेसम्म बसेर १४ पाना तयार गरे । त्यसबेलाको पत्रकारिताको अवस्था जस्ताको त्यस्तै चित्रण गरे । यो लेखपछि सबैले उनको लेखको प्रशंसा गरे । यसले पनि उनलाई निकै उत्साह मिल्यो ।
समय बित्दै जादा उनले विक्रम संवत २०३७ सालमा भेरी अञ्चलाधीश कार्यालय नेपालगन्जमा निवदेन दिएर जनमत दैनिक पत्रिकाका केहि समय चलाए । त्यसपछि विक्रम संवत् २०३९ सालमा छापाखाना तथा प्रकाशन ऐन २०३९ आएपछि जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता नम्बर २ मा जनमत अद्र्ध साप्ताहिक दर्ता गरेका थिए । त्यसबेला पत्रिका दर्ता गर्दा कोही न कोही ग्यारेन्टी बस्नुपर्ने, पुलिस रिपोर्ट , जग्गाको लालपुर्जा धितो राखेर दर्ता गर्नुपथ्र्यो । जनमत अर्धसाप्ताहिकले अहिलेसम्म निरन्तरता पाइरहकोछ । चुकेले अर्धसाप्ताहिक पत्रिका निकाल्दा पूर्वबाट विवेचना नामको अर्धसाप्ताहिक पत्रिका पनि निस्कने ग¥थ्यो । विक्रम संवत् २०५५ सालमा विवेचना पत्रिका रोकिएपछि विक्रम संवत् २०६३ सालसम्म अर्धसाप्ताहिक पत्रिका जनमत मात्र छापिने गरेको प्रेस काउन्सिलको अभिलेखमा थियो । यसलाई चुके दिगो निरन्तरताको संज्ञा दिन्छन् । कुनै पनि काम शुरु गरेपछि निरन्तरता दिन सक्नु नै चुकेको सफलता हो । आफ्नो क्षमता र दक्षता अनुसार उनले काम गर्दै गए ।
विक्रम संवत् २०५२ सालमा चुकेले पहिलो पटक पश्चिम क्षेत्रमै पहिलो अफसेट प्रविधि नेपालगन्जमा भित्राएपछि उनीसँग पत्रकार हेमन्त कर्माचार्य, जे. पाण्डे, नरेन्द्र जङ पिटर र राजेन्द्र ज्ञवाली चुकेसँग जोडिए । पत्रिकाको प्रकाशकको रुपमा सुशीला चुके, सम्पादकमा चुके र उनीसँग जोडिएका टिमका साथीहरु थिए । उनीहरुसँग करीब एक वर्ष सहकार्य भयो, त्यसपछि उनिहरु अन्य पत्रिकातर्फ लागे पनि चुकेले फेरि एक्लै भए पनि उनले अन्य व्यक्तिहरुको सहयोग पाउँदै गए । उनलाई नमस्कार शाहले अन्तर्वार्ता स्तम्भ, साहित्कार खगेन्द्र गिरी कोपिलाले समय सन्दर्भ स्तम्भ, विष्णु रिजालले उन्मुक्त कलम नामक स्तम्भहरुमा कलम चलाएर चुकेलाई सहयोग गरे । साथै पत्रकारहरु सिराज खान, पवन जयसवाल, सरोज रेग्मी, गौरव ढकाल, जीवन कुमार शाक्य, कृष्ण अधिकारी, कुमार श्रेष्ठ, शंकर खनाल, सुरेन्द्र काफ्ले, टि.एस. ठकुरी, कमल खत्री लगायतले सहयोग गरे । पछिल्ला दिनमा देवेन्द्र पौडेल, पवन जायसवाल, प्रहलाद विश्वकर्माले सहयोग गरिरहेका छन् । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने चुकेका पुराना मित्र डा. रामेश्वर अधिकारीले गत वर्षदेखि साहित्यिक रचनाहरु पठाइरहन्छन् । सबैको साथ र सहयोगको परिणाम चुकेले विक्रम संवत् २०६३ सालमा जनमत अर्धसाप्ताहिकको रजत महोत्सवको आयोजना गरे, विशेषाङ्क प्रकाशन गरे भने विक्रम संवत २०६८ साल वैशाख २९ गते अन्तर्वार्ता सङ्गालो कुराकानी निकाले । त्यस लगत्तै वरिष्ठ साहित्यकार प्रेम प्रकाश मल्लले पत्नी वियोगमा लेखेका कविताहरुको सङ्गालो “उनी” नामको पुस्तक समेत प्रकाशन गरे । जनमतमा मल्लको कविता नियमित छापिन्थ्यो ।
यस्तै जनमत अर्धसाप्ताहिकले नियमित त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । पत्रिकाले शुरुमा २०६३ सालमा रजत महोत्सवमा मानवीय कार्यक्रम गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । तर पछि रगतको अभाव पूर्ति गर्न नियमित रुपमा हरेक तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ । चुके आफु पनि विगतमा नियमित स्वयम्सेवी रक्तदाता हुन् । उनले पहिलो पटक २०४३ सालमा बर्दियाबाट आएका एकजना विरामीलाई रगत चाहिएका बेला चुके आफै त्यहाँ पुगेर घरका कुनै सदस्यलाई नभनेर रक्तदान गरेका थिए । त्यसबेला रक्तदान गर्ने कुरालाई सबैले स्वीकार गरेका थिएनन । रक्तदानलाई जीवनदान ठानेका चुकेले नियमित रक्तदान गरेर समाजमा सेवा भाव पनि जगाएका छन् भने अरुलाई उत्प्रेरित पनि गर्ने गरेका छन् । यो काम प्रशंसनीय छ ।
पत्रकारिता जगतमा लामो समय क्रियाशील रहेतापनि विक्रम संवत् २०६३ सालमा मात्र नेपाल पत्रकार महासंघ बाँकेको सदस्यता लिए । त्यतिबेला पत्रकार जयनारायण शाह सचिव थिए । उनको निरन्तरको आग्रह पछि चुकेले सदस्यता लिए । त्यसपछि निरन्तर विक्रम संवत् २०७७ सालसम्म केन्द्रिय पार्षद् भए । विक्रम संवत् २०७७ सालमा पत्रकार महासंघको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महासंघले दिएकोले पार्षद् हुने क्रम भङ्ग भयो । उनलाई स्वतन्त्र विचार राख्न मन पर्छ । कुनै पनि राजनीतिक दलमा झण्डा बोकेर हिंड्दा विचारहरु स्वतन्त्र रुपमा राख्न पनि नसकिने र स्वाभिमान बचाउन पनि नसकिने उनले स्वतन्त्र शैलीमा काम गर्छन् । जुनसुकै निर्वाचनमा पनि स्वविवेकले निर्णय गर्छन् ।
बुवा स्व. ज्योतिलाल चुके र आमा स्व. लाल कुमारी चुकेको कोखबाट वि.सं. २०१२ साल असोज २६ गतेका दिन गुल्मी जिल्लाको साविक वामी टक्सार बजार, हाल मुसीकोट नगरपालिकामा जन्मिएका चुके घरको माइलो छोरा हुन् । उनका दाजु अत्तर लाल चुके र भाई धर्म चुकेले दिएको साथ र सहयोग पनि उनी बिर्सीदैनन् । त्यस्तै दिदी कमला र बहिनी चलनलाई पनि उत्तिकै स्मरण गर्ने गर्छन् । उनका बुवाले ७० वर्षको उमेरमा र आमाले ८८ वर्षको उमेरमा देह त्याग गरे । त्यसबेलाको क्षण सम्झँदा चुके अहिले पनि भावुक हुन्छन् । सामान्य परिवारमा जन्मिएका उनले बाल्यकालमा घरको कमजोर आर्थिक अवस्थाको सामना गर्नु परेको थियो । चुकेको बाल्यकाल भने गुल्मी जिल्लामै बित्यो । आफ्नै जन्मस्थानमा उनले बालापन बिताए । माध्यमिक तहसम्मको अध्ययन गाउँकै महेन्द्र आदर्श माध्यमिक विद्यालयबाट गरेका चुकेले प्राथमिक कक्षामा पढ्दा कहिले गृह कार्य नगरेर, कहिले स्कुले पोशाक नलगाएको कारण गुरुहरुबाट कुखुरा (मुर्गा) बनाइएको र सिस्नोको झोप्पाले सजायँ पाएको कुरा उनको बाल्यकालको अविस्मणीय क्षण हुन् । बाल्यकालमा कुनै समय पहाडमा अनिकालले सामान्य आर्थिक अवस्था भएका परिवारको लागि भोकमरीको समस्या हुँदा आमाले उनका दाजु भाई र दिदीबहिनीलाई मकैको भात, दाल र तरकारीको सट्टा चामलको माड र कोदोको ढिंडो खुवाएर भोक मेटाएको, तर आमा धेरै छाक भोको बसेको सम्झना आजसम्म ताजै रहेको चुके बताउँछन् ।
चुकेले विक्रम संवत २०३९ साल असार १२ गते नेपालगन्जबाट सुशीला चुकेसँग मागी विवाह गरे । त्यसपछि नेपालगन्ज सुर्खेतरोडमा नीजि घर बनाएर बसोबास गरे । विक्रम संवत् २०३९ साल चैत ३० गते पहिलो सन्तान छोरा प्रज्वल अहिले कम्प्युटर इन्जिनियर छन् र आई.टि.मा स्नातकोत्तर गरेका छन् । चुकेले पत्रकारितामा प्रयोग गरेको नयाँ प्रविधिको प्रभाव उनका छोरामा परेको महसुस गर्छन् । तर पत्रकारितामा भने कहिल्यै रुचि नदेखाएका प्रज्वलले पोलिप्लेटमा पहिलो पटक रंगीन छपाई गर्दा भने डिजाइनमा साथ दिए । उच्च शिक्षा हाँसिल गर्नासाथ प्रज्वलले पिस नेपाल डटकम नामक आई.टि. कम्पनी सञ्चालन गरेर आई.टि.को क्षेत्रमा नाम कमाएका प्रज्वलले स्वास्थ्य विभाग टेकुमा कार्यरत फार्मेसी अधिकृत एलिना श्रेष्ठसँग विवाह गरेका छन् । चुके दम्पत्तीले विक्रम संवत् २०५० सालमा दोस्रो सन्तानको रुपमा छोरी प्रशंसालाई जन्म दिए । उनी अहिले आर्किटेक्ट इन्जिनियर छिन् र डिजाष्टर म्यानेजमेन्टमा स्नातकोत्तर गरेर काठमाडौमैं जागीर गर्छन् । चुकेले छोरीलाई डाक्टर बनाउने सपना देखेका थिए । तर छोरीको इच्छा नभएकाले वाध्य बनाएनन् । उनलाई उनको इच्छा अनुसारको विषय अध्ययन गर्ने अवसर दिए । अमेरिका अष्ट्रेलिया लगायतका विदेशी भूमिमा छोराछोरी पठाउने लहर नै चलेको बेला पनि चुकेका छोरा र छोरीले विदेश जाने इच्छा गरेनन् । टाढा हुँदा बुवा आमालाई अप्ठेरो पर्दा भेट्न आउन नसकिने भनेर नगएको सोंच छोराछोरीको भएको चुके बताउँछन् । छोरा, बुहारी र छोरीको मेहनत र आफ्नै खुट्टामा उभिएको देखेर उनको परिवार खुसी छ । श्रीमती, छोरा, बुहारी र छोरीबाट धेरै माया पाएका छन् चुकेले । चुकेले पारिवारिक रुपमा आफू निकै धनी र भाग्यमानी भएको महसुस गर्छन् । मानिसलाई अथाह धन सम्पत्तीले होइन, पारिवारिक सुख शान्ति नै जीवनको सर्वोत्तम आनन्द र उपलब्धी हो भन्ने कुरा आफुले वर्तमान जीवनमा अनुभूत गरेको बताउँछन् चुके । विहानै घरका परिवारका सदस्यहरु भन्दा पहिले उठ्ने, छतमा जाने र पानीको व्यवस्था गर्ने, कौसीमा लगाएको करेसाबारीमा लगाएको तरकारीमा पानी चार्ने, सरसफाई गर्ने। छतमा वाकिङ गर्ने र स्वर्गीय आमाबुवाको तस्वीरमा जल चढाउने, भगवान्लाई पूजा गर्ने, त्यसपछि आफैले चिया पकाएर घरका सदस्यहरुलाई खुवाउँछन् । उनको यो विहानको ८ बजेसम्मको नित्य कर्म हो । यो कामपछि अन्य काममा लाग्ने गर्छन् । चुके भन्छन्– ‘प्राणी जगतमा उत्तम प्राणी मानव हो । बाँचुन्जेल आफूमात्र होइन अरुलाई पनि बाँच्न सिकाउनु पर्छ, उत्प्रेरणा दिनुपर्छ । सकेसम्म अरुलाई सहयोग गर्नुपर्छ । सहयोग गर्न सकिदैन भने असहयोग पनि गर्नु हँुदैन भन्ने सकारात्मक सोंच राख्नुपर्छ ।”
“मानव सेवा र समाज सेवा नै मूल धर्म हो” भन्ने भनाईबाट प्रेरित व्यक्तित्व पूर्णलाल चुकेले सामाजिक क्षेत्रमा काम नगरेको र अनुभव नगरेको शायद कुनै पनि क्षेत्र बाँकी छैनन् । नेपाल पत्रकार संघ केन्द्रिय सदस्य, केन्द्रीय पार्षद्, विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व तहमा रहनुका साथै क्षेत्रीय सञ्चार स्रोत केन्द्र परामर्श समिति। प्रवन्ध समितिको संस्थापक सदस्य (१९९५ देखि हालसम्म), कोहलपुर नगर विकास समितिको संस्थापक सदस्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ, बा“केको अध्यक्ष (१९९६—२००० सम्म दुई कार्यकाल), श्री ५ को सरकार एकद्वार समितिको सदस्य (१९९८—२०००), नेपाल युवक संगठन, बा“केको सदस्य (२०३९—२०४३), स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण सञ्जालको क्षेत्रीय तथा जिल्ला संयोजक लगायत थुप्रै संस्थाहरुको विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका चुकेले २०४८ को पहिलो आमनिर्वाचनमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) को संयोजकको जिम्मेवारी पनि निर्वाह गरेका थिए । नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र प्राकृतिक स्वास्थ्य संस्थाको आजीवन सदस्य रहेका चुके विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर काम गरे वापत उनले न त कुनै आर्थिक लाभ प्राप्त गरे, नत कुनै व्यक्तिगत स्वार्थ नै । तर, समाज सेवामा निरन्तर लागेको कारण उनले मानसम्मान भने थुप्रै पाए, इज्जत प्रतिष्ठा कमाए्, शुभचिन्तक कमाए, स्वतन्त्र र असल मान्छेको रुपमा पहिचान बनाए । उनीसंगै सामाजिक क्षेत्रमा लागेका, पत्रकारिता पेशामा काम गर्ने धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न आर्थिक लाभ र अन्य लाभ प्राप्त गरे, धन सम्पत्ति आर्जन गरे र महल ठड्याए, फेरिफेरी चिल्ला कारमा कुदेको आफ्नै आँखा अगाडी देखेका चुके पैसा र धन सम्पत्तिको पछि कहिल्यै लागेनन्, उनी निरन्तर रुपमा समाज सेवा र पत्रकारितामा लागि रहे । उनी शुरुदेखि नै समाज सेवा र पत्रकारितालाई कमाइ खाने धन्दाको रुपमा प्रयोग गर्ने प्रवृत्तिको विरोधिको रुपमा उभिएका छन् । निष्पक्ष पत्रकारिता नै आजको आवश्यकता भएको चुकेको भनाई छ ।
नेपाली पत्रकारिता जगतका प्रेरणाका पात्र तथा नेपालगन्जको पत्रकारिताका जिउँदो इतिहास पूर्ण चुकेका जीवनका सामाजिक पाटोहरु चर्चा गर्न लायक छन् । निरन्तरको मेहनत र सक्रियताले आज चुकेको पहिचान देशभरी नै छ । चुके अहिले नयाँ पत्रकारका लागि सशक्त पुस्तक समेत हुन् । युवा अवस्थादेखि नै समाजसेवा शुरु गरेका चुके विक्रम संवत् २०३० सालमा नवजागृति पुस्तकालय, बुटवलमा आवद्ध भई सामाजिक क्षेत्रमा लागेका उनी र नेपाल क्षयरोग निवारण संस्था बाँकेमा २०३९ सालदेखि आवद्ध भई शाखा सहसचिव, शाखा अध्यक्ष र केन्द्रीय सदस्यसम्म भई हालसम्म निरन्तर काम गरिरहेका छन् । बाँके जिल्लामा सामाजिक क्षेत्रमा लामो अनुभव सँगालेका पुरानो व्यक्ति मध्येका एक चुकेले यो अवधिमा दुई दर्जन जति विभिन्न संस्था, समिति, समूह, सञ्जाल तथा निकायमा विभिन्न पद तथा जिम्मेवारीमा रहेर कार्य गरिसकेका छन् । सामाजिक क्षेत्रलाई आफ्नो अत्यधिक रुचिका साथ महत्व दिने चुके नेपालगन्ज जेसीजमा सन् १९८८ देखि आवद्ध भई सन् १९९३ मा अध्यक्ष र १९९४ मा राष्ट्रिय उपाध्यक्ष भइ काम गरेका थिए । २०५८ देखि नेपाल—भारत संयुक्त पत्रकार मञ्च, नेपाल समूहको संयोजकको जिम्मेवारी बहन गरिरहेका उनी गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको २ कार्यकाल (२०५८ देखि २०६३ सम्म) अध्यक्ष भइ जिम्मेवारी निर्वाह गरिसहेका छन् ।

भ्रष्टाचार, सामाजिक विकृति, गरिबी, अशिक्षा, रोगभोक, पछौटेपन, रुढीवादी ग्रस्त समाजमा घटिरहने घटना नै समाज सेवा र पत्रकारितामा लाग्ने प्रेरणा भएको बताउने पूर्णलाल चुकेले सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । सामाजिक क्षेत्र र समाज सेवाको लामो अनुभव सँगालेका चुकेका अनुसार गैर सरकारी संस्था महासंघ नेपालको बाँके शाखा, मध्यपश्चिमाञ्चल विकास क्षेत्रमै पहिलो शाखाको रुपमा २०३४ तिर स्थापना भएको बताउने चुकेको गैससमा काम गर्दाका केहि अनुभवहरु छन् । महासंघको केन्द्रीय अध्यक्ष वासुदेव न्यौपाने र महासचिव राघवराज रेग्मी भएको समयमा शाखाको स्थापना भएको बताउने उनलाई महासंघले बाँके र बर्दिया जिल्लाको फोकल पर्सनको रुपमा जिम्मेवारी दिएको थियो । त्यो जिम्मेवारी पछि नेपालगन्जको बाँके गाउँ स्थित नारी विकास केन्द्रमा पहिलो पटक क्षेत्रीय स्तरको अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको चुकेको सम्झनामा ताजै छ । चुकेको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा गैसस महासँघका महासचिव राघवराज रेग्मी प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने गोष्ठीमा तत्कालीन विश्व हिन्दू महासंघका अध्यक्ष स्व. कृष्ण गोपाल टण्डन, स्व. नर्वदा शर्मा, सनत रेग्मी, पूर्व मन्त्री डिल्ली चौधरी लगायत मध्यपश्चिमाञ्चल विकास क्षेत्रका करीब ४ दर्जन सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो । गैर सरकारी संस्था महासंघ नेपालको बाँके शाखा स्थापनाकालदेखि नै सक्रिय भूमिकामा रहेका चुकेले २०५५ देखि २०५७ सम्म महासंघको केन्द्रीय सदस्य भएर काम गर्ने अवसर पाएका थिए ।

– हिमाली हुलाक साप्ताहिक, काठमाण्डौबाट पत्रकारिता सुरुवात गरेका उनले अर्पण साप्ताहिकको सम्वाददाता, मध्य र सुदूर पश्चिमाञ्चल क्षेत्रीय प्रतिनिधिको रुपमा निष्पक्ष ध्वनि साप्ताहिक, भैरहवा (पछि विचार साप्ताहिकको रुपमा नाम परिवर्तन) ५ वर्ष काम गरे भने र कान्तिपुर राष्ट्रि दैनिकमा समेत शुरुको वर्ष २०४८ तिर केही समय काम गरेको अनुभव छ । देशमा पंचायतकाल भएको समयमा पत्रकारिता क्षेत्रमा लागेका चुकेले पंचायतदेखि, बहुदल, लोकतन्त्र र गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेका छन् । बाँके जिल्लाका पुराना पत्रकार मध्येको सूचीमा पर्ने चुकेले २०३६ सालमा जनमत दैनिक अस्थाई दर्ता गरे भने २०३९ सालमा आफै सम्पादक भएको पत्रिका जनमत अद्र्ध साप्ताहिक दर्ता गरे । विभिन्न समस्या र चुनौतीहरुको समाना गर्दै जनमत अद्र्ध साप्ताहिकलाई हालसम्म निरन्तरता दिइरहेका छन् । जनमत अद्र्ध साप्ताहिक सँगै अवलोकन साहित्यिक पत्रिका, अङ्कुर (पश्चिम नेपालको पहिलो साहित्यिक मासिक), नवरत्न (पश्चिम नेपालको पहिलो साहित्यिक गोजिका), धरा साहित्यिक मासिक पत्रिका, विगुल त्रैमासिक पत्रिका, नेपालगन्ज जेसीज, युवाध्वनि त्रैमासिक पत्रिका, उद्यम द्वैमासिक पत्रिका, मध्य पश्चिमाञ्चलमा इन्सेक ः एक दशक (२०५्र८), प्रथम क्षेत्रीय औद्योगिक व्यापार मेलाको स्मारिका (२०५७) नेपालगन्ज उद्योग व्यापार संघको त्रैमासिक बुलेटिनको २०५६–२०५९) लगायतका पत्रिका तथा बुलेटिनको सम्पादन गरिसकेका चुकेले सुर्खेतबाट प्रकाशित हुने हाम्रो गाउँघर द्वैमासिक पत्रिका, नेपालका सिर्जनशील पत्रकारहरुको सम्पादन सल्लाहकार समेत रहेका थिए भने विभिन्न कृति प्रकाशन समेत गरेका छन् । उषालाई पत्र (कविता सङ्ग्रह) २०३२ चुकेको पहिलो कृति हो ।
पत्रकारिता र सामाजिक कार्यसंगै चुकेले पटक पटक राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय स्तरको गोष्ठीहरुमा पत्रकारिता, साहित्यिक पत्रकारिता, मिडिया आयोग लगायतका विषयमा कार्यपत्रहरु पनि प्रस्तुत गर्दै आएका छन् ।
पत्रकार चुकेले लेखेको कोभिड–१९ को बेला नेपालका विभिन्न सञ्चारमाध्यममा कोभिड–१९ को बारेमा लेख प्रकाशित भएका छन् भने जर्मनीको एक वेभ म्यागाजीनमा जर्मन भाषामा र पोर्चुगलको इडिटर नामक वेभ म्यागाजीनमा पोर्चुगल भाषामा “नेपाली खानपान र जीवन शैली ः कोरोना विरुद्ध लड्ने शक्ति” र “नेपाल र बाँके जिल्लामा कोरोना संक्रमणको वर्तमान अवस्था” नामक लेख पनि प्रकाशित भएका छन् ।
निःस्वार्थ भावनाले समाज सेवा र पत्रकारितामा निरन्तर रुपमा काम गरे वापत बिभिन्न पुरस्कार तथा सम्मान पाएका छन् । सन् १९९३ मा स्व. श्री ५ वीरेन्द्रद्वारा सामाजिक कार्यकर्ताको हैसियतले “बाढी पीडित्तोद्धार पदक” बाट विभूषित भएका चुकेले विभिन्न दर्जनौं निकाय तथा संस्थाहरुबाट सम्मानित भएका छन् । स्व. श्री ५ वीरेन्द्रद्वारा शुभ राज्याभिषेक पदकबाट विभूषित (२०५६), स्व. श्री ५ वीरेन्द्र–ऐश्वर्य सेवा पदकबाट विभूषित २०५८) ।, सन् २००२ मा प्रेस चौतारी नेपालद्वारा वरिष्ठ पत्रकार अभिनन्दन, सन् २००२ मा नेपाल कम्युनिष्ट पार्टी एमालेद्वारा प्रतिभा पत्रकार सम्मान, २००४ मा विश्व क्षयरोग दिवसमा “दिक्षा दक्ष पदक” पुरस्कारबाट पुरस्कृत, सन् २००५ मा युनिभर्सल पिस फेडेरेसन नेपालद्वारा “शान्ति दूत” को रुपमा सम्मानित, सन् २०१० मा लायन्स क्लब अफ नेपालगन्जबाट वरिष्ठ पत्रकार सम्मान, सन् २०१० मा भारतको फैजावादमा जनमोर्चा राष्ट्रिय दैनिक (भारतको एकमात्र सहकारितामा आधारित अखवार) बाट सम्मान, सन् २०११ मा भारतको लखनऊमा यु.पि. श्रमजीवि पत्रकार युनियनबाट सम्मान, सन् २०१३ मा जनजाति पत्रकार महासंघबाट सम्मान, सन् २०१६ मा नेपाल पत्रकार महासंघ बाँकेबाट सम्मान, नेपाल निजामति कर्मचारी संगठन केन्द्रिय समितिद्वारा कर्मचारी आन्दोलनमा सहयोग गरे वापत कदर पत्र (२०४८), व्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयबाट अभिनन्दन (२०५९), सामाजिक सचेतना मञ्च, बा“केद्वारा कदर पत्र (२०६१), श्री ५ ज्ञानेन्द्र तथा नेपाल सरकारबाट गोरखा दक्षिण बाहु चौथो पदकबाट विभूषित (२०६२), उत्तर प्रदेश श्रमजीवि पत्रकार युनियन, भारतद्वारा ‘सम्मान’ – (२००९), अवध पत्रकार कल्याण संस्थान उत्तर प्रदेश लखनऊ, भारतद्वारा ‘अभिनन्दन’ – (२०१०), एशोसियशन आफ प्रिन्ट एण्ड इलेक्ट्रोनिक मिडिया लखनऊ, भारतद्वारा ‘सम्मान’ (२०१५), आदर्श पत्रकार मञ्च बहराइज, भारतद्वारा ‘सम्मान’ (२०१७), –स्वास्थ्यमन्त्रीबाट दिक्षा दक्ष सामाजिक सेवा पुरस्कार (२००४), नेपाल पत्रकार महासंघ, बाँकेद्वारा क्रियाशील पत्रकारिता पुरस्कार (२०७३), नेपाल पत्रकार महासंघ, बाँकेद्वारा ‘सम्मान’ (२०७३), गुल्मेली समाज बाँकेद्वारा सम्मान (२०७५)
त्यसैगरि गैरसरकारी संस्था महासंघ नेपालद्वारा कदर पत्र– (२०७५ बुटवल, सामाजिक विकास मन्त्रीबाट), गैरसरकारी संस्था महासंघ बाँकेद्वारा ‘सम्मान’ (२०७५), नेवाः देय दवू, बाँकेद्वारा सम्मान (२०७५), नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेद्वारा ‘सम्मान’ (२०७५), घरेलु तथा उद्योग सहकारी संस्था बाँकेद्वारा ‘सम्मान’ (२०७५), स्वतन्त्र पत्रकार संघ, नेपाल बाँकेद्वारा सम्मान’ (२०७५) जय बागेश्वरी इ.मि. उच्च माध्यमिक विद्यालयद्वारा सम्मान (२०७५), नेपाल क्षयरोग निवारण संस्था बाँकेद्वारा सम्मान (२०७६), नेपालगन्ज जेसीजद्वारा “सम्मान’ (२०७७) नेपाल जेसीज राष्ट्रिय समितिबाट उत्कृष्ट सदस्य (१९९२), नेपाल घरेलु उद्योग महासंघ केन्द्रिय समिति नेपालको उत्कृष्ट शाखा अध्यक्ष सम्मान (१९९९) उद्योग मन्त्रीबाट आदि आदि चुकेले पाएका सम्मान हुन् ।
त्यसैगरि भेरी साहित्य समाज केन्द्रीय समिति, प्रगतिशील लेखक संघ नेपाल, कवि लेखनाथ ज्ञवाली स्मृति साहित्यिक प्रतिष्ठान, रुपन्देहीबाट सम्मान, प्रेम प्रकाश मल्ल स्मृति प्रतिष्ठानद्वारा सम्मान र पुरस्कार, वाङमय साहित्यिक प्रतिष्ठान नेपाल, साहू समाज नेपालगन्ज, नेपाल रेडक्रस सोसाइटी बाँके, नेपालगन्ज जेसीज लगायत दर्जनौं संस्थाहरुबाट पनि सम्मान पाइसकेका छन् ।
जीवनको लामो कालखण्डसम्म सामाजिक क्षेत्रमा काम गरेर कमाएको सम्पत्ति नै यी सम्मान र पुरस्कार भएको चुके बताउँछन् । सामाजिक क्षेत्रमा लागेकै कारण चुकेले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनार र अध्ययन भ्रमणका क्रममा थाइल्याण्डमा ७ पटक, मलेसिया, म्यानमार, सिंगापुर, हङ्कङ्ग, रिपब्लिक अफ चाइना ताइवान, सिंगापुर, फिलिपिन्स, कतार, संघीय गणतन्त्र जर्मनी, दक्षिण कोरिया, भारतका विभिन्न शहरमा सहभागिता र सम्मिलित हुने अवसर प्राप्त गरेका छन् भने २००२, जुलाई ९–१८ सम्म श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहको प्रथम राजकीय भ्रमणमा जनवादी गणतन्त्र चीनको भ्रमण टोलीमा राजधानी बाहिरको एकमात्र पत्रकारको रुपमा सहभागी भएका थिए । यो क्षेत्रमा काम गर्दा विभिन्न समस्या तथा चुनौतीहरुको सामना गरेका चुके निरन्तर यो क्षेत्रमा लागिरहँदा आत्मसन्तुष्टि मिलेको बताउँछन् । पत्रकारिता र समाज सेवामा लामो अनुभव बटुलेका चुकेले पत्रकारिता र सामाजिक जीवनमा भोगेका आरोह अवरोहका वास्तविक चित्रलाई आत्मकथाको रुपमा प्रकाशित गर्न उत्प्रेरित गर्ने केही साथीहरुको आग्रह भएकोले त्यसतर्फ पनि सोंच बनाएका छन् ।
आगामी दिनमा पनि चुके पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै समाजसेवालाई निरन्तरता दिने सोचमा छन् । चुकेले पत्रकारितालाई उत्कृष्ट पेशाका रुपमा लिएका छन् । असल पत्रकारिता भनेको नै सामाजिक रुपान्तरणका लागि योगदान दिनु हो भन्ने उनको भनाई छ । उनी पत्रकारितामा आउने चाहनेहरुलाई इमान्दारिताका साथ काम गर्न आग्रह गर्छन् । उनी भन्छन्– ‘पत्रकारिताको आचारसंहिता, मूल्य मान्यता र धर्मलाई इमान्दारीतापूर्वक आफ्नै पेशामा लाग्नुहोस् र आफू सफल पत्रकार बन्नुहोस् । देश र समाजको लागि योगदान दिनुहोस् । तपाई जहाँ हुनुहुन्छ, त्यहीबाट राम्रो कामको सुरुवात गर्नुहोस् ।’
पत्रकारिता गर्दै जाने क्रममा चुकेले थुप्रै चुनौतीहरुको सामना गर्नुप¥यो । चुकेले निष्पक्ष र निर्भिक रुपमा आवाज उठाउँथे । अन्याय र अत्याचारका विरुद्धमा खुलेर समाचार लेख्ने गर्थे । सहिलाई सहि र गलतलाई गलत भन्ने हिम्मत गर्थे । यो कुराले धेरै ठाउँबाट धम्की आउने गथ्र्यो । त्यतिबेलाका केही घटनाहरुले अहिले पनि चुकेलाई झसङ्ग गराउँछन् । पञ्चायत कालमा स्वतन्त्र विद्यार्थी मण्डल थियो । सो मण्डलका केहि विकृतिबारे चुकेले पत्रिकामा छिन्द्रान्वेषी स्तम्भबाट लेखे । छिन्द्रावेन्षी स्तम्भमा चित्त नबुझेका तथा सुधार गर्नुपर्ने कुराहरुलाई व्यङग्यात्मक तरिकाले लेख्ने गर्नु हुन्थ्यो जनमतमा । यसरी छिन्द्रावेन्षीमा छापिएपछि उनलाई अञ्चलाधीशबाट धम्की आयो । यो विक्रम संवत् २०४४ सालतिरको कुरा हो । त्यसपछि उनी सुरक्षा चुनौतीको सामना गर्न पुगे र विस्थापित भएर १ महिना जति काठमाण्डौं बसेर नेपालगन्ज फर्किए । उनी कहाँ पैसा बोकेर धेरै व्यक्तिहरु खण्डन छाप्न पनि आउँथे, तर पनि चुके अडिग रहन्थे । यस्तै अडिगपन अहिले पनि चुकेको व्यवहारमा छ, अनि हरेक काममा छ । यो नै चुकेको खुवी हो अनि जीवनको स्वाभिमान र अनुशासन पनि । यो प्रेरणा आज सबैका लागि उपयोगी छ । सबैको मन मुटुमा बस्न सफल वरिष्ठ पत्रकार तथा समाजसेवी पूर्ण लाल चुकेको जीवन अझै सुखद् बनोस् शुभकामना ।

 

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech