उत्प्रेरक व्यक्तित्व डाक्टर राहुल

सावित्री गिरी

जसले कर्ममा विश्वास गर्छ उसको पहिलो प्राथमिकतामा काम पर्छ । त्यसको गतिलो उदाहरण हुन् डा.राहुल थापा । बिहानै उठेदेखि राति ननिदाउँदासम्म उनलाई चिन्ता केबल बिरामीको हुन्छ । आफ्नो जिम्मवारीप्रति सधै सचेत थापाको दैनिकी साताभरि बिरामीको अवस्था अनुसार समय व्यवस्थापनमा बित्ने गर्दछ । चिकित्सकले आफ्नो निजी जीवनका लागि समय निकाल्न निकै मुस्किल हुन्छ । अझ त्यसैमा जटिल प्रकारका बिरामी आए सोही अनुसार व्यवस्थापनको कामलाई अगाडि बढाउनु पर्दा त्यो समय झनै घट्दै जान्छ ।

चिकित्सक बन्न त्यति सजिलो पनि छैन जसले कडा मेहनत गर्छ त्यो मात्रै चिकित्सकीय क्षेत्रमा सफलता हासिल गर्दछ । विशेषज्ञता हासिल गरी बिरामीहरुलाई पूर्ववत् अवस्थामा फर्काउनु कम्ता गाह्रो काम होइन । कलियुगका देवताको उपमा पाएका चिकित्सकको जीवनको खुशी बिरामीको मुस्कानसँग जोडिएको हुन्छ । यस्तै बिरामीका लागि दिनरात खटिएका उर्जावान डाक्टर हुन् नेपालगन्जका नयाँ पुस्तामा चर्चित डा. राहुल थापा । वेस्र्टन हस्पिटल नेपालगन्जमा प्रबन्ध निर्देशकको रुपमा कार्यरत डा. थापा अर्थोपेडिक सेवा प्रदान गर्छन् । सन् २०१७ देखि निरन्तर रुपमा वेस्र्टन हस्पिटलमा खटिएका राहुलसँग अस्पतालको स्तरोन्नति र प्रभावकारी सेवा प्रवाहका थुप्रै योजनाहरु कार्यान्वयनको चरणमा छन् । चिकित्सकीय सेवा मात्र होइन सामाजिक कामका लागि राहुलले गरेको योगदान मननयोग्य रहेको छ ।
बुबा डाक्टर विनोद कुमार थापा र आमा डाक्टर कल्पना थापाको कोखबाट विक्रम संवत् २०४९ साल पौष १७ गते नेपालगन्जमा उनको जन्म भएको थियो । राहुल बुवा आमाका एक्ला सन्तान हुन् । उनका बुवा डा. बिनोद थापा हाडजोर्नी विशेषज्ञको रुपमा पहिचान स्थापित गरेका ख्याति प्रात्त डाक्टर हुन् भने आमा स्त्री रोग विशेषज्ञका रुपमा स्थापित डाक्टर हुन् । राहुलका बुवा राहुल सानो हुँदादेखि नै निजी क्लिनिकमा बिरामीहरुको उपचारमा संलग्न थिए । यसरी बुवाले बिरामीको उपचार गरेको देख्दा राहुल बुवाको काम प्रति निकै प्रभावित भए । सानैदेखि दीन दुःखी र गरिबको सेवामा आमाबुवा तल्लीन रहेको देखेपछि राहुललाई पनि डाक्टर पेशामा रुचि जाग्दै गयो । राहुलले बुवा र आमालाई चिकित्सा क्षेत्रमा गुरुका रुपमा लिन्छन् । उनले जीवनमा थुप्रै अनुशासनका कुरादेखि चिकित्सकीय कुराहरु आमाबाट सिक्ने आवसर पाएको बताउँछन् । घरभित्रै चिकित्सकीय क्षेत्रको ज्ञान बटुल्न पाउनु राहुलका लागि शौभाग्य थियो । यस्तो अवसर कम व्यक्तिहरुले मात्र पाउने गर्छन । जो राहुलले पाएका थिए । राहुलका हजुरबुबा एमए बहादुर थापा र हजुरआमा इन्दिरा थापाको न्यानो काखमा खेल्ने अवसर भने राहुलले पाएनन् । उनी बुझ्ने हुँदासम्म उनका हजुर बुबा र हजुरआमाको देहवसान भइसकेको छ । राहुलको परिवार दाङ जिल्लाबाट नेपालगन्ज आएको २५ वर्ष पुगिसकेको छ ।

परिवारमा तीनजना रहेको र तीनैजना चिकित्सकीय क्षेत्रमा कार्यरत रहेका कारण उनी परिवारप्रति खुसी छन् । सानो परिवार र सिंगो परिवार बिरामीहरुको सेवामा तल्लीन रहेको देख्दा गाउँ, घर र समाजबाट समेत राम्रो प्रशंसा पाउने गरेको उनी बताउँछन् । केही समय चिकित्सा क्षेत्रमा अन्य अस्पतालमा काम गरेपछि विक्रम संवत् २०६१ सालमा राहुलका बुवाले वेस्टर्न हस्पिटलको रुपमा आफ्नै निजी अस्पताल सञ्चालन गरेका थिए । आफ्नै अस्पताल खोलेपछि थप समय अस्पताल व्यवस्थापनमा विताउनु पर्ने भएपछि बुवा आमाको चाहना छोेराले अस्पतालको काममा सहयोग गरिदिओस् भन्ने थियो, जसलाई राहुलले पूरा गर्न सफल भएका छन् । उनी भन्छन्,‘बुवा आमाको सपना छोराले अस्पतालमा काम गरोस् भन्ने थियो । जुन मैले पूरा गरेको छु ।’ हाल राहुल अस्पतालमा अर्थोपेडिकको रुपमा कार्यरत रहेका छन् भने भविष्यमा हाडजोर्नीबारे विशेषज्ञता हासिल गरेर सेवा प्रवाह गर्ने उनको चाहना छ । विशेषज्ञता हासिल गर्न विदेश गएपछि काम आफ्नै देशमा गर्नु पर्छ भन्ने दृढ सोच राख्ने राहुल नेपालमा नै रहेर काम गर्दा निकै सन्तुष्ट छन् ।

राहुलको शैक्षिक यात्रा भारतबाट भएको पाइन्छ । उनले भारतको लखनउमा रहेको सेन्ट फ्रान्सेसबाट शैक्षिक यात्रा सुरु गरेका थिए । त्यहाँ उनले कक्षा ६ सम्म अध्ययन गरे । उनी भारतमा अध्ययन गर्नुको कारण उनकी आमा सोही स्थानमा काम गर्नु थियो । त्यसपछि राहुल नेपाल फर्किए र उनले कक्षा ६ र ७ सेन्ट जिवियस कलेज जावलाखेल काठमाण्डौँबाट पास गरे । यसैगरी कक्षा ८ देखि १० पुनः व्रिला विद्या मन्दिर नैनीताल भारतबाट गरे । नैनीताल अध्ययन होस्टेलमा बसेर उनले गरेका थिए । सन् २००८ मा राहुलले नैनितालबाट एसएलसीसम्मको पढाइ पूरा गरेपछि सन् २०१० मा कक्षा ११ र १२ विज्ञान विषयमा लखनउ स्थित सिटी मन्टेश्वरी स्कुलबाट पूरा गरे । त्यसपछि पुनः नेपाल फर्किएका उनले नेपालगन्ज मेडिकल कलेजमा सन् २०११ मा एमबिबिएसको पढाइ सुरु गरे र सन् २०१७ मा एमबिबिएसको पढाइ पूरा गरे । एमबिबिएसको पढाइ पूरा गरेपछि राहुल बुवा र आमाले सञ्चालन गरेको वेस्र्टन अस्पतालको प्रबन्ध निर्देशकको भूमिकामा काम गर्न थाले । अस्पतालको अर्थोपेडिक डिपार्टमेन्टमा हाउज अफिसरको रुपमा समेत उनी कार्यरत छन् । काम गर्दै जाँदा उनमा आएको परिपक्कताले हाल उनी सेवाप्रवाह सँगसँगै अस्पताल व्यवस्थापनको काममा सक्रियतापूर्वक सम्हाल्दै आएका छन् । व्यवस्थापनको काम निकै अप्ठेरो काम हो तर पनि राहुलले उक्त चुनौती सहजै पुरा गरिरहेका छन् । हाल ५० वेडबाट सेवा प्रवाह गरिरहेको अस्पताललाई स्तरोन्नति गरेर १ सय बेडको बनाउने योजना उनको छ । साथै १० बेडको आइसियु र ५ बेडको एनआइसियु सेवा सुचारु गर्ने गरी व्यवस्थापनको काम गरिरहेको उनको भनाइ छ । यसका अलावा अस्पतालमा बालरोग विशेषज्ञ सेवा, न्युरो सर्जरी डिपार्टमेन्ट, नाक, कान र घाँटी सम्बन्धी सेवा, छाला सम्बन्धी रोग, मुटु सम्बन्धी रोगको विशेषज्ञ सेवा ,प्रसूति सेवा, किड्नी अप्रेसन, अर्थोपेडिक र पटे सम्बन्धी रोगको विशेषज्ञ सेवालाई प्रभावकारी रुपमा सुचारु गर्ने गरी तयारी उनी गरिरहेका छन् ।

अस्पताल व्यवस्थापनको काम र बिरामीहरुको सेवा सँगसँगै राहुलले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गरिरहेका छन् । नियमित तालिका बनाएर काम नगरेता पनि राहुलले विभिन्न समयमा आउने विपत्ति तथा महामारीमा स्वस्फूर्त सेवाभावले काम गर्ने गरेका छन् । विक्रम संवत् २०७२ साल वैशाख १२ गते महाभूकम्प आएपछि काठमाण्डौलगायत थुप्रै जिल्लामा क्षति हुन गयो । त्यसबेलादेखि राहुलले जेस्ट्रज अफ काइन्डनेस नामक संस्था स्थापना गरी सेवाको कामको सुरुवात गरी सामाजिक सेवालाई आफ्नो जिम्मवारी ठानेर अगाडि बढे । महाभूकम्पको बेला विभिन्न संघसंस्थाहरुसँग मिलेर उनले आफ्नो संस्था मार्फत् खाद्यान्न सामाग्री वितरण, पालहरु वितरण र स्वास्थ्यकर्मीको टोली नै परिचालन गरेर काम गरेको बताए । उक्त संस्थाको अध्यक्ष रहेका राहुलले संस्थाको समितिमा आफ्नै सहपाठीसहितको ७ सदस्सीय कार्यसमिति बनाएर काम गरिरहेका छन् । आफूले गरेका सामाजिक कार्यहरुको बारेमा जानकारी गराउँदै उनी भन्छन्,‘बाँकेको राप्तीपारि विक्रम संवत् २०७४ सालमा ठूलो बाढी आयो । बाढीका बखत ठूलो धनजनको क्षति भयो । धेरै व्यक्तिहरु संकटमा परे । त्यसबेला बाढी पीडितहरुलाई खाद्यान्य र स्वास्थ्य सामाग्री सहयोगका साथै स्वास्थ्य शिविर नै संचालन गरेर सेवा प्रवाह गरेका थियौं ।’ त्यही बेला बाँकेको राप्तीसोनारी गाउँपालिकका विभिन्न स्थानमा ६ वटा क्याम्प बनाएर यो सेवा संचालन गरिएको थियो ।

यस्तै बाँकेको नरैनापुरमा आगलागी हुँदा खाद्यान्न सामाग्री र स्वास्थ्य सामाग्री उपलब्ध गराउने काम भएको थियो । यसरी संस्थामार्फत् गर्ने सामाजिक तथा मानवीय कार्यका लागि संस्थामा आवद्ध पदाधिकारीहरुबाट रकम संकलन गर्ने गरेको उनी बताउँछन् । समाजमा बसेपछि सामाजिक काम गर्नुपर्छ भन्ने उनको भावना छ । अहिले यो भावनालाई मूर्तरुप दिन तल्लीन डा. राहुलको यो अभियानमा उनका सहपाठीहरुले पनि साथ दिएका छन् । उनले गरिरहेको सामाजिक सेवामा उनका बुबाआमाले समेत राम्रो सहयोग र समर्थन गरेका छन् । उनी भन्छन्,‘बुवा आमाको सहयोग र मार्गदर्शनका कारण मलाई सामाजिक सेवा गर्न थप उत्साह मिलेको छ ।’ विपतको समयमा अप्ठेरोमा परेको व्यक्तिलाई सहयोग गर्न पाउँदा निकै खुसी र आत्म सन्तुष्टि मिल्ने उनी बताउँछन् । डा. राहुलले सामाजिक सेवालाई दायित्वको रुपमा सम्झिन्छन् र समाजका सबै सदस्यबीचमा सेवाभाव हुनुपर्दछ भन्ने बिचार उनको छ ।

आफ्नो अस्पतालमा आउने बिरामीलाई जति सक्दो प्रभावकारी सेवा दिन लागि पर्ने डा. राहुल बिरामी सन्चो भएर घर पठाउन पाएपछि निकै खुसी हुन्छन् । बिरामीको पीडामा मलम लगाउन पाउँदाको क्षण नै राहुलका लागि जीवनको सबै भन्दा आनन्दमयी क्षण हो । राहुलको बाल्यकाल सुखद् बित्यो । बुवा र आमा चर्चित डाक्टर भएका कारण उनलाई कुनै किसिमको आर्थिक अभाव झेल्नु परेन । सानैदेखि राहुललाई पौडी खेल्न, टेबुल टेनिस खेल्न मन पर्छ । भारतमा अध्ययन गर्दा कलेजका साथीहरुसँग कहिलेकाही घुम्न गएको र पौडी खेल्न गएको स्मरण उनी गर्दछन् । सरल र निकै मिलनसार स्वभावका राहुल समय मिलेपछि साथीभाइहरुसँग घेटघाट गर्ने र आफ्ना आनुभव आदान–प्रदान गर्ने गर्दछन् ।

पछिल्लो समय निकै व्यस्त उनी अलिकति फुर्सद भएपछि हेल्थकेयर डेभलपमेन्टको बारेमा सोधी खोजी गर्छन । राहुल नयाँ नयाँ हेल्थ टेक्नोलोजीबारे जानकारी लिने गर्दछन् । परिवारसँग बस्ने र रमाइलो गर्ने समय निकै बिरलै पाइने उनको परिवार कहिले काही समय निकालेर विदेशतिर पारिवारिक भ्रमणमा जाने गर्दछ । यसरी भ्रमणमा जाँदा कामको तनाव केही समयका लागि मुक्त हुने र परिवार बीचमा विचार आदान–प्रदान हुने उनी बताउँछन् । राहुललाई ट्रेकिङ गर्न साह्रै मन पर्छ । त्यसैले कहिले काही उनी राहुल साथीहरुसँग मनाङ र मुस्ताङ जिल्लामा ट्रेकिङको लागि जाने गर्छन । उनले अन्नपूर्ण ट्रेकिङ गरेको अनुभव सुनाए ।

दैनिक बिहान ८ बजेदेखि राति ८ बजेसम्म राहुल अस्पतालमै भेटिन्छन् । उनको विचारमा जीवन भनेको सेवा । सेवाको मूल मर्मलाई आत्मसात् गर्दै उनी बिरामीहरुको स्वास्थ्य हेरचाहमा निरन्तर खटिँदै आएका छन् । राहुलले अस्पतामा काम गर्दाको दिनभरको थकान मेटाउन घरमा तीनवटा कुकुर पालेका छन् । अस्पतालको काम सकेपछि घरमा पालेका ती कुकुरहरुसँग खेल्ने गर्दछन् । उनी भन्छन्,‘कुकुरहरुसँग खेल्दा निकै आनन्द महसुस गर्दछु र मैले सबै थकान बिर्सिन्छु ।’ व्यस्त चिकित्सकीय जीवनशैलीका बीच बिरामीहरुको ओठमा मुस्कान ल्याउन सक्नु राहुलको महत्वपूर्ण उपलब्धि हो । बुबा र आमाको आज्ञाकारी सन्तानको परिचय बनाउन सक्नु उनकोे अर्को विशेषता हो भने सबैलाई सम्मान गर्ने बानी व्यहोरा राहुलबाट सबैले सिक्ने सिकाइ हो । काम र जिम्मेवारीप्रति राहुललाई कुनै अहमता छैन बरु कसरी राम्रो काम गर्न सकिन्छ भन्ने कुरामा सधै चिन्तनशील हुन्छन् डाक्टर राहुल । डाक्टर राहुल थापाले बनाएका सबै योजनाहरु आगमी दिनमा साकार बन्नै जाऊन् हाम्रो शुभकामना ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech