परिबन्ध

निर्दोष भएर पनि म दोषी भएको छु । आज प्रदेशको जेलमा दिनरातहरू अत्यन्तै कठिनाइका साथ बिताइरहेको छु । अन्य देशका नागरिकहरू त्यसरी अन्यायमा पर्दा अप्ठ्यारोमा पर्दा त्यहाँको राज्यको दायित्व हुन्छ कि आफ्नो नागरिकलाई कसरी न्याय दिने ? उसको परिवार र स्वयम् व्यक्तिको लागि लड्ने तर कठै मेरो देश ! म जस्ता धेरै नेपालीहरू निर्दोष प्रदेशका जेलहरूमा दिनरात आँसु पिएर बसेका छन् । हामीलाई कस्ले न्याय दिलाउने ?

दिला शाह

गाउँबाट धेरै युवाहरू विदेश जाने गर्थे । विभिन्न देशमा गएर पैसा कमाएर सानसँग हिँडेका मानिसहरू देख्दा मलाई पनि विदेश जाने रहर जाग्यो । बुवा आमाले आफुले दुःख सुख गरेर भए पनि मलाई स्कुल पठाउनु भएको थियो । पढेर ठूलो मान्छे बनोस् । हाम्रो जस्तो दुःख छोराले गर्नु नपरोस् भन्ने थियो होला । मलाई भने अरूले जस्तो ठाटसँग हिँड्ने चस्मा लाएर गाउँमा हिरो बनेर फुर्ती देखाउँदै बाँच्ने रहर जाग्दै गयो ।
बुवा आमाको श्रमले जेनतेन चलेको जीवन मलाई सहन भएन । धेरै कमाउने राम्रो लाउने मीठो खाने सपनाले काउकुती लाउन थालेपछि मैले कसैले भनेको मानिन । बाह्र कलासको परीक्षा पनि नदिएर म विदेश जाने भएँ । विदेश पठाउने दलालसँग कुराकानी गरेर सबै कुरा तयार गरें । विदेश नजाऊ, आफ्नै ठाउँमा केही गर्नुपर्छ । राम्रोसँग पढ, भनेर बुवाले धेरैपटक सम्झाउनु भयो । मैले मान्ने कुरै थिएन । अन्ततः बुवाले घरबारी बेचेर भए पनि मेरो विदेश जाने सपना साकार पारिदिनुभयो । मैले जितें । उहाँहरूले हार्नु भयो ।
बुवा आमा अमिलो मनले काठमाडौंसम्म छोड्न आउनु भयो । अरू साथीहरू पनि सँगसँगै थिए । विदेश जाने उत्कट चाह भएकोले होला गाउँ छोड्दा मलाई केही पछुतो भएन । काठमाडौ विमानस्थलबाट बिदा लिँदा भने मन भारी भएर आयो । आमा बाका आँखाहरू आँसुले भरिएका थिए । रुँदैरुँदै आमाले मेरो शिर आफ्नो छातीमा टाँस्नु भयो । म निहुरिएर आमाबालाई ढोग दिए । आमाको शुकोमल काख र बाबाको हिम्मतिलो काँधसँग छुटेर टाढा जाँदैछु जस्तो अनुभूतिले च्वास घोच्यो । आँखाभरि आँसु भरिएर आए । आमा बुवाले नदेखुन् भनेर उता फर्किएर आँसु पुछ्दै हिँडें ।
चार घन्टा पन्ध्र मिनेट पछि मलेसिया पुगियो । जहाँ मेरो सपनाको सहर थियो । मलाई लाग्थ्यो विदेश पुगेपछि त पैसा नै पैसा हुन्छ होला ! त्यहाँको सुन्दरता भव्य महलहरू, आलिसान बंगलाहरू बाफरे ! सबै देख्दा स्वर्ग नै पुगेजस्तो लाग्यो । कम्पनीले हामीलाई खान बस्नदेखिको सम्पूर्ण व्यवस्थापन मिलाई सकेको थियो । मलेसिया पुगेको अर्को दिनदेखि नै काम सुरु भयो ।
काम के थियो ? जंगलमा सुकेका काठहरूको व्यवस्थापन गर्नु पर्ने रहेछ । कति सुकेका रुखहरू छन् ? एउटा समूहले जानकारी लिन्थ्यो मेरो काम कति काठहरू कुन ठाउँमा गयो ? कुन एरियाबाट कति काठहरू निकासी भए ? कुन कुन प्रयोजनको लागि कति काठहरू बाहिर सप्लाइ भयो ? आदि इत्यादि रिपोर्ट राख्नु पर्ने थियो । कम्पनीको काम भनेको त्यस्तो काम देखेर म छाँगाबाट खसे जस्तो भएँ । गर्मी अत्यधिक हुन्थ्यो । पसिनाले शरीर भिजेर निथरुक्क हुन्थ्यो । म यस्तो काम गर्दिनँ भनेर कम्पनीको मेनेजरलाई भेटेर भनें । उसले तिमीलाई यही कामको लागि ल्याएको हो । तत्कालै केही गर्न नसक्ने केही महिनापछि विचार गरौंला भनेर टार्यो ।
चोक्टा खान गाकी बुढी झोलामा डुबी मरी भने झै भयो । म हैरान भएँ । तीन वर्षको भिसा समाप्त नभएसम्म नेपाल फर्केर जान पनि कम्पनीले दिन्थेन । हाम्रो नागरिकता भिसा उसकै साथमा थियो । बसुँ काम गरुँ मन पटक्कै थिएन । कति मान्छेहरू मलेसियामा अलपत्र परेर अस्तयस्त भएका देखें । विदेश मोहमा परेर आफ्नो पढाइ लेखाइ छोडेर मलेसिया भासिएकोमा धेरै पछुतो लाग्यो । फेरि पनि काम गर्नुबाहेक केही उपाय थिएन । गैरी खेत जो बेचेर आएको थिएँ । घरबाट आमा बुवाको फोन आउँदा एक हातले आँसु पुछ्दै हाँसेको अभिनय गरेर कुरा गर्थें ।
जसोतसो ६ महिना बित्यो । जबर्जस्ती पनि आफूलाई अभ्यस्त गराउनु भन्दा अर्को विकल्प मसँग थिएन । ६ महिनापछि अफिसको कामको व्यवस्थापन गर्नेछु भनेको कम्पनीको मालिकलाई कुरा गर्दा उसले त्यति मतलब गरेन । एकदिन निराश मन लिएर काममा जाँदै थिए । सडकमा एकजना व्यक्ति रक्ताम्य भएर लडेको थियो । उक्त व्यक्ति मृत्यु र जीवनसँग पौठेजोरी खेलिरहेको थियो । निधारबाट रगत बगिरहेको थियो । हात खुट्टा भाँच्चिएका थिए । अत्यन्तै भयावह स्थिति थियो तर मान्छेहरू उसलाई बेवास्ता गरेर हिँडिरहेका थिए । मलाई अत्यन्तै आत्तुरी भयो । गाडी रोकेर उसलाई सहयोग गर्नको लागि सडकमा ओर्लिएँ । उसलाई भर्खर छोएको मात्रै के थिए हिक्क
हिक्क गरेर उसको प्राण गयो । पुलिसको गाडी आइपुग्यो । म केही बोल्न नपाउँदै गाडीमा राखेर लियो म अक्क न बक्क परें ।
म मान्छे मारेको आरोपमा थुनामा जेल परिसकेको रहेछु । मेरो एकतर्फी बयान कसैले सुनेन । उसलाई मैले मारेको होइन भनेर हज्जारौं बिन्ती गरे पनि ती पापी मान्छेहरूले मेरो कुरा सुन्दै सुनेनन् । म अनाहकमा जेल परें मेरो सुन्दर सपना जेलभित्र सडिरहेको छ । बुवा आमा र गाउँ घर आफन्तहरूलाई सम्झेर मन विरक्त हुन्छ । जाऊ कहाँ जाऊ ? कसरी जाऊ ? मैले हत्या गरेको होइन भनेपछि झनै मरासन्न हुने गरेर चुट्छ । यस्तो कस्तो परिबन्धमा परें म ? कसैलाई सामान्य दुःख पनि देख्दा पनि सहयोग गर्नुपर्छ भन्ने संस्कारमा हुर्केको म मलाई मेरै संस्कारले आज यो अवस्थामा पु¥यायो त ?
निर्दोष भएर पनि म दोषी भएको छु । आज प्रदेशको जेलमा दिनरातहरू अत्यन्तै कठिनाइका साथ बिताइरहेको छु । अन्य देशका नागरिकहरू त्यसरी अन्यायमा पर्दा अप्ठ्यारोमा पर्दा त्यहाँको राज्यको दायित्व हुन्छ कि आफ्नो नागरिकलाई कसरी न्याय दिने ? उसको परिवार र स्वयम् व्यक्तिको लागि लड्ने तर कठै मेरो देश ! म जस्ता धेरै नेपालीहरू निर्दोष प्रदेशका जेलहरूमा दिनरात आँसु पिएर बसेका छन् । हामीलाई कस्ले न्याय दिलाउने ?
जेलमा बसेको एकजना साथीले भन्यो, यहाँको कानुन यस्तो रहेछ थाहा भएन ! म पनि एकजना व्यक्तिलाई बचाउँछु भन्दा जेलमा छु । मलाई पनि त्यहाँको नियम के थाहा त ? अन्जानमै यो भुमरीमा परेको छु । बुवा आमाको सम्झनामा कल्पिएर रुँदा रुँदै आँसुहरू सुकिसकेका छन् । शरीरमा हाड छाला मात्रै बाँकी छ । मनमा नेपाल फर्किने जिजीविषाले मर्न दिएको छैन । मलाई यसरी अन्याय स्वीकार गरेर प्रदेशमा मर्नु छैन । मेरो राज्य मेरो देश यसरी बैरो नबनोस् । कुुर्सी सत्ता र शक्तिको आँडमा भुलेर देशमा ठूलो रेमिटेन्स भिœयाउने युवा जमात विदेशमा यसरी अलपत्र परिरहँदा राज्य अलिकति पनि संवेदनशील हुनुपर्दैन र ? केही रकम धरौटीमा राखेर यहाँबाट छुट्न सकिन्छ भन्न सुनेको छु कृपया हात जोडेर बिनम्र अनुरोध छ म र म जस्तै परिबन्धमा परेकाहरूलाई सहयोग गर्नको लागि केही पहल गरिदिनुहोस् । जेलको कठिन पलहरूसँग पौठेजोरी खेल्दै नेपाल पर्खिने अतृप्त आशा बोकेर पर्खिरहेको यौटा युवालाई यसै मर्न नदेओस् मेरो देशले केही पहल गरोस् ।
बाँच्ने आशामा पल पल म तड्पिरहेको छु ।
आमा देख्ने आशामा म जलिरहेको छु ।
अटुट प्रतिक्षा छ मनमा आमालाई भेट्ने,
शक्ति अन्त हुँदैछ र मुढो झै ढलिरहेको छु ।

–अजय बस्नेत, प्युठान, हाल, मलेसिया

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech