जनप्रिय वडा अध्यक्ष सफिक

आर्थिक व्यभार थपिँदै गएपछि सफिक पैसा कमाउन कतार गए । कतार जाँदा धेरै दुःख कष्ट झेल्नु पर्ने अवस्था थियो । सोचे अनुसार आम्दानी हुन सकेन । यो भन्दा नेपालमा नै केही गर्छु भन्ने सोच आयो । त्यसपछि उनी मात्र १ वर्ष त्यहाँ काम गरेर नेपाल फर्किए ।

साबित्री गिरी

कोही रहरले नेता बन्छन् त कोही सामाजिक परिवेशका कारणले नेता बन्छन् । कोही भने समाजको आवश्यकता र मागका आधारमा नेता बन्छन् । कहिले काही कोही व्यक्ति नेता बन्ने योजना नहुँदा नहुँदै एक्कासि नेता बनेर जनप्रिय बन्न पुग्छन् । हिजोका दिनमा पारिवारिक रुपमा संघर्ष गर्दै सफल व्यापारी बनेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ निवासी मोहम्मद सफिक बेहना स्थानीय तहको निर्वाचनपछि सफल नेता बनेका छन् । राजनीतिमा धेरै सक्रिय नभए पनि उनले गरेको सामाजिक कामले आज उनलाई सफल नेता बनाइदिएको छ । यहि सफलताको कारण उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को वडाअध्यक्ष बन्न सफल भए । नागरिकहरुको विश्वासको मत प्राप्त गरेर अध्यक्ष बनेका मोहम्मद सफिक बेहनाको राजनीतिक यात्रा अझै फराकिलो भएको छ । अहिले बेहनाले राजनीतिक र व्यापारिक दुवै क्षेत्रमा सक्रिय छन् । उनको नेता बन्ने लक्ष्य थिएन । समयले उनलाई आज नेता बनाई दिएको छ । उनले पाएको नेतृत्व सफल रुपमा निभाउन सकेका छन् । जुन चर्चा गर्न लायक छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गौसिया भन्ने टोलमा बुबा सद्दिक अहमद बेहना र माता रसिदा बानोको कोखबाट विक्रम संवत् २०३४ साल जेठ ५ गते जन्मिएका बेहना सानैदेखि मेहनती थिए । बुबाआमाको आज्ञाकारी सन्तानको रुपमा आफूलाई स्थापित गर्न सकेका थिए । बेहनाले कक्षा १ देखि कक्षा १० सम्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित अनाथालय गौशिया माविमा अध्ययन गरे । उनले यसभन्दा अगाडिको शिक्षा लिन पाएनन् । घरमा उनी र उनका भाइबहिनीहरु धेरै भएका कारण कक्षा १० पछि उनी घरको आर्थिक जोहो जुटाउन तर्फ लागे । नेता सफिकले बुवालाई व्यापारमा सहयोग गर्न थाले । उनका बुवा जडीबुटी व्यापारी हुन् । जेठो सन्तान भएकाले सफिकले पारिवारिक जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आयो । त्यसपछि उनले पढ्न छोडेर व्यापारमा समय दिन थाले । सुरुको अवस्थामा साइकल चलाएर सामान बोकेर व्यापार गरेको कुराले उनलाई आज करोडौको व्यापारी बनाइदियो । भारतबाट कलम र कापीहरु ल्याएर पुस्तक पसलमा बेचेर पनि उनले आर्थिक श्रोत जुटाए । उनका बुवा जडीबुटीको व्यापारी भएता पनि पछि सोचे अनुसारको व्यापार भएन । विक्रम संवत् २०४२ सालमा भारत सरकारले जडीबुटी निकासीमा प्रतिबन्ध लगाएपछि उनको परिवारले ठूलो आर्थिक संकटसँग पैठेजोरी खेल्यो । आर्थिक संकट व्यापक हुँदै गएपछि उनले सोचे अनुसारले युवाअवस्था पार गर्न सकेनन् । बेहनाको युवा अवस्था संघर्षमय नै रहन गयो । पारिवारिक रुपमा आर्थिक भार परेपछि बेहनालाई पढ्नका लागि वातावरण मिल्ने कुरै भएन । उनी आफ्ना भाइबैनी र बुवाआमाको रेखदेखमै समय दिन व्यस्त भए ।

सफिक बेहनाको बाल्यकाल त्यति दुःखद भएन । किनभने बाल्यकालमा उनका बुबाको जडीबुटीको व्यापार राम्रो फस्टाएको थियो । उनी युवाअवस्थामा प्रवेश गर्दै गर्दा बुबाको व्यापार घाटा लागेपछि मात्र उनको जीवन संघर्षमय हुन गएको हो । सफिकले जुन संघर्ष गरे त्यो संघर्षबाट सिकेको पाठले आज राजनीतिमा सफल हुन सके । सफिकले पारिवारिक संघर्षका बीच पनि खेलकुदमा आफूलाई निकै पोख्त बनाउन सकेका थिए । उनले क्षेत्रीय तथा राष्ट्रिय विभिन्न खेलकुद प्रतियोगिताबाट थुप्रै पुरस्कारहरु पाएका छन् । क्रिकेट र कबड्डी खेलमा उनले विशेष सफलता हात पारेका थिए । आर्थिक अवस्थाका कारण नै सफिकले खेलकुदमा राम्रो सम्भावना हुँदा हुँदै पनि सफल हुन सकेनन् । आर्थिक रुपमा सक्षम भएको र समयले साथ दिएको भए सफिक आज खेल क्षेत्रमा पनि उत्तिकै अब्बल हुने थिए । सफिक अहिले पनि खेल क्षेत्रलाई निकै रुचाउँछन् । आफूले सकेसम्म खेलक्षेत्रमा सहयोग गर्दै आएको र सहयोग गर्ने योजनाहरु सफिकसँग छन् । खेल क्षेत्रमा सहभागी भएर काम गर्दा शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुका साथै अनुशासित पनि भइने सफिक बताउँछन् ।

नेता बेहनाका ५ जना दाजुभाइ छन् । उनका माइला भाइ रफिक, साइलो भाइ रहिस, काइलो भाइ मोहम्मद आमिन र कान्छो भाइ मोहम्मद हुसेन सबैजना व्यापारी छन् । उनीहरुले दाजु सफकका हरेक योजना तथा काममा सहयोग गर्दै आएका छन् । भाइहरुको सहयोग पाएर दाजु सफिक पनि खुसी छन् । सफिकका बहिनीहरु आशिया बानु बेहना, शोफिया बानु बेहना र शैयदा बानु बेहनाले साथ दिइरहेका छन् । उनको कान्छी बहिनी साफिया बानु बेहना भने यो संसारमा छैनन् ।

विक्रम संवत् २०६८ सालमा कर्णाली नदीमा घुम्न गएका बेला उनको बहिनी कर्णाली नदीमा डुबेकी थिइन् । यो घटनालाई सफिकले जीवनको अविस्मरणीय क्षणका रुपमा लिने गर्छन । सफिकले बाजे नन्कु बेहनाको माया पाए पनि बज्यै अर्थात् दादी आमाको माया पाएनन् । उनी जन्मदा दादी आमाले संसार छाडिसकेकी थिइन् । पारिवारिक रुपमा सबैको साथ र सहयोग पाएका छन् सफिकले । सफिकले आफंैले मन पराएर हिन्दू समुदायको श्रीमती घर भिœयाउँदा निकै डर मानेका थिए । तर उनका बुबाले छोराले मन पराएर ल्याएको भनेर सहर्ष स्वीकार गरे । सफिकले पिङ्की शाहसँग बैवाहिक जीवन सुरु गर्दा १८ वर्षका थिए । प्रेम विवाह गरेका सफिकलाई सुरु–सुरुमा माइती पक्षले धेरै दुःख दिए । पिङ्कीसँगको सम्बन्ध छुटाउनको लागि बारम्बार प्रयास गरे तर उनीहरुको प्रेम अमर भएका कारण टुट्न सकेन । यो बेला सफिकले मानसिक रुपमा धेरै तनाव झेले । तर आज माइती पक्ष पनि उनको मेहनत र लगनशीलता देखेर खुसी छन् । उनका योजनाहरुमा माइती पक्षले पनि आवश्यक सहयोग गर्ने गरेका छन् । सफिकका दुई छोरा समिर र साहिल पनि उत्तिकै मेहनती छन् । जेठा छोरा समिर कम्प्युटर इन्जिनियर पढ्दै छन् भने कान्छा छोरा साहिल बीबीए पढ्दै छन् । आफूले अध्ययन गर्न नपाएता पनि सफिकले आफ्ना सन्तानलाई भारतको बङलरुसम्म पढ्न पठाए । उनले विक्रम संवत् २०५५ सालमा पहिलो सन्तान जन्माएका हुन् । उनको श्रीमती पिङ्की पनि सामाजिक काममा उत्तिकै सक्रिय छिन् । विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक काम गरिरहेकी छिन् ।

आर्थिक व्यभार थपिँदै गएपछि सफिक पैसा कमाउन कतार गए । कतार जाँदा धेरै दुःख कष्ट झेल्नु पर्ने अवस्था थियो । सोचे अनुसार आम्दानी हुन सकेन । यो भन्दा नेपालमा नै केही गर्छु भन्ने सोच आयो । त्यसपछि उनी मात्र १ वर्ष त्यहाँ काम गरेर नेपाल फर्किए । नेपाल फर्किसकेपछि सानो तिनो व्यापारलाई छाडेनन् । घरपरिवारलाई आर्थिक रुपमा कसरी सक्षम बनाउने भन्ने उनको सोचाइ दियो । समय बित्दै जाँदा विक्रम संवत् २०५४ सालतिर सफिकले पत्रकारिता पेसा पनि सुरु गरे । राष्ट्रिय समाचार समितिमा आवद्ध भएर केही समय पत्रकारिता गरे पनि सोचे अनुसार आर्थिक रुपमा सबल हुन नसकेपछि सफिकले यो पेसा छाडे । समाचार लेखेको आधारमा पैसा पाउने र एकदमै न्युन ज्याला भएपछि पत्रकारिता दीर्घकालीनसम्म गर्ने सफिकको रहर तुहियो । उनले ७ महिनामात्र राष्ट्रिय समाचार समितिमा काम गरे । त्यसपछि सम्पूर्ण समय व्यापारमा नै दिने योजना बनाएर अगाडि बढे ।

सफिकले व्यापार विस्तार गर्दा धेरै चुनौतीसँग लड्नु पर्ने अवस्था थियो । ठूलो व्यापार गर्नको लागि उनी सँग पैसा थिएन । उनले बुबालाई आग्रह गरेपछि उनका बुबाले घरसम्पत्ति धितो राखेर बैंकबाट ऋण निकाल्ने वातावरण बनाई दिए । सबै सम्पत्ति सफिकको नाममा राखिदिए । बुबाले विश्वास गरेर वातावरण मिलाई दिएपछि सफिकले नेपालगन्जमा नेशनल सप्लायर्स भनेर खाद्यान्न पसल खोले । यो पसल खोलेपछि सफिकको आर्थिक अवस्थामा सुधार आउँदै गयो । अहिले यो सप्लायर्शले वार्षिक १० करोडको कारोबार गर्छ । हिजो सफिकलाई एक सय रुपैयाँ कसरी आम्दानी गर्ने भन्ने पिरलो थियो । आज यसरी आर्थिक रुपमा आफूलाई सक्षम बनाएका छन् । सफिकले विक्रम संवत् २०६२ सालमा ठूलो व्यापार अर्थात सप्लायर्स खोल्दा धेरै ठूलाठूला व्यापारी थिए । निकै प्रतिस्पर्धाका बीचमा पनि सफिकले व्यापारिक क्षेत्रमा सफलता हात पारे । उनी व्यापारको सिलसिलामा नेपालका अधिकांश जिल्लामा पुगेका छन् । भारतका विभिन्न स्थानमा व्यापारका सिलसिलामा गइरहन्छन् । उनको सक्रियता व्यापारिक क्षेत्रमा बढ्दै गयो । यही सक्रियताले सामाजिक रूपमा चिनायो । अनि यही चिनारी र सहयोगी भावनाका कारण नै सफिक अहिले जनप्रतिनिधिको रुपमा कार्यरत छन् । अनि स्थानीयको रुचाइने नेतामा गनिएका छन् ।
व्यारबाट सुरु भएको सफिकको जीवन आज राजनीतिमय भएको छ । वडा नम्बर ४ को विकासका लागि दिनरात मेहनत गरिरहेका छन् सफिकले । विकास निर्माणका कामहरुमा सक्रिय भएर लागेका कारण आज वडा नम्बर ४ को मुहार नै फेरिएको छ । वडाका सबै जनप्रतिनिधिहरुलाई मिलाएर काम गरेका छन् । सबैले सफिकले बनाएका योजनामा साथ दिँदै आएका छन् । उनका साथीहरुले पनि उनलाई धेरै सहयोग गर्ने गर्छन । साथीहरुको साथलाई सफिक बिर्सन सक्दैनन् । कोरोना कहरका बेला उनले देखाएको सक्रियता झनै प्रशंसनीय छ । बिरामीहरुलाई कोरोना कहरबाट जोगाउन तथा कोरोना कहर नियन्त्रणका लागि सफिकको नेतृत्वमा भएका प्रयासको चर्चा जतासुकै छ । यसरी मेहनत र क्रियाशील रुपमा सफिकले अन्य समयमा र अन्य विकासमा काममा पनि खटिएर काम गर्छन । मेरो भन्दा पनि हाम्रो भन्ने सोचका धनी सफिकको आगामी राजनीतिक यात्रा अझै सशक्त बनोस् शुभकामना ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech