प्राविधिक पढ्ने बिद्यार्थीको रहर : अब कस्को पर्ने भर ?

प्राविधिक शिक्षालयको हरिबिजोग !

हेमन्त केसी

जाजरकोट, ४ माघ । मुटु नै कमाउँने हिउँदको चिसो सिरेठो, चौरमा बिछ्याएको चिसै कार्पेटमा बिद्यार्थीको बसाई, बाँसको पोलमा झुन्डाईएको बोर्ड । दिनभरको पढाईको क्रममा शिक्षक, बिद्यार्थी दिशापिसाब लागेमा जंगल दगुर्नुपर्ने बाध्यता ।

शिक्षा सर्वसुलभ, सहज, पहुँचयोग्य र गुणस्तरिय हुनुपर्ने आवश्यकता खट्किरहेको बेला दुर्गमका शिक्षालयकोे कठिनाई जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ५ काफलचौर स्थित जाजरकोट बहुप्राविधिक शिक्षालयले दर्शाएको छ ।

आवश्यक भौतिक पूर्वधार नहुदा भेरी बहुप्राविधिक शिक्षालय खुल्ला आकाशमा सञ्चालन भएको छ । विद्यार्थीहरु दैनिक खुल्ला आकाशमा कार्पेटमा बसेर पढ्न बाध्य भएका छन् । शिक्षकले बोर्ड बाँसको पोलमा झुण्ड्याएर पढाई गर्छन् । विद्यार्थीहरु चौरमा विछ्याइएको कार्पेटमा बसेर सिकाई गर्छन । बर्षात, हावा र चर्को घाम लाग्दा शिक्षालयको पढाई बन्द गर्नुपर्ने अवस्था रहेको शिक्षालयले जनाएको छ ।

काफलचौरमा शिक्षालयको नाममा २२ रोपनी जग्गा रहेको छ । कुर्सी, बेन्च, दराज लगायत फर्निचर समेत छ्रैनन् । शौचालय र खानेपानीको समेत नहुँदा विद्यार्थी तथा शिक्षकहरु हैरान भएका छन् । शिक्षक र विद्यार्थी शौचालयको अभावमा जंगल गएर दिशा, पिसाव गर्न बाध्य भएको विद्यार्थी सरस्वती केसीले जानकारी दिईन् । चार कोठे भाडाको कच्ची घरमा कार्यालय तथा आवास संचालन भइरहेको छ । यहि पुसदेखि पठनपाठन सुरु भएको शिक्षालयमा अभावका चाङ छन् ।

शिक्षालयमा डिप्लोमा वन विज्ञान, डिप्लोमा पशु विज्ञान र डिप्लोमा सिभील ईन्जिनियरीङ्गको पढाई संचालन गर्दै आएको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले जानकारी दिए । ३ बर्ष अघि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट शिक्षालय संचालनको स्विकृती पाएको थियो । उक्त शिक्षालयको प्रथम वर्षको वन विज्ञानमा ३७, सिभील ईन्जिनियरीङ्ग ४८ र पशु विज्ञान तर्फ २९ जना विद्यार्थीहरुले अध्ययन गरीरहेको प्रमुख ठकुरीले बताए ।

पुर्ण सरकारी स्वामित्वको यस शिक्षालयको लागि पूर्वाधारको व्यवस्थापन नहुनु विडम्बना भएको प्रमुख ठकुरी पीडा सुनाए । यहाँका नेताहरुले परिषद्बाट शिक्षालयको स्विकृती ल्याउन जति जोड गरे तापनि शिक्षालयले स्विकृती पाई सकेपछि पूर्वाधार निर्माण तथा गुणस्तरीय पठनपाठन संचालन गर्न तर्फ कुनैपनि ध्यान नदिएको ठकुरीको भनाइ छ । उहाँका अनुसार भवन समेत नहुदा प्राविधीक शिक्षा जस्तो विषयमा कसरी पढाई गर्ने समस्या छ । न ल्याब, न फर्निचर छ ।

पिउने पानी समेत ३ किलोमीटर टाढाबाट बोकेर ल्याइ पढ्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरुको भनाइ छ । पढ्ने ठाउँ नजिकै स्थानीयवासीहरुका घर नहुँदा १ घण्टा टाढाको छिप्रेना गाउँमा बास बस्नु परेको विद्यार्थीहरुले पीडा सुनाए । शिक्षालय खलंगा सदरमुकाम देखि १०÷१२ किलोमीटर टाढा पश्चिम स्थित काफलचौर रहेको छ ।

 

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech