टनेल खेतीबाट लाखौँ आम्दानी

बोटबिरुवाको सामान्य विकास प्रक्रियाको लागि आवश्यक वातावरणलाई प्रतिकूल मौसममा पनि प्लास्टिक घरको सहयोगमा अनुकूल बनाई विकास र उत्पादन वृद्धि गर्ने प्रक्रिया र प्रविधि नै प्लास्टिक घर (टनेल) खेती हो ।

सावित्री गिरी

बाँकेको खजुरा गाउँपालिका–३ बी गाउँका किसान पदमबहादुर रानाले व्यवसायिक टनेल खेतीबाट वार्षिक ७ लाख रुपैयाँ बचत गर्न सफल भएका छन् । प्लाष्टिक घरभित्र काक्रो, करेला, बोडी र टमाटर फलाउँदै आएका पदमबहादुर बाँके जिल्लाकै उदाहरणीय किसान हुन् ।
सुरुका दिनमा मौसमी खेतीबाट थोरै मात्र आम्दानी गर्ने रानाले बेमौसमी तरकारी उत्पादन गर्न सुरु गरेपछि आम्दानी बढाउँदै लगेका हुन् । पदमबहादुर रानाका छिमेकी पशुपता शाहीले पनि व्यावसायिक टनेल खेतीबाट जीवन सहज बनाएकी छिन् । निरन्तरको मेहनतले उनलाई सफल बनाएको हो । यही सफलताले पशुपता शाहीले टनेल खेती बिस्तार गर्दे गएकी छिन् । उनले यो खेतीबाट वार्षिक ४ लाख रुपैयाँ आम्दानी गर्छिन । बा“केको खजुरा गाउँपालिका– ए गाउँका किसान लालबहादुर खत्री जागिरे जीवनपछि तरकारी खेतीमा व्यस्त छन् । उनले पनि प्लाष्टिक घरभित्र तरकारी फलाएर वार्षिक ७ लाख रुपैयाँ बचत गर्छन ।


बोटबिरुवाको सामान्य विकास प्रक्रियाको लागि आवश्यक वातावरणलाई प्रतिकूल मौसममा पनि प्लास्टिक घरको सहयोगमा अनुकूल बनाई विकास र उत्पादन वृद्धि गर्ने प्रक्रिया र प्रविधि नै प्लास्टिक घर खेती पद्धति हो । नेपालमा प्लास्टिक घरभित्र बेमौसमी तरकारी खेतीको सुरुवात क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेको अगुवाइमा वि.स. २०४२ सालतिर भएको हो । आजभोलि नेपालका अधिकांश मध्य पहाडी जिल्लाहरुमा किसानहरुले सूर्यको परावैजनी किरण खप्न सक्ने सिल्पाउलिन प्लास्टिकको प्रयोग गरी बेमौसमी तरकारी खेती गर्न थालेका छन् । प्लास्टिक घरभित्र सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ । विशेषत बेमौसममा बढी मूल्यजाने तरकारी बालीहरु प्लास्टिक घरमा लगाउने गरिन्छ । सामान्यतया गोलभेंडा, काक्रो, खुर्सानी, सिमी, भन्टा, सागपात, भिँडी, काउली, बन्दा, फर्सी, लौका, करेला तथा केराउलगायतका तरकारीहरू प्लास्टिक घरमुनि लगाउने चलन बढ्दो छ । बहुमूल्य तथा बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी लिन प्लास्टिक घर तथा पलास्टिक सुरुङ को निर्माण गरी तरकारी खेती गरिन्छ ।

प्लाष्टिक खेतीप्रति आकर्षण बढ्नुको कारण

प्लाष्टिकको घरभित्र बर्षा, चिसो, हावा र तापक्रम नियन्त्रण हुने हु“दा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिने भएपछि किसानहरुको आकर्षण बढेको हो । प्लाष्टिक घरभित्र तापक्रम, प्रकाश र आद्रता नियन्त्रण गरी सजिलैसँग नाफामूलक बेमौसमी तरकारी उत्पादन गर्न सकिन्छ । आजभोलि यस प्रविधिको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ । बेमौसमी तरकारी खेती गर्दा बढी मूल्यमा बिक्री हुने र बजार मूल्य पनि राम्रो पाउने भएपछि किसानहरुले टनेलभित्र तरकारी उत्पादन गर्न थालेका हुन् । प्रविधिबाट गरिएको खेतीमा रोग तथा कीराको प्रकोप पनि कम लाग्दछ, जसले गर्दा उत्पादन लागत घटाउँदछ । पलाष्टिक घरमा धेरै तरकारी खेती हुने हुँदा किसानहरुको आकर्षण बढेको हो । यस प्रविधिबाट खेती गर्दा रखेदेख र सुरक्षा गर्न पनि सजिलो भएको किसानहरुको अनुभव छ । टनेल खेती थोरै जमिनमा पनि धेरै आम्दानी गर्न सकिने भएकाले किसानहरुका लागि उपयोगी समेत छ । यस प्रविधिबाट गरिएको खेतीमा रोग तथा किराको प्रकोप पनि कम लाग्दछ । जसले गर्दा उत्पादन बढ्छ । सिँचाइ सुविधा नभएका ठाउँमा पनि व्यावसायिक टनेल खेती गर्न सकिन्छ ।

कसरी गर्ने टनेल खेती ?

तराईतिर गोलभेंडा, खुर्सानी, बन्दालगायतका तरकारी असोज महिनादेखि नै प्लाष्टिक घरमा खेती गर्न सुरु गरिन्छ । काक्रा, भिँडीलगायतका बाली भने कात्तिक महिनादेखि सुरु गरिन्छ । यो खेती गर्न धरै जमिन चाहिँदैन । ५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको प्लाष्टिक घरमा समेत क्विन्टलसम्म उत्पादन लिन सकिन्छ । प्लास्टिक घरको निर्माण गर्दा भने विज्ञहरुको सहयोग लिनु आवश्यक छ । प्लास्टिक घरमित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको वृद्धि विकासका लागि उपयुक्त मानिन्छ । गाउँघरमा पाइने बाँसको भाटा र स्थानीय बजारमा पाइने प्लाष्टिकको प्रयोग गरी टनेल घर बनाइन्छ । प्लाष्टिकको घर पूर्व–पश्चिम फैलिएको हुनु पर्दछ । यस्तो घरमा लामो समयसम्म सूर्यको प्रकाश पर्दछ । तर प्लाष्टिकको घर छाया पर्ने ठाउँमा बनाउनु हुँदैन । माटोमा रहेका विभिन्न हानिकारक जीवाणु तथा कीटहरु नष्ट गर्ने प्रक्रियानै माटोको निर्मलीकरण हो । सूर्यको प्रकाश, ताप, रसायन (जस्तै फर्मालिन) तथा सयपत्री, तोरीलगायतका बिरुवाको प्रयोग (बायोफ्युमिगेसन) गरी माटो निर्मलीकरण गर्न सकिन्छ । सामान्यतया प्लास्टिक घर बनाउने जमिनमा कम्पोस्ट मल राखी राम्रोसँग जोतेर सिँचाइ गरी सफा पारदर्शी प्लास्टिकले चर्को घाम लाग्ने स्थानमा करिब ३५ देखि ४५ दिन ढाक्नु पर्छ । सामान्यतया समुद्री सतहदेखि ५०० देखि १७०० मिटरको उचाइ, प्रशस्त सूर्यको प्रकाश पर्ने तथा जोडले हावा नचल्ने क्षेत्र प्लास्टिक घरभित्र तरकारी खेती गर्न राम्रो मानिन्छ । भिरालो र बर्षामा भेल पस्ने तथा पानी जम्ने ठाउँमा प्लास्टिक घर बनाउनु हुँदैन । प्लास्टिक छनोट गर्दा भने उचित प्रकाश छिर्ने ९० देखि १२० जीएसएम सम्मको प्लास्टिक प्रयोग गर्न सकिन्छ । धेरै बाक्लो प्लास्टिक प्रयोग गर्दा प्लास्टिक घरभित्र प्रकाश कम पर्ने हुन्छ जुन उपयुक्त मानिँदैन ।

किसानले ध्यान दिनु पर्ने कुरा

किसानहरुले टनेल खेतीबारे प्राविधिक ज्ञान राख्न आवश्यक छ । टनेल खेती गर्दा बाहिर खेती गरेजस्तो रोग किराहरुले त्यति आक्रमण भने गर्दैनन् । प्लाष्टिक घरभित्र सबै प्रकारका तरकारी बालीहरू लगाउनु पर्छ । टनेल खेतीलाई किसानहरुले निरन्तरता दिन सकेमा देशको खाद्य सुरक्षामा दिगो सुधार गर्न मद्दत पुग्छ । अबका दिनमा यस प्रकारको खेती बिस्तार गर्दै जानु पर्ने आवश्यकता औँल्याइएको छ । कृषि प्रणाली अपनाउन सके उत्पादन वृद्धि गर्न सकिन्छ । यस प्रणालीका बारेमा सबै किसानहरुलाई जानकारी दिन आवश्यक छ । साथै स्थानीय स्तरमा योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नु पर्छ । आर्थिक आम्दानीका हिसाबले राम्रो भएता पनि यो व्यवसाय गर्नु पूर्व कृषकहरुले प्राविधिकस“ग सल्लाह सुझाव लिनु पर्छ । यही कुरालाई मध्यनजर गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेले किसानहरुलाई परामर्श दिने काम गरिरहेको छ । प्लाष्टिक घरभित्र सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिने भएपनि बेमौसमी उच्च मोल पर्ने तरकारी बालीहरु जस्तै गोलभेंडा, काक्रो, भेडे खुर्सानी, पिरो खुर्सानी, काउली बन्दा आदि लगाउनु राम्रो हुने कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुरा बाँकेका कृषि वैज्ञानिक बसन्त चासिलेले बताए ।

  • ५ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech