दिनदहाडै ठगिन्छन् सर्वसाधारण !

लोकबहादुर घर्तीमगर

विद्युतको महसुल तिर्न हिँडेको म त्रिभुवन चोक हुँदै जाँदै थिएँ । भेरी अस्पताल र मालपोत कार्यालय नजिकै पुग्दा सेवाग्राही र बाटो हिँड्ने मानिसका भिडका कारण बाइक स्लो गराएर मोटरका हर्नका आवाज र मान्छेहरुको भिडबाट निस्किरहेको आवाजले असहज बनाइरहँदा मेरो ध्यान बाटोको छेउ राखिएको बाजाबाट आएको ध्वनिले जबरजस्ती खिच्यो ।
ध्वनिबाट आएको आवाजले भन्दै थियो,‘यो औँठीले तपाईंको ज्यान बचाउन सक्छ, तपाईंसँग रिसाएको मायालु यो औँठीका कारण तपाईंको सरणमा पर्ने छिन् ।’ आश्चर्य लागेर बाइक रोकेर म छेउ गएर हेरें हेर्दा एक अधवैंसे महिलाले औँठी बेच्दै गरेको देखें । विभिन्न किसिमका औँठी जसमा जडित विभिन्न खाले मूर्ति हेर्दा ठ्याक्कै मेलामा बेच्न राखेको जस्तो देखिने औँठीले ज्यान बचाउन सक्ने सुन्दा आश्चर्य लागेर महिलालाई सोधें,‘दिदी यो औँठीले कसरी ज्यान जोगाउन सक्छ ?’ औँठी भारतको विभिन्न धार्मिकस्थलमा रहेको साधुसन्त र पुजारीद्वारा पूजाआजा र तपस्या गरी निर्माण गरेको हुँदा मनोकाङ्क्षा पूरा हुने जानकारी ती दिदीले गराउनु भयो । झनै चाख लागेर सोधी हालें,‘अनि दिदी तपाईंले यो औँठी त्यहीँबाट ल्याउनु भएको हो ?’ ती दिदीले अलमल पर्दै जवाफमा होइन जैसपुरबाट ल्याएको बताउनु भयो । त्यति भनेपछि उहाँले मानिसलाई पवित्र औँठीको नाममा मानिसलाई धोका दिइराखे जस्तो लागेर सोधें,‘अनि तपाईंले बाजामा बजाई रहेको जिंगल चाहिँ कसरी पाउनु भयो ?’ उहाँले प्रश्नको जवाफ दिन मान्नु भएन । म झनै प्रष्ट भए कि उहाँ र उहाँको औँठी पछिको कहानी सबै झुटो हो भनेर ।
५० देखि ५०० रुपैयाँ बराबरको औँठी खुलेआम ठूल्ठूला स्वरमा बाजा बजाएर पवित्र औँठी हो भनि सर्वसाधारणलाई झुक्याइ रहँदा सरोकारवालाको त्यसतर्फ ध्यान नजाँदा अचम्म लाग्छ । हाम्रो समाजमा यस्ता खालका व्यक्तिहरुले सोझासाझा व्यक्तिलाई विभिन्न आस देखाई लुट्ने काम भइरहँदासमेत सरोकारवालाको नजानु दुर्भाग्य हो । त्यसैले यसतर्फ सरोकारवालाको ध्यान जाओस् ।

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech