‘भाग्यले बाँचियो’

असल शासन प्रतिनिधि

आज मैले बाँच्ने आशा मारिसकेकी थिएँ । मृत्युलाई यति नजिकबाट यस अघि कहिल्यै नियालेकी थिइनँ । गत बिहीबार इन्जिन फेलपछि बुद्ध एयरमा सवार सञ्चारकर्मी शकुन्तला शाहको भनाइ हो यो ।

सुरक्षित उडानको नारा दिँदै आएको बुद्धमा यस्ता घटनाहरु एकपछि अर्को बढ्दै जान थालेका छन् । पछिल्लो चार महिनाका घटना केलाउने हो भने पनि आधा दर्जन पटक बुद्धका विमान करिब करिब दुर्घटना नजिक पुगेर जोगिएका छन् । गत बिहीबार बुद्धको इन्जिन फेल विमानमा सवार शकुन्तला शाहको कहाली लाग्दो अनुभूति उनकै शब्दमाः

२०७८ पुस १ गते मलाई भरतपुरबाट काठमाडौं जानु पर्ने भयो । म प्रायः जहाजमा आउजाउ गर्छु । बुद्ध एयरको विमानमा धेरै पटक आउजाउ गरेको छु । यसपटक पनि बुद्ध एयरको टिकट काटेँ । नाइनएन–एइईको विमानको फ्लाइट ११ बजेर ४५ का लागि तय थियो ।
विमानमा मलगायत १८ यात्रु र चालक दलका सदस्य थियौं । तर निर्धारित समयमा प्लेन उडेन । मौसमलगायतका कारण तोकिएको समयमा जहाज उड्न सक्दैनन् । मौसमकै कारण विलम्ब भयो होला भन्ने ठानेँ । दिउँसो १बजेर १६ मिनेटमा प्लेन उड्यो । मलाई भरतपुर विमानस्थलमा छाड्न मिलन लामा र नृत्य निर्देशक शिव बि.क. आउनु भएको थियो । लगत्तै उहाँहरुलाई मोबाइल फोनमार्फत प्लेन उडेको सन्देश पठाएँ । प्लेन उड्दै गर्दा फेसबुकमा भिडियो सन्देश राख्ने चाहा पलायो । मोबाइल झिकेँ र भिडियो खिच्न थालेँ । १६ सेकेन्डको भिडियो खिच्न के भ्याएको थिएँ प्लेनमा बड्याङ्ग विस्फोटको आवाज आयो ।

८ सी मेरो सिट नम्बर । धुँवाको मुस्लो एकछिनमा प्लेनभरि फैलियो । प्रायः म डोमेस्टिकमा ट्राभल गरिरहन्छु । मलाई प्लेनले सामान्य ढंगले हल्लाउँदा डर लाग्दैन । तर धुँवा आउनुचाहिँ सामान्य होइन भन्ने थाहा थियो । हामी सवार प्लेनमा धेरै जना नयाँ हुनुहुन्थ्यो सिट बेल्ट समेत बाँध्न नजान्ने ।

कतिपयको त म आफैले बाँधिदिएँ । त्यसैले होला प्लेनमा विस्फोट भएर धुँवा आइसक्दासमेत उहाँहरु नर्मल हुनुहुन्थ्यो । दुर्घटनामा पर्न लागेको हाउभाउ कसैको थिएन । जब धुँवाले जहाज गुम्सियो सबै आत्तिए । नढाँटी भन्दा सुरुवातमा मचाहिँ आत्तिएको थिइनँ ।
एयर होस्टेज पनि आत्तिनु भएको थिएन । चरा ठोक्किँदा सामान्य समस्या आएको उहाँको भनाइ थियो । पछि उहाँले एउटा इन्जिन फेल भएको बताउनु भयो । यात्रुलाई ढाड्स दिन भन्दै हुनुहुन्थ्यो प्लेनमा दुई इन्जिन हुन्छन् । यीमध्ये कुनै एकमा समस्या आए पनि अर्कोले काम गर्छ । हामी अब काठमाडौं सकुशल अवरतण गर्दैछौं ।

यति कुरा भनिराख्दा उहाँको मुहार शान्त थियो । त्रासको लेससम्म देखिँदैनथ्यो । एयर होस्टेजको कन्फिडेन्सले लागेको थियो सकुशलनै काठमाडौं पुगिने भइयो । प्लेन उडेको मात्रै एक मिनेट जति भएको थियो । तर यो त यताउता स्विङ पो गर्न थाल्यो ।

प्लेन आकाशमा जब स्विङ गर्न थाल्यो, बाँच्ने आशा कम हुँदै गयो । अरु यात्रुहरु कहालिन थाले । काठमाडौं नलगेर त्यहीँ भरतपुर झारिदिन अनुरोध अधिकांश गर्दै थिए । यति हुँदाहुँदै एयर होस्टेज केही नहुने भन्दै काठमाडौं जान लागेको बताइरहेका थिए । विमानमा कोलाहल मच्चियो । कोही अब यति नै रहेछ भनेर रुँदै थिए, कोही अन्तिम पल परिवारका सदस्यसँग फोनमा कुरा गर्नु पर्यो भनेर फोन डायल गर्दै थिए । मिडिया पर्सन भएकाले म धेरै आत्तिएको थिइनँ । तर माहोल यति कोलाहलपूर्ण बन्यो कि सम्हालिनै सकिनँ ।

कताकता भिडियो बनाऊँ कि भन्ने नलागेको होइन तर बनाइनँ । अब आफू नै बाँच्ने आश छैन भने भिडियो बनाएर के अर्थ ? भन्ने लाग्यो । यति हुँदै गर्दा प्लेनको पंखा पनि बन्द भइसकेको थियो । धुँवा यत्रतत्र फैलिएकाले आगो सल्किसक्यो भन्ने मलाई परेको थियो । मैले मृत्यु सन्निकट भइरहेको अनुभूति गरेँ ।

बाँच्ने आशा म मा मात्रै होइन, कुनै पनि यात्रुमा थिएन । जब मानिसलाई संकट आइलाग्छ, सम्झिने भनेको भगवान् नै रहेछन् । नजिकै एक जना बहिनी थिइन । हात समातेर रोयौं । हे भगवान, हामीलाई जसरी पनि बाँच्नु छ, सकुशल प्लेन ल्याण्ड होस् भनेर कामना गर्यौं ।
सुरुमा समस्या आउँदा विमान काठमाडौंनै जाने बताइएको थियो । तर फेरि भरतपुर नै अवतरण गर्ने तयारी गरेको सुनियो । धुँवाका कारण आगो सल्किसक्यो भन्ने हामीलाई परेको थियो । यो खबरले जमिनमा पुगेपछि ब्लास्ट हुन्छ भन्ने आतंकले थप सतायो । तर पाइलटले जहाजलाई सुरक्षितपूर्वक अवतरण गराउनु भयो । कतिपय बेल्ट खोल्नै नजान्ने हुनुहुन्थ्यो । पछि थाहा पाएँ –उहाँहरुको बेल्ट मैले नै खोलिदिएको रहेछु । प्लेनमा एयर होस्टेजलाई धन्यवाद भनेको मसिनो सम्झना छ, तर कतिबेला बाहिर निस्किएँ, कुनै पत्तो छैन ।
बाहिर निस्किएपछि एकआपसमा अंकमाल गरेर एक घण्टा सबैजना रोयौं । तारन्तर मोबाइलमा फोन आइरहेको थियो । तर बोल्न सक्ने ताकत थिएन । ज्यान कापिरहेको थियो । परिवारका सदस्यले घरकै छतबाट पंखा बन्द भएको देख्नु भएको रहेछ । तत्काल भेट्न आउनु भयो । यसले अलिकति भने पनि ढाडस मिल्यो । सबैतिर भगवान दाहिना रहेछन्, बाँचे भनेर फोन गरें । पुस १ गते जसरी पनि काठमाडौं पुग्नै पर्ने थियो । अरु पनि कोही अष्ट्रेलिया, कोही कता जान लागेका थिए । सबैलाई यात्रा अगाडि बढाउनु त थियो तर प्लेन चढ्ने हिम्मत कसैमा थिएन ।

बुद्धको जहाज रनवेमा रोकिएकाले तत्काल प्लेन उड्ने सम्भावना पनि थिएन । सबैले टिकट रिफन्ड गर्यौं । त्यो जहाजमा सवार १८ यात्रुमध्ये मलगायत चार जनाले स्कार्पियो रिजर्भ गर्यौं । बाँकी कसरी गन्तव्यमा पुग्नु भयो थाहा छैन तर मेरो विचारमा कसैले पनि प्लेनमा यात्रा गर्न सक्नु भएन होला । बाटोमा स्कार्पियोले कतै कतै स्पिड अलि बढाउँथ्यो । कतैकतै घच्याकघुचुक हुन्थ्यो । यो स्वभाविक थियो । तर हामी त्रस्त बन्थ्यौं । बल्लतल्ल बाँचेर आएका छौं हतार नगर्नुस भन्ने आग्रह गर्दागर्दै काठमाडौं आइपुगिएछ । त्यो त्रास अहिलेसम्म मनबाट हटेको छैन । सानो आवाज आउँदा पनि त्रसित हुन्छु, झस्किन्छु । थाहा छैन, कहिलेसम्म यसरी आतंकले मनमा घर बनाईरहने हो ? काठमाडौं आइपुग्दा राति सवा नौ बजिसेकेको थियो । काठमाडौंका लागि स्कार्पियो चढ्नु पूर्व फेसबुकमा विमानको त्रास पीडा झल्किने एउटा भिडियो पोष्ट गरेको थिएँ ।

काठमाडौं झरेलगत्तै फेसबुक खोलेँ । इनबक्स म्यासेज नै म्यासेजले भरिएको रहेछ । भिडियोमा पनि उत्तिकै क्रिया, प्रतिक्रिया । त्यसमध्ये अधिकांशले हामीलाई आशीर्वाद दिनु भएको थियो । केही कमेन्टले चाहिँ मलाई मरेतुल्य बनायो । सस्तो लोकप्रियताको लागि यस्तो गरिएको उहाँहरुको आरोप थियो । वास्तवमा मैले यो पोष्ट पब्लिसिटीका निम्ति गरेकै थिइनँ । आफ्नो अवस्था र वायुसेवा कम्पनीको लापरबाहीबारे जानकारी दिनु मेरो एकमात्र ध्येय थियो । यदि यस्तो निच कमेन्ट आउने थाहा पाएको हुन्थे भने पोष्टनै गर्ने थिइनँ होला । सायद आफू र आफन्तलाई परेको भए यस्ता कमेन्ट गर्नेले बुझ्थे होला ।

प्लेन कसले उठाएको थियो, मलाई अहिलेसम्म थाहा छैन । हतारमा धन्यवाद ज्ञापन गर्न पनि भ्याएको छैन । हामीलाई बचाउने चालक दलका सदस्यप्रति म कृतज्ञ छु । सुनेको थिएँ, बुद्ध एयर सुरक्षित विमान कम्पनी हो। उसको दाबी पनि यस्तै छ । तर यो गलत रहेछ । जसको भुक्तभोगी म आफैं भएँ । मेरो प्रश्न छ बुद्ध एयरले मानिसको जीवनमाथि खेलबाड चाहिँ किन गरिरहेको छ ? बुद्ध एयरलाइन्सको विमानमा समस्या आएको यो पहिलो घटना होइन । बुद्धका विमान पछिल्ला केही महिनामा मात्रै पटक पटक दुर्घटनाको नजिक पुगेर जोगिएका छन् ।
पटक पटक प्लेनमा समस्या आउँदा पनि उडानका लागि पठाइएका छन् । यो गम्भीर विषय हो । यति गम्भीर विषयमा छलफल किन भइरहेको छैन ? यसबारे हेर्ने निकाय किन चुप छ ? त्यसले कारबाही किन गरिरहेको छैन ? मानिसको जीवनमाथि भइरहेका खेलबाडका घटनालाई सामान्य किन बनाईदैछ ? यस तर्फ सम्बद्धहरु गम्भिर बन्न जरुरी छ ।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech