ऑखै अगाडि खरानी भए सपनाः भताभुङ्ग भयो जिन्दगीको गोरेटो

साबित्री गिरी

नेपालगन्ज/ जिन्दगीमा कहिलेकाहीँ नसोचेको ब्रजपात आइपर्छ । मंगलबार यस्तै परिस्थितिको सामना गर्नु प¥यो बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित चौबीस विगाहमा बसोबास गर्ने मन्जु यादवलाई । मंगलबार मन्जुको बसोबास गर्ने घर पूरै जलेर खरानी भयो भने अर्कोतर्फ घर बनाउन भनेर राखेको तीन लाख भारतीय रुपैयाँ पनि घरसँगै खरानी भयो । पैसा र घर जलेसँगै मन्जु अब घरबारविहीन बनेकी छिन् । उनीसँग अरुको शरण लिनु सिवाय कुनै उपाय छैन तर कसले दिन्छ शरण कुनै ठेगाना पनि छैन ।


उनका श्रीमान् बोनसराम यादवले २ महिना अगाडि आत्महत्या गरेका थिए । अहिले उनको काखमा दूधे बालक छ । अनि अर्को बच्चा २ वर्षको छ । एकातर्फ पतिवियोगको चिन्ता अनि अर्कोतर्फ घर जल्नु मन्जुका लागि ब्रजपात भएको छ । आकाशै खसेको पीडा भएको छ जुन पीडाको मर्म मन्जुलाई जति कसलाई पो होला । घर बनाउँदै गर्दा श्रीमानले संसार छोडे, कष्ट गरी घर पूरा गर्ने कोसिस गर्दा घर नै जल्यो । अब बनाउँदै गरेको घर कसरी पूरा गर्ने मन्जुसँग कुनै उपाय छैन । उनीसँग न कुनै जागिर छ न व्यवसाय ।

मंगलबार दिउँसो १ बजे लागेको आगोले मन्जुको सबै सपना उजाड बनाइदियो । मन्जुको जिन्दगीमा पीडा माथि पीडा थपिएको छ । समयले गनी गनी चोट दिएको महसुस मन्जुलाई मात्र होइन उनका छरछिमेकलाई पनि भएको छ ।
मन्जुको मात्रै नभएर उक्त आगोमा अन्य ५ जना छिमेकीको पनि घर जल्यो । रक्षाराम यादवको घरबाट लागेको आगोले मोहनलाल यादव, झल्लर यादव, माधवराम यादव र श्रवणकुमार यादवको घर पूरै जल्यो । तर धेरै क्षति मन्जुले नै बेहोर्नु पर्‍यो ।

दिउँसो १ बजे लागेको आगो ४ बजेमात्र नियन्त्रणमा आयो । करिब १६ लाख रुपैयाँ बराबर क्षति भएको आकलन बाँके प्रहरीले गरेको छ । घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुवास खड्काले आगलागी कसरी भयो भन्ने कुरा खुल्न नसकेको बताएका छन् । आगलागी नियन्त्रणका लागि स्थानीय जय किसान माविका विद्यार्थी, स्थानीय र प्रहरीहरु खटिएका थिए । आगलागी भएको ४० मिनेटमा दमकल पुगेको डिएसपी खड्काले बताए । आगलागीबाट लक्तकपडा, भाडाबर्तन, सुनचाँदीलगायतका गरगहना र अन्नपात सबै खरानी भएका छन् । त्यस्तै गत फागुनमा नरैनापुर गाउँपालिकाको वडा नम्बर १ सुइया गाउँमा आगलागी हुँदा २२ घर जलेर नष्ट भएका थिए ।

आगो लागेको दिनमै राहत वितरण

आगलागी भएको जानकारी पाउनेबित्तिकै घटनास्थलमै पुगेर राहत वितरण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिले प्रतिपरिवार १५ हजार रुपैयाँका दरले रकम प्रदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङले बताए । उनले घटनाका पीडितलाई थप राहतको समेत व्यवस्था गरिने बताएका छन् ।
यस्तै नेपाल रेडक्रस सोसाइटी, एफजिजेटलगायतका संघ संस्थाले आवश्यक खाद्यान्नलगायतका सामाग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रह्लाद विश्वकर्माले बताए । आगलागी भएको थाहा पाउनेबित्तिकै नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखाका कार्यवाहक सभापति शालिकराम साहु र जिल्ला सदस्य यज्ञनारायण शर्माले आगो नियन्त्रणका लागि सबैलाई हारगुहार गरेका थिए ।

पीडितलाई थप राहत प्रदान गर्न आवश्यक पहल थाल्ने गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले बताए । उनले आगलागीको घटना बढ्दै गएकाले आगलागीको कारण पत्ता लगाइ यस्तो घटना हुनबाट बस्तीलाई जोगाउनु पर्नेमा चिन्ता व्यक्त गरे । प्रत्येक वर्ष आगलागीका घटना हुने भएकाले यस्तो बस्तीमा सुरक्षित आवास निर्माणको आवश्यकता रहेको उनले बताएका छन् ।

घटनास्थलमा पुगे जनप्रतिनिधि

आगलागी भएको स्थानमा मंगलबार प्रतिनिधि सभा सांसद महेश्वर गहतराज अथक र लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुना पुगेका छन् । उक्त स्थानको अवलोकनपछि उनीहरुले राहतका लागि पहल गर्ने बताए । आगलागीका घटना पटक–पटक भइरहेकाले स्थानीय तहसँग समन्वय गरेर पहल थालिने बताएका छन् ।

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech