एमपी स्कुल विद्यालय कि रङ्गशाला ?, नियिमत खेलकुद हुँदा पठनपाठन ठप्प

एक वर्षमा एक महिना त खेलकै लागि भनेर विद्यालय बन्द गर्नु पर्ने स्थिति रहेको बताउँदै प्रधानाध्यापक बर्माले खेलकुद मैदानको विकल्प रोज्न पटक—पटक सरोकारवाला निकायलाई आग्रह गर्दासमेत अहिलेसम्म निकास ननिस्किएको बताए ।

सावित्री गिरी

नेपालगन्ज/ विद्यालय बालबालिकाका लागि पाठशाला हो । विद्यालयमा पुगेर विद्यार्थीहरुले शान्त वातावरणमा खेल्न र सिक्न पाउनु पर्छ । साथै खेलकुद र शिक्षा एकअर्काका परिपुरक हुन् । खेलबाट विद्यार्थीहरुले धेरै अनुशासनका कुराहरु सिक्न सक्छन् । तर जब एउटै विद्यालयमा जिल्लाभरिका खेलकुद प्रतियोगिता आयोजना गरिन्छ तब त्यस विद्यालयका विद्यार्थीहरुको पढ्ने वातावरण बिथोलिन्छ । यस्तै समस्या भोगिरहेको छ विगत धेरै लामो समयदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मंगलपथ स्थित मंगल प्रसाद माध्यामिक विद्यालयले ।

विद्यालय परिसरमा बिहीबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यो प्रतियोगिता सम्पन्न गर्न वैशाख २ गते र वैशाख ३ गते लगातार दुई दिन विद्यालय बन्द भएको छ । २०७७ साल चैत्र १९ र २० गते पनि मेयर कप सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक सुशीलकुमार बर्माले बताए । विद्यालयमा शैक्षिक आकर्षण राम्रो भएता पनि नियमित खेलकुद भइरहँदा विद्यार्थीलाई असहज भएको उनले बताए ।

विक्रम संवत् २०७४ सालमा टुनामेन्ट खेलाउन एक युथ क्लबले विद्यालयलाई पत्राचारसमेत नगरी जबरजस्ती विद्यालयमा प्रवेश गरेपछि विद्यालयले पुनरावेदनमा रिट हालेको थियो । त्यसपछि त्यस क्लबलाई निशेधाज्ञा भयो भने अन्यको लागि बिहान १० बजेदेखि ४ बजे बाहेकको समयमा मात्र खेलकुदका गतिविधि गर्न आग्रह गरिएको थियो । तर कुनै—कुनै खेल बिहानबाट सुरु गर्ने भनिए पनि खेल सकिँदासम्म १२ देखि १ समेत बज्ने भएको हुँदा विद्यालयको पठनपाठन सोचे अनुसार अगाडि बढ्न नसकेकोमा विद्यालयका प्रधानाध्यापक बर्माले दुःख व्यक्त गरे ।

एक वर्षमा एक महिना त खेलकै लागि भनेर विद्यालय बन्द गर्नु पर्ने स्थिति रहेको बताउँदै प्रधानाध्यापक बर्माले खेलकुद मैदानको विकल्प रोज्न पटक—पटक सरोकारवाला निकायलाई आग्रह गर्दासमेत अहिलेसम्म निकास ननिस्किएको बताए । यतिमात्र नभएर विद्यालयको वरिपरि लगाएको पर्खाल नाघेर समेत खेलाडीहरु खेल्न आउने, अनावश्यक होहल्ला गर्ने, रातिको समयमा पनि विद्यालयमा प्रवेश गरी शौचालय फोहोर गरिदिने, विद्यालयको फूल बगैंचा तोडमोड गर्ने जस्ता क्रियाकलापले विद्यार्थी पनि दिक्क भइसकेको प्रधानाध्यापक बर्माले बताए ।

उनका अनुसार करिब २ हजार विद्यार्थी अध्ययन गर्ने विद्यालयमा नेपालगन्ज उपमहानगरपालिका २३ वटै वडाका वडा स्तरीय कप, जिल्लाभरिका अन्तिम प्रतिस्पर्धात्मक खेल, अन्य राष्ट्रिय प्रतियोगितासमेत गर्नुले योजना अनुरुप शिक्षण सिकाइ क्रियाकलाप हुन नसकेको कुरा सम्पूर्ण सरोकारवालालाई विद्यालयले जानकारी गराइसकेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले यस समस्यालाई मध्यनजर गर्दै नेपालगन्जको फुलटेक्रास्थित कर्बलामा खेल मैदानको लागि पहल गर्ने कामका बीचमा यहाँ बनाउन नहुने भन्दै स्थानीयले मुद्दा हालेपछि काम रोकिएको बताउँदै अदालतको फैसलापछि त्यही बनाउने वा अन्त विकल्प खोज्ने गरी काम गर्ने मानसिकतामा रहेको बताए । उनले विद्यालयको पठनपाठनलाई असर नपर्ने गरी खेलकुदका गतिविधि सञ्चालन गर्न प्रयासरत रहेको बताए । पुरातात्विक स्थान भनेर स्थानीयले विरोध जनाएपछि कर्बलामा खेल मैदान बनाउने योजना अगाडि बढ्न नसकेको हो ।

खेलकुद विकास समिति बाँकेका कार्यालय प्रमुख सन्तोष श्रेष्ठले नेपालन्जस्थित रंगशालामा फुटबल खेलबाहेक अन्य एथलेक्टिकको खेलका लागि समस्या भएको बताए । उनले बाध्यतावश मंगल प्रसाद उच्च माध्यामिक विद्यालयमा खेलकुद गर्नुको विकल्प नभएको बताए । यसका लागि स्थानीय तहले छिटोभन्दा छिटो पहल थाल्नु पर्ने उनको सुझाव छ ।

कोरोनाले पढाइ प्रभावित गरेकाले अतिरिक्त कक्षा सञ्चालन गर्न खेलकुदका गतिविधिले गर्दा सम्भव नभएको विद्यालयको तर्क छ । स्कुल नजिकै रहेको रंगशालालाई प्रयोग गरी विद्यालयलाई खेलकुदको साझा थलो नबनाउन विद्यालयले आग्रह गरेको छ । नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षा प्रमुख गोरखबहादुर थापाले यो समस्यालाई छिट्टै समाधान गर्ने गरी काम भइरहेको बताए । उनले बिना काम विद्यालयमा प्रवेश गरी होहल्ला गर्ने र विद्यालयको अनुमतिबिना खेलकुदका क्रियाकलाप गर्नेलाई नियम अनुसार कारबाही गर्ने बताए । उनले सकेसम्म सार्वजनिक बिदाको दिन पारेर खेलकुदका गतिविधि सञ्चालन गर्न सबैलाई आग्रह गरे ।

विद्यालयले बर्खाको समयमा हुने बिदा तथा चाडपर्वको बेला हुने बिदामा अनुशासनपूर्वक खेलकुदका गतिविधि सञ्चालन गर्दा समस्या नहुने तर अन्य समयमा बिहान १० देखि ४ भनिए पनि प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्ने गरेको बताएको छ । यो समस्या समाधानका लागि विद्यालयले जिल्ला प्रशासन कार्यालयमा पटक—पटक डेलिगेशन जानुका साथै सम्पूर्ण सरोकारवाला निकायलाई ताकेता गरिसकेको छ ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech