जन्म दर घटाउन र गर्भान्तर बढाउन ‘इम्प्लान्ट’ तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज–जुम्लास्थित तिला गाउँपालिकामा रहेका ग्रामीण भेगमा जन्म दर घटाउने र गर्भान्तर बढाउने उद्देश्यले स्वास्थ्यकर्मीहरुलाई इम्प्लान्ट तालिम दिइएको छ । गाउँपालिकामा रहेका ४ वर्थिङ सेन्टरका ४ जना स्वास्थ्यकर्मीलाई नेपालगन्जस्थित भेरी अस्पतालमा ८ दिने तालिम दिइएको हो ।
लामो समय टिक्ने परिवार नियोजनको अस्थायी साधन इम्प्लान्टमा यहाँका महिलाको पहुँच नपुग्दा जन्म दर बढ्ने र गर्भान्तर घट्ने समस्या रहेको गाउँपालिकाकी नर्सिङ अधिकृत जानकी हितानले बताइन् । हितानका अनुसार महिलाहरुको इम्प्लान्ट प्रयोग गर्ने चाहना हुँदा हुँदै पनि पहुँच नपुग्दा उनीहरु वञ्चित रहँदै आएका छन् । विभिन्न अवसरमा हुने मेडिकल क्याम्पमा इम्प्लान्ट प्रयोग गरेका महिलाले पनि तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा समयमै झिक्न नपाउँदा जुम्ला सदरमुकाम धाउन बाध्य थिए । तालिम पश्चात् गाउँपालिकास्थित वडा नम्बर २ रासा, वडा नम्बर ३ कुँडारी, वडा नम्बर ८ जुम्लाकोट र वडा नम्बर ९ रासामा रहेको वर्थिङ सेन्टरबाट सेवा पाउने भएका हुन् ।
मंगलबार भेरी अस्पतालमा भएको तालिम उद्घाटनका क्रममा भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले तिला गाउँपालिकाले आफ्नो आयोजनामा ग्रामीण भेगका महिलालाई प्रभावकारी सेवा दिने उद्देश्यले सञ्चालन गरेको तालिमको प्रशंसा गर्दै तालिममा सहभागी स्वास्थ्यकर्मीलाई सिकेका कुरालाई व्यवहारमा लागू गर्न सुझाइन् । तालिम लिन तँछाडमँछाड गर्ने तर तालिम पश्चात् सेवा दिन हिच्किचाउने प्रवृत्ति सरकारी स्वास्थ्य संस्थामा देखिने गरेको चित्रण गर्दै प्रशासक श्रेष्ठले तालिममा सिकेको सीपलाई समाज सेवामा समर्पण गर्नु पर्ने बताइन् ।
दुई जना अहेब र २ जना अनमीले लिइरहेको तालिमका लागि युएसएआइडी स्वास्थ्यका लागि सक्षम प्रणालीले गाउँपालिकालाई सहयोग तथा मानव संशाधन विकास केन्द्र सुर्खेतले समन्वय गरेको नर्सिङ अधिकृत हितानले बताइन् ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech