सेवाग्राहीको रकम जनप्रतिनिधिको खल्तीमा

असल शासन प्रतिनिधि

रुकुम पश्चिम/ मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम जनप्रतिनिधिले भुक्तानी भए लगत्तै फिर्ता लिने गरेका छन् । उक्त रकम उनीहरुको खल्तीमा जाने गरेको छ ।
गरिब एवम् बेरोजगार व्यक्तिहरुको जीवनस्तरमा सुधार गरी गरिबी न्युनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ कर्णाली प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रमबापतको रकम लक्षित वर्गबाट जनप्रतिनिधिहरुले फिर्ता लिने गरेका हुन् ।
चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडा जनप्रतिनिधिहरुले आफ्नो वडामा परेको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको दुई ओटा योजनाको रकम विभिन्न व्यक्तिको खातामा जम्मा भएपछि बैंकमा बोलाएर पैसा फिर्ता लिने गरेको जानकारी प्राप्तन भएको छ ।
प्राप्त जानकारी अनुसार स्वरोजगारको लागि फर्जी नाम दर्ता गराएर, कामै नगरेका विभिन्न व्यक्तिहरुको बैंक खाता मागेर लाखौ रकम बंैकमा जम्मा गरिएको थियो । सोही रकम निकाल्न बैंकमा बोलाउँदै फिर्ता लिँदै गरिएको खातावालाहरुले बताएका छन् ।
आइतबार, सोमबार र मंगलबार तीन दिन वडाबाट बोलाइएका विभिन्न व्यक्तिहरुले चौरजहारीमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट पैसा निकाल्ने बित्तिकै वडा सदस्य शशिराम नेपालीको झोलामा जम्मा गर्ने गरेका हुन् । नाम प्रकाशन नगर्ने सर्तमा एक खातावालाले भने, ‘मेरो खातामा ६४ हजार जम्मा भएको रै’छ, सबै निकाले, पाँच हजार मलाई दिनुभयो, अरु सबै उहाँले झोलामा हाल्न लगाउनुभयो ।’ उनले गाउँका सबैजसोले केही रकम खातावालालाई दिएर अरु सबै रकम जनप्रतिनिधिले फिर्ता लिएको जानकारी दिए ।
बैंक खाताको रकम निकाल्ने बित्तिकै जनप्रतिनिधिले लिने गरेको सूचना पाएपछि सोही वडाका एक अर्का व्यक्तिले आफ्नो खातामा जम्मा भएको सरकारको रकम जनप्रतिनिधिलाई फिर्ता नदिने भन्दै बैंक नगएको बताए । करिब २ घण्टा हिँडेर घरबाट बैंक पुगेको बताउँदै उनले अर्को दिन आएर चेक साट्ने जनाए ।
व्यवहारिकता मिलाउन पैसा फिर्ता लिएका हौं ः जनप्रतिनिधि
यस विषयमा चौरजहारी नगरपालिका वडा नम्वर ८ का वडा सदस्य शशिराम नेपालीले व्यवहारिकता मिलाउन केही रकम फिर्ता लिइएको बताए । उनले कालिका आधारभूत विद्यालयको फिल्ड तथा पर्खाल निर्माण र गेरुखोला सिँचाइ पोखरी निर्माणको लागि कार्यक्रम परेको जानकारी दिँदै वडाबाट ४० जनाको नाम र खाता मिलाएर पठाएको र खातामा जम्मा भएको जम्मा रकममध्ये केही रकम फिर्ता लिइएको प्रतिक्रिया दिए । बैंकमै बसेर चेक साट्न बित्तिकै फिर्ता लिएको गुनासो छ, खास कुरा के हो नि भनेर सोधेको प्रश्नमा वडा सदस्य नेपालीले भने, ‘बजारमा योजनाको रकम तिर्नु थियो, कार्यवाहक वडा अध्यक्ष देवी खड्का र एक जना शिक्षक पनि थियौं । केही रकम व्यवहारिकता मिलाउन फिर्ता लिएका हौं ।’ उनले उक्त योजनाको लागि बजारबाट सरिया, सिमेन्ट लिएको, बालुवा बोकेको गाडीलाई तिर्न बाँकि रहेकोले व्यवहारिक कुरा मिलाउन त्यसो गरिएको जनाए । आइतबार र सोमबार केही व्यक्तिले बैंक निकालेको र अब ९ जनाले मात्र रकम निकाल्न बाँकी रहेको समेत नेपालीले जानकारी दिए ।
पाँच हजार मात्र दिएर अरु रकम फिर्ता लिनुको कारणबारे सदस्य नेपालीले फिर्ता लिएको स्वीकादै भने, ‘कसैले पाँच हजार लिए, कसैले बीस हजारसम्म पनि लिएका छन् ।’ उनका अनुसार वडा नम्बर ८ बाट परेका ४० जना मध्ये कममा ४६, ४७ हजार र बढीमा ६४,६५ हजारसम्म रकम खातामा जम्मा भएको हो ।
यस विषयमा चौरजहारी नगरपालिका उप प्रमुख राधा रोकाले उक्त वडामा दुईओटा योजनाबापतको १० लाख रकम नगरपालिकाबाट दिइएको बताउँदै परिणाममुखी कामको लागि वडाले निर्देशिका मिचेको हुन सक्ने बताइन् । विकास निर्माणको कामको लागि खरिद गरिएका विभिन्न सामाग्रीको पैसा मेकअप गर्नको लागि काम नगरेकाहरुको पैसा फिर्ता लिइएको हुन सक्ने भन्दै स्थानीय स्तरको आवश्यकता अनुसार अति कति निर्देशिका मिचेर काम गर्नु पर्ने बाध्यता रहेको समेत उप प्रमुख रोकाले उल्लेख गरिन् । वडाले काम गरेको दिनको मात्रै पारिश्रमिक दिने र अरु रकम फिर्ता दिने गरी पहिले नै जानकारी गराएको बताउँदै उनले बैंकमै जनप्रतिनिधि गएर पैसा फिर्ता माग्नु अलि गलत भएको जनाइन् ।
रोजगार कार्यक्रमबाट अन्यत्र भन्दा नमुनायोग्य काम गरेको दाबी गर्दै उप प्रमुख रोकाले निर्देशिकालाई मात्र फ्लो गर्न खोज्दा स्थानीयको आवश्यकता पूरा गर्न मुस्किल भएको उल्लेख गरिन् । कामै नगरेका मान्छेको खातामा पैसा हालेर फेरि फिर्ता माग्ने कार्य व्यवहारिकता मिलाउन गरेको भन्दै उनले त्यस कार्यको बचाउसमेत गरिन् ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech