बहुआयामिक व्यक्तित्व ‘रबिन्द्र’

दैलेखका पत्रकार डेकेन्द्र थापाको गैर न्यायिक हत्याको फैसलामा एडभोकेसी फोरमको सहयोगमा रबिन्द्रले न्यायका लागि आवाज उठाएका थिए र सफल पनि भए । दैलेखकै एकजना महिलालाई आर्मीबाट बलात्कार घएको घटनाको डकुमेन्टेशन गरी ह्युमन राइट काउन्सिलमा पठाउँदा ह्युमन राइट काउन्सिलले नेपाल सरकारलाई पीडितलाई क्षतिपूर्ति र न्याय दिन र पीडिकलाई कडा कारबाही गर्न पत्राचार गरेको थियो ।

साबित्री गिरी

मानिस कस्तो बन्ने र कहाँसम्म पुग्ने भन्ने कुराको निक्र्योल उसको घरपरिवार र सामाजिक वातावरणले निर्धारण गर्ने गर्छ । वरिपरिको परिवेश र वातावरणले जीवनको दौडानलाई सोही अनुसारको गन्तव्यमा पुर्याउन मद्दत गर्छ । यदि कोही व्यक्तिले जीवनमा सफल हुने सपना देख्छ तर सोही अनुसारको वातावरण मिलेन र कोसिस गरेन भने सफल हुन सक्ने अवस्था रहँदैन । आफ्नो जीवनकालमा सफल हुनको लागि जस्तोसुकै चुनौतीहरु सँग पनि सामना गर्न सक्नु पर्छ । एकचोटी असफल भइँदैमा निरास बनेर संघर्षको गति घटाउनु हुँदैन । यस्तै जीवनको संघर्षपूर्ण यात्रामा सफल व्यक्तिको सूचिमा उभ्याउन सफल छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ एमपी स्कुल रोड निवासी रविन्द्र कर्ण ।

रविन्द्रले सफल व्यक्तिहरुको भिडमा आफूलाई उभ्याउनको लागि संघर्षको पहाड उक्लिएर हिमालमा पुगेर सफलताको सुस्केरा फेरी रहेका छन् । उनको जीवनमा आएका धर्मसंकट र संघर्षको अभ्यास नयाँ पुस्ताका लागि प्रेरणादायी मात्र छैन सफल जीवनको अचुक औषधीका रुपमा ग्रहण गर्न सकिन्छ ।

यस्तो व्यक्तित्व निर्माण गर्न सकेका कर्ण शिक्षा प्रेमी मात्र होइनन्, मानवअधिकारकर्मी, समाजसेवी र असल व्यक्तित्व निर्माण गर्ने कुरामा निकै अब्बल बन्न सक्षम छन् । यसको परिणाम रविन्द्र कर्णको चर्चा नेपालभरि छ । साथै विभिन्न राष्ट्रहरुमा पुगेर उनले सिकेका अभ्यासलाई नेपालभर पु¥याएर सभ्य समाजका निर्माणका लागि योगदान गरेका छन् ।

रबिन्द्रको शैक्षिक यात्रा र सामाजिक सेवाको यात्रा निकै लामो छ । जीवनका तीन दशक भन्दा लामो समय रबिन्द्रले शिक्षा र समाजका क्षेत्रमा सक्रिय रुपमा बिताइ सकेका छन् । यो समयमा उनका जीवनमा निकै आरोह र अबरोह नआएका भने होइनन् तर कर्णले संयमता अपनाएर जीवनको गतिलाई अगाडि बढाएका छन् । कर्णले जीवनको पहिलो शिक्षा मङ्गल प्रसाद माध्यामिक विद्यालय नेपालगन्जबाट सुभारम्भ गरेका थिए । अनि सोही विद्यालयमा एसएलसीसम्मको अध्ययन पूरा गरे । उनले कक्षा ५ सम्म पढ्ने बेला कापीमा लेख्न पाएनन् । कक्षा ५ सम्म पढ्ने विद्यार्थीलाई कापीमा लेख्न दिने चलन थिएन । उनीहरुले सिधै कालो पाटीमा लेख्ने गर्ने अनि बोरामा बसेर पढ्ने गर्थे । फुसले छाएको स्कुल थियो । उनको कक्षामा ६० जना अध्ययनरत थिए ।

पहिले यो स्कुलको नाम मंगल प्रसाद वहुउदेश्सिय हाइस्कुल थियो । यसको अंग्रेजी नाम एमपी मल्टिप्रपज हाइस्कुल थियो । त्यहाँ सेक्रेटरियल साइन्स अन्तर्गत सट ह्याण्ड र टाइपिङ, ट्रेड एण्ड इण्डस्ट्रिज अन्तर्गत काष्ठ बिधा जसमा कार्पेन्टरको कामको बारे सैद्धान्तिक र व्यवहारिक अध्ययन, कृषि र गृह विज्ञान विषय पढाइ हुन्थ्यो । रबिन्द्रले ऐच्छिक विषय अन्तर्गत ट्रेड एण्ड इन्डस्ट्रिज विषय रोजेका थिए । उनले त्यति बेला प्रयोगात्मक अन्तिम परिक्षामा काठको दराज तयार पारेका थिए । उनी र उनका २० जना साथीले काष्ठ विद्या रोजेका थिए । जसअन्तर्गत विभिन्न फर्निचरका सामाग्री बनाएका थिए । महिलाहरुले भने ऐच्छिक विषयमा होम साइन्स रोज्ने गर्थे ।

उनी माध्यामिक तहमा अध्यापन गराउने गुरुहरु बिष्णुमान श्रेष्ठ, ललित सिंह सिजापति, स्वर्गीय मोहनलाल श्रेष्ठ, स्वर्गीय दिल्लीराज पाण्डे, स्वर्गीय मोहम्मद सकुर, मोहम्मद रजा, स्वर्गीय टिकाराम शाही, स्वर्गीय रुद्रपतिलाल कर्ण, चन्द्रमान श्रेष्ठ र स्वर्गीय निर्मल प्रसाद अर्याललाई स्मरण गर्छन् । उनीहरुले दिएको ज्ञानको ज्योतिलाई अहिले पनि व्यवहारमा उतार्ने कोसिस गरीरहेका छन् । उनी स्कुले जीवनका साथीहरु उद्धव राज पौडेल, प्रमोद प्याकुरेल, उमा शाह, दिलमाया राना, रन्जना श्रेष्ठ र राधा श्रेष्ठलाई निकै सम्झिन्छन् । बाल्यकालका गतिविधि र बिताएका क्षणहरु अहिले पनि उनको मानस पटलमा ताजै छन् ।

विक्रम संवत् २०३० सालमा रबिन्द्र कर्ण समेत गरी उनका ५ जना साथीहरु मात्र बाँके जिल्लाबाट एसएलसी पास गर्न सफल भएका थिए । त्यसबेला उनी र उनका ५ जना साथीहरुलाई टाढा—टाढाबाट हेर्न आउने गर्थे । उनले एसएलसी उतिर्ण गरेको मंगल प्रसाद मावि त्यतिबेला देशकै उत्कृष्ट विद्यालयमा रुपमा थियो । त्यतिबेला सो स्कुलमा अमेरिकन सरकारको ठूलो सहयोग थियो । नयाँ शिक्षा लागु भएपछि अमेरिकन सरकारको सहयोग रोकिएको हो । रविन्द्रले एसएलसी दिने बेला अंग्रेजीका ७ वटा विषयहरु, अंग्रेजीको नेजफिल्ड ग्रामर, ५० नम्बरको संस्कृत र ५० नम्बरको नेपाली विषय अनिवार्य पढ्नु पर्थ्यो ।

रबिन्द्रले विक्रम संवत् २०३४ सालमा नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरे । सन् १९८३ मा लखनउ विश्व विद्यालयबाट बिएस्सी उत्तीर्ण गरे भने सन् १९८९मा काठमाडौंस्थित कीर्तिपुर क्याम्पसबाट एमएससी उत्तीर्ण गरे । त्यसपछि नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा जागिरका लागि कुरा गर्न गए ।

तत्कालीन क्याम्पस प्रमुख स्वर्गमानसिंह श्रेष्ठले राम्रो रेसपोन्स गरे र ठाउँ खाली भएपछि खबर गर्ने आश्वासन दिए । रसायन शास्त्रमा एमएससी गरेका कर्णले त्यसपछि नेपालगन्जस्थित महेन्द्र माध्यामिक विद्यालयमा नियुक्ति लिएर पढाउन सुरु गरे । त्यहाँ पढाउन सुरु गरेको केही सयममै विज्ञान शिक्षा योजना अन्तर्गत साइन्स मास्टर टिचरको लागि एउटा बिज्ञापन खुल्योे । यसको परीक्षाको किसिम अन्तर्वार्ता मात्रै रहेको थियो । त्यसमा दुई जनाको मात्रै एप्लाई पर्न गयो त्यसमा रबिन्द्र छनोट भए । सो अवसर अन्तर्गत ५ वर्षसम्म काम गर्नुपर्ने छोडेर जान नपाइने कुरा थाहा पाएपछि रबिन्द्रले यो अवसर वैकल्पिकमा नाम निकालेका साथी रामलाल श्रेष्ठलाई सो अवसर प्राप्त भयो । क्याम्पसमा नियुक्ति रोकिन्छ भन्ने चिन्ताले रविन्द्रले यो अवसर ग्रहण गर्न चाहेनन् ।

यसको केही समयमै शिक्षक सेवा आयोगमा माध्यामिक स्तरको स्थायी शिक्षकको लागि विज्ञापन भयो । यसमा रबिन्द्रले लिखित र मौखिक दुवै परीक्षा उत्तीर्ण गरे । उनको पहिलो नियुक्ति नेपालगन्जस्थित सरस्वती माध्यामिक विद्यालयमा थियो । रबिन्द्रले कार्यरत महेन्द्र माध्यामिक विद्यालयमै काम गर्ने रुचि देखाएपछि सो नियुक्तिमा पुनर्विचार गरेर पहिलेकै स्थानमा काम गर्ने अवसर प्राप्त भयो । त्यसपछि रबिन्द्रले महेन्द्र माध्यामिक विद्यालयमा स्थायी शिक्षकको रुपमा काम गर्न सुरु गरे ।

काम गर्न सुरु गरेको १५ दिनमा उनले काम गर्न चाहेको महेन्द्र बहुमुखी क्याम्पसबाट तत्कालीन क्याम्पस प्रमुख स्वर्गमानसिङ श्रेष्ठले ठाउँ खाली भयो भनेर खबर गरे । त्यसपछि रबिन्द्र धर्मसंकटमा परे । यता स्थायी नियुत्ति लिएर अध्यापन गराइरहेका थिए भने उता महेन्द्र बहुमुखी क्याम्पसको तीन महिने अस्थायी नियुक्ति थियो । त्यतिबेला उनले आफ्ना बुबाको सल्लाह लिए । त्यतिबेला बुबाले आफूलाई के ठीक लाग्छ गर्न भनेपछि उनले माध्यामिक तहको स्थायी जागिर छाडेर महेन्द्र बहुमुखी क्याम्पसमा तीन—तीन महिनामा थप हुने नौकरीको नियुक्ति लिन पुगे । त्यतिबेला छोराले स्थायी जागिर नछोडे पनि हुन्थ्यो भन्ने उनका बुबाको मनोभावना बुझेका रबिन्द्रले बुबाको मनोभावना भन्दा विपरीत रहेर निर्णय लिन पुगे । यो निर्णयबाट रबिन्द्र दुःखी थिएनन् । उनको उच्च तहका विद्यार्थीहरुलाई अध्यापन गराउने सपना पूरा भएको थियो । उनले सो क्याम्पसमा पहिलो नियुक्ति विक्रम संवत् २०४३ सालमा लिए । उनले नियुक्ति थप गर्दै अध्यापन गराउने क्रममा उनको जीवनमा खुसीको क्षण आयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बासुदेव चन्द्र मल्लले कार्यअवधि एक वर्ष पूरा भएका र सो भन्दा बढी समय अध्यापन गराएका सबै शिक्षकहरुलाई स्वतः स्थायी गर्ने निर्णय गरेपछि उनको जीवनमा खुसीको क्षण आएको हो ।

विक्रम संवत् २०४७ साल भदौ ३१ गते स्थायी नियुक्ति प्राप्त गरे । विश्वविद्यालयका उपकुलपति नेपाल प्राध्यापक संघको अध्यक्ष रहँदा सम्पूर्ण एक वर्ष अध्यापन गराएका शिक्षकलाई स्थायी गर्नुपर्छ भन्ने माग राखेर आन्दोलनमा उत्रिएका थिए ।

समय बित्दै जाँदा विक्रम संवत् २०५२ सालमा तत्कालीन क्याम्पस प्रमुख कुमार बहादुर कार्कीले सहायक प्राध्यापकका लागि प्रस्ताव गरे र स्थायी जागिर छाडेर सो पदका लागि अवसर खुला गरे । तर रबिन्द्रले स्थायी जागिर छोडेर करारमा सहायक प्राध्यापक पदको नियुक्ति लिन चाहेनन् । रबिन्द्रको यो निर्णयमा तत्कालीन क्याम्पस प्रमुखले सहमति जनाए । त्यसपछि विक्रम संवत् २०५८ सालमा उपप्राध्यापकको लागि आन्तरिक विज्ञापन खुल्यो । उनले त्यसबेला लिखितमा नाम निकाले पनि अन्तर्वार्तामा सफल हुन सकेनन् । त्यसको ६ महिनापछि फेरि आन्तरिक रुपमा विज्ञापन खुल्यो । त्यसअवधिमा भने रबिन्द्रले लिखित र मौखिक परीक्षामा सफल भई योग्यता क्रममा १ नम्बरमा नाम निकाले । यो क्षणलाई रबिन्द्र जीवनको सबैभन्दा खुसीको क्षणका रुपमा लिन्छन् ।

विक्रम संवत २०६० सालमा उपप्रध्यापको नियुक्ति बुझ्दा उनको मासिक पारिश्रमिक ८ हजार ६ सय ५० रुपैयाँ थियो । समय बित्दै जाँदा विक्रम संवत् २०६६ सालमा सहप्राध्यापको परीक्षा दिँदा सफल नभएता पनि विक्रम संवत् २०७२ सालमा उनी सफल भए । त्यतिबेला ३१ सिटको लागि ६४जनाले एप्लाई गरेकोमा रबिन्द्रको नाम ६ नम्बरमा प्रकाशन भएकोे थियो । सो अवधिदेखि अहिलेसम्म रबिन्द्र सहप्राध्यापकको रुपमा शिक्षण पेसामा आबद्ध छन् ।

०७८ साल कात्तिक १ गतेदेखि रबिन्द्र उमेरहदको कारणले अनिवार्य अवकास हुँदै छन् । ३४ वर्ष ७ महिना शिक्षा क्षेत्रमा नेपाल सरकारको जागिरे जीवन बिताएका रबिन्द्र रिटायर्ड लाइफमा पनि शिक्षा क्षेत्रमा सक्रिय रहेर सामाजिक काम गर्न चाहन्छन् । यसको सुरुवात रबिन्द्रले गरी सकेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जमा महिला कलेजको अवधारणालाई कार्यान्वयन गरिरहेका छन् । यसका लागि मंगलप्रसाद माध्यामिक विद्यालमा रहेको जग्गा र फिल्ड भोग चलनमा लिई ४० कोठे भवन निर्माण सम्पन्न भइसकेको छ भने सोही स्कुलमा पहिलेदेखि नै अवस्थित छात्रावासलाई जिर्णेद्वार गरी महिला कलेजको होस्टेलको रुपमा प्रयोग गर्ने गरी काम सम्पन्न भएको छ । यो कामका लागि रबिन्द्रले संयोजकको भूमिका निभाइरहेका छन् ।

गत वर्ष २०७७ सालमा गरिएको एक भेलाबाट रबिन्द्रलाई सो कलेजमा के विषय पढाउने, यसमा लाग्ने खर्च, शैक्षिक सामाग्रीमा लाग्ने खर्च र कुन विश्वविद्यालयको सम्बन्धन लिने भन्ने बारे म्यान्डेटसहित ९ सदस्सीय टिमको संयोजन गर्ने अवसर मिलेको छ । यो अवसरलाई रबिन्द्रले राम्ररी निभाउन सकेका छन् । यो कलेजमा कुन कुन विषय पढाउने सम्बन्धमा प्राविधिक शिक्षा अन्तर्गत बिएससी सीएसआइटी, बिसीए बिआइटी, बिएड, बिबिए, आमसंचार, कानुनतर्फ पाँच वर्षे एलएलबी र बिपिए पढाउने गरी नेपालगन्ज उपमहानगरपालिकाले सिफारिस गरेको छ । यो वर्षको लागि मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धनमा बिएससी, सिएसआइटी र बिएडका कक्षाहरु सञ्चालन गर्न विस्तृत प्रस्ताव तयार गरी मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा पठाउने तयारी रबिन्द्रले गरेका छन् । यही समितिले नेपालगन्ज महिला कलेज सञ्चालन कार्यविधि तयार गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरेकोमा सो कार्यविधि हालै बसेको नेपालगन्ज उपमहानगरपालिकाको नगरसभाबाट पारित भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको बजेटमा ५० लाख रुपैयाँ शैक्षिक खर्च र ४० लाख रुपैयाँ सम्बन्धन खर्च छुट्टाइएको छ । यो कलेज नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत सञ्चालन हुने छ ।

यसरी काम गर्दै गर्दा रबिन्द्रले आगामी दिनमा पनि अझै सक्रिय भएर शिक्षा क्षेत्रमै अवकास जीवन बिताउने योजना बनाएका छन् । सामाजिक क्षेत्र र मानव अधिकारको क्षेत्रमा पनि बचेको समय दिने निर्णय उनले गरेका छन् । यस्तै शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित नहुन् भनेर रबिन्द्रले निम्न आय भएका विद्यार्थीहरुको अवस्था थाहा भएसम्म आर्थिक सहयोग गर्दै आएका छन् ।

शैक्षिक मात्र होइन रबिन्द्रको राजनीतिक जीवन पनि चर्चा गर्न लायक छ । प्रजातान्त्रिक पार्टी प्रति रबिन्द्रको अहिले पनि आस्था छ र योगदान पनि गरिरहेका छन् । उनले विद्यार्थी जीवनमा गरेको राजनीतिक क्रियाकलापलाई अहिले पनि स्मरण गर्छन । विक्रम संवत् २०३६ सालमा विद्यार्थी जीवनमा रबिन्द्रले नेपाल विद्यार्थी संघमा काम गर्ने बेला बिपी कोइरालासँग राष्ट्रिय मेलमिलापको अभियानमा सक्रिय भएर काम गरे । उनको बिपी कोइरालासँग राजनीतिक सम्बन्ध निकै राम्रो थियो । रबिन्द्रले राजनीतिक सम्बन्ध विस्तारको क्रममा लखनउको लोहिया समाजबाद मञ्चसँग समेत सहकार्य गर्ने अवसर पाए । लखनउमा आयोजित विशेश्वर प्रसाद कोइराला र भारतका पूर्व प्रधानमन्त्री चन्द्र शेखरको किसान भवनमा आयोजित कार्यक्रमहरुमा भाग लिने अवसर पाए ।

उनी भारतमा बिएससी पढ्दे गर्दा लखनउमा राजा वीरेन्द्रको भ्रमणको दौडानमा नेपाल विद्यार्थी संघको आयोजनामा लखनउमा नै राजालाई कालोझण्डा देखाउने क्रममा सहभागी हुँदा लखनउको प्रहरीद्वारा पक्राउ परी हजरतगन्ज थानामा झण्डै ५ घण्टा हिरासतमा राखिएको थियो । राजा कार्यक्रम सकेर गएपछि उनी सहित ७ जनालाई हिरासतबाट छाडिए पनि उनीहरु माथि प्रहरीले निगरानी बढाउन सुरु गरेको थियो । उनले विक्रम संवत् २०३९ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएर काम गर्ने अवसर समेत प्राप्त गरे । त्यतिबेला दिनेशमणि त्रिपाठी महासचिवको रुपमा कार्यरत थिए । उनले राजनीतिकै सिलसिलामा क्षेत्रीय सभापतिमा पनि निर्वाचन जितेका थिए । तर अहिले रबिन्द्र पदीय हिसाबले नभएता पनि प्रजातान्त्रिक पार्टीप्रति आस्थावान रहेका छन् ।

बुबा स्वर्गीय रुद्रपतिलाल कर्ण र माता स्वर्गीय रुक्मिणी देवी कर्णको जेठो सन्तानका रुपमा जन्मिएका रविन्द्र कर्णको घरमा बोलाउने नाम बिक्लु हो । उनका बुवा आमाले बाचुन्जेल बिक्लु भनेर बोलाए । कर्णका पिताले ८७ वर्षको उमेरमा र माताले ७९ वर्षको उमेरमा देह त्याग गरे । विक्रम संवत् २०१५ साल ७ महिना १ गते संसारमा पाइला टेकेका रबिन्द्रका ४ जना दाजुभाइ छन् । रबिन्द्रका माइलो भाइ सुरेन्द्र कर्णले अहिले नपाल बैंक लिमिटेडको रिटायर्ड लाइफ बिताइरहेका छन् । साइलो भाइ रमेश कुमार कर्ण पेसाले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरको रुपमा काम गरिरहेका छन् भने कान्छो भाइ बिनोद कर्ण नेपालगन्ज मेडिकल कलेजमा प्लाष्टिक सर्जन छन् । कर्णका दिदीबहिनी भने छैनन् ।

कर्णले सन १९८७ को जुन १२ मा भारतको बिहारबाट शुष्मा कर्ण सँग विवाह गरे । शुष्माले एमए संस्कृत भाषामा भारतको पटना युनिभर्सिटीबाट शिक्षा आर्जन गरेकी छिन् । उनले जीवनको २० वर्ष नेपालगन्ज स्थित महेन्द्र उच्च माध्यामिक विद्यालयमा अध्यापन गराएर अहिले गृहणी जीवन व्यतीत गरिरहेकी छिन् । कर्णका दुईवटा छोरा छन् । ३० वर्षे जेठो छोरा डाक्टर अंकुर कर्णले एनेसथेसियामा एमडी गर्दैछन् । उनले अहिले भारतको गोभरमेन्ट वमेन्स मेडिकल सोनीपथ हरियानामा अध्ययन गरिरहेका छन् । जेठा छोरा अंकुरको श्रीमती कीर्ति अग्रवाल इण्डियाको एक मल्टिनेशनल कम्पनीमा कार्यरत छिन् भने रबिन्द्रका २७ वर्षे कान्छा छोरा अंकित कर्ण पेसाले कम्प्युटर इन्जिनियर हुन् । उनी पनि दिल्लीमा बस्छन् र अमेरिकास्थित एक मल्टिनेशनल कम्पनीमा कार्यरत छन् । रविन्द्रका पुर्खाहरु बारा जिल्लाबाट बसाइँ सरेर बाँके जिल्लामा आएका हुन् । उनले स्वर्गीय हजुरबुबा चन्द्रपतिलाल कर्ण र स्वर्गीय हजुरआमा गायत्रीदेवी कर्णलाई निकै स्मरण गर्ने गर्छन । उनको हजुरआमा गृहणी थिइन् भने हजुरबुबा नेपालगन्ज जेलको जेलर थिए । उनका हजुरबुबाले मालपोतको दिवान भएर पनि काम गरे ।

उनको हजुरबुबा समाजमा निकै प्रसिद्ध थिए । रबिन्द्रको परिवार बाराबाट बाँकेमा झरेको झण्डै १ सय ६० वर्ष पुगिसेकेको छ । रविन्द्रका बुवा पेसाले शिक्षक थिए । उनले लखनउ विश्व विद्यालयबाट बिए र आगरा विश्वविद्यालयबाट अंग्रेजी साहित्य र राजनीतिक शास्त्रमा स्नाकोत्तर र तत्पश्चात् सानोठिमीबाट मनोविज्ञानमा बिएड गरेका थिए । बुवा शिक्षा क्षेत्रमा अब्बल कारण रबिन्द्रले बुवालाई प्रेरणाको पात्रका रुपमा लिन्छन् । रबिन्द्रका बुबाले नेपालन्ज स्थित महेन्द्र उच्च माध्यामिक विद्यालयको स्थापना विक्रम संवत् २०१५ सालमा गरेका हुन् । जति बेला रबिन्द्रले संसारमा पाइला टेकेका थिए ।

प्रहरीहरु दिनभरि ड्युटीमा व्यस्त रहने र उनीहरुलाई रातिको समयमा अध्यापन गराउने उद्देश्यले विद्यालय स्थापना गरेका हुन् । त्यतिबेला सो विद्यालयको नाम महेन्द्र नाइट ऐकेडेमी रहेको थियो । त्यतिबेला त्यो बेला रातिको समयमा संचालन हुने गर्दथ्यो । रातिको समयमा सो विद्यालयमा समय दिने गरेता पनि दिउँसोको समयमा भने उनका बुबाले मंगल प्रसाद बहुउद्देस्सीय हाइस्कुलमा समय दिने गर्दथे र २०२८ साला नयाँ शिक्षा योजना लागु भएपछि कुनै एकमात्रै विद्यालयमा जागिर गर्न पाउने प्रावधान भएको कारणले उनले आफूले स्थापना गरेको महेन्द्र नाइट एकेडेमीमा प्रधानाध्यापकको रुपमा नै निरन्तरता दिने निर्णय गरे र मंगल प्रसाद बहुउद्देस्सीयको जागिर छाडे ।

शिक्षा मन्त्रालयले उनका बुबाको अवकाश भएपछि निरन्तरता दिँदै २ वर्षको अवधि थप ग¥यो र त्यो दुई वर्षमा उनको बुबाले बाँके जिल्लाको पहिलो पलस टु विज्ञान संकाय खोले र त्यहाँ आइटीको पढाइ सुरु भयो । सो प्लस टु खोल्नका लागि तत्कालीन नगरपालिकाले सम्बन्धन लगायतको लागि अन्य शैक्षिक सामाग्रीको लागि आर्थिक सहयोग गरेको थियो । सो स्कुलको भौतिक निर्माणमा नेपालगन्ज नगरपालिका, तत्कालीन जिल्ला पञ्चायत, शिक्षा मन्त्रालय र नेपालगन्जवासीहरुको ठूलो योगदान रहेको छ ।

उनका बुबाले विद्यालयमा सेवारत रहँदा अमेरिकाको क्यालीफोर्नियाको युनिभर्सिटीमा सन् १९६६ मा एक वर्ष नेपाली विषय पढाउन जाने अवसर समेत पाए । यो अवसरको कुराले रबिन्द्रलाई म पनि भविष्यमा केही गर्न सक्छु र गर्नुपर्छ भन्ने कुरा मनमा खड्किएको थियो ।

रबिन्द्रले जीवनको महत्वपूर्ण समय सामाजिक क्षेत्रमा पनि प्रचुर मात्रामा व्यतीत गरेका छन् । सन् १९८७ मा नेपालगन्जका वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले सामाजिक संस्था जेसिजमा जोडिनको लागि आग्रह गरे । त्यतिबेला रबिन्द्रले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा विज्ञान विषय अध्यापन गराउने गर्थे । अन्तर्राष्ट्रिय जेसिजको स्थापना सन् १९९० मा भएको थियो । नेपालमा जेसी डाक्टर भेषबहादुर थापाको सभापतित्वमा सन् १९६४ मा स्थापना भयो र अन्तर्राष्ट्रिय जेसिसबाट नेपालगन्जस जेसिजले डब्लिन वल्र्ड कंग्रेसमा त्यो बेला सन् १९७४ मा सिनेटर अम्बिका श्रेष्ठ हुँदा अन्तर्राष्ट्रिय मान्यता पायो । श्रेष्ठ द्वावारिकाज होटलकी सञ्चालक हुन् । नेपालगन्ज जेसिज सन् १९७६ मा स्थापना भयो । नेपालगन्ज जेसिजको पहिलो संस्थापक अध्यक्ष स्वर्गीय दिन दयाल मोहपाल थिए । सन १९८५ र १९८६ मा स्वर्गीय पुर्षोत्तम दास श्रेष्ठ नेपालगन्ज जेसिजको अध्यक्ष थिए । उनको नेतृत्व २ वर्षको थियो ।  उनको कार्यकालमा नेपाल जेसिजमा पठाउनु पर्ने सदस्यता शुल्क नपठाएको कारणले सन १९८७ मा पनि नपठाएको खण्डमा शाखा खारेज हुने अवस्था आइपरेको थियो ।

नेपालगन्ज जेसिजको शाखा बचाउनका लागि सन् १९८७को जुलाई महिनामा पत्रकार हेमन्त कर्माचार्यको अध्यक्षतामा बैठक बसी नयाँ कार्यसमितिको चयन गरियो । र सोही बैठकबाट नेपाल जेसिजमा पठाउनु पर्ने सम्पूर्ण सदस्यता शुल्क पठाउने निर्णय गरियो । त्यति बेला नेपालगन्ज जेसिज संकटको अवस्थाबाट गुज्रिरहेको हुँदा त्यही अधिवेशन बैठकबाट सबै प्रक्रिया पु¥याइ उपाध्यक्षको मनोनयन गर्ने बेला रबिन्द्रले पनि हात उठाए । जेसीजको ४ उपाध्यक्ष मध्ये १ जना रबिन्द्र पनि हुन सफल भए । त्यसपछि रबिन्द्र सन् १९८८ मा कोषाध्यक्ष भए भने सन् १९८९ मा कानुनी सल्लाहकार भए । यसैगरी सन् १९९० मा नेपाल जेजिस एरिया डी को तालिम संयोजक भए ।

पाल्पा जिल्लादेखि पश्चिम क्षेत्रमा रबिन्द्रले तालिमको संयोजक गर्ने गर्थे । महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनको बाहेकको समयमा रबिन्द्रले तालिमहरु सञ्चालन गर्ने र आवश्यक परेमा बिदा लिएर जाने गर्थे ।

सन् १९९२ मा उनी नपालगन्ज जेसिजको अध्यक्ष भए । तेस्रो पटकको निर्वाचनबाट उनी अध्यक्ष हुन सकेका हुन । यसअघि सन् १९८९ र सन् १९९० मा भएको चुनावमा अध्यक्ष पदमा असफल भएका थिए । अध्यक्षमा निर्वाचित भइसकेपछि सन् १९९२ को राष्ट्रिय महाधिवेशन डिसेम्बर महिनामा पोखरा जेसिजको आथित्यतामा भएको थियो । त्यहाँ रबिन्द्रले आफ्नो शाखाबाट नेपाल जेसिजको वर्ष सन् १९९३ को राष्ट्रिय बोर्डको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए ।

पोखरा जेसिजको आथित्यतामा भएको राष्ट्रिय महाधिवेशमा ७ औं नम्बरमा चुनाव जिते । त्यस बेला नेपाल जेसिजको राष्ट्रिय बोर्डमा ८ जना रहने प्रावधान थियो । सन् १९९३ को नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन जनकपुर जेसिजको आथित्यमा जनकपुरमा आयोजना गरिएको थियो । सन् १९९३ मा नेपालगन्ज जेसिसबाट वर्ष १९९४ को नेपाल जेसिजको राष्ट्रिय बोर्डमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकोमा सो महाधिवेशनमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा जित्न सफल भए ।

सन् १९९५ मा नेपाल जेसिजमा रहेको प्रशिक्षण प्रतिष्ठानको चियर म्यानको रुपमा १९९५ का राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवालले रबिन्द्रलाई राष्ट्रिय तालिम आयुक्त नियुक्त गरेका थिए । सन् १९९० बाट प्रशिक्षण लिने र दिने काम रबिन्द्रले सुरु गरिसकेका थिए । यो अवसरले रबिन्द्रलाई अझै उत्साहित बनायो । उनको निरन्तरको लगनशीलताले यो अवसर प्राप्त भएको थियो । त्यसपछि रबिन्द्रले पूर्वमा इलामदेखि पश्चिममा महेन्द्र नगरसम्म व्यक्तित्व र नेतृत्व विकास तामिल प्रदान गरिरहेका छन् ।

उनले व्यक्तित्व र नेतृत्व विकास सँग सँगै संगठन विकास, संसदीय सभा सञ्चालन प्रक्रिया लगायतका विषयमा समेत प्रशिक्षण दिने गर्छन । तालिम सञ्चालन गर्ने क्रममा रबिन्द्रले पहिलो गुरुका रुपमा वर्ष १९९० का राष्ट्रिय अध्यक्ष सिनेटर बिकल शेरचनलाई लिन्छन् । उनी अति मिलनसार, हसमुख र अरुलाई प्रोत्साहित गर्ने व्यक्तित्वका मालिक भएको रबिन्द्र बताउँछन् ।

उनको प्रेरणा र हौसलाबाट रबिन्द्र निकै प्रभावित भएका थिए । सन् १९९० देखि नै तालिम लिने र दिने क्रम चल्दै गर्दा सो क्रममा अन्तर्राष्ट्रिय सन् १९९२ मा रबिन्द्र अन्तर्राष्ट्रिय जेसिजको प्राइम ग्रेजुयट हुन सफल भए । सन् १९९७ मा थाइल्यायण्डमा भएको अन्तर्राष्ट्रिय जेसिजको एशिया पेसिफिक कन्फे्रन्समा एक्सल तालिममा सहभागिता जनाए । सन् १९९७ मा अन्तर्राष्ट्रिय जेसिजको आयोजनामा इन्डियन जेसिजको हैदराबाद च्याप्टरले आथित्य गरेको नालन्दा प्रशिक्षणमा सहभागी भई रबिन्द्रले ग्रेयायुजेशन गरेका हुन् । त्यो प्रशिक्षणको शीर्षक लिडर एण्ड एडमिष्ट्रशन रहेको थियो ।

सन् १९९५ मा जेसिज अन्तर्राष्ट्रिय मान्यताबाट मान्यता प्राप्त जेसिआई एकेडेमी जो कि हरेक वर्ष जापानको विभिन्न च्याप्टरमा आयोजना हुने गरेको छ । वर्ष १९९५ को जेसिआई एकेडेमी जापान जेसिजको किटाकामी, सेन्दाई र योकोहामा जेसिजको आथित्यतामा किटाकामी, सेन्दाई र योकोहामा सिटीमा आयोजना गरिएको थियो ।

नेपालबाट रबिन्द्र कन्ट्री रिप्रेजेन्ट्रिभको रुपमा एकल छनोटमा परी जेसिआई एकेडेमी १९९५ मा जापानमा सहभागिता जनाएका थिए । उनको छनोट नेपाल जेसिज वर्ष १९९५ मा भएको थियो । त्यो साल उक्त एकेडेमीको प्रशिक्षणको शीर्षक एक्सलेन्ट लिडरसीप रहेको थियो । सो तालिम २ हप्तासम्म चलेको थियो ।  उक्त तालिमबाट रबिन्द्र जेसिआई एकेडेमीको ग्रयाजुयट पाउन सफल भए ।

नेपाल जेसिजको विभिन्न शाखाहरुमा रबिन्द्रले प्रशिक्षण सञ्चालन गर्दा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर जयदेव वैध, सिनेटर राजेन्द्र बहादुर श्रेष्ठ, सिनेटर बद्रीदास श्रेष्ठ, सिनेटर उत्तर चापागाई, सिनेटर चरण प्रसाई, सिनेटर हरिकृष्ण बास्तोला, सिनेटर राज विमल श्रेष्ठ र राघवराज रेग्मी लगायत थिए । यही प्रशिक्षणको यात्राको क्रममा सन् १९९३, सन् १९९५, सन् १९९६, सन् २००० र सन् २००२ का राष्ट्रिय अध्यक्षहरु त्रमशः सिनेटर सन्तोष रिजाल, सिनेटर अनिल भेटवाल, सिनेटर सुरेन्द्र महतो र सिनेटर फूल कुमार लालवानी, प्रकाश बहादुर केसी, नेपाल जेसिजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर प्रजन्य राज भण्डारी र प्रकाश चन्द्र शाहहरुको पनि उल्लेखनीय योगदान रहेको छ । यो प्रशिक्षणको यात्रा क्रमशःआजको दिनसम्म पनि चलिरहेको छ । रबिन्द्रले आजको दिनसम्म नेपाल जेसिजमा ४७ वटा शाखाबाट एक सय ५२ शाखा हुँदासम्म निरन्तर अहिले पनि तालिम सञ्चालन गरिरहेका छन् ।

रबिन्द्रको यात्रा नेपाल जेसिजमा अझै अगाडि बढेको छ । स्न १९९६ नेपाल जेसिजको नवनिर्वाचित राष्ट्रिय अध्यक्ष सिनेटर सुरेन्द्र महतोद्वारा रबिन्द्र राष्ट्रिय कानुनी सल्लाहकार नियुक्त भए । सो वर्ष पनि कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्दै नेपाल जेसिजको आयोजनामा संचालन हुने विभिन्न शाखाका प्रशिक्षणहरुमा प्रशिक्षण दिने काम रबिन्द्रले गरे । सन् १९९५ को नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन पाटन जेसिजको आथित्यतामा पाटनमा आयोजना गरिएको थियो र सोही महाधिवेशनबाट सिनेटर सुरेन्द्र महक्तो वर्ष १९९६ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका थिए ।

नेपाल जेसिजको वर्ष १९९६ को राष्ट्रिय महाधिवेशन नारायणघाट जेसिजको आयोजनामा नारायणकला मन्दिर नारायणघाटमा सञ्चालन भएको थियो । सोही महाधिवेशनमा नेपाल जेसिजको वर्ष १९९७ को राष्ट्रिय अध्यक्ष पदको दाबेदारीमा नेपालगन्ज जेसिस शाखाबाट रबिन्द्र विजयी भए । उनका प्रत्यासी सिद्धार्थ नगर जेसिजका जेसि सुर्दशन नेपाल थिए । सम्पन्न निर्वाचनमा लगभग ७ सय भोट खसेकोमा जेसिज सुर्दशन नेपाललाई त्यतिबोल सदर मतको सय भोटको अन्तरले रबिन्द्रले पराजित गरी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका थिए । सन् १९९७ को नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन हेटौडा जेसिजको आथित्यतामा वनविज्ञान अध्ययन संस्थान हेटौडामा आयोजना गरिएको थियो । उक्त महाधिवेशनबाट विरगन्ज जेसिजका जेसी दिपक शाक्य वर्ष सन् १९९८ का लागि राष्ट्रिय अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । वर्ष १९९८ मा निर्वतमान अध्यक्षका रुपमा रही आफ्नो दायित्व नेपाल जेसिजको राष्ट्रिय बोर्डमा निर्वाह गरी विधिवत रुपमा नेपाल जेसिजबाट जेसिजको पदीय यात्रा रबिन्द्रले यहि समापन गरेका थिए ।

अहिले रबिन्द्रले नेपाल जेसिजको चल अचल सम्पत्तिको रेखदेख र संरक्षणको लागि नेपाल जेसिजको वर्ष १९९७ मा गठन भएको नेपाल जेसिज बोर्ड आफ ट्रस्टिले आफ्नो चार्टर अनुसार सञ्चालित भई हालसम्म पनि त्यसको साधारण सदस्यको रुपमा योगदान दिँदै आएका छन् । त्यो ट्रस्टीको साधारण सदस्यहरु नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्षहरुनै हुन्छन् र यिनीहरुबाट नै एउटा कार्यकारिणी समितिको गठन हुन्छ ।
रबिन्द्रको सामाजिक कार्यको यात्रा यतिमा मात्र टुङ्गिँदैन । उनले मानवअधिकार क्षेत्रमा पनि थुप्रै कार्य गरेका छन् । उनले पहिलो मानअधिकार सम्बन्धी तालिम एमनेस्टी इन्टरनेशनल नेपालका स्वर्गीय राम कुमार शर्माबाट लिएका हुन् ।

नेपालगन्जको त्रिभुवन चोक स्थित कनैयालाल धर्मशालामा पाएको पहिलो पटकको मानवअधिकार सम्बन्धी प्रशिक्षण रबिन्द्रले स्वर्गीय राम कुमार शर्माबाट प्राप्त गरेका हुन् । साथै केहि दिन एमनेस्टी इन्टरनेशनल नेपालगन्ज अन्तर्गत रही कार्य गर्न थाले । यो कार्य गर्दै जाँदा एमनेस्टी इन्टरनेशनलको सिद्धान्त अन्तर्गत आफ्नो देशको मानवअधिकारको अवस्थाबारे बोल्न नपाइने तर विश्वका अन्य मानवअधिकारसँग सम्बन्धित अवस्थामा बन्दीहरुको बारेमा एड्भोकेसी र लभिङ गर्नुपर्ने कामहरु मात्र गर्न पाउने प्रावधान हुने हुँदा कामहरु त गरे तर पछि उनीमा रुचिहरु घट्न थाले र विस्तारै यो कामप्रति बिमुख हुँदै गए । त्यसपछिका दिनहरुमा त्रिभुवन विश्व विद्यालयका राजनीतिक शास्त्रका प्राध्यापक कपिल श्रेष्ठबाट मानव अधिकारको बारेमा अति नै गहन सैद्धान्तिक रुपमा मानव अधिकारको विस्तृत रुपमा मूल्य मान्यता र सही मानेमा मानवअधिकार केहो भन्ने कुरा प्रशिक्षणबाट प्राप्त गरे र उनले अठोट गरे अबका दिनमा नेपालमा आवाज विहीनहरुको आवाज बन्ने । त्यसपछि रबिन्द्रले मानव न्याय र जीवनरक्षाका लागि मानव अधिकारकर्मीका रुपमा यात्रा प्रारम्भ गरे । जुन यात्रा आज २६ वर्ष पुगेको छ । सोही क्रममा नेपाल जेसिजमा भएको मानव अधिकार सेलको गठन भई सो समितिमा सदस्यको रुपमा रही विभिन्न किसिमका अनुगमन गरी मुलुकमा भएका आन्दोलनहरुमा बाँके जिल्लाबाट घटित घटनाहरुको अनुगमन गरी तथ्यगत रिपोर्टहरु तयार गरी नेपाल जेसिजमा पठाउने र प्रकाशित गर्ने काम गरेका छन् । नेपालमा राष्ट्रिय मानव अधिकार आयोगको गठन पछि राष्ट्रिय मानव अधिकार रक्षक तयार गर्नका लागि काठमाडौंमा आयोजित ५ दिने प्रशिक्षणमा नेपालगन्जबाट छनोट भई प्रशिक्षणमा भाग लिएका थिए । त्यो तालिमको प्रशिक्षण चरण प्रसाई लगायत राष्ट्रिय मानव अधिकार आयोगका अन्य प्रशिक्षकहरुले गराएका थिए । यो प्रशिक्षणमा देशका विभिन्न जिल्लाहरुबाट लगभग २५ जनाको सहभागिता रहेको थियो । यो प्रशिक्षणको पहिलो दिन संक्षिप्त विवरण र परिचयको क्रममा प्रशिक्षकहरुबाट सहभागी मध्येबाट प्रशिक्षणमा सहभागीहरुले योगदान गरे बमोजिम १ जना सहभागीलाई प्रशिक्षणको अन्तिम दिन समारोहमा उत्कृष्ट सभागीको पुरस्कार र प्रमाणपत्र दिने जानकारी सहित घोषणा भएको थियो ।

उक्त प्रशिक्षणमा रविन्द्र उत्कृष्ट सहभागीको रुपमा पुरस्कृत भएका थिए । तत्पश्च्यात बाँके जिल्लामा रही स्वतन्त्र रुपमा विभिन्न संघ सस्थाका मानवअधिकार रक्षकहरुको सहयोग र सहकार्यमा माओवादी जनयुद्ध कालमा जीउ ज्यानको प्रवाह नगरी जनताहरुको मौलिक अधिकार र जीवनरक्षाका लागि बाँके र बर्दिया जिल्लामा सक्रिय रुपमा काम गर्दै अनुगमन र तथ्यगत रिपोर्टहरु तयार गरी प्रकाशन गर्ने कार्यहरु गर्दै आए । साथै सरकार र विद्रोही माओवादी पक्षबाट जनताको जीवनरक्षा गर्ने कार्यमा योगदान पुर्याए । सो क्रममा सरकारद्वारा पक्राउ गरी विभिन्न जेल तथा अन्य पुलिस र आर्मीको डिटेन्सन सेन्टरबाट धेरै मानिसहरुको ज्यान जोगाउने कार्यहरु विभिन्न संघ संस्थाको मद्दतले काम गर्ने गरी जीवन रक्षाको काम सुरु गरे ।

सन् २००८ मा एडभोकेसी फोरमले मानव अधिकार अधिकृतका लागि भ्याकेन्सी खुलायो । त्यसमा रविन्द्रले सट लिस्टमा नाम निकाले । अन्तर्वार्ता भयो र रबिन्द्रले सट लिस्टमा नाम निकाले । त्यसपछि महेन्द्र बहुमुखी क्याम्पस बाहेकको समय दिने सर्तमा आंशिक रुपमा जागिरको सुरुवात गरे ।

क्याम्पसमा अध्यापन गराएर बचेको समय उनले मानवअधिकारका क्षेत्रमा दिँदा आनन्द महसुस गर्ने गर्थे । काम गर्दा थुप्रै चुनौतीहरु आउने गर्थे तर रविबन्द्रले ती चुनौतीहरुलाई सामना गरेर अगाडि बढ्ने काम छाडेनन् । निरन्तर लागि परिरहे । सो क्रममा जिम्मेवारी सम्हाल्ने क्रममा विस्तृत शान्ति सम्झौतापछि सरकार र माओवादीबाट द्वन्द्वका समयमा पीडित भएकाहरुको डकुमेन्ट संकलन (लिखित, आवाजसहित र भिडियो समेत )गर्ने, अनुगमन गर्ने र रिपोर्ट लेखन गर्ने काम गरे । यसैगरी रविन्द्रले एडभोकेसी फोरममा ८ वर्ष काम गरे । यसै अन्तर्गत अमेरिकन बारको प्रोजेक्ट कोर्डिनेटर भएर एडभोकेसी फोरमको हेड अफिस काठमाडौँबाट पनि काम गर्ने अवसर पाए । यस क्रममा १० वर्षे माओवादी जनयुद्धका क्रममा भएका घाइते, बेपत्ता, गैर न्यायिक हत्या, बलात्कारलगायतका पीडितहरुको तथ्यगत डकुमेन्टेशन गर्ने काम गरे ।

एडभोकेसी फोरमको माध्यमबाट काम गर्दै जाँदा गैर न्यायिक हत्या, घाइते र बर्दिया जिल्लाको एकै दिन आर्मीद्वारा ९ जनाको बेपत्ता पारिएको परिवारलाई न्याय दिने क्रममा घटनाको अनुगमन, डकुमेन्टेशन गरी न्यायको लागि युएनओको ह्युमन राइट काउन्सिलमा मुद्दा दर्ता गरे र सो मुद्दामा विजयी पनि बने । त्यतिबेला नेपाल सरकारलाई पीडकहरुलाई कारबाही गर्न ह्युमन राइट काउन्सिलबाट पत्राचार गरिएको थियो ।
दैलेखका पत्रकार डेकेन्द्र थापाको गैर न्यायिक हत्याको फैसलामा एडभोकेसी फोरमको सहयोगमा रबिन्द्रले न्यायका लागि आवाज उठाएका थिए र सफल पनि भए ।

दैलेखकै एकजना महिलालाई आर्मीबाट बलात्कार घएको घटनाको डकुमेन्टेशन गरी ह्युमन राइट काउन्सिलमा पठाउँदा ह्युमन राइट काउन्सिलले नेपाल सरकारलाई पीडितलाई क्षतिपूर्ति र न्याय दिन र पीडिकलाई कडा कारबाही गर्न पत्राचार गरेको थियो । सन् २००९ मा फिलिपिन्सको राजधानी मलिनामा आयोजना भएको कन्फ्रेन्समा सहभागी भई नेपालको बेपत्ता सम्बन्धी प्रतिवेदन तयार पारी प्रस्तुत गर्ने अवसर रविन्द्रले पाएका थिए । उक्त प्रतिवेदन अन्तर्राष्ट्रिय स्तरको महिनाबाट प्रकाशित हुने द्वन्द्व पीडितहरुको संस्थाले एउटा म्यागेजिन प्रकाशित गरेको थियो । यसै क्रममा एडभोकेसी फोरमले जर्मनीमा आयोजना गरेको तीन हप्ताको प्रशिक्षणमा रविन्द्रले मानव अधिकारसँग सम्बन्धित विभिन्न शीर्षकहरुमा प्रशिक्षण प्राप्त गरेका थिए । प्रशिक्षणको अवधि १५ दिनको रहेको थियो । सो क्रममा जर्मनीको वर्डलिङलगायत जर्मनीका विभिन्न शहरहरु साथै युरोपको नेदरल्याण्डको एमएस्ट्रडम, ब्रसेल्स, फ्रान्सको पेरिस र बेल्जियममा अवलोकन भ्रमण गरेका थिए ।

अहिले पनि रविन्द्रले स्वतन्त्र रुपमा मानव अधिकारको काम गरेका छन् । गत वर्ष राष्ट्रिय मानव अधिकार आयोगबाट गठित कोभिड १९ को अनुगमनका लागि बाँके जिल्ला कमिटीमा सदस्यको रुपमा काम गरे र सो समितिको अध्यक्षमा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह थिए ।

रबिन्द्रको जीवनको सामाजिक पाटो लोभलाग्दो र प्रेरणादायी छ । शिक्षा क्षेत्रमा रहको जागिरे जीवन अनि त्यसबाट बचेको समयमा आराम नगरेर सामाजिक क्षेत्रमा र मानवअधिकारका क्षेत्रमा रबिन्द्रले गरेको योगदान उल्लेखनीय रहेको छ । रबिन्द्र गैर सरकारी संस्था महासंघ बाँकेका सल्लाहकार, नेपालगन्ज रोटरी कल्बमा चार्टर मेम्बर र फातिमा फाउण्डेसनको सल्लाहकार समेत छन् । समाजमा उनको आवश्यकता अझै बढेको छ । व्यस्त समयमा बावजुद पनि रबिन्द्रलाई रमाउन र रोमान्स गर्न निकै मन पर्छ । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित हुँदाको अवस्था र उप्राध्यापकका नाम निकाल्दाको क्षणले रबिन्द्रलाई निकै खुसी बनाएको थियो । उनको जीवनमा दुःखको क्षण त्यतिबेला आयो जतिबेला उनका बुबा र आमाले देह त्याग गरे । विक्रम संवत् २०७६ सालमा बुवाको देहवसान भयो भने उनका आमाको २०७७ साल काक्तिक २४ गते देहवसान भयो ।

रबिन्द्रले आफ्ना बुबा र आमालाई निकै स्मरण गर्ने गर्छन । रबिन्द्र सानो हुँदा बुबालाई नसोधेर चलचित्र हेर्न गएका थिए । त्यसबेला उनका बुबाले रबिन्द्रलाई पढाइ गर्नु पर्दैन भनेर पिटेका थिए । बुबा र आमाले शिक्षामा गरेको लगानी र तयार पारेको वातावरणका कारण आज सफल हुन सकेकोमा रबिन्द्र गर्व गर्छन । रविन्द्रका चारवटै दाजुभाइले राम्रो शिक्षा दिक्षा पाए । परिणाम चारवटै दाजुभाइको समाजमा राम्रो ख्याति छ । रबिन्द्रकी आमा पनि निकै दानी स्वभावकी थिइन् । गरिब दुःखीहरुलाई अन्नपात र लत्ताकपडा दिएर सहयोग गर्ने गर्थिन । आमाले गरेको त्याग, तपस्या र माया सम्झेर रबिन्द्र निकै भावुक हुने गर्छन । रबिन्द्र फुर्सदको समयमा गीत गाउन र सुन्न मन पराउँछन् । उनलाई भारतका गायक रफी र नेपालका गायक नारायण गोपालको गीत सुन्न र गुनगुनाउन मन पर्छ । उनलाई नयाँ साथी बनाउने र नयाँ ठाउँ घुम्न मन पराउँछन् । घरपरिवारलाई पनि उत्तिकै समय दिन्छन् ।

घरपरिवारलाई दिनुपर्ने समयको महत्व बुझेर रबिन्द्रले विक्रम संवत् २०७२ सालमा अमेरिकाका लागि पाएको ५ वर्षे मल्टिपल भिसा समेत खारेज गरे । रबिन्द्रले नेपालको हिमाली जिल्ला बाहेक विदेशको भारत, जापान, हङकङ, कोरिया, अमेरिका, थाइल्याण्ड, सिंगापुर, मलेसिया, न्युजिल्याण्ड, जर्मनी, फ्रान्स, बेल्जिएम , नेदरल्याण्ड लगायतका देशहरुमा भ्रमण गरेका छन् ।

सामाजिक जीवन जिउने क्रममा परिवारलाई बिर्सन नहुने रबिन्द्र बताउँछन् । पहिलो प्राथमिकता परिवार, समाज अनि राष्ट्र भएको बताउने रविन्द्र अहिले पनि सभ्य नागरिक र सभ्य समाज निर्माणको दौडानमा अनवरत रुपमा लागि परेका छन् । भविष्यमा राजनीतिमा सक्रिय रहने कि नरहने भन्ने विषयमा भने केही सोचेका छैनन् । रबिन्द्रको बाल्यकाल निकै रमाइलो सँग बितेको थियो । काठको पाटीमा लेखेको, बासको चोयाले कापीमा लेखेको क्षणहरु निकै स्मरणीय लाग्छन् रविन्द्रलाई ।

रबिन्द्र नेपालगन्ज स्थित रानीतलाउमा तरकारी किन्न गएका थिए । तरकारी किन्दा किन्दै रात पर्न गयो । त्यसपछि डराएर एक हातमा चप्पल र अर्को हातमा तरकारी लिएर दौडिएका थिए । त्यहाँ एउटा पीपलको रुख थियो त्यस रुखमा भूत आउँछ भनेर अभिभाकले कुरा गरेको सुनेर उनी तर्सिएका थिए । यो क्षणलाई पनि रबिन्द्र निकै स्मरणीय ठान्छन् । रबिन्द्र खेलकुदमा पनि निकै दख्खल राख्छन् । स्कुले जीवनमा रबिन्द्र राम्रो खेलाडीका रुपमा परिचित थिए । विश्वविद्यालय स्तरीय फुटबल खेलेका रबिन्द्रले भारतको नानपारा जिल्लामा धेरै राम्रो लेफ्ट डिफेन्सरका रुपमा आफूलाई उभ्याउन सके । यो उनको अर्को खुबी थियो । एथलेक्टिसमा पनि रबिन्द्रको राम्रो दख्खल थियो । नेपालको ४०० र ८०० मिटर दौडको च्याम्पियन पनि हुन रबिन्द्र ।

रबिन्द्रको जीवन कहानी र गरेका कार्यहरु निकै उदाहरणीय छन् । यस्ता बहुप्रतिभाशाली र समाजप्रति कटिबद्ध र प्रतिबद्ध व्यक्तिहरु कमै मात्रामा जन्मने गर्छन । अनुशासित भएर जीवको गहिराइमा पुगी सामाजिक काम गर्नु तथा अधिकारका लागि आवाज विहीनहरुको आवाज बन्नु रबिन्द्रको लागि दैनिकी जस्तै हो । शिक्षाका क्षेत्रमा उज्यालो छर्दै गरेका यी कार्यहरुको मूल्याङ्कन समाजले गरेको महसुस रबिन्द्रले गरेका छन् । रबिन्द्रको बाँकी जीवन सुखद् बनोस् र सोचे अनुसार बनोस् शुभकामना ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech