मुख्य स्थानमै छैनन् सार्वजनिक शौचालय

मन भण्डारी

नेपालगन्ज/ बाँके जिल्ला करिव ३ वर्षअघि नै खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा भइसकेको भए पनि अहिलेसम्म जिल्लाका धेरै स्थानीय तह तथा मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय बनेका छैनन् । करोडौको रकम खर्च गरेर सबै स्थानीय तह हुँदै सिङ्गो जिल्ला नै तामझामका साथ खुला दिसामुक्त घोषणा गरिएको थियो । जिल्ला नै खुला दिसामुक्त क्षेत्र घोषणा भएको भए पनि जिल्लाका धेरै ठाउँमा सार्वजनिक शौचालय नहुँदा खुला दिसामुक्त घोषणा, घोषणाको नाममा घोषणा मात्रै भएको अभियन्ताहरु बताउँछन् । आवश्यक पूर्वाधार तयार नगरेरै हतारमा खुला दिसामुक्त जिल्ला घोषण गर्नुलाई औपचारिकता निभाउने काम भएको कतिपयको भनाइ छ ।

जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको डेढ वर्ष बित्नै लाग्दा समेत जिल्लाका धेरै क्षेत्र तथा मुख्य बजारमै सार्वजनिक शौचालय नहँुदा नागरिकलाई समस्या हुने गरेकोे छ । जिल्लाका ८ वटा स्थानीय तहहरु मध्ये धेरै स्थानीय तहमा एउटा पनि सार्वजनिक शौचालय छैनन् भने कतिपय स्थानीय तहमा सार्वजनिक शौचालय भए पनि प्राप्त छैनन् । जिल्लाका जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा एउटा पनि सार्वजनिक शौचालय छैनन् । पालिकाहरुको मुख्य बजार तथा नागरिकहरुको बढी भिडभाड हुने ठाउँहरुमा समेत सार्वजनिक शौचालय नहुँदा नागरिकलाई समस्या उत्पन्न हुने गरेको स्थानीयहरुको गुनासो छ । सार्वजनिक शौचालय मात्रै होइन कतिपय क्षेत्रका घरहरुमा समेत शौचालय छैनन् । जस्का कारण खुला दिसामुक्त क्षेत्रमा समेत खुला शौच गरेको पाइन्छ ।

जिल्लाको सदरमुकाम क्षेत्र नेपालगन्जसँगै जोडिएको जानकी गाउँपालिकामा एउटा पनि सार्वजनिक शौचालय नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले बताए । पालिकाभरिमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा समस्या उत्पन्न भएको छ,’ रानाले भने, ‘जनताहरुबाट सार्वजनिक शौचालयको माग आउने गरेको छ, हामीले शौचालय बनाउने योजना बनाएको भए पनि जग्गा नभेटिएपछि बनाउन सकिएको छैन । ६ वटा वडा भएको डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा पनि १ वटा पनि सार्वजनिक शौचालय बन्न सकेको छैन । ८ वटा वडा भएको खजुरा गाउँपालिकाको खजुरा बजारमा १ वटा सार्वजनिक शौचालय छ तर प्रयोगविहीन छ । खजुरा गाउँपालिकाका योजना शाखा प्रमुख दिल बहादुर पौडेलले पालिका क्षेत्र भरिमा खजुरा बजारमा १ वटा ४ कोठे शौचालय भएको बताए । सार्वजनिक शौचालय छ तर खुला ठाउँमा व्यवस्थित नहुँदा प्रयोगमा समस्या आएको छ’ पौडेलले भने । बजार क्षेत्रमा सार्वजनिक सौचालयको आवश्यकता भए पनि जग्गाको अभावले गर्दा बनाउन नसकिएको पौडेलले असल शासनलाई बताए ।

त्यसैगरी कोहलपुर नगरपालिकाको बसपार्क क्षेत्र र चपरगौडीमा सार्वजनिक शौचालय भए पनि मुख्य बजार क्षेत्रमा भने सार्वजनिक शौचालय छैन । चारैतिर मान्छेहरुको आवत जावत हुने मुख्य पोइन्टको रुपमा रहेको कोहलपुर बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा बाहिरबाट आउने मानिसलाई शौच गर्न समस्या भएको स्थानीयहरु बताउँछन् । जिल्लाको मात्रै नभएर पश्चिम क्षेत्रकै प्रमुख शहरको रुपमा रहेको नेपालगन्ज उप–महानगरपालिकाको विभिन्न क्षेत्रमा गरी १३ वटा सार्वजनिक शौचालय निर्माण भएको भए पनि मुख्य बजार तथा चोकहरूमा सार्वजनिक शौचालयको अभाव कायमै छ । ग्राहक तथा यात्रुहरुको बढी भिडभाड हुने मुख्य बजार तथा चोकमा सार्वजनिक शौचालय नहुँदा समस्या उत्पन्न हुने गरेको स्थानीयहरु बताउँछन् । नेपालगन्ज सहरभित्र रहेका १३ वटा सार्वजनिक शौचालयहरु पनि सबै चालु अवस्थामा छैनन् ।

नेपालगन्जको सार्वजनिक शौचालयको अभाव तथा आवश्यक्तालाई पूर्ति गर्न एसियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले ५९ लाख बराबरको लगानीमा ४ वटा घुम्ती शौचालय खरिद गरी संचालनमा ल्याएको थियो । तर अहिले ती घुम्ती शौचालय पनि सबै प्रयोगमा छैनन् । नेपालगन्जमा सार्वजनिक शौचालयको अभावलाइ पूर्ति गर्न विभिन्न क्षेत्रमा सार्वजनिक शौचालय निर्माण भइरहेको उपमहानगरपालिकाले जनाएको छ । राप्ती सोनारी गाउँपालिकाको राजमार्ग क्षेत्रको अगैवा बजार र शम्शेरगन्ज बजारमा सार्वजनिक शौचालय छ तर अन्य क्षेत्रमा शौचालय बनेको पाइँदैन ।

स्थानीय तहको निर्वाचनपछि धेरै अधिकार स्थानीय तहहरुमा आए पनि मुख्य समस्याको रुपमा रहेको सार्वजनिक शौचालय निर्माणमा स्थानीय सरकारको ध्यान जान सकेको छैन । कतिपय स्थानीय तहहरुले सार्वजनिक शौचालयको लागि बजेट विनियोजन गरेको भए पनि जग्गा नभेटिएपछि निर्माण गर्न नसकिएको बताएका छन् ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech