भेरी अस्पतालमा जोखिम !

तपेन्द्र मलाती

अस्पताल अत्यावश्यक तथा संवेदनशील क्षेत्र हो । अस्पतालमा बिरामीको उपचार हुन्छ । त्यसैले अस्पतालमा हुने सम्भावित जोखिमलाई ध्यानमा राखी अस्पतालमा पूर्ण सतर्कता अपानाइएको हुन्छ । प्रशंग हो नेपालगन्जस्थित यस क्षेत्रकै ठूलो भेरी अस्पताल नेपालगन्जको । यो अस्पताल मध्य तथा सुदूरपश्चिम कै ठूलो र सरकारी अस्पतालसमेत भएका कारण यहाँ बिरामीले प्रायः खचाखच नै हुन्छ । विभिन्न जिल्लाबाट भेरी अस्पतालमा उपचारका लागि बिरामी आउनुका साथै इमेरजेन्सी बिरामी ल्याएर आउने एम्बुलेन्सहरूको समेत उत्तिकै आवत जावत भइरहेको हुन्छ ।

भेरी अस्पताल नेपालगन्जमा बिरामीको चापलाई ध्यानमा राखेर आवत जावत गर्ने तीन ओटा महत्वपूर्ण गेट निर्माण गरिएको छ । अस्पतालको मूल गेट जुन अस्पतालको बीचमा रहेको छ त्यसबाट प्राय पैदल बिरामी तथा कुरुवाहरूको आवतजावत हुने गर्दछ । बाँकी रहेका दुई ओटा गेटबाट एम्बुलेन्स लगायत अत्यावश्यक रूपमा प्रयोग हुनु पर्ने हो तर भेरी अस्पतालको मूल गेटबाहेकका दुईओटा गेटहरू प्रायः बन्द नै रहन्छन् । म भेरी अस्पताल भएर दिनहुँजसो आवत आवत गर्ने गर्दछु । मैले हरेक दिन अस्पताल गेट तर्फ ध्यान दिइरहेको हुन्छु दैनिक जसो अस्पतालको मूल गेटमा आवत जावत गर्ने बिरामी , कुरुवा तथा अस्पतालका कर्मचारी र डाक्टरहरूको भिड नै लागेको देखिन्छ भने बिरामी बोकेर आउने एम्बुलेन्स समेत सोही मूल गेटबाट भित्र गइरहेका हुन्छन् । बाँकी दुई गेटहरू बन्द नै रहेका छन् । पछिल्ला केही दिन यता हेर्दा ति गेटहरूको अगाडि मोटरसाइकल पार्किङ गरिरहेको देखिन्छ । पार्किङले उक्त गेटको उपयोगिता नै समाप्त गरेको देखिन्छ । कुनै कारणले अस्पतालमा कुनै इमेरजेन्सी प¥यो भने उक्त गेटको प्रयोग गर्न निकै समय लाग्ने देखिन्छ । अर्कोतर्फ एम्बुलेन्स लगायतका सवारी साधनलाई मूल गेटबाट आवागमन गर्न दिँदा सोही गेटबाट आवत जावत गर्ने बिरामी तथा कुरुवाहरू जोखिममा परेका छन् । उनीहरूलाई कुन बेला सवारी साधनले ठक्कर दिन्छ भन्ने भयले सताउने गरेको एक बिरामीले सुनाए ।

अस्पताल प्रशासनको आफ्नो नियम होला तर मैले भन्न खाजेको मात्रै के हो भने अस्पतालको दायाँ र बायाँ रहेको दुई गेटबाट एम्बुलेन्स तथा अन्य सवारी साधन प्रवेश गराउने र मुख्य बीचको गेट केवल पैदल आवागमनका लागि प्रयोग गर्ने हो भने दुर्घटनाको जोखिम पनि नहुने र अत्यावश्यक समयमा अस्पताललाई सहज पनि हुने देखिन्छ । यसतर्फ अस्पताल प्रशासनको ध्यान जाओस् ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech