मेहनत र इमान्दारिताकी नमुना ‘कृष्णा’

साबित्री गिरी

नेपाली राजनीतिमा कृष्णा केसी नाम सुपरिचित छ । कृष्णा केसी भन्ने बित्तिकै ओझिलो र गर्भिलो नेताका रूपमा नबुझ्ने सायदै होलान । प्रदेश नम्बर ५ का प्रदेश सांसद नमुनाको राजनीतिक यात्रा द्वन्द्वकालदेखि र हालसम्म चर्चा गर्न लायक छ । महिला भएर पनि पुरुष सरह राजनीतिमा सङ्घर्ष गरिरहेकी नमुनाले बाँकी जीवन पनि राजनीतिमै बिताउने प्रण लिएकी छिन् । २०३६ साल चैत्र २९ गते तत्कालीन मध्पपश्चिमको रूकुमको तत्कालीन पिउगा गाविसमा बुबा चन्द्रबहादुर र आमा बिर्मा खत्रीको कोखबाट जन्मिएकी कृष्ण केसी ‘नमुना’ बाल्यकालदेखि नै सामाजिक विषय बस्तुमा गम्भीर थिइन । रुकुममा भाउजूले राम्रो उपचार नपाउँदा ज्यान गुमाउनु परेको घटनाले कृष्णा केसी नमुनाको घरपरिवार बाँके जिल्लामा ल्याई पुर्‍याएको हो ।

नमुनाको स्थाई घर बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ मा रहेको छ । पारिवारिक पृष्ठभूमि मध्यम वर्गीय रहेको नमुनाका बुबा आमा कृषि पेसामा भएता पनि अहिले परिवारका अन्य सदस्य व्यापार व्यवसाय तथा रोजगारीमा रहेका छन् । गाउँघरमा किसानको छोरीको राजनीतिमा पहुँच पुग्दैन भन्ने खालका चुनौती धेरै झेल्नुपर्‍यो । घरका अभिभावकलाई समेत सफल भइँदैन कि भन्ने लाग्थ्यो तर पनि कृष्णाले आफ्नो लक्ष्य छोडिनन् । आफू जान्ने सुन्ने भएदेखि नै न्यायको पक्षमा आवाज उठाउन सुरु गरिन । उनलाई सानैदेखि धनी र गरिबबीचको खाडल पुरिनु पर्छ भन्ने लाग्थ्यो । मान्छे सबै समान हुनुपर्छ भन्ने कृष्णालाई लाग्यो । कृष्णा केसी नमुनाको राजनीतिक यात्रा कलिलो १३ वर्षे उमेरबाटै सुरु भएको हो । उनी राजनीति नबुझेरै राजनीतिमा प्रवेश गरिन । राजनीति नबुझेता पनि समाजमा विकृतिप्रतिको विद्रोही भाव बढ्दै गयो ।

२०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गरेको दिन नारा लगाउन समाजका व्यक्तिसँग गएको याद हिजो जस्तै लाग्छ उनलाई । समाज परिवर्तनका लागि भनेर लगाइएको नारामा सहभागी हुँदाको क्षणले आज यहाँसम्म पुर्‍याएकोमा उनी गर्व गर्छिन । त्यसपछि नमुनाले पनि भूमिगत जीवन सुरु गरिन । त्यसैबेला उनले आफ्नो उमनाम ‘नमुना’ राखिन । उनले गणेश मावि ढकेरी बाँकेबाट २०५४ सालमा एसएलसी उत्तीर्ण गरेकी हुन् । मावि तहबाटै अखिल छैठौंको इकाई कमिटीमा बसेर राजनीति सुरू गरेकी ‘नमुना’ एसएलसी दिएसँगै राजनीतिमा अझै सक्रिय भइन् । अखिलको कार्यकर्ता भएकै कारण नमुना गिरफ्तारीमा पनि परिन् । त्यतिबेला देशविरोधी आरोप लगाइएकी ‘नमुना’ ले करिब डेढ वर्ष नेपालगन्ज कारागारमा जेल जीवन बिताइन् । एसएलसी उत्तीर्णपछि उनले जेलभित्रैबाट उच्च शिक्षा (आइए) को परीक्षा दिएकी थिइन । जेल जीवन बिताएपछि राजनीतिमा अझै सक्रिय भएर काम गर्न उनलाई ऊर्जा मिल्यो । जेल जीवनमा नमुनाले जीवनको वास्तविकतालाई अझै नजिकैबाट नियालेकी थिइन् । त्यो समयलाई उनले जीवनको नमीठो क्षण रहेको सुनाउँछिन् ।

२०५६ मा जेल जीवनबाट मुक्त भएपछि कृष्णा फेरि राजनीतिमै जोडिएर अगाडि बढिन् । अर्धभूमिगत जस्तै भएर अनेमसंघ क्रान्तिकारी बाँकेको सचिव समेत भइन् । २०५७ सालमा अनेरास्ववियु क्रान्तिकारीको भेरी कर्णाली सदस्य, २०५८ मा विराटनगरमा भएको भेलाले आन्दोलन सहर केन्द्रित बनेपछि विद्यार्थी सम्मेलनबाट बिदाइ भएर पार्टीको राजनीतिमा सक्रिय रूपमा लागेको उनी बताउँछिन् । त्यो समयलाई जीवनको महत्वपूर्ण समयका रूपमा लिएको नमुना सुनाउँछिन् । केन्द्रीय सदस्यको जिम्मेवारी दिएर बाँके क्षेत्रको एरिया कमिटी सदस्य भएकी ‘नमुना’ २०६२ सम्म पार्टीको कार्यालय सचिवालय सदस्य भइन् । कार्यालय सदस्य हुँदा गरेको काम सफलताकै कारण उनी २०६३ मा प्रदेश राज्य कमिटी सदस्य भइन् । २०६९ सम्म प्रदेश कमिटी सदस्य रहेकी ‘नमुना’ २०७० मा तत्कालीन एकीकृत माओवादी बाँके सचिवको जिम्मेवारी प्राप्त गर्न सफल भइन् । यसपछि एकपछि अर्को गर्दै नमुनालाई सफलता मिल्दै गयो । यसलाई उनी कर्मको फल ठान्छिन् । मेहनत र इमान्दारिता नै जीवनको पहिचान भएको उनको भनाइ छ ।

२०७१ मा केन्द्रीय सदस्य बनेकी ‘नमुना’ २०७३ को पाटी एलायन्सपछि बाँके क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेश सभा सदस्य बनेसँगै जनताको मन जित्न थालिन । अधुरा विकास निर्माणका कामलाई पूरा गर्ने योजना बनाइन् । निर्वाचनका बेला अधिकांश नेतृत्वहरुले योजना बनाउने र घोषण पत्र जाहेर गर्ने गर्छन । तर कार्यान्वयनमुखी काम गर्न कम नेतृत्वहरु लागिपर्छन् । त्यसैअन्तर्गत नमुनाले पनि निर्वाचनका बेला आफूले गरेका घोषणा कार्यान्वयनका लागि प्रतिबद्ध र एकचित्त भएर लागि परेकी छिन् । यसको परिणाम कोभिड– १९ ले विश्व नै आतङ्कित र भयभित बनाएको बेलासमेत बाँकेको राप्तीपारि बघौडा क्षेत्रलाई राज्यको मूल प्रवाहमा ल्याउन सफल भइन् कृष्णा । २६ वर्षदेखि नारामा सीमित राप्तीपारिको बघौडा क्षेत्रमा विद्युतीकरण कोरोना संग्रामकै बेला पूरा गर्ने अठोट गरिन् र सफल बनिन् । अधिकांश व्यक्ति कोरोनाको डरले घरभित्रै थिए । तर नमुना कोरोनाको त्रास भन्दा पनि जनताको सेवामाा अहोरात्र खटिइन् । फलस्वरूप राप्तीपारिको नरैनापुर सुगम साबित हुन पुग्यो । बिद्युत र सडक सुविधा त्यहाँका स्थानीयले पाए ।

तत्कालीन एकीकृत नेकपा माओबादी पार्टीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सचिवालय सदस्यका रूपमा काम गरेकी प्रदेश सांसद ‘नमुना’ले त्यतिबेलादेखि बाँकेको राप्तीपारिको विकास र विद्युतीकरणका लागि पहल थालेकी थिइन् । गरे के हुँदैन भन्ने उदाहरण बनेकी नमुनाले नरैनापुरको मुहार फेर्न सक्षम बनिन् । महिला नेतृ भएर पुरुष सरह काम गर्ने नमुनाको अथक प्रयास र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र वनमन्त्री शक्ति बस्नेत तथा विद्युत प्राधिकरणलगायतका सम्बन्धित निकायले पनि नमुनालाई यो काममा राम्रो सहयोग गरेका थिए । समन्वय र सहकार्यले नै विकासको गति बढाउने कुरामा नमुनाको राम्रो सिकाइ पनि रहन गयो । नरैनापुरको विकासका लागि दौडिँदा दौडिँदै कृष्णा आफू पनि कोरोना संक्रमित बनेकी थिइन् । कोरोना संक्रमित भएर अस्पताल भर्ना हुँदा समेत नमुनाले अस्पतालमा सेवा सुविधा जुटाउने कुरामा अहोरात्र खटिएर काम गरिन । बिरामीलाई सेवा सुविधाका लागि उनले उठाएको आवाज र पहलको धेरैले खुलेर प्रशंसा गरेका थिए । आटिली र साहसिली कृष्णाको यो मेहनत अन्य नेतृत्व वर्गलाई पनि ऊर्जा मिल्ने खालको छ । देशमा आउने विषम परिस्थितिमा नमुनाले आफूले सकेको सक्दो सहयोग र पहल गर्छिन् । यसको उदाहरणका लागि कोरोना संक्रमितहरुको लागि कोरोना कोषलाई लिन सकिन्छ । नमुनाको पहलमा सुरु भएको कोरोना कोषले मजदुर तथा अति विपन्न वर्गलाई राहत प्रदान गर्दे आइरहेको छ । चाहे विश्व महामारी होस्,चाहे प्राकृतिक विपत्ति नै किन नहोस् कृष्णाको समाजप्रतिको सेवा भाव उच्च छ । २०७२ को महाभूकम्पको विपत्तिमा बाँके, बर्दिया क्षेत्रबाट राहतका सामग्री संकलन गरी गोरखालगायतका जिल्लामा सहयोगका लागि पुगेकी सांसद ‘नमुना’ ले त्यहाँको अवस्था सामान्य नहुँदासम्म निरन्तर लागि परेकी थिइन् । भूकम्पको त्यो काहाली लाग्दो घटनाले अझै पनि निदाउन नदिने गरेको उनी बताउँछिन् । यस्ता विपत्तिको समयलाई मध्यनजर गर्दै पूर्व तयारी गर्न अति जरुरी रहेको उनको धारणा छ । यस्तै बाँकेको राप्ती नदी आसपास बस्ने स्थानीयलाई बाढीले निकै नै सताउने गर्छ । प्रत्येक वर्ष घरबारविहीन गराउँछ ।

२०७४ मा आएको बाढीको आपतमा पनि यस क्षेत्रका नागरिकको चहराएको घाउमा मलम लगाउने काममा उत्तिकै भूमिका रहेको थियो । त्यतिबेला उनले बिरामी आमालाई राम्रो स्याहार सुसार गर्न समेत सकिनन् । नमुनाले पारिवारिक भन्दा पनि सामाजिक कामलाई प्राथमिकता दिँदै आएकी छिन् । कोभिड–१९ ले बाँके उच्च जोखिममा रहेको बेला आपतकालीन कोषको स्थापना गरेर प्रदेश सांसद ‘नमुना’ले वितमा परेका आमनागरिलाई राहत वितरण गरिन् । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने वर्गले त्यसबेला राहत महसुस गरेका थिए । कृष्णा केसी नमुनाले ५० हजार रुपैयाँ राखेर सुरु भएको कोभिड १९ रिलिफ फण्डको १३ सदस्यीय समिति बनेको थियो । हरेक योजना तथा कार्यक्रममा सबैको साथ र सहयोग लिएर काम गर्ने नमुना साँच्चिकै समाजका लागि नमुना बनेकी छिन् । अबको बाँकी जीवन पदमा रहे पनि नरहे पनि समाज सेवामै बिताउने प्रतिबद्धता जनाएकी सांसद ‘नमुना’ राप्तीपारिको मात्रै होइन, बाँकेको समग्र विकासका लागि आफूले जुनसुकै र जस्तोसुकै अवस्थामा पनि कुनै कसर बाँकी नराख्ने योजनामा छिन् ।

आमा र बुवाको मृत्युपछि नमुनाले सामाजिक कामको पनि सुरुवात गरेकी छिन् । आमा स्मृति मञ्च नामको संस्थामा संस्थापक अध्यक्षको भूमिका निभाएकी छिन् । यो संस्थाले आमा र बुवा दुवै गुमाएका बालबालिकालाई शिक्षा र स्वास्थ्य उपचारमा सहयोग गर्नेछ साथै संरक्षणका लागि पहल गर्ने छ भने सीप तथा रोजगारका लागि पहल खेल्ने योजना बनाएको छ । राजनीतिक कर्मसँगै समाज सेवालाई पनि कृष्णा केसी नमुनाले एकसाथ जोडेर लगेकी छिन् । घर छोडेर राजनीतिमा पूर्ण रूपमा लागेपछि उनले आत्मसम्मान नपाएपछि विद्रोह सुरु हुने बताइन् । पछिल्लो केही राजनीतिक खिँचातानीले निरासा छाएता पनि अधिकारविहीनहरुले अधिकार पाउने कामको सुरुवात हुनुले आफ्नो जीवनमा उपलब्धि भन्दा पनि सन्तुष्ट भएको बताइन् । जीवनका भोगाइलाई सरात्मक रूपमा लिदै सङ्घर्ष गर्नु पर्ने उनको बुझाइ छ । अब आफूले जनतामाझ गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने लक्ष्यमा दौडिरहेकी छिन् । उनी राष्ट्रको समग्र विकासका लागि चिन्तनशील छिन् । उनको यो जागर अझै वृद्धि हुंदै जाओस् शुभकामना ।

 

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech