कोरोना खोप आइतबारसम्म सातै प्रदेश पुग्छः मन्त्रालय

असल शासन प्रतिनिधि

नेपालगन्ज– कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ आइतबारसम्म सबै प्रदेशमा पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप आइतबारसम्म सातै प्रदेशमा पुग्ने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

भारत सरकारले माघ ८ गते अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको थियो । उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएपछि भारतबाट आइपुगेको खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ। प्रवक्ता गौतमका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ।

पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ। उनले सात प्रदेश र ७७ जिल्लामा गरी करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताए। काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ।

उक्त खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी,  सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ। दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता गौतमले बताए। खोप लगाउन सुरू गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ।

यसैबीच कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणमा साढे ११ हजार फ्रन्टलाइनर्सलाई कोरोनाविरूद्धको खोप लगाउने गरी खोप प्रस्ताव गरिएको छ। जसमा चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयंसेविकालगायत रहेको निर्देशनालयले जनाएको छ ।

कर्णाली प्रदेशमा खोप दिनका लागि पूर्वतयारी पनि थालिएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार खोप लगाउने काम हुने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech