पैदल हिँड्ने सडक खै ?

असल शासन प्रतिनिधि

व्यस्त सहर त्यसैमा भिडभाड र बढ्दो कोलाहल । नेपालगन्जमा पहिलोपटक आउने व्यक्तिका लागि यहाँको वातावरणमा भिज्न अलि मेहनत नै गर्नुपर्छ । व्यस्त सहरमा अस्तव्यस्त सडकको अवस्थाले थप समस्या निम्त्याउने गर्छ । सवारी साधनको चापले पैदल यात्रीलाई बाटो काट्नै मुस्किल पर्ने गर्छ । फोरलेन सडक बनेपछि हिँड्डुलमा सहजता होला भन्ने अपेक्षा गरेका नागरिकले सास्ती भोग्नु परिरहेको छ ।
म एकदिन पैदल यात्रा गरेर धम्बोजीदेखि पुष्पलाल चोक जाँदै थिएँ । बीच बाटोमा हिँड्नको लागि सवारी साधनको बाक्लो भिड थियो । त्यो बाक्लो भिडमा हिँडिरहन मैले असहज महसुस गरें । त्यसपछि म सडक पेटीमा हिँड्न थाले । धम्बोझीको कृषि विकास बैंक नजिकै रहेको फास्ड फुड नास्ता पसलबाट साँघुरिएर यात्रालाई अगाडि बढाएँ । त्यसपछि सडक पेटीमा राखिएका कुर्सीले हिँड्नमा सहजता भएन । मैले फेरि सवारी साधन हिँडिरहेको बाटोनै रोजे । फेरि म सडक पेटीमा पुगें ।

१५ पाइला हिँडेपछि सडकपेटी नै छेकेर ट्याक्टर उभिएको देखें । त्यसपछि मनमा अनेक प्रश्नहरु उब्जिन थाले । हामीले आफ्नो लागि मात्र सोचेर गर्ने व्यवहारले मलाई दिक्क बनायो । आफ्नो लागि सुविधा भएपछि अरुका लागि जेसुकै होस् भन्ने प्रवृत्ति बढिरहेको मैले महसुस गरें । फेरि यो कुरा बिर्सिएर दुई पाइला अगाडि बढें । होटल द ग्यालेक्सी दरबार नपुग्दै फलफूलको ठेला पसलले मेरो कदमलाई फेरि मोडिदियो । म फेरि सडक पेटी छोडेर सवारी साधन गुडिरहेको स्थानबाट छेउ भएर बाटो काटे । मोटरसाइकलको तीव्र गति तथा अन्य साधनको चर्को हर्न र तीव्र बेगले मलाई त्यस स्थानमा हिँडिरहन मन लागेन । म फेरि पैदल यात्रा गर्दै सडक पेटीको ठाउँ खोज्दै हिँडें ।

म जस्तै त्यहाँ थुप्रै व्यक्ति हिँडिरहेका थिए । उनीहरुले पनि मैले जस्तै बाटो खोज्दै हिँडिरहेका थिए । अप्ठेरो यतिसम्म छ कि सडक पेटी छोडेर तल सवारी साधन हिँड्ने ठाउँमा आइपुग्दा पार्किङका कारण हिँड्डुलमा त्यति सहज छैन । सवारी साधन हुनेहरु त तँछाडमँछाड गर्दै गन्तव्यमा पुगी हाल्छन् तर जो पैदल यात्रा नगरी सुखै छैन । ती व्यक्तिलाई यस्ता प्रवृत्तिले निकै अप्ठेरो हुने गर्छ । जुन महसुस मैले १० मिनेटको पैदल यात्रामा यी अनेक मनोभावहरु छिचोल्दै यात्रा गर्न विवश भएँ । यो समस्या धम्बोजी, पुष्पलाल चोक मात्र होइन नेपालगन्जका व्यस्त स्थान बिपी चोक, गणेशमान चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, भेरी अस्पताल रोड, कारकाँदो चोक, घरबारी टोल सबै स्थानमा छ । यसका लागि पार्किङको व्यवस्थापनका साथै सडक पेटीमा मनपरी सञ्चालन गरेका व्यवसायलाई व्यवस्थापन गर्न जरूरी छ । यसमा सम्पूर्ण सरोकारवाला निकायको ध्यान पुग्न जरूरी देखिन्छ ।
–एक भुक्तभोगी

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech