निजामती सेवाका असल कर्मचारी गोविन्द

पाण्डे वाणिज्य कार्यालय नेपालगन्जमा कार्यालय प्रमुख हुँदा फर्म नवीकरण, पुँजी वृद्धि, शाखा थप, ठाउँसारी, कारोबार थपघट, नामसारी, नाम परिवर्तन तथा खारेजीका लागि संयुक्त निवेदन फारम तयार गरी सेवाग्राहीलाई हरेक विषयको अलग–अलग निवेदन लेख्ने झन्झटबाट मुक्त गरी सेवा प्रवाहमा सुधार आएको थियो ।

मन भण्डारी

नेपाली समाजमा प्रचलित उखान मध्येको “हुने बिरुवाको चिप्लो पात” एक हो । राम्रो हुने र फल दिने बिरुवा सानैदेखि चिल्लो र मज्बुद देखिएझैँ मान्छे पनि भविष्यमा कस्तो बन्छ भन्ने कुरा उसको बाल्यकालले निर्धारण गर्छ । हरेक व्यक्तिको उज्ज्वल भविष्य बन्नका लागि परिवार, अभिभावक र साथीभाइको भूमिका र हात महत्वपूर्ण हुन्छ । धेरै सफल व्यक्तिको जीवनी हेर्ने हो भने उसको सफलताको पछाडि कसैको न कसैको भूमिका रहेकै हुन्छ । त्यहीमध्येका एक हुन् गोविन्द प्रसाद पाण्डे । पाण्डे जिल्ला हुलाक कार्यालय बाँकेमा कार्यालय प्रमुखको रूपमा कार्यरत छन् । बुबा भक्तप्रसाद पाण्डे तथा आमा रक्षादेवी पाण्डेको कोखबाट कर्णाली अञ्चल, जुम्ला जिल्लाको साविक हांकु गाविस वडा नम्बर ६ हाल तातोपानी गाउँपालिका ४ गिडिखोलामा विक्रम संवत् २०३० साल माघ १४ गते जन्मिएका पाण्डे साहित्य सृजना, पत्रकारिता, समाज सेवा र सृजनानात्मक काममा रुचि राख्छन् । उनी सामाजिक भावना भएका एक सरल, इमानदार, कर्तव्यनिष्ठ, कर्मठ राष्ट्र सेवक हुन् ।

प्राथमिक तहसम्मको अध्ययन उनी जन्मेको गाउँकै गिडीखोला जुम्लाको प्राथमिक विद्यालयमा गरेका पाण्डेले चन्दनाथ मावि खलंगा तथा देउराली मावि जुम्लाकोट जुम्लाबाट माविस्तर, भेरी ज्ञानोदय क्याम्पस खलंगा जाजरकोट र वीरेन्द्रनगर बहुमुखी क्याम्सप सुर्खेतबाट स्नातक तह, नेपाल ल क्याम्पस प्रदर्शनी मार्ग काठमाण्डौबाट कानुनमा स्नातक (एलएलबी) र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट स्नातकोत्तर पूरा गरेका छन् । मध्यम परिवारमा जन्मिएका उनले बाल्यकालमा कुनै कुराको पनि अभाव महसुस गर्न परेको थिएन । पाण्डेको बाल्यकाल पढाइसँगै गाई, बाख्रा हेर्दै, खेतीपातीको काममा सघाउँदै पढ्दै ग्रामीण परिवेशमा रमाउँदै, जंगलमा फलफूल र कन्दमूल खाँदै डाँडापाखामा घुम्दै बितेको थियो । उनका बुवा सरकारी जागिरे भएकाले पनि उनलाई बाल्यकालमा कुनै किसिमको समस्या भएन । २०३५ सालमै बुबाले लोक सेवा आयोग जुम्लाबाट खरिदारमा नाम निकाली सरकारी सेवामा लागेका थिए । बुवा सरकारी जागिरे भएको कारण पनि बुवाको प्रेरणाले पाण्डे निजामती सेवाप्रति आकर्षित भएका थिए ।

सानैदेखि रचनात्मक काममा सक्रिय पाण्डेले २०६५ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरी गोश्वारा हुलाक कार्यालय सुन्धारा काठमाण्डौबाट आफ्नो जागिरको शुभारम्भ गरे । उनले यस अवधिमा वाणिज्य कार्यालय नेपालगन्ज बाँकेको प्रमुख, विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सफल जिम्मेवारीवहन गरिसकेका छन् भने २०७६ साउन २६ देखि जिल्ला हुलाक कार्यालय बाँकेको कार्यालय प्रमुखको भूमिकामा कार्यरत छन् । पाण्डेले सरकारी सेवामा काम गर्ने दौरानमा थुप्रै अनुभव बटुलेका छन् । जागिरे जीवनको सुरुमा विक्रम संवत् २०६५ मा गोश्वारा हुलाक कार्यालय सुन्धाराको मेल सेन्टर (इभिनिङ) को नायव सुब्बा पदमा कार्यरत रहँदा पाण्डेले चिठ्ठी पत्र अनलाइन इन्ट्री गर्ने काम गर्थे । उक्त कार्यालयमा काम गर्दा छोटो समयमा सेवाग्राहीको मन जित्न सफल भएका थिए पाण्डे । करिब ३ वर्ष उक्त हुलाक कार्यालयमा काम गरेका पाण्डेले सुरुको ३ वर्ष जागिरेकालको आधार वर्षको रूपमा लिएर अगाडि बढे ।
सार्वजनिक ओहोदामा बसेका अधिकारीहरु आफ्नो कर्तव्यबाट बिमुख हुने र घमण्ड मौलाउने संस्कारको विकास भइरहेका बेला गोविन्द पाण्डे जस्ता केही क्षमतावान, जिम्मेवार र जवाफदेही अधिकारीहरुले आम नागरिकहरुको निराशालाई आशामा बदल्ने काम गरेका छन् । पाण्डेले जहाँ–जहाँ काम गरे, त्यहाँ केही न केही नयाँ र सकारात्मक काम गरेर छाप छोड्न सफल भएका छन् । नागरिकहरुका कुरा सुन्ने, गुनासो तत्काल सुनुवाइ गर्ने, नम्र भएर बोल्ने पाण्डे विक्रम संवत् २०६८ साल जेठबाट वाणिज्य कार्यालय नेपालगन्जको कार्यालय प्रमुख भए । उक्त कार्यालयमा कार्यालय प्रमुखको भूमिकामा जिम्मेवारी सम्हालेपछि नेपालगन्ज क्षेत्रमा सरोकारवाला निकायसँगको सहकार्यमा बजार अनुगमनलाई तीव्रता दिई अभियानको रुपमा अगाडि बढाएका थिए । पाण्डेको नेतृत्वमा भएको सो अभियानपछि बस्तु तथा सेवाको गुणस्तर, मूल्य, परिमाण तथा उपभोग्य अवधिमा सुधार आएको थियो । सोही अवधिमा म्याद नाघेका १३ हजार बोतल पेप्सी कम्पनीका पेय पदार्थ नष्ट गरिएको थियो । उपभोक्ता हक हितका पक्षमा सक्रियतापूर्वक कार्य सम्पादन गरी विशेष योगदान पु¥याएबापत विक्रम संवत् २०६९ मा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग बबरमहल काठमाण्डौले पाण्डेलाई उत्कृष्ट निरीक्षण अधिकृतको रूपमा छनोट गरी प्रमाण–पत्र र मायाको चिनो प्रदान गरेर सम्मानित गरेको थियो ।

पाण्डे वाणिज्य कार्यालय नेपालगन्जमा कार्यालय प्रमुख हुँदा फर्म नवीकरण, पुँजी वृद्धि, शाखा थप, ठाउँसारी, कारोबार थपघट, नामसारी, नाम परिवर्तन तथा खारेजीका लागि एउटै संयुक्त निवेदन फारम तयार गरी सेवाग्राहीलाई हरेक विषयको अलग–अलग निवेदन लेख्ने झन्झटबाट मुक्त गरी सेवा प्रवाहमा सुधार आएको थियो । वाणिज्य कार्यालय नेपालगन्ज बाँकेबाट कोहलपुरलगायतका ठाउँमा घुम्ती फर्म दर्ता तथा नवीकरण कार्यक्रम संचालन गरी घरदैलोमा सेवा प्रवाह, बाँके, बर्दिया, दाङ, सुर्खेत तथा जुम्लाका माध्यामिक विद्यालयमा उपभोक्ता जनचेतना कक्षा संचालनलगायतका कार्य पाण्डेले सुरुवात गरेका थिए ।

पाण्डे विक्रम संवत् २०७० देखि २०७२ सम्म तत्कालिन कोहलपुर नगरपालिका बाँकेको कार्यकारी अधिकृतको रूपमा कार्य गरे । पूर्व–पश्चिम राजमार्ग तथा रत्न राजमार्गको संगम कोहलपुर चौराहमा सार्वजनिक निजी साझेदारी मोडेलमा कोहलपुर नगर विकास समिति तथा शिद्घार्थ बिजनेस गु्रप प्रालिसँगको सहकार्यमा पानी फोहोरासहितको आधुनिक हरित कोहलपुर चौराहा निर्माण कार्यको सुरुवात, कोहलपुर नगरपालिकाले नगर विकास समिति कोहलपुर तथा लुमन्ती नामक गैसससँगको सहकार्यमा कोहलपुर न्यूरोड प्रवेशद्वार नजिक रहेको खुला मञ्चमा व्यवसायिक सटरसहितको सार्वजनिक शौचालय निर्माण, प्लान नेपाल, गेरुवा तथा लुमन्ती नामक गैसससँगको सहकार्यमा एक वर्षको अवधिमा १३ वडामा करिब ५०० थप शौचालय निर्माण तथा दर्जनौं सार्वजनिक सौचालयको मर्मत सुधार गरी कोहलपुरलाई खुला दिसा मुक्त नगरपालिका घोषणा, पश्चिम नेपालमा कोहलपुर नगरपालिकालाई हरित नगर घोषणा गरी नेपाल सरकार वातावण मैत्री स्थानीय शासन कार्यक्रम (भ्ँीन्ए) बाट थप एक करोड अनुदान प्राप्त गरी कोहलपुर क्षेत्रमा भ्यू टावर, पार्क निर्माण तथा सडक दायाँ–बायाँ हरियाली कार्यक्रम अभियानको थालनी, कोहलपुरका करिब ३० वटा सडकलाई न्यूनतम ६ मिटरको मापदण्डमा ल्याइएको न्यूनतम ६ मिटर चौडा सडक नभएको ठाउँमा नगरपालिकाले विकास गतिविधि नगर्ने नीतिलगायतका सुधारात्मक कार्यहरु पाण्डे कोहलपुर नगरपालिकाको कार्यकारी अधिकृत हुँदा भएका थिए ।

पाण्डेले विक्रम संवत् २०७२–२०७३ को अवधिमा चन्द्रागिरी नगरपालिका काठमाण्डौको नगर प्रमुख तथा कार्यकारी अधिकृत, विक्रम संवत् २०७३–२०७४ को अवधिमा छायानाथ रारा नगरपालिका मुगुको नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, विक्रम संवत् २०७४–२०७६ को अवधिमा तिलागुफा नगरपालिका कालिकोटको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेर सफलतापूर्वक जिम्मेवारी पूरा गरी सकेका छन् । विभिन्न पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्य गर्ने क्रममा पाण्डेले महत्वपूर्ण कामहरु गरेर छाप छाडेका छन् । पाण्डे जुन कार्यालयमा कार्यरत रहे त्यो कार्यालयमा सबैसँग राम्रो सम्बन्ध स्थापित गर्दै जनताको मन जित्ने काम गर्न सफल भए । लामो समयको अन्तरालपछि देशमा भएको स्थानीय तहको निर्वाचन पछि संघीय संरचनाको अभ्यासको सुरुवातको चरणमा विभिन्न स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका पाण्डे विक्रम संवत् २०७६ साउन २६ गतेदेखि जिल्ला हुलाक कार्यालय बाँकेको कार्यालय प्रमुखको भूमिकामा कार्यरत छन् । पाण्डे कार्यालय प्रमुख भएपछि साँघुरो पुरानो भवनमा सीमित रहेको जिल्ला हुलाक कार्यालय बाँकेको कार्यालयलाई नव निर्मित भवनका बाँकी काम तत्काल पूरा गर्न लगाई नव निर्मित भवनमा कार्यालय प्रमुखको कार्यकक्ष, प्रशासन, लेखा, जिन्सी तथा डाँक शाखा व्यवस्थापन तथा पुरानो भवनमा हुलाक बचन बैंक, काउन्टर तथा टिकट बिक्री शाखा स्थापना गरी सेवाग्राहीमैत्री कार्यालय व्यवस्थापन गर्न सफल भए ।

जिल्ला हुलाक कार्यालय बाँकेको भवन मर्मत, इलाका हुलाक कार्यालय खजुरामा चार कोठे पक्की कार्यालय भवन निर्माण, इलाका हुलाक कार्यालय कोहलपुरको कार्यालय भवन मर्मत तथा शौन्दर्यकरण, जिल्ला हुलाक कार्यालय परिसरको सरसफाइ व्यवस्थापन गरेर फलफूलका बिरुवा रोपी वातावरणमैत्री कार्यालयको रुपमा शौन्दर्यकरणको सुरुवात पाण्डेले गरे । त्यसैगरी जिल्ला हुलाक कार्यालय बाँके अन्तर्गतका ११ वटा इलाका हुलाक तथा ३५ वटा अतिरिक्त हुलाकको स्थलगत निरीक्षण गरी कार्यालय भवन, सेवा प्रवाह, फर्निचर, कर्मचारीको अवस्थाको अनुगमन गरी सो सम्बन्धमा स्थानीय तहका पदाधिकारीसँग समन्वय बैठक सञ्चालन, अतिरिक्त हुलाकका कर्मचारीको मृत्यु हुँदा तथा सेवाबाट अलग हुँदा नोकरी गरेको प्रत्येक वर्षको आधा महिनाको तलब बराबर औषधी उपचार खर्च पाउने व्यवस्था अतिरिक्त हुलाक (चौथो संसोधन) नियमावली २०६९ को नियम १२ मा भए पनि पहल गर्ने व्यक्तिको अभावमा हालसम्म पनि प्रक्रिया अगाडि बढ्न नसकेकोमा पाण्डे जिल्ला हुलाक कार्यालय बाँके जिल्ला हुलाक अधिकृतको रुपमा हाजिर भए पछि औषधी उपचार खर्च नपाएका कर्मचारीका आफन्तहरु खोजी गरी हुलाक प्रतिनिधि स्व.मंगलसिंह थापा र स्व.बिलम्बसिंह भण्डारी तथा पत्र वितरक स्व. रामचन्द्र गोडियाका आफन्तलाई सो सुविधा दिलाएका थिए ।

जिल्ला हुलाक कार्यालय बाँकेले विश्व हुलाक दिवस ९ अक्टुवर विधिवत् रूपमा मनाउन सुरु गर्नुका साथै दिवसको अवसरमा हुलाकमा उत्कृष्ट सेवाप्रवाह गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र सहित सम्मान गर्ने र जिल्ला हुलाक कार्यालय बाँकेको रजिष्ट्री, टिकट काउन्टर तथा हुलाक बचत बैंकमा सेवा लिन आउने प्रथम सेवाग्राहीलाई समेत सम्मान गर्ने संस्कारको सुरुवात, राष्ट्रिय सूचना आयोगले जिल्ला हुलाक कार्यालय बाँकेलाई प्रत्यायोजन गरेको अधिकार अनुसार बाँकेका सार्वजनिक निकायहरुमा सूचना अधिकारी, सूचना प्रवाह तथा स्वत प्रकाशनको अवस्थाको नियमित अनुगमन तथा निरीक्षण गरी राष्ट्रिय सूचना आयोगमा प्रतिवेदन पठाउने कार्यको सुरुवात, सूचना अधिकारीहरुको क्षमता विकास, जिल्ला हुलाक कार्यालय बाँकेबाट यस जिल्लामा रहेका एफएम रेडियोको दर्ता तथा नवीकरण र लोककल्याणकारी विज्ञापन बजाए÷नबजाएको बारेमा अनुगमन गर्ने, जिल्लामा रहेका केवल टिभीको प्रवाह गरेको सेवाको गुणस्तरका बारेमा समेत अनुगमन सुरु गरी सुधारको लागि पहल गर्ने, जिल्ला हुलाक कार्यालय बाँके तथा इलाका र अतिरिक्त हुलाकमा वर्षौदेखि मर्मत हुन नसकी प्रयोगविहीन अवस्थामा रहेका फर्निचर तथा मेसिनरी सामानको मर्मतको काम सुरु गरी मर्मत हुन नसक्ने सामानको नियमानुसार लिलाम गर्ने प्रकृया सुरु गरिएको छ ।

जिल्ला हुलाक कार्यालय बाँकेमा रहेको हुलाक बचत बैंकमा बचत गर्न आमनागरिकलाई जनचेतना विकास गर्न नेपाली तथा अवधि भाषाका पर्चा बनाई जिल्लाका सबै स्थानीय तह तथा मेला पर्वमा वितरण गर्ने गरिएको, जिल्ला हुलाक कार्यालय बाँकेमा सेवाग्राहीको गुनासो व्यवस्थापन गर्नलाई गुनासो व्यवस्थापन अधिकारी तोकिएको र गुनासो दर्ता तथा फछ्र्यौट रजिष्टरको व्यवस्था, क्याम्पस तथा माध्यामिक विद्यालयका विद्यार्थीहरुमा उत्प्रेरणा बढाएर पठन संस्कृति, गुणस्तरीय शिक्षा तथा प्रतिस्पर्धाको भावना सृजना गरी प्रतिभा विकास गर्न हाललाई लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका क्याम्पस तथा माध्यामिक विद्यालयहरुमा निशुल्क अभिमुखीकरण कक्षा संचालन तथा ब्रोसर वितरणलगायतका कामहरु पाण्डे हुलाक कार्यालयको प्रमुख भएर आइसकेपछि भएका छन् ।

नेपाल सरकारले बनाएका नीति, नियम अक्षरशः पालना गरी जवाफदेहिता र पारदर्शिताका पक्षमा प्रतिबद्ध पाण्डे एक नमुना ‘सरकारी’ अधिकारी हुन् । पाण्डे मातहतका कर्मचारीहरुका लागि प्रेरणाको स्रोतसमेत बनेका छन् । सहज र सरल तवरले नागरिकहरुसँगको भेटलाई बढवा दिँदा सहकार्यात्मक भावना अभिवृद्धि हुने गरेको वास्तविकता उनले राम्ररी बुझेका छन् । सायद त्यहीँ भएर होला उनले नागरिक समाज, विभिन्न सरकारी कार्यालय, सञ्चार माध्याम र आम नागरिकहरुसँगको भेटलाई कहिल्यै बोझ मानेनन् ।

निजामति सेवामा उनले पु¥याएको सकारात्मक योगदानबापत उनी विभिन्न सम्मानबाट सम्मानितसमेत भइसकेका छन् । विक्रम संवत् २०६६ सालको निजामती सेवा दिवस मूल समारोह समिति सिंहदरबार काठमाण्डौबाट आयोजित संघीयतामा निजामती सेवा शीर्षकको राष्ट्रव्यापी खुला निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरी रु. १० हजार नगद पुरस्कारसहित प्रमाण पत्र, विक्रम संवत् २०६९ सालमा वाणिज्य कार्यालय नेपालगन्जमा कार्यालय प्रमुख पदमा कार्यरत रहँदा बजार अनुगमन तथा उपभोक्ता जागरणमा गरेको कामको मूल्याङ्कन गर्दै वाणिज्य विभागबाट मायाको चिनोसहित सम्मान, विक्रम संवत् २०७० सालमा कोहलपुर नगरपालिकामा कार्यकारी अधिकृत पदमा कार्यरत रहँदा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरेबापत जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट नगद रु १० हजार पुरस्कारसहित सम्मान, विक्रम संवत् २०७६ सालमा तिलागुफा नगरपालिका कालिकोटमा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहँदा नगरको योजना तर्जुमा, कार्यान्वयन, समन्वय, सहकार्य, कार्यालय व्यवस्थापनमा गरेको कामको कदर गर्दै नगरपालिकाबाट उनले प्राप्त गरेका मुख्य सम्मानहरु हुन् ।

जागिरको सिलसिलामा पाण्डेले भारतको कानपुर, लखनउ, हरिद्वार, अलमोडा, पौडी गडवाल, नयाँ दिल्ली, वृन्दावन, आगरा, इलाहवाद, गोरखपुर, चीनको बेइजिग, छोङकिङ तथा नेपालका इलाम, झापा, धनकुटा, सोलुखुम्बु, दोलखा, सिन्धुली, काभ्रे, नुवाकोट, रसुवा, मुस्ताङ, कास्की, पर्वत, पाल्पा, स्याङजा, धनुषा, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, सल्यान, दाङ, रुकुम, जाजरकोट, कालिकोट, हुम्ला, मुगु, डोल्पा, अछाम, बाजुरा, डँडेलधुरा, कैलाली, कञ्चनपुरलगायतका विभिन्न जिल्लाको भ्रमण गरी त्यहाँका अनुभवहरु आदान–प्रदान गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech