क्षणिक सम्पर्क बिच्छेदले अत्तालिएको मन 

लुना बुढाथोकी

(यात्रा संस्मरण)

कुरा २०७६ जेठ २७ को हो । बिहानको समय भएकाले आमा, म र अनु (बहिनी) घरमा थियौं । म कपडा धुदै थिएँ । आमा र अनु भान्साको काममा व्यस्त थिए । मैले कपडा धुने ठाउँ र भान्सा आम्ने साम्ने थियो । तीन आमा छोरी काम गर्दै गफ गर्दै थियौं । बुवा–आमाको केही दिन अगाडिदेखि नै भारतका केही पर्यटकीय स्थलहरुमा घुम्न जाने कि भन्ने कुरा चलिरहेको थियो तर आमाको मन भने त्यहाँ घुम्न जाने थिएन । मेरो जेठो दिदी भर्खरै एउटा सहकारीको भ्रमणको क्रममा जुम्ला हुँदै मुगुको रारा तालसम्म पुगेर आएकाले त्यहाँको रमणीय ठाउँको बारेमा घरमा चर्चा चलिरहेको थियो । त्यसैले पनी घरमा केही दिनदेखि घुमघामको वातावरण बनिरहेको थियो ।

१ महिना अघि म बासको कार्यक्रममा रारा गएर आएको थिएँ । त्यतिबेला नै मेरो मनमा एक किसिमको रहर जागिसकेको थियो की बुवा–आमालाई समय मिलाएर जुम्ला, मुगु घुमाउनु पर्छ । मेरो राम्रो बानी होे कि नराम्रो बानी, कतिपय कुराको निर्णय तुरुन्तै लिइहाल्छु । म जुम्ला नगएकाले त्यहाँको कुरा दिदीले सुनाइरहँदा एकदमै जाने इच्छा जागेर आयो । गफगाफकै सिलसिलामा आमालाई हाँस्दै मजाकमा भने, आमा कि जाने हो त जुम्ला ? आमा हाँस्दै भन्नुभयो कहिले ? मैले भने, के कहिले ? प्लेनको कुरा बुझांै, मिल्यो भने २, ३ दिनमा गइहालौँला नि । यति भनेपछि मैले टुर्स एण्ड टार्भल्समा बुझें । उताबाट कुरा आयो आजै ११ः३० मा छ, कि भने ४ दिन पछि छ भनेपछि एकछिनमा कन्फर्म गर्छु भनेर फोन राखे । अनि सोचे, असारको महिना अलि व्यस्तता पनि हुन्छ यही समय भए २, ४ दिन घुमेर आउन सजिलो हुने थियो । आमालाई फेरि भने आमा जाउँ आजै, आमा छक्क पर्नुभो अनि भन्नुभो लौ कसरी हुन्छ तुरुन्तै ? बुवा नि घरमा हुनुहुन्न, बुवा के भन्नुहुन्छ सल्लाह गर्नुप¥यो, हाम्रो नि लत्ता कपडा केही तयार छैन, पछि जाँउला । त्यतिकै मा बहिनी अनुले नि भनिन्, घुम्न जान नै छ भने त अहिले नै जानु, पछि त के हो के ? अनि मलाई पनि सजिलो भयो र मैले भने, पछि भनेको पछि नै हुन्छ भर्खर ८ बजेको छ अझै हामीसँग साढे ३ घण्टा बाँकी छ, के तयार गर्नुछ र कपडा प्याक गर्ने अनि जाने, यति भनेर बुवा पिपिरीमा वनको बैठकमा गएको भन्ने थाहा भएकाले भाइलाई फोन गरेर लिन पठाएँ । म भने केही किनमेल गर्न बजार गए । यता दिला मेडमलाई एक्कासि भएको पारिवारिक जुम्ला भ्रमणको योजना र यदि हजुर पनि सँगै गए जुम्ला शाखा भेटघाट तथा पुनर्गठनसमेत गर्ने कुरा शेयर गर्दा उहाँ पनि उत्साहित भएर तुरुन्तै जान तयार हुनुभो ।

करिब ९ बजे तिर बुवा घर आइपुग्दा जुम्ला जाने कुराले अक्क न बक्क हुनुभो तै पनि मैले २, ४ दिनको कुरा न हो बुवा भनेपछि तयार हुनुभो । तुरुन्तै ४ जनाको टिकट लिएर विमानस्थल जानको लागि तयार भयौं । ११ः३० को एअरपोर्ट समय भएकाले हामी समयमै पुग्यौं । उता जुम्ला मामा (देव बहादुर शाही) लाई फोन गरेर हामी आउँदै गरेको जानकारी दिइसकेका थियौं । यता नेपालगन्जबाट दिला मेडम पनि समयमै पुग्नुभो । समयमै बोडिङ पास गरेर प्रतीक्षा कक्षमा पुगेका हामी एयरलायन्सको प्राविधिक कारणले उडान डिले भएको सूचना प्रवाह भयो । दिनभरि विमानस्थलमा बस्दा मनमा धेरै कुराहरु खेलेका थिए । एकातिर बुवा–आमासँग पहिलोपटक घुम्न जाने तीव्र आकांक्षा पूरा हुँदै थियो भने अर्कोतिर हतार–हतार विमानस्थल पुगेका हामी यतिका समय पर्खेर उडान स्थगित हुने हो कि भन्ने डरले पिरोलिरहेको थियो ।
जसोतसो दिउँसोको ४ बजे उडान भयो र हामी ४ः३० मा जुम्ला विमानस्थलमा अवतरण भयौं । उता मामा विमानस्थलमा आएर हामीलाई रिसिभ गर्न पर्खिरहनु भएको रहेछ । जेठको महिना, त्यसै माथि बाँकेको ठाउँ र गर्मीले अत्तालिएका हामी जुम्लाको विमानस्थलमा अवतरण हुने बित्तिकै त्यहाँको शितलताले कैयन दिनदेखि हामीलाई नै पर्खेर अँगालो मारेको अनुभूति भयो । विमानस्थलबाट झोला निकालेर गेट बाहिर गएर प्रतीक्षालयमा बसी त्यहाँबाट देखिने रमणीय प्राकृतिक सुन्दरतालाई नियाल्यौ । त्यहाँबाट केहीबेरमा मामासहित हामी सबै मामाको घरमा गयौं । घरमा पुग्दा माइजूले खाजा तयार गरिसक्नुभएको रहेछ । मिठो खाजा खाएर गफगाफमा लाग्यौं । मार्सी चामलको भात र लोकल कुखुराको झोलको स्वादसँगै साँझको खाना सबैले खाइसकेपछि एकछिन गफ गरेर सुत्यौं ।

२८ गते बिहानै तातोपानी (धार्मिक र पर्यटकीय स्थल) घुम्ने योजनासहित अटो रिर्जभ गरेर त्यता तिर लाग्यौं । बाटैभरि देखिने रमणीय पहाडहरु र तिला नदीको काखबाटै अटोमा हुइकिँदै नदीको सुन्दरता नियाल्दै तातोपानी पुग्यौं । तातोपानी एउटा त्यस्तो विशेषता बोकेको धार्मिकस्थल हो जहाँ जुम्ला जस्तो चिसो (जहाँ –१० डिग्री सेल्सियस तापक्रम हुन्छ) ठाउँमा पनि त्यहाँको कुण्डमा डुबुल्की मार्दा शरीर नै पोल्ने र लामो समयसम्म पानीमा बस्न नसक्ने अवस्था रहेछ । तातोपानीमा एक घण्टासम्म स्नान गर्दा शरीरमा भएका रोगहरु निर्मूल हुन्छ भन्ने किंवदन्ती रहेछ । स्नान गरिसकेपछि त्यहाँबाट तल झरेर तिला नदीको किनारमा फोटो खिच्दै रमायौं ।

 

बास नेपालका जुम्ला शाखा अध्यक्षलाई त्यहीँ भेट्ने सल्लाह अनुरुप भेटघाट भयो । शाखाका अन्य पदाधिकारीहरुसँग भेटघाट र शाखा पुनर्गठन अर्को दिन अर्थात २९ गते गर्ने कुराको मौखिक निर्णय गर्दै हामी त्यहाँ बाट फर्कियौं । जाँदा देखिएका रमणीय ठाउँहरुमा विभिन्न पोज दिँदै बजार पुगेको पत्तै भएन । करिब १२ बजेतिर घर पुगेर खाना खाइसकेपछि एकैछिन गफगाफ हुँदै थियो । मैले शाखाको सचिवलाई फोन गरेर भेट्ने कुरा गरें । १ बजे हाम्रो भेट भयो र बेलुका ६ बजे शाखाका अरु साथीहरुसँग भेट्ने कुरा भएर हामी छुट्टियौं । सोही दिन संस्थागत विद्यालयका प्राचार्य रतन बहादुर शाही सरले त्यहाँ विद्यालयका शिक्षक÷शिक्षिकासँग बाल मनोविज्ञान तथा उत्प्रेरणात्मक तालिमका लागि २ घण्टाको समय मिलाउन आग्रह गर्नुभएकोले म र दिला मेडम विद्यालयमा गयौं । उता बुवा–आमा र मामा–माइजू भएर मामाको गाउँको घर र स्याउ बगैंचा घुम्न निस्किनु भएछ । हामी विद्यालयको गेटभित्र पस्ने बित्तिकै रतन सर लगायत बालविकासका साना नानीहरु दुई लाइनमा भएर विभिन्न रंगका फूलहरु हातमा लिएर स्वागतका लागि बसिरहेका रहेछन् । स्वागत पश्चात् त्यो वातावरणले प्रफुल्लित भएका हामी करिब १० मिनेट जति प्राचार्य कक्षमा साक्षात्कार गरेर तालिम कक्षमा गयौं । तालिम कक्षमा पुग्ना साथ पुनः शिक्षक÷शिक्षिकाद्वारा गरिएको स्वागत तथा सम्मानका लागि हामीसँग वर्णन गर्ने कुनै शब्द छैन । करिब २ घण्टाको समय बितेको पत्तै भएन । कक्षा सकेर छोटो समयमै यति धेरै उच्च व्यवस्थापनको लागि रतन सर लगायत सम्पूर्ण टिमलाई धन्यबाद दिँदै त्यहाँबाट रतन सर र हामी दुईसँगै बजार निस्कियौं । खाजा खाए पश्चात् बासका साथीहरुसँग भेट्नु पर्ने भएकाले हामी छुट्टियौ र बासका साथीहरु भएको ठाउँ पुग्यौं । करिब १ घण्टाको छलफल पछि अर्को दिनको कार्यक्रमको समय तय गर्दै सबै घरतिर लाग्यौं । साँझको घरको खानापछि दिला मेडम, बुवा र मामा बीचको लाइभ दोहोरीमा सबैले रमाइलो ग¥यौं र सुत्यौं ।

२९ गते बिहान बुवा–आमा मुगुको रारा घुम्न जाने योजना भएपछि छोटो बाटो भएर मुगु छिटो पुगिने मामाको सल्लाह बमोजिम ८ बजेतिर गाडी चढ्ने योजना बन्यो । यता म र दिला मेडम नजाने भएकाले आमाको मन खासै जाने थिएन । बुवाको करले आमा जान तयार हुनुभयो । बुवा–आमा गाडी चढ्दै गर्दा आमाको इच्छा नभएकाले होला कता कता मेरो मन भारी भएको थियो । उहाँहरु गाडी चढेपछि हामी दुई कर्णाली प्राविधिक शिक्षालय (केटिएस) र बौद्ध गुम्बा घुम्न जाने योजना अनुसार भाइ सुनिललाई साथमा लिएर घुम्न निस्कियौं । फर्केर आएपछि बिहानी खाना खायौं । अघिल्लो दिनको योजना अनुसार शाखाको पुनर्गठन ग¥यौं । त्यो दिन उडान भएको भए हामी नेपालगन्ज फर्किने योजनामा थियौं तर विडम्बना तारा एयरको उडान स्थगन भएकाले हामी त्यही रोकियौं । त्यसपछि माइजू र दिला मेडम मज्जाले सुत्नुभयो भने म दिउँसो सुत्ने बानी नभएकाले साथीहरुलाई फोन गर्दै बसें । उता बुवाको मोबाइल स्विच अफ् भएकाले कुरा हुन सकिरहेको थिएन । केही बेरमा उहाँहरु निन्द्राबाट ब्यँुझेपछि बजार निस्केर काक्रा र तरभुजा किनेर ल्याएर घर आयौं र सँगै खायौं । बुवा–आमासँग सम्पर्क हुन नसकेकाले र पहाडी बाटोको यात्रा भएकाले पनि होला सायद मनमा अनेक कुराहरु खेल्न थाले । साँझ पर्दै जाँदा मेरो टाउको एकदमै दुख्न थाल्यो । दिला मेडमले मेरो टाउको मालिस गर्दै माइजूले खाना पकाउँदै सँगै गफ गर्दै थिए भने मेरो ध्यान बुवा–आमातिर थियो ।

मुगुको ताल्चा विमानस्थल नजिक पुगेपछि गाडीमा भेट्टिएका रारा घुम्न निस्किएका पर्यटक लक्ष्मण नाम गरेका व्यक्तिको मोबाइलबाट करिब ३ बजेतिर एक कल फोन गरेर बुवाले हामी ताल्चा पुग्यौं, मेरो मोबाइल स्विच अफ् भएको जानकारी गराउनु भयो । बुवासँगको छोटो संवाद पश्चात् त्यो दिन र रातभरि बुवा–आमासँग कुरा हुन सकेन । रातिको समय त्यहीँ बस्ने कि रारा जाने कुराको टुङ्गो नभएपछि मेरो मन आत्तिरहेको थियो । पहिले कुरा भएको लक्ष्मणजीको मोबाइलमा ७ बजेतिर फोन गर्दा बुवाहरु रारामा घुमेर, फोटोसुट गरेर फर्किसकेको खबर प्राप्त भयो । त्यो खबरले झनै चिन्तित बनायो किनकि समयले कोल्टो फेरिसकेको थियो, रातिको समयमा त्यहाँ न सवारी साधन पाइन्छन्, न त बास बस्ने राम्रो होटल नै । मनमा अनेकौ कुरा खेलिरहे, आमाले पहाडको उकाली–ओराली नगरेको झण्डै १८–२० वर्ष जति भइसकेको थियो । त्यो मुगुको चिसो, ंगङ्गलको बाटो अनि हातमा झोला बोकेर कति थकित हुँदै हिँडिरहनु भएको होला भन्ने पिरले म निदाउँनै सकिन । यता हाम्रो नेपालगन्जको उडान स्थगन हुनु र उता बुवा–आमा सम्पर्कविहीन हुनुको पीडाले बुवा–आमालाई एक्लै पठाएकोमा मलाई साह्रै पश्चाताप भइरहेको थियो । हामी सानो छँदा कति कुराको भय, डरबाट बचाउँदै जवान बनाइसकेपछि ती छोराछोरीलाई बुवा–आमाको अप्ठ्यारोमा साह्रै याद आउँदो रहेछ अनि आफ्नो उहाँहरु प्रतिको जिम्मेवारी महसुस हुँदोरहेछ । यस्तै यस्तै कुरा मनमा खेल्दै रातिको १ बजिसकेको थियो, पछि कतिबेला सुतिएछ, पत्तै भएन । त्यो दिनको कहाली लाग्दो अवस्था सम्झेर अहिले पनि मन झसङ्ग भइरहन्छ ।

३० गते बिहानै म उठ्दा अरु सबै जना सुतिरहनु भएको थियो । म भने उठ्ने बित्तिकै मनमा अनेक कुरा खेलाउँदै बुवाको मोबाइलमा फोन लगाउन थालें तर स्विच अफ् नै भनिरह्यो । म एक्कासि भक्कानिए, सो थाहा पाएरसँगै सुतिरहेकी दिला मेडम उठ्नुभयो र सम्झाउँदै भन्नुभयो, मेडम नआत्तिनु, आज पनि सम्पर्क हुन सकेन भने बजार निस्किसक्नु भएका मामालाई बोलाएर सल्लाह गरेर हामी नै मुगु जाउँला । म रोइराखेको देखेर उहाँ पनि सँगै रुनु भयो । मलाई तल झरेर फ्रेस हुने जाँगर नै चलेन । बिहान दिला मेडम ब्यँुझेदेखि नै उहाँले बुवालाई फोन सम्पर्कका लागि प्रयास गरिरहनु भएको थियो । मामा आएपछि ८, ९ बजे सम्म फोन नआए म आफैं जान्छु भन्नु भएको थियो । उता मामाले मुगुमै भएका आफ्ना भदैलाई सम्पर्क गरेर रारादेखि ताल्चा सडकमा आवत–जावत गर्ने मान्छेहरुसँग बुझ्नु भनिरहनु भएको थियो । म शिथिल भएर बसिरहेको थिँए । कोहलपुर घरमा फोनमा कुरा गर्ने सामाथ्र्य थिएन मसँग । यता दिला मेडम बुवाको मोबाइलमा निरन्तर फोन सम्पर्क गरिरहँदा एक्कासि करिब ८ः३० बजे हुँदो हो, बुवाको हेलो शब्द सुनेर हामी सबै झसङ्ग भयौं । दिला मेडम र मामासँग बुवाको कुरा हुँदै जाँदा अघिल्लो दिनदेखि शिथिल भएको मेरो शरीर एक्कासि कसरी सक्रिय भयो, पत्तै भएन । मैले उहाहरुसँग कुरै गर्न सकिनँ । दिला मेडम र मामाले मेरो सबै बृतान्त बुवालाई फेरिहस्त गरिसक्नु भएको रहेछ । आमाले दिला मेडमसँग लुना किन पिर गर्छे त ? हामी ताल्चा विमानस्थल आइसक्यौं, त्यस्तो आत्तिनु पर्ने केही छैन भन्नुभएछ । बुवालाई त्यहीबाट टिकटको कन्फर्म गरेर नेपालगन्ज घर फर्किने कुरा भयो । हामी नि यता चाडैँ खाना खाएर पहाडी भेगको उडान स्थगनको कुनै भर नहुने भएकाले विमानस्थल तिर लाग्यौं । संयोगले बुवा–आमाको जहाजको उडान र हाम्रो जहाजको उडान करिब आधा घण्टाको फरकले मात्र हामी नेपालगन्ज विमानस्थल अवतरण भयौं । बुवा–आमाको आगमन आधा घण्टा अगाडि भएकोले हामीलाई पर्खिरहनु भएको थियो । भेटपछि खुशीको कुनै सीमा नै रहेन । केही समय चिया पिउँदै बुवाको मुगु रारा यात्रा संस्मरण सुन्यांै र रमायौं । तर अघिल्लो दिनको अवस्था सम्झें, आफू जुम्लामा बुवा–आमासँग फोन सम्पर्क नहुँदा रोइबसेको अवस्था थियो भने उहाँहरुको राराको तिरमा विभिन्न पोजका तस्बिरहरुमा रमाई रहनु भएको रहेछ । अनि हामी आफ्नो घर कोहलपुरतिर लाग्यौं भने दिला मेडम नेपालगन्ज घरतिर लाग्नु भयो ।

अन्त्यमा जुम्ला यात्रा एकातिर साह्रै उत्साह, रोमाञ्चक, पीडा र अनुभवले सङ्गालिएको कथा जस्तै महसुस भयो भने अर्कोतिर शारीरिक रुपमा अस्वस्थ भन्दा मानसिक रुपमा अस्वस्थ भएको मान्छे कैयन गुणा विक्षिप्त र कमजोर हुँदो रहेछ भन्ने कुराको राम्रै हेक्का भयो ।
तथास्तु ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech