जीविकोपार्जनको सारथि बन्दै होमस्टे

गोविन्दपुर होमस्टेका १२ घरले जैविक खेती गरिरहेका छन् । गाउँवासीको जैविक खेती गर्ने लक्ष्यलाई सफल बनाउन स्थानीय तह र विभिन्न संघ संस्थाले तालिम प्रदान गरेका छन् ।

साबित्री गिरी

सामान्यतया होमस्टे भनेपछि खाने र बस्ने ठाउ“ मात्र हो भनेर बुझ्ने गरिन्छ । होमस्टेले सामाजिक तथा पर्यटनमा पार्ने प्रभावबारे पनि अब चासो बढाउनु पर्छ । हाम्रो समुदायमा रहेका होमस्टे आर्थिक आम्दानी, कला संस्कृतिको संरक्षण गर्न मात्र सञ्चालनमा आएका होइनन्, विकासका पनि साझेदार हुन भनेर बुझ्न आवश्यक छ । पछिल्लो समय होमस्टेको क्षेत्रमा हुँदै गएको विकासले पनि यही कुराको सन्देश दिन थालेको छ । होमस्टेमा पाहुना आउनु आफैंमा ठूलो कुरा होइन । त्यहा“ पुगेपछि उनीहरुले के नया“ कुरा सिकेर गए त्यो महत्वपूर्ण हो । होमस्टेमा गएर खाना खानु, जंगल सफारी गर्नु, वन्यजन्तु हेर्नु, अवलोकन गर्नु र केही नृत्य हेर्दैमा समुदायमा साँच्चिकै समृद्धि आउँछ भन्नु केवल भ्रम मात्र हो । अब बुझ्नु पर्ने कुरा के हो भने पर्यटन प्रवद्र्धनस“गै समुदायको विकासमा होमस्टेले कसरी काम गरिरहेका छन् अनि यसका लागि समुदायमा कसरी साझेदारी गरिरहेका छन् भन्ने कुरा प्रमुख हो ।
स्थानीय पर्यटन प्रवद्र्धनसँगै विकासको मुद्दालाई जोडतोडसाथ अगाडि बढाएका होमस्टे मध्येको एक हो बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ स्थित गोविन्दपुर सामुदायिक होमस्टे । यो होमस्टे स्थापना भएको धेरै समय भएको छैन । तर होमस्टेले बनाएका योजना तथा कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिन सुरु भइसकेको छ । चौधरी समुदायको बाहुल्यता रहेको यो गाउँ होमस्टे सञ्चालनका लागि उपयुक्त भएको कुरा प्रमाणित भएपछि २०७५ साल वैशाख २३ गते होमस्टेको औपचारिक उद्घाटन भएको थियो । होमस्टेको उद्घाटन वनमन्त्री शक्ति बस्नेतले गरेका थिए । गोविन्दपुरका १२ घरले होमस्टेको सुविधा दिएका छन् । कालान्तरमा यो सङ्ख्या बढाउने योजना सफल बनाउन अन्य स्थानका होमस्टे अवलोकन गर्ने र कार्य योजना कार्यान्वयन गर्ने काम दु्रत गतिमा भइरहेको छ ।

‘नमुना गाउँ’ गोविन्दपुरको योजना

कुनै पनि स्थानलाई नमुना बनाउने लक्ष्य बोक्नु सामान्य कुरा होइन । यसका लागि बनाइएका योजनालाई सरलीकृत रूपमा कार्यान्वयन गर्ने क्षमता होमस्टे सञ्चालक समितिमा हुनु पर्छ । यस कुरालाई मध्यनजर गर्दै गोविन्दपुर होमस्टे सञ्चालन समितिले पर्यापर्यटन र संस्कृति, प्रकृति र संस्कृति जोगाउने महान लक्ष्यमा गृहकार्य गरिरहेको छ । वनको विकास, जैविक विविधताको विकास र अर्थोपार्जन गर्ने मुख्य उद्देश्य पूरा गर्न सामाजिक एकतामा जोड दिइएको छ । स्थानीय सरकारस“ग समन्वय र सहकार्यमा काम भइरहेको छ भने गैरसरकारी संस्थाहरुको पनि राम्रो सहयोग रहेको छ । स्थानीयलाई सीपमूलक तालिम दिने र होमस्टे सञ्चालन तालिम दिने काममा वडा कार्यालय र गैर सरकारी संस्थाहरुको पनि एकमत छ । गोविन्दपुरलाई नमुना बनाउन होमस्टे सञ्चालन समितिले आम्दानीको १० प्रतिशत रकम विकास निर्माणको काममा लगाइरहेका छन् । यो आर्थिक वर्षभित्र नील गाई चोक बनाउने योजना सफलताको नजिक पुगेको छ । केही समयभित्र मूर्ति राखेर विधिवत् रूपमा चोकको उद्घाटन गर्ने तयारी होमस्टे सञ्चालक समितिको छ । यो काममा होमस्टे सञ्चालक समितिका अध्यक्ष वीरबहादुर थारु, अन्य कार्यसमितिका पदाधिकारी र स्थानीयको राम्रो सहयोग प्राप्त भएको छ । यतिमात्र होइन स्थानीय उत्पादनलाई जोड दिइएको छ । हस्तकला निर्माण सम्बन्धी तालिम संस्थाले दिएको छ । स्थानीय परिकार ढिक्री, माछाको चट्नी ,अनदीको चामल गोविन्दपुर होमस्टेको मुख्य परिकार हुन् । यस बाहेक पाहुनाको माग अनुसार स्थानीयले भोजन तयार गर्छन । गोविन्दपुर होमस्टेमा पुगेपछि नील गाई, चित्तल, बँदेल र बाघ देख्न सकिन्छ । वन्यजन्तु हेर्न र गाउँ अवलोकनका लागि मचान र पानी पोखरी बनाइएको छ । साथै कला संस्कृति जोगाउन नृत्य समूह नै निर्माण गरिएको छ । पाहुँनाको माग अनुसार नृत्य देखाउने गरिन्छ । स्थानीय स्तरमा निर्माण गरेका हस्तकलाको प्रचार प्रसारका साथै बिक्रीले आम्दानी पनि बढाएको छ ।

होमस्टले सहज बनायो दैनिकी

गोविन्दपुर सामुदायिक होमस्टेमा पूर्वको चितवन, नवलपरासी, काठमाडांैलगायतका ठाउँबाट अवलोकन गर्न र बसोबास गर्न आउने गरेको होमस्टे सञ्चालक समितिका सदस्य रामबहादुर थारुले बताए । उनका अनुसार हुम्ला, मुगुबाट मात्र होइन भारत र श्रृलंकाबाट समेत गोविन्दपुर होमस्टेमा पर्यटक आउने गरेको उनको भनाइ छ । यसरी विभिन्न स्थानबाट पाहुना आएपछि स्थानीयमा उत्साह थपिँदै गएको छ । स्थानीय लक्ष्मी थारु भन्छिन्,‘हामीले पहिला खेतीपाती मात्र गर्दा आर्थिक अवस्था त्यति राम्रो थिएन । अहिले होमस्टे सञ्चालन गरेपछि जीवन चलाउन सजिलो भएको छ ।’ छोराछोरीलाई पढाउन मात्र होइन बचतमा समेत वृद्धि भएको उन्को भनाइ छ । यस्तै स्थानीय भदैया थारुलाई पहिला आफ्नो संस्कृति कसरी जोगाउने भन्ने विषयमा केही मतलब थिएन तर अहिले संस्कृति जोगाउने विषयमा चासो बढेको छ । बालमति थारुलाई पनि ढकिया बुन्न आउथेन अहिले ढकिया र गमला बुन्न जानेकीछिन् । अब ढकिया र गमला बेचेर आर्थिक आम्दानी बढाउने बालमतिको सपना छ । यी त केही उदाहरण मात्र हुन् । यो अभियानले पूरै गाउँ नै आर्थिक रूपमा सबल बन्दै गएको छ । पर्यटकीय गन्तव्य बनेको यो होमस्टे आर्थिक समृद्धिको मार्गमा दौडिरहेको छ भन्दा फरक नपर्ला ।

अर्गानिक उत्पादन गर्दै गोविन्दपुरबासी

गोविन्दपुर होमस्टेका सबै १२ घरले जैविक खेती गरिरहेका छन् । गाउँवासीकोजैविक खेती गर्ने लक्ष्यलाई सफल बनाउन स्थानीय तह र विभिन्न संघ सस्थाले तालिम प्रदान गरेका छन् । तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै गाउँवासीले टनेल हाउस निर्माण गरेका छन् । होमस्टेलाई आवश्यक पर्ने तरकारी र उपजहरु स्थानीय स्तरमै उत्पादन गर्ने र स्थानीय स्तरमै खपत गर्ने स्थानीयको सपना सफल भएको छ । अर्गानिक उत्पादन गरिरहेको होमस्टेले उत्पादन वृद्धि गर्ने योजनासमेत बनाएको छ । यो योजनालाई मूर्तरूप दिन स्थानीयहरु सामूहिक काममा जुटेका छन् । गोविन्दपुर होमस्टेले सुरु गरेको यो प्रयास सबैका लागि अनुकरणीय छ ।

पर्यटकीय मार्ग जोड्न स्थानीयको माग

होमस्टेलाई विकासको गतिमा बढाउने मुख्य तत्व भनेको नै पर्यटकीय क्षेत्र हो । यसका लागि पर्यटकीय मार्गसँगको सम्पर्क बढाउन आवश्यक छ । गोविन्दपुर होमस्टेका लागि यो अवसर प्रशस्त छ । यसमा केवल सरोकारवालाको इच्छाशक्तिको कमी देखिन्छ । यदि गुरु योजना बनाएर पर्यटकीय गन्तव्यसँग गोविन्दपुर होमस्टेलाई जोड्ने हो भने साँच्चिकै गोविन्दपुर होमस्टेको भविष्य सुनिश्चित मात्र छैन समृद्धिको ढोका खुल्ने छ । गोविन्दपुरलाई यसरी पर्यटकीय मार्ग बनाउन सकिने स्थानीय बताउँछन् ।
बर्दिया जिल्लाकै आकर्षण पर्यटकीय क्षेत्रको मुटु ठाकुरद्वारास्थित ठाकुरबाबाको मन्दिर दर्शन गरिसकेपछि आधा घण्टामा गोविन्दपुर पुग्न सकिन्छ । गोविन्दपुरबाट एक घण्टाको यात्रामै कृष्णसार संरक्षण क्षेत्र पुग्न सकिने भएकाले यो मार्गलाई आकर्षक धार्मिक तथा पर्यटकीय मार्गका नामले पनि अगाडि बढाउन सकिने स्थानीयको धारणा छ । बर्दियाको ठाकुरद्वारा हुँदै गोविन्दपुर सामुदायिक होमस्टे पुगेर खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्र पुग्ने गन्तव्य मार्ग बनाउने हो भने यातायातको पनि विकास हुने देखिन्छ । किनभने पर्यटन विकासका लागि यातायात मुख्य पूर्वाधार हो । यातायात बिना जतिनै ठूल्ठूला योजना बनाएता पनि सफल हुने अवस्था रहँदैन । यसका लागि स्थानीयले ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ बनकट्टी चोकस्थितदेख गोविन्दपुर होमस्टे तथा मुक्त कमैया बस्ती हँुदै ठाकुरद्वारा जोड्ने बस चल्न सक्ने बाइपास रोडको निर्माणको माग गरेका छन् । गोविन्दपुरसम्म पुग्ने सडकको अवस्था कमजोर र पर्यटकीय क्षेत्रसँग नजोडिएकाले तत्काल यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्ने होमस्टे सञ्चालक समितिका सदस्य रामबहादुर थारुले बताए ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech