बिहानै झुल्किएको किरणसँगै बिस्तराबाट ब्युँतिने महिला र पुरुषका दिनचर्या सँगै सुरु हुन्छ । मानवीय हिसाबले उस्तै तर कर्मका हिसाबले फरक—फरक भूमिका । यो पनि प्रकृति अनुरूप सामान्य नै हो । जब सुरक्षा, सम्मान र रोजगारको कुरा आउँछ त्यसपछि लामो चर्चा सुरु हुन्छ समानताको । एउटै घरमा जन्म लिएका बालबालिका भविष्यमा एउटै जिम्मेवारीमा रहँदा लिङ्गका आधारमा फरक ज्याला र फरक व्यवहारको सिकार बन्छन् । हिजो घरमा ममतापूर्ण वातावरणमा हुर्किएकी चेली जब सिन्दूर पहिरिएर अर्थात् माइतीबाट बिदाइ भएर जान्छिन् त्यतिबेला सम्मानमा कमी आएको महसुस गर्छिन । जब कुनै महिला प्रमुख जिल्ला अधिकारी बन्छिन् तिनले पुरुष प्रमुख जिल्ला अधिकारीले पाउने जति विश्वास र भरोसा पाउँदिनन् । जब कुनै महिला ज्यालादारी गर्न जान्छिन् त्यहाँ उनले ५ सयको फरकमा ज्याला बुझ्नुपर्छ, जब कुनै महिला पुरुष जत्तिकै मेहनत गरेर डाक्टर बन्छिन् त्यहाँ गुम्छ पुरुष बराबरको हैसियत ! कुरा यतिमात्र होइन जब कुनै महिला चालक बन्छिन त्यहाँ प्लेन खस्छ कि भन्ने अनुमान लगाइन्छ । जब कुनै महिला वैज्ञानिक हुन्छिन् उनको खोजमा पूर्णताको प्रश्न र शंका लगाइन्छ ।
यी त केही नमुना उदाहरण मात्र हुन् हाम्रो पितृसत्ता र सोचको । यो सोच सबै व्यक्तिमा छैन । तर केही व्यक्तिमा भएको सोचले प्रत्येक नारी दिवसमा समानाताको नारा घन्काइनु परेको छ । यो रहर नभएर बाध्यता हो । बिहान अध्ययन गर्न विद्यालय गएकी छोरी बेलुक कति बजे फर्कने हो कसलाई के थाहा ? या निर्मला र भागरथीको जस्तै हत्या हुने हो त्यसको कुनै टुङुगो छैन । चोक—चोकमा उभिएर न्यायका लागि कराउँदा पनि नसुन्ने हाम्रो कानुन र अपराधी खुलेआम समाजमा घुम्दा पनि घटना मिलाउने समाज, बाटोमा हिँडेका चेलीबेटीलाई आफ्नै दिदीबहिनी जस्तो नदेख्ने हाम्रै समाजका केही दाजुभाइ, बसमा यात्रा गर्दा दुव्र्यवहार गर्न खोज्ने मानसिकताका व्यक्तिहरु र अपराध गर्नु पाप भनेर सिकाउने तर अपराधीलाई संरक्षणको स्थान दिनेहरुबाट कसरी अपेक्षा गर्न सकिन्छ महिलाको सुरक्षा, सम्मान र रोजगार । यही कुरामा घोत्लिएर महिला अधिकारका क्षेत्रमा क्रियाशील विद्वान तथा सज्जन महिला तथा पुरुषहरुले यस वर्ष समृद्ध नेपालको आधार स्वरूप १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा महिलाको सुरक्षा, सम्मान र रोजगारलाई प्राथमिकता दिएर नारा तय गरी सार्वजनिक गरेका हुन् ।
इतिहासलाई अध्ययन गर्ने हो भने महिलाले पुरुष सरह समान ज्याला माग्न लागेको मात्रै २ सय ४२ वर्ष पुगेको छ । यति लामो सङ्घर्षले पनि महिलालाई समान अधिकार प्राप्तिको महाअभियान सफल हुन सकेको छ । यही सफलताको दूरलक्ष्य पछ्याउँदै सन् १७७९ मा बेलायती महिला मेरी ओल्स्टोनक्रयाफट्ले असमानताविरुद्धमा पहिलोपल्ट विरोध गरेकी थिइन् । त्यतिबेला यसरी विरोध गर्नु त्यति सजिलो थिएन । तर पनि सङ्घर्षका लागि आवाज बुलन्द भएको थियो । १८ औं शताब्दीमा युरोपमा औद्योगिक क्रान्ति सुरु भएपछि महिला पनि घर बाहिर निस्किएर काम गरेको इतिहास छ । १७८९ मा फ्रान्सको पेरिसमा श्रमजीवी महिलाहरुले पनि समान कामको समान ज्यालाको कुरा उठाएका थिए भनेर अध्ययन गर्न पाइन्छ । युरोपमा भएको औद्योगिक क्रान्तिले महिलालाई घरभित्रबाट घरबाहिर निस्कने अवसर दिएको कुरा पनि महिला आन्दोलनका लागि बलियो सिकाइ बनेको थियो । यही क्रम चल्दै जाँदा महिला अधिकारका लागि आन्दोलन चर्कदै गयो । परिणाम सन् १९०८ मा अमेरिकामा श्रमिक महिलाहरुले मताधिकारको अधिकारको लागि आन्दोलन गर्न सफल बने । सन् १९०९ को मार्च ८ का दिन अमेरिकाकै सिकागो सहरका महिलाले विभिन्न ठाउँमा हड्ताल र विरोध जुलुस निकालेका थिए । त्यहीँ दिनको स्मरणमा नेपालमा पनि नारी दिवसका दिन विभिन्न सचेतनामूलक कार्यक्रमहरु हुने गरेका छन् । नेपाली महिलाको राजनीतिक आन्दोलनको कुरा गर्दा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनसँग जोडिएको छ । वि. सं.२००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनमा दिव्या कोइरालले पनि नेतृत्व गरेकी थिइन् । वि. सं. २००४ सालमा साहना, साधना, स्नेहलतालगायतका महिला नेतृले आन्दोलनको अगुवाइ गरी सडकमा निस्किएका थिए । वि. सं. २००७ साल यताको सबै राजनीतिक परिवर्तनमा नेपाली महिलाको महत्वपूर्ण योगदान छ । ८ मार्चलाई मनाउने सन्दर्भमा कुरा गर्दा २०३२ सालदेखि नेपालमा सरकारी तवरबाट मनाउन थालिएको इतिहास छ ।
हिजो र आजको अवस्थामा केही फरक भएता पनि चित्त बुझाउन सक्ने अवस्था नभएकाले समान अधिकार, समान ज्याला, सम्मान र रोजगारका लागि आवाज बुलन्द पारिरहनु परेको छ । हाम्रो समाजमा हुने गरेका सामाजिक तथा सांस्कृति पक्षमा महिलाको सहभागिता बढ्दै गएता पनि महिलामाथि नै पूर्ण निर्भर हुने वातावरण बनाउन सकेको अवस्था छैन । महिला र पुरुष समान हैसियतमा भएता पनि धेरै विश्वास पुरुषलाई नै गर्ने प्रवृत्ति अझै पनि छ । राष्ट्रपति महिला भएको देश नेपाल तर सरकारी कार्यालयमा महिला प्रमुख भएर जाँदा खासै सम्मान नदिएको पाइन्छ । प्रमुखको नियुक्ति बुझेर काममा बस्दासमेत सर कता हुनुहुन्छ भनेर सोध्ने गरेको केही कार्यालय प्रमुख महिलाको भनाइले यो कुरा पुष्टि गर्छ । कानुन तह महिलाका लागि पूर्ण अधिकार प्रदान गरिएको छ तर व्यवहारिक पाटो एकदमै फिलतो छ । घरदेखि कार्यालयसम्म नै महिलालाई उचित सम्मान र काम गर्ने वातावरण सृजना हुनु पर्छ । यसका साथै छोरी पनि सन्तान हो भन्ने भाव सबैमा हुनुपर्छ । सम्पत्तिको हकदार छोरा मात्र हो भन्ने सोचले गर्दा महिला हिंसा भइरहेको छ । केही उच्च कुलघरानमा देखिएको समृद्धिले पूरा नेपाल समृद्धितर्फ जाँदै छ भन्नु अँधेरोमा ढुङ्गा हिर्काउनु बराबर हो । त्यसैले गाउँदेखि समुदाय र समुदाय हँुदै राष्ट्रसम्म बनाएका नीति कार्यान्वयन हुुनुपर्छ । त्यसैले दिवस मनाउनु केवल औपचारिकता हो तर व्यवहारमा महिला अधिकारको सवाललाई प्रभावकारी बनाउनु पर्छ । घरभित्र पनि महिला मानव हो भन्ने दृष्टिकोणका साथ उसलाई सहयोग र सम्मान गर्नुपर्छ भने घरबाहिर पनि मर्यादित व्यवहार गर्नुपर्छ । शिक्षित उमेर भएका महिलालाई उचित पारिश्रमिकसहित कामको व्यवस्था, प्रौढ महिलालाई सीपमूलक व्यावसाय, साना नानीहरुलाई अध्ययन गर्ने वातावरण, पेटभित्रै रहेका छोरीहरुलाई सकुशल पृथ्वीमा जन्म लिन सक्ने वातावरण समाजभित्रबाटै निर्माण हुनुपर्छ । समृद्ध नेपालको लक्ष्य पूरा गर्न महिलाले गरेको कामको सम्मान गर्नुपर्छ । नीति निर्माण गर्न जाने पुरुषलाई घरमा काममा सहयोग महिलाहरुले नै गर्छन । पुरुषका हरेक कर्ममा महिलाहरुको नै साथ र समर्थन हुन्छ । तर बेलुका घरमा आएर तिनै पुरुषले मदिरा सेवन गरेर श्रीमतीलाई अभ्रद व्यवहार गरेका घटना सार्वजनिक भइरहन्छन् । यस्तो अवस्थामा समृद्ध नेपालको लक्ष्य पूरा गर्न सकिँदैन । त्यसैले महिला हिंसा न्यूनीकरणका लागि कानुनको कार्यान्वयनमा कडाइ गर्नुपर्छ । शिक्षा सँगसँगै आर्थिक पहुँचमा महिलाहरु पुग्न सके समाजमा महिलामाथि हुने हिंसा विस्तारै कम हुँदै जान्छ । अनि हामीले सोचे जस्तो महिला र पुरुषहरुले समान ज्याला पाउने छन् । घरमा श्रीमतीलाई श्रीमानले सघाउने छन् अनि श्रीमानले दुःख गरी कमाएको पैसा लिएर श्रीमती फरार हुने छैनन् । घरभित्रै पनि छोरीहरु सुरक्षित हुने छन् । घरबाहिर पनि निर्धक्कसाथ छोरी तथा महिलाहरु यात्रा गर्न सक्षम हुने छन् । राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता हुनेछ । बलात्कारका घटनाका समाचारहरु सुन्नुपर्ने छैन । बालिका अपहरणको कथाहरु लेख्नु पर्ने छैन । तेजाब खन्याएर र आगो लगाएर, घर निकाला गरेर, बोक्सीको आरोप सहेर, बेचबिखनमा परेर, कुटपिट सहेर महिलाहरु बाँचिरहेको अवस्थाको अन्त्य हुने छ । यो तब सम्भव छ तब हामीले हाम्रो सोच बदल्छौं ।