‘विद्यार्थीलाई कविता लेख्न सिकाउनु पर्छ’–प्राज्ञ डा.देवी नेपाल

असल शासन प्रतिनिधि

 

बाँके/‘हाम्रो अभियान, साहित्यिक पहिचान’ भन्ने मुख्य नाराका साथ बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० मा अवस्थित तक्षशिला एकेडेमीमा आइतबार ११६ औं रचना वाचन श्रृङ्खला सम्पन्न भएको छ ।

११६ औं रचना वाचनको श्रृङ्खलामा यसपटक कविता लेखन कार्यशाला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि, कविता लेखनका प्रशिक्षक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ डा.देवी नेपालले विद्यालयमा आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लुकेर बसेका प्रतिभाहरूलाई बाहिर ल्याउन मद्धत गर्ने बताए ।

उनले, नेपालमा लेखिँदै आएका कविता परम्पराको विकासक्रम तथा कविता कसरी लेख्नेबारे सिकाएका थिए ।

विद्यालयमा सिधै विद्यार्थीहरूलाई साहित्यका विविध कार्यशालामा जोड्न सकियो भने भविष्यमा साहित्य प्रतिको मोह बिस्तारै बढ्ने हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले बताए ।

उनले भने,–‘विद्यार्थीहरूलाई विभिन्न कार्यशाला मार्फत साहित्यसँग जोड्छौं । र अगामी दिनमा पश्चिमको साहित्यलाई व्यवसायिक अगाडि बढाउन यस्ता अभियानहरूलाई कोहलपुरबाट सशक्त पार्नेछौं ।’

पछिल्लो समय कोहलपुरमा साहित्यका विविध कार्यक्रमहरू आयोजना गरेर यहाँको साहित्यलाई समय सापेक्ष अगाडि बढाउँदै आएको पाइन्छ । रचना वाचन विभागले अब सबैलाई रचना तथा कार्यशाला मार्फत सबैलाई जोड्ने विभागका संयोजक हेम प्रकाश मंजिलले बताए । उनले, साहित्यिक क्षेत्रमा राम्रो गर्ने विद्यार्थीले अन्य सिर्जनात्मक क्षेत्रमा पनि प्रगति गर्ने उल्लेख गर्दै आफूसँग भएको प्रतिभा र कला प्रस्फुटन गराउन कार्यशालाले सहयोग पु¥याउने बताए ।

तक्षशिला एकेडेमीका प्रिन्सिपल बासु गिरीले साहित्यिक सिर्जनाले विद्यार्थीको जीवनमा ठूलो प्रभाव पार्ने चर्चा गर्दै विद्यालयले विद्यार्थीमा रहेको प्रतिभाको उजागर गर्न विभिन्न क्रियाकलाप गर्दै आएको बताए ।

गिरीले विद्यार्थीहरूको शिक्षासँगै लुकेर बसेका प्रतिभाहरूलाई बाहिर ल्याउन विद्यालय परिवार सक्दो लागि पर्ने बताए ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको रचना वाचन विभागको आयोजना तथा तक्षशिला एकेडेमीको समन्वयमा भएको कार्यक्रममा एकेडेमीमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, विद्यालयका शिक्षक, शिक्षिकाहरू तथा लेखक सागर गैरे, विष्णु पादुका, पुष्कर रिजाल पुष्प, खोपीराम वली, बद्री ढकाल ‘हिरामणी’, शेखर दहित, केशव निमेष, काली बहादुर डाँगी, बिमला कुमारी खत्री, कृतिका आचार्य, लक्ष्मण मानव लगायतको सहभागिता रहेको थियो ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech