नरभक्षी बाघ नभेटिएपछि प्राविधिक टोली फिर्ता

मन भण्डारी

पछिल्लो समय बाँकेको राप्ती सोनारी गाउँपालिका क्षेत्रका नागरिकहरु बाघ आतंकबाट पीडित छन् । केही समयको अनन्तरालमा राप्ती सोनारी गाउँपालिकामा ३ जना र नरैनापुर गाउँपालिकामा १ जना गरी ४ जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाघ आतंक बढेपछि निकुञ्ज, जंगल आसपास र जंगल नजिकका गाउँमा त्रास बढेको छ ।

राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतंक मच्चाइरहेको नरभक्षी बाघ नियन्त्रणमा लिन चितवनको सौराहबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली आएको थियो । बाघ नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली जंगलमै बसेर खोजी गर्दासमेत बाघ फेला पर्न सकेन । फत्तेपुरस्थित मानव बस्तीदेखि करिब पाँच किलोमिटरभित्र जंगलमा बाघको हालसालको पाइला फेला परे पनि बाघ भने अझै फेला नपरेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काले बताए । एक हप्ता प्राविधिक टोली बाघको खोजीमा लागेको बताउँदै बाघ देखिन छोडेपछि मंगलबार प्राविधिक टोली फिर्ता गएको खड्काको भनाइ छ । ‘अहिले बाघ देखिन छोडेको छ,’ खड्काले भने,‘फेरि सो समस्या दोहारिएको खण्डमा अर्को प्राविधिक टोली बोलाउने गरी टोलीलाई बिदाइ गरेका छौँ ।’

बाँके राष्ट्रिय निकुञ्जका दुईवटा हात्तीसहित मान्छे खाने बाघ नियन्त्रणको लागि भन्दै केही दिनदेखि विशेष टोली खटिएको थियो । टोलीले सम्भावित स्थानमा आहारा स्वरुप (भैंसीको पाडो) लगेर राखेका थिए । तर पनि बाघ भेटिएन । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी खड्काले सो स्थानमा बाघ नआएको बताउँदै अन्य क्षेत्र सरेको हुन सक्ने बताए । बाघ नियन्त्रणका लागि फत्तेपुरको महेमानपुरस्थित सवडिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको थियो । बाघ नियन्त्रण टोलीमा डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समूह, प्रहरी, नेपाली सेनालगायत परिचालित थिए ।

बाघलाई नियन्त्रणमा लिनेबित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’मा राखेर व्यवस्थापन गरिने गरी तयारी गरिए पनि बाघ फेला नपरेपछि त्याहाँका नागरिक झन त्रसित भएका छन् । बाघको त्रासका कारण सो क्षेत्रका अधिकांश नागरिक घरबाट बाहिर निस्कन समेत डराइरहेका छन् । उनीहरु बेलुका ५ बज्नेबित्तिकै आँगनमा आगो बालेर घरमा चुकुल लगाएर बस्ने गरेको र दिसा पिसाब गर्न समेत बाहिर ननिस्कने गरेको वडा नम्बर ७ बस्ने बिनकलाल थारुले बताए ।

राप्ती सोनारी गाउँपालिका क्षेत्र बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथि आक्रमण गर्ने बाघ फरकफरक रहेको अनुमान गरिएको छ । निकुञ्ज आसपासको सामुदायिक वनमा घाँस–दाउरा गर्न गएका मानिसलाई आक्रमण गरेको छ । बाघले लगातार आक्रमण गरिरहेपछि हिंस्रक बाघलाई नियन्त्रणमा लिनु ठूलो दबाब परेको छ । बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ रहेको बताइन्छ । पछिल्लो समय बाघ बढेको सम्बद्धहरु बताउँछन् । अहिले बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना भइरहेको छ । बाघले पटक–पटक आक्रमण गरिरहेपछि निकुञ्जमा पर्ने सडक र जंगलमा साइकल, मोटरसाइकलमा सवार गर्न छोडिएको छ ।

बाघ नियन्त्रण गर्न चार बुँदे माग
बाघले स्थानीयलाई दुख दिइरहेको भन्दै राप्ती सोनारीका राजनैतिक दल तथा सरोकारवालाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ का सम्पूर्ण जनतालाई आतंकित र त्रसित बनाएको नरभक्षी बाघलाई तत्काल नियन्त्रणमा लिई जन जीवनलाई सहज बनाउन चार बुँदे मागसहित जिल्ला प्रशासन कार्यालयलगायत सम्पूर्ण सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण पत्रमा अभिलम्ब नरभक्षी बाघलाई नियन्त्रणमा लिइनुपर्ने, बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनु पर्ने, त्रसिद मानव जीवनलाई तत्काल सहजताको अनुभूति दिलाउनु पर्ने र जिपिएस प्रणालीबाट बाघको निगरानी राखी सर्वसाधारणका लागि सूचना केन्द्र स्थापना गर्नु पर्ने उल्लेख छ ।

तस्बिर सौजन्यः गणेश खड्का, डिभिजन वन कार्यालय बाँके

  • ५ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech