पुर्खाको बिडो धानेका तीनपुस्ते अधिवक्ता सुनिल

पीडितलाई न्याय दिने सवालमा मात्र होइन कानुन व्यावसायीको हकहितका लागि सुनिलले खेलेको भूमिका चर्चा गर्न लायक छ । उनले निभाएको जिम्मेवारी र पाएको पदीय जिम्मेवारीमा सफल मानिएका छन् सुनिल ।

साबित्री गिरी

हरेक दिन बिहानै घरमा मान्छेहरुको भिड लाग्थ्यो । कसैले अंशबण्डाको विवाद मिलाइदिन आग्रह गर्थे त कसैले सम्पत्ति गुम्यो अधिकार दिलाई दिनु प¥यो भन्दै आउने गर्थे । बिहानै घरमा आउनेहरु कसैले पनि खुशीको कुरा नै गर्थेनन् । घरमा आउने सबैले आफ्ना पीडाहरु मात्रै पोख्ने गर्थे । अनि ती पीडाहरु सुनेर अधिवक्ता सुनिल श्रेष्ठ एकाग्र हुने गर्थे । त्यतिबेला कानुन पेसाप्रति नै सुनिललाई नकारात्मक भाव आउने ग¥थ्यो । कसैले पनि सुःखको कुरा नगरेको सुनेर सुनिल चकित पर्थे । त्यतिबेला सुनिललाई कानुन व्यवसाय पीडा सुनाउने क्षेत्र मात्र हो कि जस्तो लाग्ने ग¥थ्यो । सुनिलको घरको आँगनमा यसरी न्यायको ढोका ढक्ढकाउन आउने क्रम उनको हजुरबुवाको पालादेखिको हो । उनका हजुरबुवा नरसिङ श्रेष्ठ जीवित हुँदा पनि यसरी नै पीडाहरु सुनाउन अनि न्यायको ढोका ढक्ढकाउँदै पीडितहरु घरको दैलोमा आउथे रे । यो कुरा उनका बुबाबाट सुनिलले सुनेका हुन् । उनका हजुरबुवा भक्तपुरबाट, पोखरा हँुदै नेपालगन्ज आइपुगेका हुन् । नेपालगन्जमा उनको परिवारको १ सय ५० बर्ष भन्दा लामो इतिहास छ । उनका हजुरबुवा राणाकालमा मुखिया थिए भने पछि कानुन व्यवासायीको रुपमा लेखापढीको काम गर्न थाले । नेपालगन्जमा उनका हजुरबुबाले निकै प्रसिद्धि कमाएका थिए । नेपालगन्जको घरबारी टोलमा घरबास बनाएर बसेपछि सुनिलका पुस्ता सबै नेपालगन्जमै छन् । नेपालगन्जमा लामो इतिहास बोकेको सुनिलको परिवारमा अहिले कानुन व्यवसायको भूमिकामा रहेका एकमात्र सुनिलको जीवन कथा प्रेरणादायी छ । परिवारमा तीन पुस्ते वकिल जन्माउने उनका हजुरबुबा नरसिङलाई सुनिलले देख्न भने पाएनन् । सुनिलको उमेर बढ्दै जाँदा घरमा न्यायको ढोका ढक्ढकाउँदै मानिसहरु आउने गरेको सुनिलले थाहाँ पाए । उनका बुवा अधिवक्ता नारायण सिङलाई भेट्नेहरुको घरमा भिड नै लाग्ने गथ्र्याे । सुनिलका बुबा नेपालगन्जकै नामी वकिल थिए । बुवाको प्रभाव भन्दा पनि ५ भाइ छोरामध्ये एक भाइ वकिल बन्नुपर्छ भन्ने बुबाको इच्छा बमोजिम सुनिल वकिल बन्न पुगे । आज सुनिल श्रेष्ठ नेपालगन्जमा चर्चित अधिवक्ताको सूचीमा पर्छन् । उनको कामको चर्चा जतासुकै छ । न्यायमूर्ति मात्र नभएर घर, परिवार र समाज सुधारका लागि उनको भूमिका उल्लेखनीय रहेको छ ।

व्यवसायको सुरुवातको दिनमा सुनिलले अभिभाकत्व पाएका थिए । विक्रम संवत् २०४७ सालदेखि व्यावसायिक रुपमा कानुन क्षेत्रमा प्रवेश गरेका सुनिलका लागि सुरुका दिन सुनौला भए पनि विक्रम संवत् २०५० सालमा बुवाको मृत्यु भएपछिका दिनहरु भने निकै सकसपूर्ण बने । बुबाको निधन भएको केही समयपछि उनका बुवाका साथी श्री बहादुर श्रेष्ठले उनलाई सहयोग गरे । यो क्रम लामो समय चलेन । विक्रम संवत् २०५२ सालमा उनका बुबाका साथी श्री बहादुरको पनि मृत्यु भएपछि सुनिललाई समस्यामाथि समस्या थपियो । त्यसपछि सुनिलको काँधमा सम्पूर्ण जिम्मेवारी आइलाग्योे । एकातर्फ परिवारको लालनपोषण अर्कोतर्फ बुबाले सुरु गरेको कानुन व्यवासायलाई निरन्तरता दिनुपर्ने जिम्मेवारी उनीमाथि आइलाग्यो । यी दुई पाटोलाई निकै संघर्षका बीचमा सुनिलले निरन्तर मेहनत गर्दै अगाडि बढाए । त्यो अप्ठेरो अस्थामा कत्ति पनि बिचलित भएनन् सुनिल । बुवाको मृत्युपछि बुवाका साथी अर्थात् नाताले काका पर्ने श्री बहादुुर श्रेष्ठको यति छिट्टै मृत्यु होला भनेर सुनिलले सोचेका पनि थिएनन् । त्यसपछि आएको आर्थिक व्यवस्थापनको कठिनाइलाई व्यवस्थापन गर्न निकै संयमता अपनाएर जीवन सहज बनाउँदै गए सुनिल । काम गर्ने क्रममा एक दिन सुनिल कार्यरत फममा एकजना वृद्ध आएर सुनिलको फिस सोधे । सुनिलले ५ सय रुपैयाँ आफ्नो फिस रहेको बताए । ती वृद्धले २ सय रुपैयाँ सुनिललाई दिए र दुई महिनापछि झोलाभरि पैसा लिएर लिनुस् तपाइँको ३ सय रुपैयाँ फिस भनेर दिए । सुनिलले झोला खोलेर हेर्दा त्यस झोलाभरि सिक्का पैसा रहेछ । सुनिले बुझ्दा ती वृद्ध दुई महिनासम्म त्यही ३ सय रुपैयाँ जुटाउन लागि परेका रहेछन । ती वृद्ध किङ्घरियन समुदायका थिए । त्यसपछि सुनिलले त्यो पैसा फिर्ता गरे अनि उनलाई निशुल्क रुपमा न्याय प्रदान गरे । उनले निशुल्क सेवा दिएको यो पहिलो घटना थियो । त्यसपछि सुनिलले निम्न आयश्रोत भएका व्यक्तिहरुलाई निशुल्क न्याय दिने कामको सुरुवात गरे उनले त्यो घटनालाई जीवनको प्रेरणाको रुपमा लिए । त्यसपछि कानुनी सहायता प्रति सकारात्मक भाव सुनिलमा जाग्दै गयो । यो क्षणलाई सुनिल जीवनको अविस्मणीय क्षणका रुपमा लिन्छन् । बुवा र काकाको मृत्यु भइसकेपछि विक्रम संवत् २०५२ सालमा सुनिलले पहिलो आम्दानी गरे । त्यतिबेला पाएको ५ सय रुपैयाँले सुनिलको मन खुशी भएर चङ्गाजस्तै उडेको थियो । यो दिनलाई सुनिल सबैभन्दा खुसीको क्षणको रुपमा लिन्छन् ।

सुनिलले व्यावसायिक जीवनमा धेरै किसिमका दुःख तथा चुनौतीको सामना गर्नु प¥यो । विक्रम संवत् २०५५ सालमा अंशमुद्दाको विषयमा धेरै मेहनत गरे । उनलाई सकारात्मक परिणाम आउँछ कि भन्ने लागेको थियो । तर असफलता मिलेपछि निकै दुःखी भए । आफ्नो पक्षलाई न्याय दिलाउन नसकेकोमा सुनिललाई असह्य पीडा भयो । पछि यो मुद्दामा जिल्ला अदालतको फैसला उल्टो भएर आयो र पीडितले न्याय पाए । यो घटनाको पहिलो फैसला हुँदा सुनिल निकै निरास बनेका थिए । विक्रम संवत् २०४७ सालमा कानुन व्यावसाय सुरु गर्दा सुनिल बिएल पढ्दै थिए । उनको बिहानको समय अध्ययनमा बित्ने गर्दथ्यो भने दिउँसोको समय उनले व्यावसायमा दिने गर्थे । रातिको समयमा ९ बजे बिबिसी सकिएपछि सुनिल भुसुक्क निदाउथे । अनि बिहानै उठेर नियमित कर्म र घुमिफिर गर्थे । निकै अध्ययनशील र चिन्तनशील थिए सुनिल । सुनिलका बुबा र काका हुँदासम्म नेपालगन्जको घरबारी टोलमा ल फर्म थियो । बुवाको मृत्यु भएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ स्थित हुलाक कार्यालय परिसरमा रहेको स्वतन्त्र कानुनी उपचार केन्द्र खोलेर काम गर्न थालेका सुनिलले अहिले पनि सोही स्थानबाट सेवा दिइरहेका छन् । सुनिल लोकसेवा पास गरेर निजामति क्षेत्रमा सरकारी जागिरे हुन चाहन्थे । यही चाहना अनुसार सामान्य ज्ञान, ऐन नियम, वौद्धिक परीक्षण र ज्ञान विज्ञानका कुराहरु धेरै नै अध्ययन गर्ने गर्थे । बुबाले बताइरहने सामाजिक कार्य वकिल पेसा आज्ञाकारीपालकको रुपमा गर्न थालेको पनि आज ३१ वर्ष पुगिसेको छ । सुनिलका बुवा नेपाली कांग्रेसबाट राजनीति पनि गर्थे । तर सुनिलमा राजनीतिक प्रभाव भने परेन । सुनिलसँग सुरुवाती समयमा उनका बाल्यकालका साथी नवजित कर्माचार्यले पनि काम गरे । अहिले उनी सामाजिक क्षेत्रमा कार्यरत छन् । हाल अमेरिकामा रहेका उनका साथी नवजितलाई सुनिल धेरै नै स्मरण गर्ने गर्छन ।

अधिवक्ता सुनिल श्रेष्ठको न्वारनको नाम डिल्ली श्रेष्ठ हो । स्वर्गीय बुवा नारायण सिङ् श्रेष्ठ र माता लक्ष्मी देवी श्रेष्ठको काइलो सन्तानका रुपमा विक्रम संवत् २०२५ साल असोज ३१ गते सुनिलको नेपलगन्जको घरबारी टोलमा जन्म भयो । सुनिलका बुवाको ६३ वर्षको उमेरमा निधन भयो भने ७५ वर्षीय आमाको स्याहार सुसार गर्ने अवसर सुनिललाई मिली रहेको छ । बुबाको सपना पूरा गर्ने सन्तान सुनिलप्रति उनकी आमा खुसी छन् । सुनिलका जेठा दाइ अर्जुनप्रसाद श्रेष्ठ शिक्षा क्षेत्रबाट रिटायर्ड जीवन बिताइरहेका छन् भने माइलो दाई नहकुलप्रसाद श्रेष्ठ बैंकिङ क्षेत्रको कामपछि रिटायर्ड जीवन बिताइरहेका छन् । सुनिलको साइलो दाइ र कान्छो भाइ सुभास श्रेष्ठ अध्यापन पेसामा छन् । उनकी आमा लक्ष्मीदेवी सामान्य साक्षर भएता पनि घरमा पढ्ने वातावरण राम्रो बनाई दिएकी थिइन् । सुनिलले बुवाको मृत्युपछि विक्रम संवत्् २०५४ सालमा बाग्लुङबाट बेदना राजभण्डारीसँग मागी विवाह गरे । जीवनसङ्गिनी बेदनाले सुनिलको बेदना बुझेर सकेजति सहयोग गरिरहेको सुनिल बताउँछन् । सामाजिक क्षेत्रमा काम गर्ने बेदनाले घरपरिवार राम्ररी सम्हाली दिएपछि सुनिलाई व्यावसाय सञ्चालन गर्न सहज भएको छ । सुनिलले विक्रम संवत् २०५६ सालमा पहिलो सन्तानका रुपमा छोरी महिमा श्रेष्ठको जन्म भयो भने दोस्रो सन्तानको रुपमा विक्रम संवत् २०६४ सालमा छोरा सार्थक श्रेष्ठको जन्म भयो । आफ्ना बुबाले वकिल बन्न प्रेरित गरे पनि सुनिलले भने छोराछोरीलाई यो विषयमा स्वतन्त्र छोडिदिएका छन् । अहिले उनको जेठी छोरीले ब्याचलर अफ सफ्ट इन्जिनियरिङको पढाइ सकेकी छिन् भने छोरा अहिले कक्षा ९ मा अध्ययनरत छन् । छोरीको अध्ययनशील व्यवहार र छोराको शान्त स्वभाव सुनिललाई खुबै मन गर्छ ।

सुनिलले पहिलो शिक्षा नेपालगन्जस्थित घरबारी टोलमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयबाट प्ररारम्भ गरे । त्यहाँ उनले कक्षा १ देखि ३ सम्म अध्यायन गरे । त्यतिबेला त्यो विद्यालय भुरे स्कुलका नामले परिचित थियो । त्यसपछि कक्षा ४ देखि ७ सम्म नेपालन्जकै मङ्गल प्रसाद माध्यामिक विद्यालयमा अध्ययन गरे । कक्षा ८ देखि १० सम्म नारायण माध्यामिक विद्यालयमा अध्ययन गरेका सुनिल जेहेनदार छात्रका रुपमा परिचित थिए । उनले विक्रम संवत् २०४१ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । एसएलसी उत्तीर्ण गरेपछि नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट विक्रम संवत् २०४४ सालमा आइएल उत्तीर्ण गरे भने विक्रम संवत् २०४९ सालमा बिएल । त्यसपछि विक्रम संवत् २०५३ सालमा राजनीति शास्त्रमा स्नाकोत्तर गरे । अहिले अधिवक्ताको रुपमा राम्रो छवि बनाएका सुनिल राम्रो टेबुल टेनिस खेलाडी समेत हुन् । बाल्यकालदेखि नै टेबुल टेनिस खेलमा रुचि भएका सुनिलले भेरी अञ्चलबाट छनोट भई राष्ट्रिय खेलकुदमा समेत भाग लिएका थिए । जिल्ला स्तरीय टेबुल टेनिसमा पनि राम्रो स्थान हासिल गर्न सफल भएका थिए सुनिल । उनलाई कहिलेकाही खेल क्षेत्रबाट अगाडि बढाँै कि भन्ने लागेको थियो तर समयले उनलाई कानुन क्षेत्रमा र अध्ययनकै क्षेत्रमा अभ्यस्त बनाइदियो । सुनिलले टेबुल टेनिस प्रशिक्षकको भूमिका समेत निभाएका छन् । जतिबेला सुनिलले बिएलको अन्तिम परीक्षा दिँदै थिए त्यतिबेला टेबुल टेनिसको कोलोजिङ क्याम्प प्रशिक्षण दिन जाने अवसर मिल्यो । परीक्षा छोड्नुपर्ने अवस्था आयो तर सुनिलले परीक्षा छाडेनन् बरु प्रशिक्षक छाडे । त्यतिबेला बिएलको परीक्षा छाडेर टेबुल टेनिसको प्रशिक्षक भएको भए सायद सुनिल अहिले खेलाडीकै रुपमा समाजमा परिचित हुन सक्थे होला । यो कुरालाई पनि सुनिलले स्मरण गरिरहन्छन् । युवा पुस्तामा त्यो बेला खेलकुदमा धेरै राम्रो प्रभाव परेको थियो । त्यही प्रभावले पनि आफूलाई त्यसतर्फ तानेको सुनिल बताउँछन् ।

सुनिलले युवा अवस्थामा अधिकांश समय अध्ययन र घुमफिरमा नै बिताए । तर बाल्यकालमा जस्तो तनाव मुक्त हुने अवस्था भने थिएन । जिम्मेवारीहरु बढ्दै गएका थिए । सुनिललाई घुम्न निकै मन पर्छ । युवा अवस्थामा आइएल पढ्ने साथीहरु सँग सुनिल घुम्नको लागि दिल्ली र आगरा पुगेका थिए । बिएल पढ्दै गर्दा साथीहरुको ११ जनाको समूहमा बम्बई, गोवा, दिल्ली र आगरा घुमेको क्षण सम्झदा सुनिललाई अहिले पनि आनन्दको महसुस हुने गर्छ । साहित्यिक र ज्ञानवद्र्धक किताबहरु धेरै पढ्न रुचाउने सुनिलले गीता र अन्तर्राष्ट्रिय मंचलगायतका पुस्तकहरु पनि निकै पढ्ने गर्थे । समसामयिक ज्ञानको भण्डारलाई युवा अवस्थामै परिपक्क बनाएका सुनिललाई सबैले साथ दिन्थे । बुबाको मृत्यु पछि दाजुभाइ तथा दिदीबहिनीबाट राम्रो सहयोग र माया पाए । आमाको उत्प्रेरणा त सुनिलका लागि सफलताको सुत्राधार नै हो । सुनिलले जीवनलाई एक अवसरका रुपमा लिने गर्छन् । आफूपनि खुशी हुने र अरुलाई पनि खुशी बनाउने उनको व्यक्तिगत आचरण हो । सुनिलले पैसा ठूलो मान्दैनन् । दिनदुखी र गरिबहरुलाई निशुल्क कानुनी सहायता प्रदान गर्दा निकै खुशी हुने गर्छन । पीडित पक्षहरुले न्याय पाएर दिने शुभकामना र धन्यबादलाई सुनिलले जीवनको सबैभन्दा ठूलो उपहारका रुपमा लिएका छन् । यसको पछाडि इमान्दारिता र लगनशीलता नै मुख्य कुरा रहेको बताउने सुनिलले आगामी दिनमा पनि यही पेसालाई निरन्तरता दिने बताएका छन् । आफू यो संसारमा जीवित रहेसम्म न्यायको पक्षमा लड्ने उनको चाहना छ । जति दुःख परे पनि कसैलाई नभन्ने, रिस उठ्दा पनि शान्त बस्ने, मनमै कुरा खेलाएर समाधान खोज्ने सुनिलको बानी छ । सुनिल दुःख परेको बेला एकान्तमा बस्न रुचाउँछन् । सामाजिक सद्भावको शहर नेपालगन्जमा जन्मिएकोमा सुनिल निकै गर्वको महसुस गर्ने गर्छन । नेपालन्जको परिवेश सकारात्मक र ऊर्जावान लाग्छ सुनिललाई ।
सुनिलले गरेको पहिलो बहसमा फेटारो सापका अगाडि पानी सापको संज्ञा पाएका थिए । त्यही संज्ञामा गम्भीर भएर सोच्दा आज सुनिल हिजोको पानी सापबाट फेटारो साप बनिसकेका छन् । त्यो बहस कुलापानीका विषयमा थियो । त्यसबेला उनका बुबा र उनका बुबाका साथीहरु सँगै थिए । उनका बुबा र उनका बुबाका साथीले त्यो मुद्दाको बहस गर्ने जिम्मा सुनिल र उनका साथी नवजित कर्माचार्यलाई दिएका थिए । बिपक्षीबाट नाम चलेका वरिष्ठ अधिवक्ता बभ्रु बाहन सिङ बस्नेत थिए । उनका अगाडि सुनिलले गरेको बहस उनका पक्षलाई फितलो लागेपछि सुनिलका बुबासँग गुनासो पोख्दै फेटाराका अगाडि आफू नगएर पानी सापलाई पठाएको भन्दै आलोचना गरे । यो आलोचनालाई सामान्य रुपमा लिन सुनिलका बुबाले आग्रह गरे । यो बहसमा फैसला नहुने भएको भएर सिकाइका लागि मैले पठाएको थिए तिमीमा धेरै सिकाइ भएछ म खुशी छु भनेर बुबाले प्रतिक्रिया दिएपछि सुनिलले म पनि केही गर्न सक्छु भनेर अझै आफूमा उत्साह वृद्धि गरे । सामाजिक क्षेत्रमा पनि सुनिलको योगदान र भूमिका चर्चा गर्न लायक छ । उनी आबद्ध पहिलो संस्था रेयुकाइ हो । यस संस्थामा सुनिल विक्रम संवत् २०४३ सालमा साधारण सदस्य थिए । त्यसपछि निरन्तर रुपमा काम गरे । विक्रम संवत् २०४९ सालमा मानव अधिकारबादी संस्था सिस्याकमा आबद्ध भए । विक्रम संवत् २०५५ सालदेखि २०६० सालसम्म निरन्तर महिला तथा बालबालिका केन्द्रमा प्रशिक्षकको रुपमा कार्य गरे । यो बेला मानवअधिकार, महिला अधिकार, बालअधिकार, मेलमिलाप र सकारात्क सोच सम्बन्धी प्रक्षिक्षण दिने अवसर पाएका थिए उनले । यो कामका लागि राप्तीका पूरै जिल्ला, सुदूरपश्चिम क्षेत्र र कर्णाली प्रदेशको हुम्ला, जुम्ला र कालीकोटसम्म पुगे । यसैगरी विक्रम संवत् २०६४ सालमा महिला कानुन विकास मंचमा सुरुवातमा प्रशिक्षक हुँदै संयोजकको रुपमा समेत काम गरे । अहिले पनि क्षेत्रीय संयोजकको रुपमा काम गरिहेका छन् । सुनिल यसका साथै विभिन्न संघ संस्थामा कानुनी सल्लाहकारको भूमिकामा छन् । सामाजिक काम समाजको लागि गरिने सेवा भएकाले बचेको समय सामाजिक काममै दिने गरेको सुनिल बताउँछन् ।

पीडितलाई न्याय दिने सवालमा मात्र होइन कानुन व्यावसायीको हकहितका लागि सुनिलले खेलेको भूमिका चर्चा गर्न लायक छ । उनले निभाएको जिम्मेवारी र पाएको पदीय जिम्मेवारीमा सफल मानिएका छन् सुनिल । विक्रम संवत् २०४७ सालमा अधिवक्ताको लाइसेन्स लिएर काम सुरु गरेकै वर्ष सुनिल क्षेत्रीय अदालत बार एशोसियसनको चुनावमा सदस्य पदमा निर्वाचित भए । व्यावसायिक जीवनमा एशोसियसनमा सुनिलको यो पहिलो खुड्किलो थियो । विक्रम संवत् २०५१ सालमा जिल्ला बार एशोसियसनको सचिव र विक्रम संवत् २०५६ सालमा जिल्ला बार एशोसियसनको अध्यक्ष भएर जिम्मेवारी पूरा गरी सकेका छन् भने विक्रम संवत् २०६६ सालमा तत्कालीन पुनरावेदन अदालत नेपालगन्जको अध्यक्ष भएर काम गरेका थिए । विक्रम संवत् २०७६ सालमा नेपाल बार एशोसियसनको लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई काम गरिरहेका छन् । जिल्ला र उच्च अदालत बारको अध्यक्ष भएर केन्द्रीय उपाध्यक्ष हुने पहिलो अधिवक्ता समेत हुन् सुनिल श्रेष्ठ । सुनिलले सार्वजनिक सरोकारका विषयहरुमा पनि बहस गर्ने गर्छन् । नेपालगन्जमा सार्वजनिक सरोकारका विषयमा बहस गर्ने उनी र उनका साथीहरुको समूह नै छ । अधिवक्ता लोकबहादुर शाह, विश्वजीत तिवारी, बल बहादुर चन्द, बसन्त गौतम, केवल सिंह थारु लगायतको समूह रहेको छ । समूहबाट सार्वजनिक सरोकारका विषयमा ६० भन्दा बढी मुद्दामा रिट निवेदन भएको उनी बताउँछन् । सुनिलले सार्वजनिक सरोकारका विषयमा उत्कृष्ट कार्य गरेबापत महिला कानुन र विकास मंचबाट राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेका छन् । यो पुरस्कारले सुनिलमा अझै उत्साह थपिएको छ । उनले सामाजिक संघ संस्था तथा विभिन्न निकायबाट प्राप्त हुने पुरस्कार भन्दा ठूलो सन्तुष्टि पीडितले न्याय पाउँदा गर्ने गर्छन ।

कानुन क्षेत्र उर्वर क्षेत्र हो । कानुन क्षेत्रमा अवसर धेरै छ । यो पेसामा रिन्तरता दिन सक्ने व्यक्ति मात्र सफल हुन पुग्दछ । विभिन्न आरोह र अवरोह पार गर्दै निरन्तर अगाडि बढेका सुनिलले स्थान अनुसार फरक —फरक मुद्दा विष्लेषण गरेका छन् । तराईदेखि हिमाली क्षेत्रसम्म पुगेर काम गरिसकेका सुनिल विकट क्षेत्रमा न्यायिक संरचना कमजोर भएको बताउँछन् । हिमाल र पहाडमा धेरैजस्तो कर्तव्य ज्यान, बलात्कार र सम्पत्ति सम्बन्धी मुद्दाहरु धेरै आउने गरेको र तराई क्षेत्रमा लागु औषध, बेचबिखन, वन्यजन्तुको छाला र हड्डी ओसारपसार र डकैतीजस्ता विषयका मुद्दाहरु बढी आउने गरेको अनुभव सुनिलसँग रहेको छ । यस्ता मुद्दाहरुमा आवाज दिनु सुनिलको नियमित काम हो । यो यात्राले निरन्तरता पाओेस् र जीवनपर्यन्तसम्म पनि यी कामहरुको चर्चा चुलिन सकोस् । यही छ हाम्रो शुभकामना ।

 

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech