उदाहरणीय पुरणको प्रेरणादायी यात्रा

पुरणबहादुर थारुको बाल्यकाल अभावमा बित्यो । सामान्य किसान परिवारमा जन्मिएका पुरणले बुवा आमालाई कुनै दुःख दिनु हुँदैन भनेर सोच्ने गर्थे । अनि बुवा आमाले पनि आफ्नो परिवारको अवस्थाबारे सम्झाइ रहेका हुन्थे । साथीभाइले जस्तो लगायो त्यस्तै लगाउने र जस्तो खायो त्यस्तै खाने वातावरण घरपरिवारमा हुन्थेन ।

सावित्री गिरी

हामीले बाहिरी रूपमा जुन संसार देखेका हुन्छौं । त्यसै अनुसार परिभाषा बनाएर व्याख्या गर्ने गर्छौं । वास्तवमा संसारभित्र रहेका पात्र र अवस्थाको अलग—अगल व्याख्या र विष्लेषण गर्ने हो भने फरक परिभाषा भेटिने गर्छ । यी परिभाषाभित्र पनि पात्रले निभाएका भूमिकाले दिने अर्थ आउने पिँढीका लागि पठनयोग्य र मननयोग्य हुने गर्छन् । यो अवस्थासम्म त्यस्ता व्यक्तिहरू मात्र आइपुग्छन् जसले निरन्तर साधना गर्न सक्छन् । कुरा मात्र गर्ने तर काम नगर्नेहरू जहिले पनि पर्दा पछाडि नै बस्नु पर्ने हुन्छ । पर्दा अगाडि आउन सामाजिक परिवेश र सामाजिक मनोभावना अनुसार कार्य गर्नुपर्छ । समस्यासँग जुध्न सक्नु पर्छ । जीवनका अनेक आरोह अवरोह पार गर्दै दुई दशकको यात्रा पार गरिसकेका बाँकेका पुरण चौधरीको कथा चर्चा गर्न लायक छ ।

विक्रम संवत् २०३३ साल वैशाख १८ गते आमा कल्ठी थारु र बुबा लोहारी थारुको चौथो सन्तानको रूपमा जन्मिएका पुरण सानैदेखि जिज्ञाशु स्वभावका थिए । पुरण अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ फुल्टेक्रास्थित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन् । यो सँगै सामाजिक संस्था तथा व्यापारिक क्षेत्रमा पनि उनको भिन्दै परिचय छ । यो परिचय स्थापित गर्न पुरणले कति खुसीहरूलाई तिलाञ्जली दिनु परेको छ भने कति खुसीलाई मनमा च्यापेर राख्नु परेको छ । यस्तै कति कष्टलाई सफलताको कडीको रूपमा लिएका छन् भने कति दुःखलाई सिकाइको रूपमा लिएका छन् । खुसी अनुहारका पछाडि लुकेका दर्दनाक कथाहरूले पुरणलाई जीवन्त साहस प्रदान गर्ने गरेको छ ।

पुरणबहादुर थारुको बाल्यकाल अभावमा बित्यो । सामान्य किसान परिवारमा जन्मिएका पुरणले बुवा आमालाई कुनै दुःख दिनु हुँदैन भनेर सोच्ने गर्थे । अनि बुवा आमाले पनि आफ्नो परिवारको अवस्थाबारे सम्झाइ रहेका हुन्थे । साथीभाइले जस्तो लगायो त्यस्तै लगाउने र जस्तो खायो त्यस्तै खाने वातावरण घरपरिवारमा हुन्थेन । किनभने उनका तीन दाजुभाइ र दुई दिदीबहिनी थिए । पाँच सन्तानको लालनपोषण गर्न आमा बुवालाई सकस थियो । कृषि पेसाबाटै जेनतेन जीविका चलेको थियो । उनले बाल्यकालमा धेरै इच्छा आकङ्क्षा भए पनि आमा बुवा समक्ष राखेनन् । तर केही गर्नुपर्छ भन्ने सपना मनमा थियो । यो सपना पूरा गर्न पुरण सानै उमेरदेखि किराना पसलमा सामान र पान बेच्न थाले । कृषि कर्मसँगै अध्ययन र पसल चलाउनु पर्ने बाध्यतालाई कोमल मस्तिकबाटै सङ्घर्ष गरेका पुरणको जीवनकथा अझै कठिन छ । घाँस दाउरा र खेतीपाती त उनको जीवनको दैनिकी नै थियो । त्यसबाट बचेको समय मात्र उनले अध्ययनका लागि खर्चन पाउथे ।

जतिबेला पुरण १ कक्षादेखि ८ कक्षासम्म भुवर भवानी माध्यामिक विद्यालयमा अध्ययन गरेर माध्यामिक शिक्षाका लागि नेपालगन्ज झरे । त्यतिबेला उनलाई एकातर्फ खुसी लाग्यो भने अर्कोतर्फ दुःख पनि लाग्यो । किनभने आर्थिक अवस्था बलियो नभएका अनुसार अन्य साथीहरू जसरी अध्ययन गर्ने वातावरण थिएन । स्कुलबाट घर फर्केर दाउरा बालेर खाना पकाउनु पर्ने बाध्यता त्यसैमा अभाव झेल्नु पर्ने पुरणका लागि निकै कष्टकर थियो । दाउरा लिन पनि हप्तामा एकपटक राप्तीपारि पुग्नु पर्दथ्यो । तीन घण्टाको बाटो हिँडेर दाउरा बोकेर ल्याउनु पर्दथ्यो । बाटोघाटोको पनि विकास भएको थिएन । पुरणले ती चरणहरू पार गरे जुन चरणहरू अहिलेका विद्यार्थीका लागि कथा सरह छन् । पुरणले जहिले पनि म पढ्नु पर्छ भन्ने कुरा मात्र सोचे । पैसा भएका साथीहरूको चाहना अनुरूप भन्दा पनि पुरणले सम्पूर्ण समय अध्ययनलाई सुम्पिए ।

पुरणले यी अवस्थालाई पार लगाउँदै विक्रम संवत् २०५० सालमा नेपालगन्ज स्थित महेन्द्र माध्यामिक विद्यालयमा एसएलसीसम्मको शिक्षा पूरा गरे । यतिबेला पुरणले ग्रामीण क्षेत्रको शिक्षाको अवस्था र शहरी क्षेत्रको शिक्षाको अवस्था नियाल्ने मौका पाएका थिए । उनले बोर्डिङ स्कुलको शिक्षाबारे सुनेता पनि अध्ययन गर्ने र बोर्डिङ स्कुल अनुगमन गर्ने मौकासमेत पाएनन् । घरपरिवारको आर्थिक अवस्था सामान्य भए पनि एसएलसी दिएपछि पुरणलाई चिकित्सा क्षेत्रमा अगाडि बढ्छु भन्ने लागेको थियो । पुरणको गाउँमा एकजना डाक्टर बस्थे, उनको कार्यप्रगति देखेर उनले डाक्टर बन्ने सपना देखेका थिए । तर त्यो सपना पूरा गर्न त्यतिबेला अध्ययनलाई अगाडि बढाउन नसक्दाको समय सम्झदा पुरणलाई अहिले पनि दुःख लाग्छ ।

त्यसपछि पुरणले नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा विज्ञान विषयमा अध्ययन सुरु गरे । घरको आर्थिक अवस्था कमजोर भएकै कारण यस विषयमा यो भन्दा अगाडि अध्ययन गर्न नसकिने र चिकित्सक बन्न नसकिने अवस्था देखेपछि उनले आइएससीसम्मको अध्ययन पूरा गरेर फेरि शिक्षा सङ्कायतर्फको अध्ययन सुरु गरे । नेपालगन्जस्थित बाँके शिक्षा क्याम्पसमा आइएडसम्मको अध्ययन पूरा गरे । त्यसपछि पुरणले सन् २०१२ मा समाजशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गर्न सफल भएका छन् । आपूm सामाजिक काममा तल्लीन भएकाले पुरणलाई सामाजिक परिवेशलाई नजिकैबाट नियाल्न मन लागेपछि यो विषय रोज्न मन लाग्यो । समाजशास्त्रको स्नाकोत्तर अध्ययनपछि पुरणलाई सामाजिक काममा अझै सक्रिय भएर अगाडि बढ्न मद्दत पुग्यो । त्यसपछिका कार्यप्रगतिहरू अझै प्रभावकारी भएको पुरण बताउँछन् । यसैको परिणाम पुरणले ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्जसको सिफारिसमा अडियोलोजिस्टको अध्ययन पूरा गर्ने अवसर पाए । यो अवसर उनले भारतको पटनास्थित मगथ युनिर्भसिटीमा पाए । अध्ययन गर्ने अवसर पाएसँगै पुरणले सन् २०१७ मा कान रोगको विशेषज्ञता हासिल गर्न सके । यो अवधिमा बीए, एसएलपी अध्यनका लागि मगथ युनिर्भसिटीमा रहँदा अर्थात् विशेषज्ञता हासिल गर्दाको समयमा निकै फरक अनुभूति गरे । उनले कल्पनासमेत पनि गरेका थिएनन् यसरी अध्ययन गर्न पाउँछु भनेर । उनको पारिवारिक अवस्थाले त्यहाँ गरेर अध्ययन गर्न सक्ने अवस्था थिएन । त्यो बेला उनलाई उनको साथी रजनिश झाले धेरै सहयोग गरे । उनको सहयोगलाई पुरणले धेरै नै स्मरण गर्छन् । गाउँमा बस्ने मान्छे भारतको ठूलो सहर पटना पुगेपछि अझै आत्मविश्वास बढेर आयो । यो अवधिमा असहयोग गर्ने व्यक्तिहरूले देखाएको व्यवहारलाई सिकाइको रूपमा लिएर अगाडि बढे । उनले पढेर केही न केही गर्नुपर्छ भन्ने मात्रै लागिरह्यो । भारतमा अध्ययनका लागि राम्रो अवसर पाएपछि पुरणको सफलता चुलिँदै गयो ।

सन् २००० मा नेपालकै पहिलो कान स्वास्थ्य सहायक बन्न सफल बनेका पुरणको यो व्यक्तित्वका पछाडि उनको मेहनत नै हो । उनले नेपाल रेडक्रस सोसाइटीमा सन् २००० मा सामुदायिक कान स्वास्थ्य सहायक पदमा काम गरे । नेपालमै पहिलोपटक बाँके जिल्लाबाट सुरु भएको यो अभियानको सुरुवता गर्ने पुरणको यात्रा निकै उपलब्धिपूर्ण रहेको छ । गाउँ —गाउँ र टोल–टोलमा साइकल चलाएर जनेचनामूलक कार्यक्रम गरेको उनी स्मरण गर्छन । पछि यो अभियान बाँके जिल्लामा मात्र नभएर अन्य जिल्लामा समेत सञ्चालन हुन सक्यो । सन् २००० देखि सामुदायिक कान स्वास्थ्य सहायकको रूपमा काम गरेका पुरण सन् २००५ मा सुपरभाइजर पोष्टमा काम गर्न योग्य भएका थिए ।

सुपरभाइजर पोष्टमा रहँदा पुरणले अझै आफ्नो कामलाई निर्खादै गए । पुरणले आफू जन्मेको गाउँठाउँको विकास गर्नु पर्छ भन्ने कुरा त्यस पछाडि सोच्न थाले । स्थानीय अगुवा, बुद्धिजीवी र समाजसेवीसँग नेपालगन्जमा कानको उपचारका लागि अस्पताल स्थापना गर्नु पर्छ भन्ने सोचलाई अगाडि सारे । विभिन्न दातृ निकायलाई गुहारे । अस्पतालको निर्माणको काम अग्रभागमा रहेर काम गरे । त्यसपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ फुल्टेक्रामा सन् २००९ मा ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । ब्रिटेन नेपाल अटोलोजी सर्भिस युकेको सहयोगमा सन् २०१६ मा ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रको भवन उद्घाटन भए पनि पूर्ण रूपमा सेवा सुचारु भयो ।

केन्द्र स्थापनाको सुरुदेखिनै प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यभार सम्हाल्दै आएका पुरणको क्रियाशीलता अझै दोब्बर भएको छ । यतिमात्र नभएर कान सुन्ने क्षमता कम भएका बिरामीलाई जाँच गराउने र बोल्न नसक्ने बिरामीलाई बोल्नको लागि भाषा सिकाउने कामलाई पनि प्राथमिकतामा राखेर काम गरेका छन् । निरन्तर मेहनत गर्ने र लगनशील भएर काम गर्ने हो भने सफल भइन्छ भन्ने गतिलो उदाहरण हुन् पुरण थारु ।

पुरण थारु पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा एसएलसीपछि चिकित्सा क्षेत्रमा जान नसकेता पनि सामाजिक कामको माध्यमबाट फेरि चिकित्सा क्षेत्रमै भविष्य बनाउन सफल भएका व्यक्तित्व हुन् । दृढ इच्छाशक्ति भए जसरी पनि लक्ष्यमा पुग्न सकिन्छ भन्ने प्रेरणाका पात्र समेत हुन् । उनले विक्रम संवत् २०५८ सालमा चौथो तलामा शिक्षण पेसामा स्थायी जागिरका लागि नाम निकालेता पनि काम गरेनन् । कारण थियो सामाजिक कामको रुचि र चिकित्सा क्षेत्रमा अब्बल बन्ने सपना । यो सपना पूरा गर्न उनले स्थायी जागिरलाई पनि प्राथमिकता दिएनन् । उनी मात्र लागि परे आफ्नो गन्तव्यतर्फ । यसैको परिणाम आज कान रोग विशेषज्ञको रूपमा आफ्नो पहिचान बनाएका छन् । यो मात्र उनको पहिचान होइन । उनको पहिचान सामाजिक क्षेत्रमा समेत पुगेको छ । उनले विक्रम संवत् २०७६ सालमा रोटरी क्ल अफ सेन्ट्रल नेपालगन्जको संस्थापक अध्यक्षको रूपमा आफ्नो पहिचान बनाएका छन् । यसमा अध्यक्ष बनेसँगै पुरणले शिक्षा क्षेत्रमा गुणस्तरीयताको कामलाई मुख्य जोड दिएका छन् । जेहेन्दार र गरिब विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्ने योजना अनुरूप काम गरिरहेका छन् । यो सँगै सामाजिक न्यायका लागि पनि पहल गर्ने तथा आर्थिक सहयोग गर्ने अभियान जारी छ । विभिन्न स्वास्थ्यमूलक जानकारी र सेवाहरू प्रदान गर्ने काममा उनी निरन्तर गरिरहेका छन् । आइकन मेडिसिन डिस्ट्रिब्युट्सको थोक बिक्रेताको प्रोपराइटर साथै कस्तुरी फुड प्रोडक्सनको सेयर सदस्यको रूपमा आफूलाई व्यस्त बनाइरहेका छन् । उनले कर्मक्षेत्रबाट बचेको सबै समय सामाजिक काममा लगाउँदै आएका छन् ।

विक्रम संवत् २०५७ सालमा वैवाहिक सम्बन्धमा गाँसिएका पुरणका १७ वर्षीया छोरी र ७ वर्षीय छोरा रहेका छन् । वैवाहिक सम्बन्धमा गाँसिदा पुरण २५ वर्षका थिए । उनले नेपाल रेडक्रस सोसाइटीमै कार्यरत सहकर्मी पशुपति कुमारी चौधरीलाई मन पराएपछि घरमा कुरा गरेका थिए । वैवाहिक जीवन रोजे अनुसार सुचारु भए पनि भविष्यको रुचि सफल बनाउन ढुङ्गा चपाउनु सरह मेहनत गर्नु पर्‍यो । उनले आफूले सोचे अनुसार लक्ष्य पूरा गर्न नसकेता पनि आफ्ना सन्तानलाई डाक्टर बनाउने सपना देखेका छन् । पुरणका जीवनमा आर्थिक अवस्थाका कारण झेल्नु परेका धेरै दुःखद् कुरा छन् । त्यसमध्येमा दुःख लागेको कुरा सम्झदा पुरण भन्छन्,“हामी कक्षा १० पढ्ने बेला एउटा समोसालाई मात्र २ रूपैयाँ पर्ने ग¥थ्यो । म र मेरो साथी समोसा खान गएका थियौं । हामीसँग ५ रूपैयाँ मात्र थियो । हामीलाई भोक लागेको थियो । अझै धेरै समोसा खाने मन थियो । तर इच्छा हुँदा हुँदै पनि चाहे जति समोसा खान पाएनौं । यो क्षण सम्झदा एकदमै दुःख लागेर आउँछ ।” यस्तै पुरणले सानैदेखि किराना सामान र पान बेच्दै हिँडेको कथालाई स्मरण गर्दछन् । विक्रम संवत् २०६३ सालमा आमालाई गुमाउँदाको अवस्था सम्झँदा पुरण भाबुक हुने गर्छन् । ८५ वर्षीय बुवाको सेवा गर्दा निकै आनन्द महसुस हुने गरेको उनले बताए ।

अहिले पुरण आफ्नो पेसामा निकै खुसी छन् । कडा सङ्घर्षका बीच पूरा भएको सपना पूरा गर्दा निकै उत्साही छन् । अब आगामी दिनमा पनि यही क्षेत्रमा निरन्तर क्रियाशील रहने सोच बनाएका छन् । कानको समस्या भएका व्यक्तिलाई थप प्रभावकारी सेवा प्रदान गर्ने काममा तल्लीन रूपमा लागि पर्ने उनको सोच छ साथै बच्चा जन्मिसकेपछि कान सुन्ने अवस्था पत्ता लगाउन मेसिनको व्यवस्थापन गर्ने योजना बनाएका छन् । यो मेसिनको नाम अटो एक्युस्टिक इमिसन हो । भारतका विभिन्न शहर भ्रमण गर्नुका साथै नेपालका पश्चिम क्षेत्रका विभिन्न जिल्लामा पुगेर काम गर्ने तथा अनुभव सँगाल्ने अवसर प्राप्त गरेका छन् । फुर्सदको समयमा पुरणलाई गीत गाउन र गीत लेख्न मन पर्छ । पुरणलाई खेलकुदमा पनि उत्तिकै रुचि छ । उनी सानो हुँदा ब्याडमिन्टन, चेस र हाइजम्प खेलमा आफूलाई व्यस्त बनाउने गर्थे । तर सानो उचाइ भएकाले फुच्चे छ भनेर धेरैले खेलमा सहभागी गराउन मान्थेनन् । यो कुराले निकै दुखी बनाउने गरेको थियो पुरणलाई । घरका दाजुभाइ तथा दिदीबहिनीहरू अन्य क्षेत्रमा भएता पनि आफू यही क्षेत्रमा रमाएका छन् पुरण । सामुदायिक स्तरमा जनचेतना फैलाउने क्रममा कतिपय साथीहरूले काम छोडेर गए तर आफ्नो निरन्तरको मेहनतले सफल बनाएको उनी बताउँछन । अहिलेसम्म कुनै संघसंस्था तथा निकायबाट पुरस्कृत नभएता पनि आत्मसन्तुष्टि नै आफ्नो पुरस्कारको रूपमा रहेको बताउँछन् ।

जीवनका विभिन्न चरणहरू रहने गर्दछन् । पुरणले पनि तिनै चरणको सामना गरिरहेका छन् । ती चरणले आज सफल बनाइदिएका छन् । पुरणका पाइलाहरू आज उचाइमा पुगिरहेका छन् । बुवाआमाको सपना पूरा गर्न सफल बनेका छन् । साथीभाइ र छरछिमेकका लागि प्रेरणाका पात्र बन्न सफल बनेका छन् । हिजोको दुःखदायी कहानीको अन्त्य भएको छ । हाल नेपालगन्ज उपमहानरपालिका वडा नम्बर ५ मा आवास निर्माण गरी बसेका छन् । सामाजिक कर्मलाई अझै उचाइमा पुर्‍याउन तल्लीन बनेका छन् । कर्मठ, इमान्दार र लगनशील पुरणको सामाजिक अभियानको यात्रा अझै शिखरमा पुगोस् । शुभकामना ।

  • ३० चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech