कोरोनाले व्यावसायमा पारेको समस्यासँग जुध्दै बाख्रा किसान

मानव सभ्यताको विकाससँगै लगभग ९ हजार वर्ष पहिले बाख्रालाई घरपालुवा जनावरको रूपमा पाल्न थालिएको कथन छ । विश्वमा करिब ३५१ जातका बाख्रा भएता पनि एसिया महादेशमा करिब १४६ जातका बाख्रा पाइने गरिएको छ ।

साबित्री गिरी

बाख्रा पालन व्यवसाय फस्टाउँदै गइरहेका बेला विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीले बाख्रापालन गर्ने किसान पनि प्रभावित हुन् पुगे । किसानले सोचे अनुसारको आम्दानी लिन सकेनन् । त्यसबेला किसानलाई बाख्रालाई आहारा व्यवस्थापनमा मात्र समस्या भएन बजारीकरणमा पनि समस्या हुन गयो । किसानहरु अहिले फेरि यो व्यवसायलाई बढवा दिने तयारीमा छन् । बा“केको खजुरा गाउँपालिका वडा नम्बर ३ सिर्जना टोलका तुलबहादुर कँडेलले बाख्रापालन व्यवसायलाई निरन्तरता दिन लागेको ५ वर्ष भयो । यो व्यवसाय गर्दै जाँदा तुलबहादुर कँडेलले धेरै अनुभव बटुले । अब व्यवसायलाई अझै व्यावसायिक बनाउने प्रयासमा उनी लागि परेका छन् । हिजोका दिनमा व्यापार व्यावसायमा संलग्न कँडेलले आजका दिनमा सफल कृषकको पहिचान बनाउन सफल भएका छन् । यो पहिचानले कँडेललाई व्यवसायलाई निरन्तरता दिन हौसला मिलेको बताउँछन् ।


कोरोना कहरका बेला व्यहोरेको घाटालाई सामान्यीकरण गर्न कोसिस गरिरहेका बाख्रा किसान कँडेल त एउटा प्रतिनिधि पात्र मात्र हुन् । बा“केको खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीका किसान बलबहादुर काउछा पनि बाख्रापालन व्यावसायमै रमाएका छन् । हिजोका दिनमा अन्य व्यवसायमा लागे पनि २०७३ सालदेखि बाख्रापालन व्यवसायलाई रोजेर निरन्तरता दिइरहेका छन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मनकामनाका किसान कृष्ण पौडेलको पनि बाख्रापालन व्यवसायसँग सामीप्यता छ । खजुरा क्षेत्रकै अर्का किसान कमला धितालले बाख्रापालन व्यवसायलाई निरन्तरता दिँदै गर्दा धेरै अनुभव बटुली सकेकी छिन् । व्यवसाय गर्दै जाँदा आउने समस्याको समाधान खोज्दै उनी अगाडि बढेकी छिन् । उनको यो मेहनत गर्ने उत्साह अझै बढ्दै गएको छ । कोरोना कहरका बेला धेरै रकम खर्च गरेर दाना ल्याउनु पर्दा उनले पनि सोचे अनुसारको आम्दानी गर्न सकिनन् । तर अहिले फेरि मेहनत गरिरहेको धिताल बताउँछिन् । कोरोना महामारीको समयमा आवश्यक पर्ने सल्लाह, सुझाव र सहयोग सहज रूपमा नपाएको गुनासो किसानहरुले गरेका छन् । साथै अर्कोतर्फ सहुलियत दरमा ऋण सहयोगका साथै रोगको निदानका लागि उपचारमा पनि सहयोगको अपेक्षा गरेका छन् ।
बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो । बाख्रा बोभिड परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडासँग मिल्दा जुल्दा हुन्छन् । यी दुवै क्याप्रिनेइ सहपरिवार अन्तर्गत पर्दछन् । बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ । बाख्रालाई मासु, दूध, ऊन र मलको लागि पालिन्छ । बाख्राहरू विभिन्न प्रजातिका हुन्छन् । नेपाल बाहिरका आयातीत जातमा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोयर प्रमुख रहेका छन् ।

माग अनुसारको उत्पादन वृद्धि गर्ने लक्ष्य

मानव सभ्यताको विकाससँगै लगभग ९ हजार वर्ष पहिले बाख्रालाई घरपालुवा जनावरको रूपमा पाल्न थालिएको कथन छ । विश्वमा करिब ३५१ जातका बाख्रा भएता पनि एसिया महादेशमा करिब १४६ जातका बाख्रा पाइने गरिएको छ । नेपालमा करिब ५५ प्रतिशत कृषक परिवारले बाख्रा पालेको तथ्याङ्क रहेता पनि हाल देशमा थप वार्षिक करिब ६ लाख खसी बोकाको माग रहेको छ । थप आवश्यकता पूरा गर्नको लागि ८० प्रतिशत भारत र २० प्रतिशत चीनबाट आपूर्ति हुने गरेको छ । बाख्राको माग दिन प्रतिदिन बढ्दै गएको छ भने कृषकहरुको आकर्षण पनि बढ्दै गएको छ ।
यस कुरालाई मध्यनजर गर्दे बाख्राको उत्पादन वृद्धि गर्न बाख्रा पकेट कार्यक्रम सञ्चालन गरिरहेको कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेले जनाएको छ । विशेष गरी उन्नत जातका बाख्रामा बोयर, बारबारी, सानन्, विटल र सिरोही हुन् । उन्नत जातको बाख्रालाई विशेष प्राथमिकता दिएर केन्द्रले बाख्रा विकास फार्म व्यवस्थापन गरेको छ । उन्नत जातका बाख्राको माग दिनप्रतिदिन बढिरेकोले उत्पादन वृद्धितर्फ जोड दिएको अनुसन्धान निर्देशनालयका कृषि वैज्ञानिक जगन्नाथ बन्जाडेले बताए । साथै स्थानीय सरकार र पशु सेवासँग सम्बन्धी काम गर्ने निकायले पनि किसानसँग समन्वय र सहकार्यको कामलाई जोड दिएका छन् । किसानलाई सहुलियत दरमा ऋण सहयोगका साथै प्राविधिक सेवालाई बिस्तार गर्ने तयारीमा रहेको बाँकेको खजुरा गाउ“पालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताए । बाँकेको खजुरा क्षेत्रमा बाख्रा पालन व्यवसाय गरिरहेका किसानहरुको समस्या सम्बोधन गर्न किसान मैत्री कार्यक्रमका साथ अगाडि बढेको गाउँपालिकाको भनाइ छ ।

बाख्रा पालन गर्दा ध्यान दिनु पर्ने कुरा

मासु उत्पादनको लागि वोयर बाख्रा, दूध उत्पादनको लागि सानन, दूध तथा मासु दुवैको लागि जमुनापारि, मोहोर उत्पादनको लागि एंगोरा तथा पश्मिना उत्पादनको लागि टिवटेन बाख्रा तथा च्याङ्ग्राा राम्रो मानिन्छ । बाख्राले ओसिलो भन्दा ओभानो तथा सुख्खा स्थान बढी मन पराउँदछ । बा“खालाई घाम, पानी, हावाहुरी, जाडो, गर्मी तथा जंगली जनावरबाट बचाउन खोरको आवश्यकता पर्दछ । स्थानीय सामाग्रीको प्रयोग गरी कम लागतमा खोर निर्माण गर्न सकिन्छ । बाख्राको उत्पादन तथा उत्पादकत्व यसको वंशाणुगत तथा जातीय क्षमता र बाख्राको व्यवस्थापन आहारा, प्रजनन, स्वास्थ्य तथा वातावरणले निर्धारण गर्दछ । जतिसुकै राम्रो वंशाणुगत क्षमता भएको बाख्रा भएता पनि आवश्यकता अनुसारको आहारा पु¥याउन नसके तथा स्वास्थ्यको व्यवस्थापन नगरे राम्रो उत्पादन लिन सकिँदैन । बाख्रापालनमा वंशाणुगत क्षमता तथा व्यवस्थापन दुवै उत्तिकै महत्वपूर्ण छन् । बाख्रा चरनमा मात्र राम्रो हुर्कन्छ भन्ने धारणा प्राय छ । बंधुवा प्रणालीमा पनि बाख्रापालन गर्न सकिन्छ । बंधुवा प्रणालीमा बाख्रापालन गर्दा कति संख्यामा माउ बाख्राहरु राख्ने भन्ने कुराको निक्र्योल गर्न हरियो घासको उपलब्धतालाई आधार मान्नु उपयुक्त हुन्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो हो । बाख्रापालन सुरु गर्ने योजनासँगै आवश्यक मात्रामा विभिन्न किसिमका घाँसको खेती पनि गर्नु पर्दछ । बाख्राले भुइँ घाँस भन्दा पनि डाले तथा बुट्यन किसिमका घाँस बढी रुचाउने भएकाले इपिल इपिल, मेन्दोला, भटमासे, टांकी , डेस्मोडियम, खन्यु, कोइरालो, गेडुलो जस्ता डाले घाँस बारी कान्ला तथा खेर गइरहेको जमिनमा लगाउन सकिन्छ । घाँसको अभाव हुने मौसममा त्यस किसिमको घाँस खुवाउन सकिन्छ । नेपालमा स्थानीय जात र तिनीहरुको चरनको अवस्था हेरी बाख्राको उत्पादन र उत्पादकत्व हेर्ने हो भने प्रत्येक जिल्लामा फरक छ । सामान्यतया बाख्राको तौल १४ देखि १६ महिनामा ३० केजी हुनु पर्दछ । विभिन्न तरिकाबाट गरिने व्यवस्थापनका कारण एकै जातका बाख्रामा पनि तौलमा फरकपन आउने गर्दछ ।

अबको आवश्यकता

बाख्रा पालनलाई उद्योगको रूपमा व्यवसायीकरण गर्ने क्रम बढिरहेको छ । स्थानीय सीप र साधनको समुचित प्रयोग गरी कृषकहरुको आयआर्जन वृद्धि गर्ने कुरामा जोड दिइएको छ । अबका दिनमा यो व्यवसायलाई व्यवस्थित बनाउन विधिवत् फार्म दर्ता गरी किसानको क्षमता वृद्धि गर्न आवश्यक छ । यस्तै सेवा प्रदायक निकायसँगको साझेदारी बढाउनुपर्ने कुरामा पनि ध्यान दिन जरूरी छ । साथै किसानलाई आवश्यक पर्ने सल्लाह सुझाव किसानकै घरदैलोमा पुगेर दिनुपर्ने किसानले माग गरेका छन् । यो समस्या सम्बोधन गर्नका लागि सबै सरोकारवाला निकायहरु गम्भीर बन्न आवश्यक छ ।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech