हज्जारौं रेक्टरको भूकम्प जाँदा ‍…

दिला शाह

सुन्दर संसार देख्ने आँखामा अचानक बादल लाग्न थाल्यो । म आत्तिएर डाक्टर कहाँ पुगें । देब्रे आँखाको नसा सुकिसकेको छ अब केही गर्न सकिँदैन भनेर डाक्टरले सुनाउनु भयो । त्यो दिन म खुब रोएँ । तत्कालै अप्रेसन गरेर आँखा नै बदल्ने हाम्रो सामथ्र्यले भ्याउने कुरा थिएन । एउटा आँखा बिस्तारै निष्पट अँध्यारो भयो । नसा नै सुक्दै गएकोले उक्त आँखाको आकार पनि सानो भयो । म आफ्नो अनुहार ऐनामा हेर्न सक्दिनथे । एउटा मात्र आँखाको सहारामा जीवन चलिरहेकै थियो अकस्मात् अर्को आँखा पनि पुरै नदेख्ने भयो । अब भने पूर्णतः अन्धकार भएँ । मेरो रंगीन संसार कालो भयो । म रेडियोमा काम गर्थे । तेह्र वर्षको उमेरदेखि रेडियोमा मनको साथी नामक कार्यक्रम चलाउथे ।१६ वर्षमा एसएलसीको परीक्षा पनि दिएको थिएँ । त्यसलगत्तै मेरा दुईवटै आँखाले साथ छोड्यो र पनि बाँच्नु त थियो नै । मलाई मेरो हृदयले साथ छोडेन । स्टुडियोमा गएर मनको साथी नामक अन्य चेतनामूलक कार्यक्रम चलाउन छोडिन । आफ्नो कर्ममा तल्लीन म हरेक दिन कार्यक्रम चलाउथे । आफ्नो दैनिकी र खर्च आफैं जुटाउथे ।

बुवा आमा र घरपरिवारको साथ थियो तब म आफूलाई कहिल्यै कमजोर र एक्लो बिचराको संज्ञा दिएन । मेरो आवाजलाई मन पराएर प्रशंसा गर्नेहरु धेरै थिए । धेरै जना केटी साथीहरूले पत्राचार गर्थे । पत्र मित्र गरेर कसैलाई पनि जवाफ फर्काएन । समय बित्दै गयो । टेलिफोनपछि मोबाइलको जमाना आयो । तब फोन कल र मेसेजहरु कति हो कति आउथे । तपाईंको आवाजमा फिदा छु । म तपाईसँग विवाहा गर्न चाहन्छु भन्नेहरु धेरै आए । तर मैले कसैलाई पनि मतलब गरेन । त्यति धेरै केटीहरुको भिडमा एकजना पात्र जसको फोन मेसेज र आवाजले मलाई फिदा बनायो । फोनमा मीठामीठा कुराहरू गर्थी । म मख्ख परेर सुन्थे । संसार कति स्वर्णिम छ भनेर उसले मलाई अनुभूति गराउथी । म विगतमा फर्किएर जान्थे र त्यो रंगीन संसारमा विचरण गर्थे । ऊ सँग बोलचाल र कुराकानी हुँदाहुँदा मलाई बानी भयो । एक दिन उसलाई आफ्नो यथार्थ बताए । म दृष्टि बिहिन छु । म पूर्ण रूपमा आँखा देख्दिन भनेर तर उसमा त्यस्तो कुनै प्रतिक्रिया आएन । सहजै उसले भनी, ‘आँखाले के गर्छ र ? मनले माया गर्ने हो । मलाई जीवनभरि माया गर्नु । म पनि जीवनभर माया गर्नेछु । हामी एकअर्काको लागि बनेका हौं । बरु हामी छिट्टै भेटेर कुराकानी गरौंला ।’ मेरो खुसीको सीमा रहेन । त्यहीँ दिनदेखि मनमा अनगिन्ती सपनाहरू सजाउन थालें । मरुभूमि जस्तो जीवन एक्कासि हराभरा भयो । उसलाई भेट्ने समय मिलाए ।

ऊ आफू पनि मलाई भेट्नलाई आत्तुर थिईन् । पहिलो भेटमा उसका कोमल हातहरु छोएँ, उसको कोमल घना कपालको स्पर्श गरेर आनन्दित भएँ । भगवान्लाई लाखौंलाख धन्यवाद भने । भेट्न समय त्यति लम्ब्याउने सोच हामीले गरेनौं । बरु छिट्टै विवाहा गर्ने सोच बनायौं । उनलाई डर थियो उनका बुवा आमा आफन्तले यस्तो केटासँग विवाहा नगर भन्लान् भन्ने डरले भाग्ने योजना बनाइन् । मैले पनि घरमा बुवा आमा कसैलाई केही भनिन किनकि हाम्रो पनि जात मिल्थेन । म बाउनको छोरा उनी योगीको छोरी थिइन् । त्यसैले दुवैजनाको सल्लाह र योजनामा हामी घरबाट भागेर हिँड्यौं । उनी मेरो टेक्ने लौरो जस्तै बनिन् । उनीसँगै लपक्क टाँसिएर हिँड्दै संसार चुहार्दै रमाएँ । एक महिना पछि बुवा आमा र घर परिवारलाई जानकारी दियौं । बुवा आमाको मन हो माफ गरिदिनु भयो । फर्केर आउन आग्रह गर्नुभयो । घरमा आएर बस्यौं । उनको योजना अनुसार हामी छुट्टै बस्यौं ।

एक वर्षपछि हाम्रो छोरा जन्मियो । हर्षले सीमा नाघ्यो । म आफ्नो काममा सधैं जान्थे । छोराको जन्मपछि झन् धेरै उत्साह बढेको थियो । रेडियोमा एउटा मात्र होइन तीनवटा कार्यक्रम चलाउने जिम्मेवारी थियो । घरमा श्रीमती र बच्चाको लागि पनि त मैले सोच्नुपथ्र्याे । छोरा चार वर्षको भयो । ऊ स्कुल जान थाल्यो । तब श्रीमतीले केही काम गर्न चाहिन । उनी पनि पढेलेखेको भएकोले एकजना चिनजानको आफन्तसँग कुराकानी गरेर यातायात कार्यालयको बाहिर बसेर हेल्प डेस्कको काम गर्ने वातावरण मिल्यो । दुवैजना कमाउने भयौं । आर्थिक स्थितिमा पनि राम्रो हुँदै जान थाल्यो । सबै कुरा राम्रो हुँदै थियो । एक वर्ष जति यत्तिकै बितेको थियो तब अचानक श्रीमतीको व्यवहारमा फरक आउन थाल्यो । घरमा आउने जाने समयको पनि एकरूपता भएन । बोलिचाली र अन्य व्यवहारमा धेरै भिन्नता आउँदै गयो । मलाई उसले पहिले गरेजस्तो माया ममता र हिम्मत दिन छोडिन् । केही सोध्न चाह्यो भने अपशब्दहरु बोलेर मलाई होच्याउने, यस्तो उस्तो तँ अन्धोसम्म भन्न भ्याइन । दिनभरि आआफ्नो काममा हुन्थ्यौ साँझ घरमा फर्केर आउने समय उनको फरक भयो । छोरालाई हेरचाह सबै कुरामा उनको मन मर्दै गयो । रातको समयमा म केही नजिक हुन खोजे उनलाई जिस्काउन माया गर्न खोजेपछि एकदमै गाली गलोज गर्न थालिन् । पछि बुझ्दै गएँ । आफन्त र बाहिरी संसार बुझ्नेहरुले भने, उनको अर्कै केटासँग अफेर चलेको रहेछ । यति सुनेपछि म चिराचिरा भएर टुक्रिएर फुटे जस्तो भएँ । मेरो संसारमा म रमाएकै थिएँ, यो झुठो आश्वासन देखाएर किन मलाई धोका दियौं ? मैले उनलाई यति प्रश्न गरे । तबसम्म उनको मन धेरै बदलिसकेको थियो । मेरा दुःख, दर्द, भावना बुझ्ने पहिलेको जस्तो कोमल मुटु उनीसँग थिएन । यति कुरा बुझिसकेपछि म चुपचाप आफ्नो काम गर्दै जीवन व्यतीत गर्ने प्रयासमा लागें ।

एकदिन हाँस्दै कार्यक्रम चलाउँदै थिएँ, एकजना साथीले नजिकै कानमा आएर भन्यो, भाउजू त पोइल जानुभयो रे । बाबुलाई पनि लिनु भएछ । मेरो मनभित्र हज्जारौं रेक्टरको भूकम्प गएको थियो तर पनि म हाँसीहाँसी कार्यक्रम अन्त गरेर घरतिर लागें । मेरो संसार चकमन्न सुनसान थियो । सानो छोराको चञ्चल आवाज कोठाभित्र जतासुकै गुन्जिरहेको आभाष भइरहेको थियो । बाबु भनेर अँगालो हाल्ने कोमल हातहरुको अभावमा म मरिरहेको थिएँ । संसार नदेख्ने मेरा दुई नयनबाट खुनका आँसुहरु बगिरहेका थिए । मलाई मेरो छोरा, कलेजीको टुक्राको न्यास्रोले सताइरह्यो सोचिरहें, जस्तो थिएँ जे थिएँ खुसी थिएँ सुखी थिएँ जानु नै थियो त किन आयौं ? मेरो जीवनमा ! किन ग¥यौ यत्रो घात म माथि ?
आर.जे. राजेश लोहनी, नेपालगन्ज

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech