खरको छाना, झिगटीको भित्ता

आठ वर्षको भएपछि म स्कुल जान थाले । बुवाले म स्कुल गएको बिल्कुल मन पराउनु भएन । तैपनि मलाई जसरी पनि पढ्नु थियो । दुई घन्टा लामो जंगलको बाटो पार गरेर म स्कुल पढ्न जान्थे । दुई घन्टाको बाटो पनि कति सजिलोसँग पार हुन्थ्यो । मनमा उमङ्ग भए पछि रहर जागेपछि अप्ठ्यारा र समस्याहरू केही पनि हुँदैन रहेछन् ।

दिला शाह

अँध्यारो जंगलबीचमा खरको छानो भएको सानो घरमा पुस महिनाको कठ्याङ्ग्रिने जाडोमा जन्मिएको म । आमाले सुत्केरी हुँदा आनन्दले भरिपूर्ण भएर ज्वानोको झोल पनि खान पाइनन् । अरू महिनामा पनि घाम नपस्ने ठाउँमा पुस महिनामा त झन् कस्तो हुन्थ्यो होला त्यो स्थान कल्पना गर्दा पनि शरीरमा काँडा उम्रन्छन् ।
खरको छानो । झिगटीले बारेको भित्ता । ट्वाइलेट थिएन । शौचालय जान जंगलमा जानुपर्ने । जंगलमा बाघ भालुको बिगबिगी । स्यालहरूले दिउँसै खोरबाट कुखुरा चोरेर लान्थे । बाँदर आतंकले हैरान बनाउथ्यो चरा मुसा र अन्य प्राणीहरूको आतंक त कति हो कति ?
बुवाको दैनिकी अलग थियो । दिनभर तास खेल्ने । साँझमा रक्सी खाएर मातेर आउने । आमाले एउटा भैंसी पाल्नु भएको थियो । भैंसीलाई बाँध्ने गोठ पनि त्यति राम्रो थिएन । एक पटक त भर्खरै ब्यायको भैंसीको पाडो नै बाघले खाइरहेको मेरै आँखाले देखेको छु । आफूले नखाएर सँगालेको दूध, घ्यु बेचेर बनाएका केही पैसा लुकाएर आमाले मलाई कापीकलम किनिदिनु भयो । आठ वर्षको भएपछि म स्कुल जान थाले । बुवाले म स्कुल गएको बिल्कुल मन पराउनु भएन । तैपनि मलाई जसरी पनि पढ्नु थियो । दुई घन्टा लामो जंगलको बाटो पार गरेर म स्कुल पढ्न जान्थे । दुई घन्टाको बाटो पनि कति सजिलोसँग पार हुन्थ्यो । मनमा उमङ्ग भए पछि रहर जागेपछि अप्ठ्यारा र समस्याहरू केही पनि हुँदैन रहेछन् । स्कुल जाने बाटोमा फर्किदा खेरि जहिल्यै घाँस काटेर भारी बनाएर फर्किन्थे ता कि आमालाई केही सहज होस् । ती संघर्षरत दिनमा म कत्ति पनि दुखी भइन बरु अनौठो जागरुकता उमङ्ग मनबाटै उब्जेको थियो ।
आमाको दुख र संघर्षको कथा लेखुँ भने महाकाव्य बन्न सक्छ । आमाको त्यो मासुमियत कामप्रतिको लगाव र धैर्यता देख्दा म हैरान हुन्थे । आमा एक बेत मात्र हुनु भयो । उहाँको कोखबाट म मात्रै जन्मिएँ । न अगाडि दाजुभाइ न पछाडि दिदीबहिनी कोही पनि भएन छन् । बुवालाई छोरा चाहिन्थ्यो रे । त्यही कारणले त सधैं रक्सी पिउने र आमालाई दुख दिने गर्नु हुन्थ्यो । बुवाले दुख दिइरहनु भयो । आमाले सही रहनुभयो । दैनिकी चलिरह्यो ।
म ठूलो हुँदै गएँ । गाउँको पढाइ सकेर सहर झरे । पढ्नु मेरो बेहद रुचिकर विषय थियो । त्यसमा पनि विज्ञान पढ्न खुब मन पथ्र्यो । विज्ञान कलेजमा पढ्नु र पढाउनु हामी जस्तो सामान्य आर्थिक स्थिति भएको परिवारको लागि सम्भव थिएन । तर भनिन्छ नि, हृदयले पवित्र भएर सोचेका हरेक रहर पूरा हुन्छन् । कलेज भर्ना भएपछि म उत्कृष्ट भएँ र छात्रवृत्ति पाउन सफल भए । तब झनै ममा जिम्मेवारी थपियो । म अत्यन्तै कडा मेहनत गरेर पढ्न थाले । साइन्स बायोलोजी दुई वर्ष पढेपछि एमबीबीएस चार वर्षको लागि पनि सरकारी कोटामा छात्रवृत्ति नै पाएँ । त्यसपछि दुई
वर्षे एमडीको लागि पनि छात्रवृत्ति नै पाएँ । कोही नहुनेको भगवान् हुन्छन्
भन्छन् हो रहेछ । त्यसपछि म मुटुको विशेषज्ञ डाक्टर बनेर काठमाडौंको वीर अस्पतालमा कार्यरत भएँ ।
म मेरो पेसाको पहिलो परीक्षण मेरो बाबाको मुटुमा परेको प्वालको अप्रेसन गरेर सुरवात गरें । जुन कुराले मलाई संसारको खुसी दियो । आमाको सङ्घर्ष र मेरो मेहनतले गर्दा आज मेरो परिवार खुसी छ । एउटा मात्र छोरी भयो । छोरा चाहियो भनेर बुवाले आमालाई दिएको यातनाको राम्रो जवाफ मैले आफू डाक्टर बनेर देखाए । पृतिसतात्मक सोच र समाजलाई हामी छोरीहरूले आफ्नो कर्मले जित्नु पर्छ । मलाई गर्व छ कि, म छोरी भएर जन्मेकोमा । छोरी नै यो संसारको श्रृष्टि हुन् उनलाई माया गरौं ।
डाक्टर अम्बिका मगर, वर्ष ः ३३
सिन्धुपाल्चोक,चौतारा

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech