सडकका अमिट सम्झना नियाल्दै

दिला शाह

भनिन्छ , ‘स्वीकार्ने र सुधार्ने हिम्मत जोसँग हुन्छ उसले जीवनमा धेरै थोक गर्छ ।’
म सडकमा बसेको मान्छे । कुनै बेला सडक मेरो घर थियो । खुला आकास मेरो घरको छानो थियो । फोहरमा फ्याकिएका खाने कुरा खोजेर पेट पाल्नु मेरो काम थियो । मलाई कस्ले जन्मायो ? म कस्को सन्तान हुँ ? मेरो जात धर्म के हो ? केही पनि थाहा थिएन ।

सडक पेटीमा सुत्ने बालक म निश्चिन्त निदाउँथे । कहिले होटेलको वरिपरि, कहिले फोहरको डुँगुरमा फ्याँकिएका त कहिले नालीमा खसेका खानेकुरा टिपेर पेट पाल्न पाए अन्य केही कुराको मलाई मतलब हुन्थ्येन । एक दिन एउटा ठूलो होटेल अगाडि फालेको खाने कुरा टिप्दै थिए एकजना अर्को केटा आएर मैले हातमा लिएको खाने कुरा खोसेर फालिदियो । खाएको भए त खुसी लाग्थ्यो होला तर उसले मेरो भाग खोसेर फ्याँकेपछि म रिसले चुर भएर उसलाई लखेट्न थाले । धेरै बेरसम्म उसलाई लखेटेपछि उसकोे क्षेत्रमा पुगेछु । जहाँ धेरैजना सडक बालबच्चाहरुको जमघट थियो । मलाई लखेट्दै गरेको देखेपछि सबै जनाले झनै डरलाग्दो गरेर आक्रमण गर्न थाले । ढुंगा, माटो, लठ्ठी जे पायो त्यहीले कुट्न थाले । मेरो शरीरको धेरै ठाउँमा चोट लाग्यो । म रगताम्मे भएर त्यहीँ सडकमा लडें ।

लखतरान सडकमा लडेको बच्चा देखेर कसैले मलाई उठाएर अस्पतालसम्म पुर्‍याइ दिएछ । म एकजना दयालु डाक्टरको अथक मेहनतबाट बाँच्न सफल भएँ । डाक्टरले मलाई सबै कुरा सोध्नु भयो म अनाथ हुँ भन्ने थाहा पाएपछि आफूले नै पाल्ने जिम्मेवारी लिएर राख्नु भयो ।
मेरो जीवनमा उहाँलेनै मलाई पुनर्जन्म दिने र कर्म दिने अभिभावक साबित हुनु भयो । उहाँको घरमा मैले एउटा बच्चाले पाउनु पर्ने सम्पूर्ण माया, ममता, अधिकार, सुख सुविधा, साथ र सहयोग पाएँ । उहाँले मेरो पढाइलेखाइ र जीवन रक्षार्थ धेरै ठूलो जिम्मेवारी निभाउनु भयो । सडकमा हुर्केको बच्चालाई सुरु–सुरुमा महलको सुखमा पनि रमाउन गाह्रो पर्दो रहेछ । कति दिन ती सडकका दिनहरु सम्झेर उतै फर्कुंजस्तो लाग्थ्यो । बाल्यकाल र सडकका अमिट सम्झनाहरु मनभित्र थिए । पढेर धेरै ठूलो बन्ने सपना ममा थिएन । आफूले सडकमा जीवन बिताउँदाका जस्ता दुखद् दिनहरू अरु कसैले पनि बिताउन नपरोस् भन्ने लागि रहन्थ्यो । आफूजस्तै सडक बालबालिकाको लागि केही गर्न मन थियो । सडकमा बिताउनु परेका कहाली लाग्दा रातहरुले मलाई सधैं झस्काउथ्यो, बिझाउथ्यो । मान्छेहरुलेनै दिएका पीडा र चोटले छातीभित्र कतै नमीठो गरेर चिथोथ्र्यो । सडकमा माग्दै हिँडेका बालबालिकालाई देखेपछि मन भारी भएर आउथ्यो ।

डाक्टर बुवा पाएपछि पढाइ सुरु भयो । उहाँहरुको आफ्नो सन्तान थिएनन् । म उहाँहरुको सन्तान बन्न पाउने भाग्यमानी बच्चा थिए । उहाँहरू दुवैजना डाक्टर हुनुहुन्थ्यो । डाक्टर दम्पतीले आपूmले जन्माएको सन्तानलाई झै मेरा हरेक कुरा र आवश्यक्तालाई पूरा गरिदिनुहुन्थ्यो । म खुसीले गद्दगद्द हुन्थे । मनमनै सोच्थे, यस्ता महान मानिसहरू पनि जन्मन्छन् यो संसारमा ? म जस्तो टुहुरोलाई पनि जीवनका हरेक खुसीहरु दिनु भयो । यस्तै कुरा सोचिरहदा हजारौंपटक भगवानलाई धन्यवाद दिन्थे ।

पढाइको लागि युके पुगें । एकदमै कडा मेहनत गरेर युकेबाट डाक्टरको पढाइ सकेर नेपाल फर्किएँ । डाक्टरको छोरा भएकोले राम्रो अस्पतालमा प्रमुख डाक्टर बनेर बिरामीको सेवा गर्नु मेरो डियुटी थियो तर त्यत्ति कुराले मात्रै मेरो मन सन्तुष्ट भएन । म ती सडक बालबालिकाको लागि केही काम गर्न चाहन्थे । मेरो आफ्नो बाल्यकालका कठिन दिनहरु सम्झिदा मन भावुक हुन्थ्यो । मलाई सडकमा छोडेर गुमनाम हुने अभिभावक बुवाआमालाई सम्झँदा कहिलेकाहीँ मन अमिलो भएर आउथ्यो । शिक्षा स्वास्थ्य अज्ञानता अभाव र पीडाबाट हरेक बालबालिका मुक्त हुनु पर्छ भन्ने भावना मनभित्र थियो ।

आफ्नो कमाइको केही अंश बचाएर अनाथ बाल आश्रम खोल्ने इच्छा मनमा थियो । सोही अनुरूप सम्पूर्ण आवश्यक प्रकृया पूरा गरें । जुन काम मेरो पढाइ, धनसम्पत्ति भन्दा धेरैमाथि सुखद् र आनन्ददायक छ । जहाँ बाल्यकालमा मैले जस्तै दुःख पाएका अभिभावकबिनाका अनाथ बालबालिकालाई आश्रय दिन थालें । कति सडकमा कति अस्पतालमा भेटिएका बच्चालाई आश्रय दिएर लालनपालन गर्ने र पढाउने अनाथालयको उद्देश्य थियो । त्यसै उद्देश्य अनुरुप अनाथालयमा धेरै बालबालिकाहरुलाई आश्रय दिने काम भयो । आफ्नो डाक्टर पेसाबाट समय निकालेर बालबालिकालाई सहयोग गर्न पाउँदा धेरै खुसी लाग्छ । जुन खुसी डाक्टर पेसाबाट कमाएको पैसाले दिने भन्दा धेरै गुणा बढी छ ।

अनाथ बाल आश्रममा रहने बालबालिकालाई सहयोगार्थ धेरै डाक्टरहरु र असंख्य सुसम्पन्न मनकारी व्यक्तिले सहयोग गर्नुभएको छ । अनाथ बाल आश्रमभित्र धेरै बच्चाहरुले नयाँ जीवन पाएका छन् । विभिन्न किसिमका सीपमूलक काम सिकाउनुका साथै पढाइमा अब्बल बनाएर शिक्षित सबल र सफल युवा पिँढी उत्पादन गर्नु अनाथ बाल आश्रमको उद्देश्य रहेको छ ।

–डाक्टर धनन्जय आचार्य, धरान

 

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech