रहरको कैद खुसीमा बद्लियोः मिल्यो आश्चर्यजनक अनुभूति 

साबित्री गिरी

 

नेपालगन्ज/ जीवनमा नसोचेको सफलता थोरै व्यक्तिले मात्र प्राप्त गर्छन । यस्तो सफलताले व्यक्तिका आगामी यात्रा दरिलो बन्दै जान्छ । यस्तै सफलता बाँकेमा रहेर क्रियाशील रूपमा पत्रकारिता गरिरहेकी निशु जोशीलाई मिलेको छ ।

जोशी सानी आमालाई गत वर्ष बर्दियाको पाताभार भेट्न गएकी थिइन । वर्षायामको समय, कर्णालीमा उर्लिएको छाल, सानी आमालाई भेट्ने तीव्र आकाङ्क्षा !

कर्णालीमा डुबुल्की खाइरहेको डुङ्गा चढ्नु भन्दा पहिले उनले मनमा अनेक कुरा खेलाउन थालिन । त्यतिबेला उनले महसुस गरिन्, ‘बर्खायाममा डुंगा चढ्नु भनेको जीवन र मरणसँग साक्षात्कार गर्नु सरह नै हो ।’ त्यहीँ अनुभवलाई उनले जीवन्त राख्नका लागि केही फोटाहरु मोबाइलमा कैद गरिन ।

फरक उद्देश्य, फरक चिन्तनले खिचिएको त्यहीँ फोटोले उनलाई सर्वोत्कृष्ट तस्बिरको पुरस्कार दिलायो । त्यतिबेला नेपालका धेरैजसो ठाउँमा पुलपुलेसा नहुँदा डुंगा चढ्नु पर्दाको समस्या/बाध्यता उजागार गर्ने रहर एवम् उद्देश्यले खिचिएको फोटोले अहिले पत्रकार जोशीका लागि जीवनको सबैभन्दा खुसीको क्षण बनेको छ ।

जोशीले खिचेको बर्दिया र कैलालीको बीचमा रहेको कर्णाली नदी तर्नका लागि संकटीघाटमा डुंगा (स्टीमर) चढ्दै गरेको तस्बिरले यस वर्षको उत्कृष्ट तस्बिरको उपमा पाएको छ ।

अन्तरालको आयोजना र रक्षक सेक्युरिटीजको सहकार्यमा नेपालगन्जको होटल बाटिकामा आयोजना गरिएको दोश्रो नेपालगन्ज फोटो फेस्टिबलमा पत्रकार जोशीको फोटो सर्वोत्कृष्ट घोषणा भएपछि उनले जीवनमा आश्चर्यसहितको खुसी प्राप्त गरेको बताइन् । जुन खुसीले थप ऊर्जा दिएको र फोटोग्राफी सिक्दै गर्दाको अवस्थामा प्राप्त उपलब्धिले निरन्तरताको बाटो पहिल्याएको उनले बताइन् । उनी मोबाइलको सहायताले फरक दृश्य कैद गर्न रुचाउँछिन् ।

सुर्खेत जन्म भएता पनि २०७१ सालबाट कैलाली जिल्लाबाट पत्रकारिता सुरु गरी नेपालगन्जसम्म आइपुगेकी जोशी सामाजिक सञ्चाजलमा फोटो पत्रकार महिलाको समूह बनाएर अघि बढिरहेकी छिन् । यसैबीच २ दिनदेखि जारी नेपालगन्ज फोटो फेस्टिवलमा सामाजिक अगुवा तथा उद्यमी मधु रिजाललाई विशेष सम्मान गरिएको छ । फोटोग्राफी क्षेत्रको विकासमा योगदान पु¥याएबापत रिजाललाई सम्मान गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, उपमेयर उमा थापा मगर र अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले सम्मान पत्र, दोसल्लाले सम्मान गरेका थिए । रिजाल २०४५ सालमा नेपालगन्जमा कलर ल्याब स्थापना गरेर फोटो धुलाइमा सर्वसाधारणको पहुँच सहज बनाएका थिए ।

 

यस अघि नेपालगन्जमा रङ्गीन फोटो धुलाइ सम्भव थिएन । सम्मानित भएपछि बोल्दै रिजालले फोटो सम्बन्धी काम पनि व्यवसाय हुन सक्छ र ? भन्ने अवस्थामा आफूले यो क्षेत्रमा हात हालेको बताए ।

फोटो फेस्टिबल अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न व्यक्तिका फोेटो समावेश हुन पाउने गरी ६ विधामा प्रतियोगिता भएको थियो ।

संस्कृति तथा पर्यटन, दैनिक जनजीवन, समाचार, नेपाल स्माइल, वन्यजन्तु तथा प्रकृति, खेलकुद र फोटो कथा गरी ७ विधामा करिब १ सय फोटोग्रफरबाट झण्डै ४ सय फोटो प्राप्त भएको आयोजकले जनाएका छन् ।

यसैगरी अमित रावलको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा भएको दिक्षान्त समारोहमा मुस्कुराइ रहेको प्रहरीको फोटोले नेपाल स्माइल विधाको विजेता भएको छ भने बरम बुढामगरको धार्मिकस्थल झिमा बराहक्षेत्रमा खिचेको तस्बिरले संस्कृति र पर्यटन विधाको विजेता बन्न सफल भएको छ ।

दैनिक जनजीवन विधामा मैत्या घर्ती मगरको चिसो भुइँमा बसेर परीक्षा दिँदै गरेको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीको तस्बिर, विक्रम बुढाक्षेत्रीको फुटबल खेलको तस्बिर, समाचार विधामा रामु ओलीको तस्बिर र संस्कृति, पर्यटन विधामा बरा बुढामगरको तस्बिर, वन्यजन्तु र पर्यावरण विधामा रोमिन चौधरीका पुरस्कृत भएको छ ।

प्रत्येक विधाको उत्कृष्ट फोटोले नगद ५ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट फोटोलाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको दोश्रो नेपालगन्ज फोटो फेस्टिबल आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीको अध्यक्षता भएको निर्णायक मण्डलले विजेतासहित उत्कृष्ट १ सय २ तस्बिरको छनौट गरेको थियो । उक्त फोटो प्रदर्शनी नेपालगन्जस्थित होटल बाटिकामा फागुन १९ गते समापन भएको छ ।

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech