सुन्दर भविष्यमा लागेको तुषारापात, त्यो नमीठो याद !

समय बित्दै जाँदा श्रीमानले छोडेर हिँडेपछि त्यो घरमा कोही आफ्नो भएन आखिरमा म २ अबोध छोरीहरु लिएर माइतीमा बस्न थालें । आर्थिक अभावका कारण होटलमा दोहोरी गीतमा नाच्ने काम गर्थें ।

साबित्री गिरी

१५ वर्षको कलिलो उमेरमा एकजना युवकको प्रेममा परेर आफूखुसी विवाह गरें । २० वर्षकी हुँदा म २ सन्तानकी आमा भइसकेकी थिएँ । समय बित्दै जाँदा श्रीमानले छोडेर हिँडेपछि त्यो घरमा कोही आफ्नो भएन आखिरमा म २ अबोध छोरीहरु लिएर माइतीमा बस्न थालें । आर्थिक अभावका कारण होटलमा दोहोरी गीतमा नाच्ने काम गर्थें । यसैबाट घरमा अलिकति भए पनि आर्थिक सहयोग भएको थियो तर यसैबीच विस्तारै थाहा नपाई नशाको कुलतमा फसें । नशा खान पैसा चाहिन्थ्यो जसको कारण मैले आफ्नो शरीर पनि बेच्न थालें ।

यो नशा (ड्रग) सेवनकर्ता महिलाको कथा हो ।

उनी त एक उदाहरणीय पात्र हुन् उनी जस्तै थुप्रै सुन्दर भविष्यको मीठो सपना बोकेका कलिला युवायुवती उत्सुकताले वा अन्य कुनै कारणले जानेर वा नजानेर यसको लतमा पर्न पुग्छन् । त्यसो त कसको चाहिँ उद्देश्य ‘ड्रग एडिक्ट’ बन्ने हुन्छ र ! पहिलोपटक खाँदा रमाइलोको लागि खाए पनि पछि गएर यसको दास बन्न पुग्छ मानिस । लागू पदार्थ समाजमा अस्वीकार्य र कानुनतः प्रतिबन्धित छ । जसले गर्दा दुव्र्यसनीमा फसेको मानिसले यसबारे आफन्तलाई भन्न चाहँदैन र सक्दैन । साथै अति महँगोमा लागु पदार्थ खरिद गरिरहेको हुन्छ । यसको सेवन गर्न थालेपछि स्वास्थ्य, पढाइ, जागिर छोड्नु, व्यवसाय बिग्रनु अपराधिक गतिविधिमा संलग्नता हुनु असम्भावी परिणाम हुन् । यस्तो कथा र व्यवस्था भोगेका नशा (ड्रग)मा संलग्न लुम्बिनी प्रदेशमा मात्रै २५ हजार ९ सय ३० जना रहका छन् । जसमा पुरुष २४ हजार ९ सय १२ रहेका छन् भने महिला १ हजार १८ रहेका छन् । पछिल्नो तथ्याङ्क हेर्ने हो भने बाँकेमा मात्रै २२ को हाराहारीमा नशा (ड्रग) प्रयोगकर्ता रहका छन् । यी कडाखालको लागुऔषध प्रयोगकर्ता हुन् ।

नशा (ड्रग) छुटाउने एक उपाय मेथाडोन

यो विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपाल औषधि व्यवस्था विभागमा परीक्षण भई स्वास्थ्य तथा गृह मन्त्रालयबाट स्वीकृत तथा अत्यावश्यक औषधिमा सूचिकृत एक नियन्त्रित ओपियड समूहमा पर्ने औषधि हो ।

यसलाई मुखबाट सेवन गरिन्छ र यो झोल तथा चक्की दुवैमा पाइने भए पनि नेपालमा झोल ‘सिरप’ मा मात्र उपलब्ध छ । दुरुपयोगको सम्भावनालाई मध्यनजर गरी यसलाई झोलमा मात्र पैठारी गरिएको हो । विश्वको इतिहासलाई हेर्ने हो भने ‘मर्फिन’ तथा ‘ओपियड’ को निर्भरता को उपचारमा पचास वर्षदेखि यसको प्रयोग भई आएको छ । व्यक्तिको शारीरिक अवस्था र आवश्यकता अनुसार मेथाडोनको प्रयोग गर्न सकिन्छ र यसले हानी गर्दैन । मानव स्वास्थ्यमा क्षति न्यूनीकरणका लागि यसको ठूलो योगदान छ ।

दोस्रोपटक सन् २००७ मा काठमाडौंमा र २००९ मा पोखरामा पनि क्षतिन्यूनीकरण कार्यक्रम अन्तर्गत मेथाडोन कार्यक्रम सुरु भयो । मेथाडोन चिकित्सकले लागुपदार्थ प्रयोगकर्तासँग राम्ररी सोधपुछको आधारमा उसले प्रयोग गर्ने गरेको ओपियडको गुणस्तर, मात्रा, अवधि र माध्यम (जस्तैः नशाबाट, इन्जेक्सनको रूपमा, सुँघेर, खाएर वा अन्य कुनै माध्यम), सो कुरा बुझेर शारीरिक र मानसिक अवस्थालाई मध्यनजर गरी आवश्यकता अनुसार रगत र पिसाबको परीक्षण र विशेष प्रकारको परामर्श, मेथाडोनबाट हुनसक्ने असरको जानकारी पछि चिकित्सकको सिफारिसमा र नर्सहरुको प्रत्यक्ष निगरानीमा खुवाइन्छ । साधारणतया २० मि.ग्रा. बाट सुरु गरेर प्रयोगकर्ताको आवश्यकता अनुसार बिस्तारै मात्रा स्थिर नहुने बेलासम्म बढाइन्छ । नेपालको सन्दर्भमा औषत स्थिर मात्रा ४५ मि.ग्रा. देखि ५० मि.ग्रा. रहेको छ । जुन अवस्थामा पुग्नलाई २ देखि ६ हप्तासम्मको अवधि लाग्न सक्छ । हाल नेपालमा ५०० को हाराहारीमा सेवाग्राही छन् जसमध्ये ८१ को संख्यामा नेपालगन्जमा औषधी प्रयोगकर्ता रहेका छन् । यी प्रयोगकर्तामध्ये बाँकेमा १२ जना पूर्ण रूपमा निको भइसकेका छन् ।

राज्यका तर्फबाट हेर्दा केही नीतिगत सम्बोधन भएको जस्तो देखिए पनि ती एचआइभी, हेपाटाइटिस र रगतबाट संक्रमण हुनसक्ने रोगहरुको रोकथामसँग मात्र सम्बन्धित छन् । १९९० को दशकमा ‘एचआइभी’ रोकथामलाई लक्षित गरी आएको सुई वितरण कार्यक्रम आजसम्म पनि चलिरहेको छ ।

मेथाडोनले दिएको खुसी

मेरो एकदिन मेथाडोन औषधी सेवन गरिरहनु भएको दिदीसँग भेट भयो । त्यसपछि मैले पनि औषधी सेवन गर्न सुरु गरे । वास्तवमा मेथाडोन औषधी सेवनले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ अझ भन्नु पर्दा मैले पुनर्जन्मनै पाएको छु । म जस्तै थुप्रै लागू पदार्थको दुव्र्यसनको कुलतमा फसेका दिदी बहिनीहरुलाई मेथाडोन औषधी प्रभावकारी छ । यो कुरा बुझाउन नेपालगन्जमा आइतबार चेन्ज टिमको सहकार्यमा रिकभरिङ नेपालले औषधी प्रयोगकर्ताहरुको अवस्थाबारे विश्लेषणात्मक कार्यक्रम गर्‍यो ।

कार्यक्रम अन्तर्गत पश्चिम क्षेत्रको लागि भेरी अस्पतालबाट सेवा प्रवाह भइरहेको संस्थाका अध्यक्ष इन्द्रा जिसीले बताइन् । उनले यस कार्यक्रमलाई अन्य स्थानमा पनि लैजान सके र बिरामीहरुको पहँुच अनुसार औषधी घरमै वितरण गर्न सके प्रभावकारिता बढ्ने भएता पनि कानुन तह घरमा लगेर दिन नमिल्ने उनले बताइन् । ३६५ दिन नै अस्पतालमा आएर औषधी खानु पर्ने बताउँदै उनले यो अवस्थामा बिरामीले नियमति नखाएर बीचमै औषधी खान छाड्ने गरेकोसमेत बताइन् ।

भेरी अस्प्तालमा संस्थाका तर्फबाट मेथाडोन औषधी मौखिक उपचार पद्धतिमा कार्यरत डाक्टर सुजता मल्लले यो औषधीले ड्रग प्रयोगकर्ताहरुलाई सामान्य अवस्थामा ल्याउन सकेको बताइन् । अब यो अभियानलाई अझै प्रभावकारी बनाउन प्रयासरत भएको सरोकारवालाहरु बताउँछन् ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech