नेपालगन्ज– धारा दोस्रो जुमा कप वस्तुगत तथा पेशागत फुटबल प्रतियोगितामा आयोजकले आफूखुसी नियम बनाएको भन्दै नेपालगन्ज रंगशालामा भएको जुमा कप फुटबल प्रतियोगितामा विवाद उत्पन्न भएको खेल प्रहरीको सहयोगमा पुनः सुरु गरिएको छ । तेस्रो दिनको खेल सुरु गर्नका लागि आयोजकले प्रहरीको सहयोग मागेको थियो । प्रतियोगिताको विरोधी खेलाडीलाई हटाएर खेल सुचारु गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको थियो ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ भने प्रतियोगिता चैत्र २ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यसैबीच शनिबार भएको प्रतियोगितामा प्याब्सन, बजार प्रतिनिधि र बैंकर्स सेमिफाइनलमा पुगेका छन् । शनिबार पाँच वटा खेल भए । बैंकर्स टोली बार एसोसियसन र टेलिकमलाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो । बारलाई १७ गोल हानेको बैंकर्सले टेलिकमलाई दुई गोल हान्यो । प्रतियोगिताको दाबेदार मानिएको प्याब्सनले रेडिमेडलाई ३–० गोलले पराजित गर्यो । लगातार दोस्रो खेल जितेको प्याब्सनले सेमिफाइनलमा बैंकर्ससँग खेल्ने छ । त्यस्तै बजार प्रतिनिधिले स्वास्थ्यलाई ३–१ गोलले पराजित गर्यो ।
शनिबार भएको खेलमा खुद्रा व्यवसायी संघ र सहकारी बराबरी भए । दुवैले एक–एक गोल गरे । जिल्ला सहकारी र इन्टरनेट प्रदायकका बीच आइतबार हुने खेलबाट यो समूहको सेमिफाइनलको टोली तय हुनेछ भने यो समूहमा खुद्रा व्यवसायीको चार अंक रहेको छ भने सहकारीको एक अंक रहेको छ ।