किन चलाउनु पर्‍यो सामाजिक सञ्जाल ? नचलाए हुँदैन ??

असल शासन प्रतिनिधि

नेपालगन्ज/ किन चलाउनु पर्‍यो सामाजिक सञ्जाल ? नचलाए हुँदैन ?? यदि सामाजिक सञ्जालले घरबारनै बिगार्छ भने किन चलाउने???  यो प्रश्न हो जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरजंग क्षेत्री र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक डिल्ली खड्काको । उनीहरुले सामाजिक सञ्जालकै कारण धेरैका घरबार बिग्रेको प्रसंग कोट्याउँदै त्यस्तो अवस्था आए सामाजिक सञ्जाल नचलाउन सुझाव दिएका छन् ।

उनीहरुले सामाजिक सञ्जाल चलाउँदा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिँदै सामाजिक सञ्जालमा आउने अन्जान व्यक्तिका प्रेन्ड रिक्वइस्टलाई सहजै स्वीकार गर्न नहुने बताए । सामाजिक सञ्जालको पासवर्ड नै सुरक्षाको बलियो आधार भएकाले लुपहोल हुने खालका पासवर्ड राख्नु नहुने बताउँदै आफ्नो पासवर्ड कसैलाई पनि साझा गर्न नहुने बताए । समाजमा अर्कैको फेसबुक प्रयोग गरेर अपराधिक घटना, यौनजन्य भिडियो सार्वजनिक जस्ता क्रियाकलाप दिनप्रतिदिन बढिरहेकाले पासवर्ड आफ्ना नजिकैका साथीभाइ वा आफन्तलाई साझा गर्न नहुने उनीहरुले बताएका छन् । पार्सवर्डकै प्रसंगमा उनीहरुले सकेसम्म श्रीमान् श्रीमतीसमेतले पासवर्ड साझा गर्न नहुने बताएका छन् ।

विदेशमा रहेका श्रीमान वा श्रीमतीको पासवर्ड एकअर्कामा साझा भएकै कारण विभिन्न खाले शंका उपशंकाका कारण सम्बन्ध विच्छेदसम्मका घटना हाम्रो समाजमा घटेकाले यदि सामाजिक सञ्जालले घरबारनै बिग्रिन्छ भने फेसबुक चलाउन नहुने उनीहरुले बताएका हुन् । कतिपय अवस्थामा एकअर्काप्रतिको विश्वासको कमीले पासवर्ड साझा गर्नु पर्ने बाध्यता आउँछ यदि त्यस्तो अवस्था आयो भने सामाजिक सञ्जाल नचलाउनुस्,‘प्रहरी निरीक्षक सुरज जंग क्षेत्रीले भने,‘केही वर्ष अघि सामाजिक सञ्जाल प्रयोग नगरेर पनि बसेका थियौं । उनले प्रश्न गर्दै थपे,‘अहिले पासवर्ड साझा नगरेकै कारण विश्वासमा कमी आएर घरेलु समस्या निम्तिन्छ भने किन चलाउने सामाजिक सञ्जाल ?’

सामाजिक सञ्जाल चलाएको कम्प्युटरमा अनिवार्य रुपमा लगआउट गर्नु पर्ने, यौनजन्य क्रियाकलाप झल्कने खालका फोटो अपलोड र लाइक गर्न नहुने, सामाजिक सद्भाव खल्बलिनेलगायत समाजमा नकारात्मक असर पर्ने खालका अभिव्यक्ति आवेशमा पोस्टन नहुने, आफ्नो दैनिक क्रियाकलाप जस्तै यता जाँदै छु, यहाँ छु वा यो गर्दै छु जस्ता व्यक्तिगत कुरा सामाजिक सञ्जालमा साझा गर्दा सम्भावित दुर्घटना निम्तिन सक्ने भएकाले यस्ता गतिविधि सामाजिक सञ्जालमा गर्न नहुने बताइएको छ । बासद्वारा प्रत्येक शुक्रबार सञ्चालन हुने इन्स्पाइरिङ युथमा लागूऔषध दुव्‍र्यसन र साइबर अपराधविरुद्ध सचेतना विषयमा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरजंग क्षेत्री र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक डिल्ली खड्काले सो कुरा बताएका हुन् ।

त्यस्तै समाजमा दिनप्रतिदिन घटिरहेका घटनालाई प्रहरीले मात्रै नियन्त्रण गर्न नसक्ने भएकाले आम नागरिकले पनि हातेमालो गर्नु पर्नेमा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक डिल्ली खड्काले जोड दिएका छन् । कुनै पनि घटनाको साक्षी पहिले आमनागरिक नै हुने भएकाले उनीहरुको साथ नभए प्रभावकारी रुपमा अपराधका घटनामा कमी नआउने भएकाले आमनागरिकको साथ र सहयोगले नै समाजमा घटिरहेका घटना सहजै नियन्त्रणमा आउने बताए ।

समाजमा देखिएको जल्दोबल्दो र दिनप्रतिदिन आगो सरह फैलँदै गएको लागू औषध दुव्‍र्यसनको प्रसङ्ग कोट्याउँदै निरीक्षक खड्काले प्रश्न गर्दै भने,‘तपाइँ/हाम्रै अगाडि कतिपय युवा वा व्यक्तिले लुकिछिपी लागूऔषध प्रयोग गरिरहेका हुन्छन् । त्यो कुरालाई हामीले नजरअन्जाद गर्‍यौं भने के थाहा भोलि तपाइँ/हाम्रै बच्चा त्यो लतमा फस्ने हुन् कि ?

लागूऔषधको कारोबारको जालोले समाजमा विकराल रुप लिइरहेको बताउँदै लागू औषध कारोबारलगायत सेवन गरिरहेको देख्नासाथ प्रहरीलाई खबर गर्न आमनागरिक र विशेष गरी युवावर्गलाई निरीक्षक खड्काले आग्रह गरे । खड्काले ५०/१०० रुपैयाँको लोभमा कारोबारी र सेवनकर्ताबीच लागू औषध आदानप्रदान गर्ने काममा ससाना बालबालिका प्रयोग भइरहेकाले कतै तपाइँ/हाम्रा बच्चा त त्यसमा प्रयोग भइरहेका छैनन् ? सोचनीय विषय रहेको बताए ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech