कला क्षेत्रका मूर्धन्य व्यक्तित्व ‘प्रेमदेव’

सावित्री गिरी

युगले कहिले काहीँ मात्र जीवन्त कला भएका व्यक्ति जन्माउने गर्छ । ती व्यक्तिहरु अनेक उतावचढावलाई पार गर्दै निरन्तरको साधनाद्वारा सफल हुन्छन् । त्यस्तो व्यक्तित्वले जीवनमा नसोचेको सफलता प्राप्त गर्छन् । अनि युगाँैयुगले सम्झन लायक बन्दछन् । यस्तै गुणले भरिपूर्ण छन्, सुर्खेतका विशिष्ठ व्यक्तित्व प्रेम देव गिरी । मूर्धन्य कलाकार प्रेमदेव गिरीलाई नचिन्ने सायदै होलान । कलामा नै जीवन समर्पित गरेका प्रेमको नाम जति मीठो छ त्यति नै मीठो छ उनको जीवन, सङ्घर्ष । उमेरले ६७ लागेका प्रेमदेवका चाउरिएका गाला हेर्दा ती गालामा गीत÷सङ्गीतका मिठासपूर्ण भाव भेटिन्छन् । उनको जीवन नियाल्दा उनले साङ्गीतिक क्षेत्रमा गरेका अतुलनीय सङ्घर्षको पहाड भेटिन्छ । प्रेमदेव एउटा सिङ्गो नाम मात्र होइन पूर्ण जीवन पनि हो ।

प्रेमदेव गिरीको बाल्यकाल अभावमा बित्यो । नेपालको त्यो बेलाको परिवेशलाई सम्झदा शैक्षिक, खेलकुद र कला क्षेत्रमा त्यति विकास भएको थिएन । उमेर बढ्दै जाँदा उनले सुर्खेतको वीरेन्द्रनगरमा गुरुकूल शिक्षा लिए । त्यसपछि विक्रम संवत् २०१६ सालमा कक्षा १ मा तत्कालीन पब्लिक मिडिल स्कुल गोठीकाँडा सुर्खेतमा भर्ना भए । हाल यो स्कुलको नाम जनउच्च मावि रहेको छ । त्यहाँ उनले ८ कक्षासम्म अध्ययन गरे । ९ र १० को शिक्षा भने उनले सुर्खेत गुर्वाकोटस्थित आनन्द पब्लिक उच्च माध्यामिक विद्यालयबाट लिए । माध्यामिक तहको शिक्षा हासिल गरेपछि गिरीले उच्च शिक्षा हासिल गर्ने मौका भने पाएनन । पढ्ने रहर एकातर्फ थियो भने अर्कोतर्फ साङ्गीतिक क्षेत्रको अद्भुत रहर । यी दुई रुचिमध्ये उनले साङ्गीतिक क्षेत्रलाई नै रोजे ।

विक्रम संवत् २०२९ सालमा १४ अञ्चलबाटै सहभागिता जनाउने गरी अधिराज्य व्यापी नृत्य प्रतियोगिता भयो । नृत्य प्रतियोगितामा भाग लिने सुअवसर प्राप्त गरेका गिरीले ६ जनाको टिम लिएर प्रतियोगितामा भाग लिन पुगे । त्यस प्रतियोगितामा उनले मौलिक झ्याउरे नृत्य प्रस्तुत गरेका थिए । यो प्रतियोगिताले सुर्खेत जिल्लाको कला संस्कृतिको पहिचान राष्ट्रमा नै चुलियो । त्यहाँ उनले गीत र नृत्य दुवैमा प्रथम स्थान हासिल गरे । तत्कालीन अवस्थामा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले प्रतिभाको कदर गरेर सेवा गर्ने अवसर प्रदान ग¥यो । उनले २०२९ सालदेखि २०४१ सालसम्मको समय सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा बिताए । त्यतिबेला उनले २ सय रुपैयाँमा वाद्यवादकको नियुक्ति पत्र बुझेका थिए । पछि उनले जागिर छाड्ने बेला २०४१ सालमा ९ सय ७५ रुपैयाँ पुगेको थियो । राष्ट्रिय सांस्कृतिक संस्थानमा जागिर छोड्दाको क्षण गिरीलाई दुःखद् लाग्छ । काम गर्दाको बखत भने गिरीले थुप्रै अवसर प्राप्त गरेका थिए । जुन अवसरले उनलाई विश्व सामु चिनाएको छ । त्यस अवधिमा उनले वाद्यबाधनसँगै गीत संकलक र रङ्गमञ्चीय भूमिकामा राम्रो दखल हासिल गरे । उनी भन्छन्, ‘विश्व नै रङ्गमञ्च हो । वास्तविक जीवनको यथार्थ भोगाइलाई ढालेर रङ्गमञ्चको माध्यमबाट गरिने एक किसिमको अभिनय हो । जुन प्रत्येक जीव र मानवले बाँचुन्जेलसम्म आफूलाई सुरक्षित राख्न गर्छ ।’जीवनका कथा र कहानी बनाउँदै ,अनिनय गर्दै, गीत लेख्दै र मादल बजाउँदै जीवन व्यतीत गरिरहेका छन् प्रेम देवले ।

२०१० साल माघ १० गते आमा लिलादेवी गिरीले उनलाई संसार देखाइन् । बुवा हरिलाल गिरीको न्यानो स्नेहमा हुर्किएका प्रेम सबैको प्रिय थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका प्रेमले सुमित्रा गिरीसँग विक्रम संवत् २०२७ सालमा विवाह गरे । गाउँ नजिकैबाट उनको विवाह भयो । विक्रम संवत् २०२८ सालमा पहिलो सन्तान, छोरा जन्माए । तर उनी साङ्गीतिक क्षेत्रमा लागेकाले विभिन्न जिल्ला तथा देशमा जानुपर्दा घरपरिवारलाई पर्याप्त समय दिन पाएनन् । १५ वर्षको उमेरमा रङ्गमञ्च प्रवेश गरेका गिरीको घरमा श्रीमती, छोरा बुहारी, नाति— नातिना र पनातिसमेत छन् । प्रेमका ४जना दाजुभाइ छन् भने एउटी बहिनी छिन् । अन्य दाजुभाइले संघसंस्था तथा अन्य क्षेत्रमा रोजगार गरेता पनि साहिँलो भाइ देवराज गिरीले सङ्गीत क्षेत्रलाई नै रोजेका छन् । दाजुको प्रभाव उनमा परेको देखिन्छ । बुवा र आमा भने स्वर्गवास भइसकेका छन् । आमा यो संसारमा नभएता पनि आमाले ‘चरो भोकले कहिल्यै मर्दैन र चाहेको कुरा सबै प्राप्ति हँुदैन’ भनेको कुरा अहिले पनि हिजो जस्तै लाग्छ । बुवाले पनि उनको गीत÷सङ्गीतको यात्रामा धेरै साथ दिएका थिए । आफू सङ्गीत क्षेत्रमा लागेको केही वर्षमै बुवा गुमाउँदाको पीडा प्रेमदेवलाई सही नसक्नु भएको थियो । यो घटनाले प्रेमलाई लामो समयसम्म दुःखी बनाइरह्यो भने परिवारको जिम्मेवारी थपिँदै गयो । आफू साङ्गीतिक क्षेत्रमा सफल हुनुको पछाडि गाउँघरमा हुने पूजा, कथा र संस्कारहरु नै रहेको उनी बताउँछन् । अग्रजहरुले गाउँघरमा वर्षमा एकचोटी नाटक देखाउने कार्यबाट उनी निकै प्रभावित हुन पुगे । त्यसबेला उनले रङ्गमञ्चीय भूमिका निभाउने अवसर प्राप्त गरेका थिए । प्रेमका बुवा हरिलाल गिरीले आफ्नो जेठो सन्तान प्रेमदेवलाई अकालबाट बचाउन एक बादी समुदायका युवा विष्णुबहादुर बादीसँग मित लगाई दिएपछि त्यहीँबाट उपहार स्वरूप पाएको मादलबाट प्रेमलाई देशभित्र मात्रै होइन देशबाहिर पनि प्रचलित बनाएको छ । प्रेमदेव गिरी जसरी आफूलाई मादलमा सर्वश्रेष्ठ स्थापित गर्न सफल भएका छन् । त्यसैगरी रङ्गमञ्च र लोकगीत संकलनमा पनि उक्तिकै ख्याति प्राप्त गरेका छन् ।

प्रेमदेवले सङ्गीत साधना गर्दा नेपालमा सांस्कृतिक पक्षको विकास भएको थिएन । साहित्यको क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठान मात्र थियो । चलचित्र संस्थानले कला क्षेत्रको जगेर्ना गर्ने काम गरिरहेको थियो भने राष्ट्रिय नाचघरले लोककला र संस्कृतिको संरक्षण अभियानमा कटिबद्ध थियो । राष्ट्रिय नाचघरमा सेवा गरिरहँदा प्रेमदेवले नाट्य क्षेत्रका प्रख्यात व्यक्तित्व हरिप्रसाद, भुवन थापा र नारायण गोपालसँग काम गर्ने मौका प्राप्त गरेका थिए । नेपालका कला क्षेत्रका विशिष्ठ व्यक्तित्वसँगको जमघट र सहकार्यले प्रेमलाई अझै हौसला मिल्दै गयो । गायक क्षेत्रका कुमार वस्ती, रेडियो नेपालका नातिकाजी, अम्मर गुरुङलाई अहिले पनि सम्झन्छन् उनी । यस्तै ज्ञानु राणा, कुमार बस्नेत, भुवन चन्द, कविता आले, गणेश रसिक, कमला श्रेष्ठ, हिरण्डे भोजपुरे, साबित्री शाह , प्रवीण गुरुङ, सुन्दर श्रेष्ठ, मधु क्षेत्री, नारायण रायमाझीलगायत थुप्रै कलाकारले उनको संकलनमा स्वर भरिसकेका छन् भने उनीहरूसँग महत्वपूर्ण समय व्यतीत गर्ने मौका गिरीले प्राप्त गरे । उनका गीतहरुले नेपाली परिवेशको झल्को दिन्छ । ‘सरर मलेवा घुम्छ बादलमुनि मयाँलाई, छ्याम्म छ्याम्म’, ‘सुर्खेतमा बुलबुले ताल, गलबन्दीमा रातो धागो’, ‘चाँदी काटी चन्द्रमाला सुनकाटी जन्तर पाटन भए देखिँदो हो लेक प¥यो अन्तर’ लगायतका गीतको मार्मिकता जीवन्त छ । अहिले पनि उनले नयाँ—नयाँ लोक भाका रचना गरिरहेका छन् । पछिल्नो समय प्रेमले लय बचाऔं अभियानलाई तीव्र बनाएका छन् । नयाँ पुस्तालाई पुराना भाका सिकाउन ‘झन् पर, झन पर कहाँ जाने मन छ र मया’ लाई बोलको गीत गत वर्ष मात्र बजारमा ल्याएका छन् । उनका नयाँ गीतमा टीका पुन, भीमबहादुर कार्की, गंगा केसी, निरमणि भारती, चन्द्रा राजीलगायत थुप्रै कलाकारले स्वर भरेका छन् । गीत रचनामा मात्रै होइन गिरीले चलचित्रमा पनि उत्तिकै प्रभुत्व जमाएका छन् । उनले गोर्खा पल्टन, बन्धकी, बाटुली, आधीशुर, प्रदेशी भाग–२ आदि लगायतका ८ चलचित्रमा अभिनय गरिसकेका छन् । यसमध्ये बन्धकी र गोर्खा पल्टन चलचित्रमा वाद्यवादक र गीत संकलनकको भूमिकासमेत निभाएका छन् ।

यसैगरी २०३९ सालमा कान्छी चलचित्रको गीत रेकर्डको लागि वादकको रूपमा भारतको कोलकातासमेत पुगेका थिए । विक्रम संवत् २०४२ सालमा भने प्रेम राष्ट्रिय नाचघर छोडेर गृह जिल्ला सुर्खेत फर्किए । एक वर्ष उनले घरायसी काममा समय व्यतीत गरे । राष्ट्रिय नाचघरमा करार सेवा सकिएपछि उनी गृह जिल्ला फर्किएका हुन् । त्यसपछि उनले २०४३ सालमा सिंहदरबार काठमाडौंस्थित रेडियो नेपालमा काम गर्ने अवसर पाए । रेडियो नेपालमा २०४५ सालसम्म निरन्तर कर्म गरे । त्यसपछि रेडियो नेपाल छोडेर २०४६ सालदेखि हालसम्म सुर्खेतलाई नै कर्मथलो बनाएका छन् । सुर्खेत फर्की सकेपछि उनी थुप्रै साङ्गीतिक संस्थाको जन्मदाता बनेका छन् । जुन उनको सङ्गीत क्षेत्रको ठूलो देन हो । देउती बज्यै कला परिवार (२०४२), बागिना समूह (२०५०), उज्ज्वल कला परिवार, लोकदोहोरी प्रतिष्ठानलगायतलाई जीवन्त तुल्याउन गिरीले गरेको योगदान अतुलनीय छ । अहिले पनि गिरीले शिक्षा आर्जन गर्ने ससाना नानीबाबुहरुलाई लोक गीत÷सङ््गीत सिकाउँछन् । विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागिताका लागि उत्प्रेरित गर्ने गर्छन । सामाजिक मूल्य र मान्यतालाई भविष्यका कर्णाधार समक्ष ज्ञानको भण्डार पस्किरहेका छन् । सांस्कृतिक कलामा रमाउँदै जीवन व्यतीत गरिरहेका प्रेमदेवले बालबालिकासँग सङ्गीतमा रमाउँदा आनन्द महसुस गर्ने गर्छन । प्रेमदेव अहिले पनि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतसँगको साङ्गीतिक कार्यक्रममा सक्रिय रहेको बताउँछन् । उनले गीत÷सङ्गीतका महत्वपूर्ण कार्यक्रममा पुगेर गरिमा बढाउने काम गरिरहेका छन् ।

प्रेमदेव गिरीको अविस्मरणीय क्षण भनेकै १५ वर्षदेखि मादल बोकेर साङ्गीतिक क्षेत्रमा रमाउनु नै हो । यस्तै आफूले सेवा गरेको सांस्कृतिक संस्थानले गृह जिल्लामै भव्य समारोह आयोजना गरी गरेको सम्मानलाई प्रेमदेव गिरीले जीवनको सबैभन्दा खुसीको दिनका रूपमा स्मरण गर्छन । संस्थान छाडेको २० वर्षपछि कामको मूल्याङ्कन गरेर गृह जिल्लामै पुगेर संस्थानले सम्मान गर्ला भनेर उनले सोचेका थिएनन् । यो सम्मानले गिरीलाई अझै उत्साह थप्यो । उनी विभिन्न सामाजिक संघसंस्थामा मानार्थ र सल्लाहकारको भूमिकामा छन् । अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता नलिएको बताउने गिरीले बाँकी जीवन साङ्गीतिक क्षेत्रमा नै बिताउने प्रण गरेका छन् । सरल आनीबानी अनि सहज जीवनशैली भएका कारण उनलाई सम्मान दिने धेरै छन् । दर्जनौं बढी सम्मानले सम्मानित भएता पनि आफूलाई सामान्य व्यक्ति सरह उभ्याउनु प्रेम देव गिरीको अर्को विशेषता हो । उनले बागिना सम्मान २०५४(बागिना समूह सुर्खेत), राष्ट्रिय प्रतिभा पुरस्कार २०५४(नेपाल सरकार), सङ्गीन नाट्य एकेडेमी २०७६(लोक स्रष्टा सम्मान), लाइफ एचिभमेन्ट अवार्ड, अमेरिकामा भएका नेपालीहरुको न्यूयोर्क कला मञ्चद्वारा सम्मान, नेपाल सांस्कृतिक संघको २०७४ सालको सम्मान, नवीन कला मन्दिर र वाद्यवादक कलाकार संघलगायतबाट अनगिन्ती सम्मान प्राप्त गरिसकेका छन् । सुर्खेतवासीले पनि प्रेमदेव गिरीको हौसला बढाउन बेला—बेलामा सम्मान गर्दै आएका छन् ।

गिरीले सांस्कृतिक संस्थानमा सेवारत छँदा नेपाल अधिराज्यभरि पुगेर कला प्रस्तुत गर्ने मौका प्राप्त गरे । यस्तै रुस,भारत, हङकङ र अमेरिकासम्म उनी पुगे । २०६५ सालमा लोकबाजा सङ्ग्रहालय काठमाडौंका तर्फबाट वाद्यवादक टोली लिएर संयुक्त अधिराज्य युकेसमेत पुगे । प्रेम देव गिरी भन्छन्,‘कला संस्कृति भनेको समाजको अभिन्न अङ्ग हो । नेपालमा एकपटक सङ्गीतको युग आउँछ । नेपालमा २००७ सालदेखि २०४० सालसम्म साङ्गीतिक युग जस्तो लाग्छ । जुन आजसम्म पनि जीवन्त छन् । त्यो बेलामा सङ्गीतका गुणहरु धेरै थिए, संख्या कम थिए तर आजभोलि संख्या धेरै छन् गुण कम मात्र रहेका छन् । ’ राज्यले कलाकारलाई दिनु पर्ने उचित सम्मान नदिँदा भने उनलाई दुःख लाग्ने गर्छ । कला संस्कृतिको जगेर्ना गर्न नीतिगत व्यवस्था राम्रो भएता पनि व्यावहारिक पाटो कमजोर भएको उनको तर्क छ ।

यस्ता युग सर्जकप्रति हाम्रो कृतज्ञता सदासर्वदा रहने छ ।

 

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech