उद्योग क्षेत्रमा उदाएकी काली मिया

महिलाहरु कमजोर हुन्छन्, उद्योग क्षेत्र मात्रै होइन कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न सक्दैनन् भन्ने सामाजिक संस्कारलाई चिर्दै कालीले व्यसायिक क्षेत्रमा मात्रै होइन सामाजिक क्षेत्रमा समेत आफूलाई सफल बनाएकी छिन् ।

मन भण्डारी

“जहाँ इच्छा त्यहाँ उपाय” यो उखान धेरै ठाउँमा प्रयोग हुँदै आएको छ । धेरैले यो उखानलाई आत्मसात् गर्दै सफलता प्राप्त गरेको उदाहरणहरु प्रसस्तै छन् । मान्छेमा केही गर्ने इच्छा शक्ति र आत्मबल भयो भने सफल हुन धेरै समय लाग्दैन । यस्को उदाहरण बनेकी छन् नेपालगन्जकी काली मिया । नेपालगन्ज क्षेत्रका महिला उद्योमीहरु मध्ये काली मिया अग्र पङ्क्तिमा आउने नाम हो । मुस्लिम समुदायका महिलाहरुलाई घरबाट बाहिर निस्किनै मस्किल हुने र निस्किन नमिल्ने सामाजिक संस्कार छ । मुस्लिम समुदायका महिलाहरु सामाजिक तथा व्यवसायिक क्षेत्रमा बिरलै भेटिन्छन् । महिलाहरु घरबाट बाहिर निस्किए पछि कुरा काट्ने र नकारात्मक दृष्टिकोणले हेर्ने संस्कार थियो । त्यहीँ सामाजिक संस्कारमा जन्मिएर हुर्किएकी थिइन् काली मिया । काली मिया घरबाट निस्कँदा छिमेकीले मात्रै होइन, घरपरिवारकै सदस्यले समेत राम्रो मानेका थिएनन् । सामाजिक संस्कारलाई छोडेको आरोप लाग्ने गथ्र्यो काली मियालाई । सबैले गलत नजरले हेर्ने र कुरा काटने छिमेकी र आफन्तहरुको अगाडि उदाहरणीय बनेकी छन् उनी ।

बुवा मोहम्त मिया र आमा ममिना मियाको कोखबाट २०३६ साल साउन ४ गते अर्घाखाँची जिल्लाको साविकको पाली गाविस वडा नम्बर ३, हालको पाणिनी गाउँपालिका ८ मा जन्मिएकी कालि मिया एक सफल उद्यमी हुन् । व्यापारिक पृष्ठभूमिमा हुर्किएकी नभए पनि बाल्यकालदेखिनै व्यापार गर्न रुचाउने भएका कारण काली एक सफल उद्यमीको रुपमा परिचित छन् । सानो छँदा चक्लेटको प्याकेट किनेर विद्यालयमा साथीहरुलाई बेच्ने गर्थिन् । सानैदेखि व्यापार गर्न मन पराउने र व्यापारी बन्ने इच्छा भएकी कालीले हरेक दिन चक्लेट लगेर साथीहरुलाई बेच्ने गरेको अनुभव उनीसँग छ । चक्लेट बेचेर आएको आम्दानीबाट आफूलाई आवश्यक पर्ने कापी कलम किनेर खर्च चलाउने गर्थिन् उनी । गाउँको सामान्य परिवारमा जन्मिएकी कालीको बाल्यकाल बिहान–साँझ घाँस दाउरा र दिउँसो विद्यालय गएर बित्यो ।
गाउँमा जन्मिएकी कालीले धेरै पढ्न भने पाइनन् । आठ कक्षा पढ्दै गर्दा उनको विवाह भएपछि उनको पढाइ सधैंका लागि बन्द भयो । त्यतिबेला सबैले सानै उमेरमा विवाह गर्ने चलन थियो । समाजमा चलेको चलन अनुसार कालीको पनि १४ वर्षको उमेरमा विवाह भयो । परिपक्व उमेर नहुँदै र पढाइ पूरा नहुँदै मनका इच्छा र सपनाहरु अधुरै छोडी विवाह गरेर घरव्यवहार सम्हाल्नु पर्ने जिम्मेवारी आई प¥यो । विवाह लगत्तै काली आफ्नो श्रीमानको साथमा व्यापार गर्न अर्घाखाँचीबाट दैलेख पुगिन् । दैलेखको सदरमुकाम दैलेख बजारमा कस्मेटिक पसल सञ्चालन गरी व्यापार सुरु गरेका कालीका दम्पतीले ६ वर्षसम्म दैलेख बजारमा व्यापार गरे । त्यसपछि दैलेखकै चुप्रा बजारमा ६ वर्ष व्यापार गरेर आफ्नो व्यवसाय फस्टाउन सफल बनेका कालीका दम्पतीले दैलेखमा राम्रो व्यवसायिक छाप छोड्न सफल बने । १२ वर्ष दैलेखमा व्यवसाय गरी सकेपछि विस्तारै व्यवसायको क्षेत्र फराकिलो बनाउने सोचका साथ काली र उनका श्रीमानले दैलेखको पसल छोडर नेपालगन्ज आए । नेपालगन्जमा सुरुमा उनले कस्मेटिकको होलसेल पसल खोलिन् । सात वर्ष जति कस्मेटिकको होलसेल पसल गरेकी कालीका श्रीमान बिरामी भएपछि उनको उपचारका गर्नलाई भएको पसल समेत बिक्री गर्नुपर्ने बाध्यता आइप¥यो । श्रीमानको उपचारमा आफूसँग भएको सबै रकम सकिसकेको थियो । पछि श्रीमानको स्वास्थ्यमा केही सुधार आएपछि कालीलाई फेरि व्यवसाय गर्ने सोच आयो । व्यवसाय नगरेर अरु कुनै विकल्प पनि थिएन । त्यतिबेला भने उनले पहिलेको व्यवसाय नगरी परिवर्तन गरिन् । त्यति ठूलो व्यापार गर्नका लागि उनीसँग रकम पनि थिएन । कालीले सिलाइ कटाइ तालिम लिएकी थिइन् । अरु व्यापार गर्न रकम नभएका कारण ठूलो व्यापार गर्न नसके पनि केही गर्ने आँट र आत्मबल थियो उनमा ।

२०६८ सालमा ८ हजार रुपैयाँको सिलाइ मेसिन खरिद गरेर आफू बस्ने कोठामै पेटिकोट सिल्ने काम सुरु गरिन् । ३ वर्ष जति कपडा सिलाउने काम गरेर आफ्नो र परिवारको जीविकोपार्जन गरेकी कालीले त्यसैबाट कमाएको रकम लगानी गरेर उनले गारमेन्ट खोलिन् । लुम्बिनी गार्मेन्ट उद्योग दर्ता नै गरेर आधिकारिक रुपमा सुरु गरिन् कालीले वास्तविक व्यवसाय । काम गर्दै जाँदा उनको गारमेन्टको कपडाबारे नेपालगन्जमा अरुलाई पनि जानकारी भयो । विस्तारै पसलवालाहरु कपडा किन्न उनको कोठामै पुग्न थाले । विस्तारै उनको व्यवसाय फस्टाउन थाल्यो । कालीले सानो कोठाबाट सुरु गरेको कपडा सिलाउने काम अहिले ठूलो उद्योगमा परिणत भएको छ । लुम्बिनी गार्मेन्ट उद्योगको नाम परिवर्तन गरी अहिले लुम्बिनी फेब्रिक इन्डेस्टिक प्रा.लि. भएको छ । १३ हजार लगानीबाट सुरु गरेको कालीको उद्योग करोडमा पुग्यो ।

उद्योग सुरु गरेको तीन वर्षमै सात करोडको कारोबार हुने भयो । विस्तारै फस्टाउँदै गएको उनको गारमेन्ट उद्योगमा २०७४ साल पुस २६ गते बिद्युत सट भएर आगलागी हँुदा उद्योग पूरै जलेर खरानी भयो । त्यतिबेला काली मियाको जीवन अन्धकारमय भयोे । तर हिम्मत हारिनन् । त्यतिबेलासम्म काली मियाले नेपालगन्जमा आफ्नो राम्रो पहिचान बनाई सकेकी थिइन् । सबैसँग मिल्न सक्ने, सहयोगी भावनाकी धनी, सामाजिक परिवेशमा घुलमिल हुन सक्ने क्षमता भएकी कालीको त्यो दुःखमा साथ दिने व्यक्तिहरुको कमी भएन । करोडमा पुगेको उद्योगमा आगो लागेर शून्यमा पुग्दा समेत नआत्तिएर सबैको सहयोगमा कालीले पुनः उद्योग सञ्चालन गर्न सफल भइन् । फेरि पनि छोटो समयमै कालीले उद्योगलाई माथि उठाउन सफल भइन् । कालीको उद्योगको सामानहरु नेपाल अधिराज्य भरी जान्छ । काठमाण्डौसमेतबाट सामानको अर्डर आउने गरेको तर अर्डर अनुसारको सामान पु¥याउन नसकिएको काली मियाको भनाइ छ । घर परिवार र आफन्तहरुबाट सहयोग र हौसलाको साटो नकारात्मक टिप्पणी खेपेकी काली मिया अहिले सबैको मार्गदर्शक बनेकी छन् । उनलाई असहयोग गर्नेहरु पनि अहिले उनीबाट पाठ सिकेर व्यवसाय गरी रहेका छन् भने कतिले उनीबाट व्यवसायिक ज्ञान खोजिरहेका छन् ।
महिलाहरु कमजोर हुन्छन्, उद्योग क्षेत्र मात्रै होइन कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न सक्दैनन् भन्ने सामाजिक संस्कारलाई चिर्दै कालीले व्यसायिक क्षेत्रमा मात्रै होइन सामाजिक क्षेत्रमा समेत आफूलाई सफल बनाएकी छिन् ।

दैलेखमा कस्मेटिक पसलबाट सुरुवात भएको उनको व्यापारिक क्षेत्र फराकिलो बन्दै उनी अहिले सफल उद्योगी बनेकी छिन् । उनको उद्योगमा अहिले १ सय ५ जनाले रोजगारी पाएका छन् । कालीका २ छोरा छन् । उनको जेठो छोराले पढाइ छोडेर उद्योगलाई सम्हालिरहेका छन् । काली मिया सफल उद्योगी मात्र नभई समाजसेवी पनि हुन् । सानैदेखि सामाजिक कार्यमा अभिरुचि राख्ने उनी विभिन्न सामाजिक संघ संस्थामा समेत आबद्ध छिन् ।

घरेलु तथा साना उद्योग महासंघ नगर महिला समितिको कोषाध्यक्ष, लाइन्स क्लबको सदस्य, मस्लिम संगठन नेपालको केन्द्रीय सदस्यलगायतको जिम्मेवारीमा रहेर काली मियाले सामाजिक कार्य गर्दै आएकी छिन् । विभिन्न समस्यामा परेका महिलाहरुलाई सीप सिकाइ रोजगार प्रदान गर्ने र आत्म निर्भर बनाउने उद्देश्यले काली मियाले भर्खरै मात्र साथीहरुलाई समेटेर मुस्लिम महिला उद्योगी संघ नेपाल नामक गैर सरकारी संस्था दर्ता गरेकी छिन् । जस्को अध्यक्ष काली आफंै बनेकी छिन् । यो संस्थाबाट विशेष गरी समस्यामा परेका, हिंसामा परेका र विपन्न परिवारका महिलाहरुलाई विभिन्न किसिमका सीपमूलक तथा क्षमता विकासका तालिमहरु सिकाएर बेरोजगार समस्या समाधान गर्ने, महिला सशक्तिकरणलगायतका कार्य गर्ने उद्देश्य राखिएको छ । व्यवसायिक तथा सामाजिक क्षेत्रबाट काली मियाले गरेको कामको मूल्याङ्कन गर्दै विभिन्न निकाय तथा संस्थाहरुबाट सम्मान समेत पाएकी छिन् । नेपालगन्ज उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र विभिन्न संघ संस्थाहरुले उनलाई सम्मान गरी सकेका छन् । पढ्ने उमेरमा पढ्न छोडेर सानै उमेरमा विवाह गर्नुपर्दा पढाइबाट वञ्चित हुनु परेको क्षण काली मियाको जीवनमा सधैं सम्झिने क्षण बनेको छ । पढ्ने इच्छा हुँदा हुँदै पनि बाध्यता र विवशताले पढ्न नपाउँदा जहिले पनि काली मियालाई पछुतो लाग्ने गरेको अनुभव सुनाउँछिन् । सामान्य लेखपढ गरेको भए पनि पढाइमा डिग्री हासिल गरेका महिलाहरुको भन्दा कम छैन काली मियाको व्यक्तित्व र काम । आफ्नो श्रीमान बिरामी हुँदा र दुःख पर्दा समेत फर्केर नहेर्ने र सहयोग नगर्नेहरु समेत सबैले अहिले उनको कामको प्रसंशा गर्ने गरेका छन् । काली मियाले आफ्नो समुदायको अगुवाइ गरेर अगाडि बढेकी छन् । परी आएको खण्डमा जे पनि गर्न सकिँदो रहेछ भन्ने सोच भएकी काली मिया मुस्लिम सुमुदायमा मात्रै नभएर सबै महिलाहरुको लागि उत्प्रेरणाको स्रोत बनेकी छिन् ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech