हर्न निषेधित क्षेत्रमा चर्को ध्वनि, समस्या सुल्झाउने कस्ले ?

साबित्री गिरी

केही दिन अघि म बिरामी कुरुवाको रुपमा नेपालगन्ज मेडिकल कलेज गएकी थिएँ । मुख्य सडकको छेउमै रहेको व्यस्त र चर्चित अस्पताल हो यो । बिरामीहरुको लाइन, कुरुवाको भिड, भर्ना भएका कोठाहरुमा रहेका बिरामीको पीडादायी अवस्था सधैं उस्तै रहन्छ यहाँ । यसै त बिरामीले खेपिरहेको पीडा, आफन्तले लिइरहेको तनावले त्यहाँ सबैजसो व्यक्तिहरु छटपटाई रहेका हुन्छन्, शान्तले स्वास फेर्न पाइरहेका हुँदैनन् । झन् मुख्य सडकबाट आउने सवारी साधनको चर्को आवाज (हर्न)ले उनीहरुलाई थप पीडा दिइरहेको पाएँ मैले । ध्वनि प्रदूषण भएमा अस्पतालका बिरामीलाई मानसिक रूपमा बेचैनी हुने, ध्यान केन्द्रित गर्न नसक्ने, चिड्चिडापन आउने, चिन्ताग्रस्त देखिने हुन्छ । यदि लगातार यस्तै वातावरणमा बसिरहे मानसिक रोगको समस्या देखापर्छ भन्ने सुनेकी मैले अस्पतालमा आउने बिरामी, उनका कुरुवा र चिकित्सक समेत चर्को रुपमा बज्ने हर्नबाट असाध्यै प्रभावित भएको देखें ।

मैले थाहा पाए अनुसार, हामीले ६० डेसिवलसम्मको आवाज सजिलै ग्रहण गर्न सक्दछौं । यो साधारण कुराकानी गर्दाको आवाज हो । मोटरसाइकलबाट साइलेन्सर निकालेपछि ९५ डेसिबल, व्यस्त ट्राफिक हुने ठाउँबाट ८५ डेसिबल, कारको हर्नबाट १ सय डेसिबल, चर्को आवाज सहितको कन्सर्टबाट १ सय १५ डेसिबल आवाज निस्कन्छ, जुन श्रवण शक्तिका लागि हानिकारक छ । यस भन्दा चर्को आवाजले स्वास्थ्यमा झन् प्रतिकूल असर पु¥याउँदछ ।

अस्पताल मात्र हैन नेपालगन्जका सडक छेउका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु समेत चर्को हर्नका कारण समस्यामा छन् । यहाँका सवारी साधनको गति हेर्दा लाग्छ सबैलाई हतार छ । छिटो पुग्नको लागि हर्न बजाउनै पर्ने, एकले अर्कोलाई उछिन्नै पर्ने !

बढ्दो सहरीकरणका कारण यातायातका साधनको बढोत्तरीसँगै दिन प्रतिदिन बढ्दै गएको भीडभाड र कोलाहलले गर्दा कहाँ गएर लामो सास फेर्ने र शान्तसँग बस्ने होला भनि आत्तिने अवस्था आइसकेको छ । यस्तै कुरालाई मध्यनजर गर्दे प्रदेश ५ को मुख्य बजार क्षेत्रमा नाम जोडिएको नेपालगन्ज बजार क्षेत्रमा २०७५ मंसिर १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरियो थियो । तर २ वर्ष पुगिसक्दा समेत प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

राँझा चोकबाटै सुरु गरिएको छ, हर्न निषेधित क्षेत्र । यहाँ सबैले देख्ने गरेरै हर्न निषेधित लेखेको बोर्ड देख्न सकिन्छ । यहाँबाट सुरु भएको नो हर्न निषेधित क्षेत्र नेपालगन्जको जमुनाहा नाकासम्म हो । जमुनाहा नाकामा पनि भारतबाट आउने सवारी चालकले देख्ने गरी बोर्डहरु राखिएका छन् तर चालकहरुलाई यी बोर्डको प्रवाह नै छैन । यस्को कारण र प्रभावकारी कार्यान्वयनबारे सम्बन्धित निकायको ध्यान कहिले जाला ?

 

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech