प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनः कर्मचारी निष्पक्षतामा शंका

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेमा स्थानीय तह निर्वाचन– २०७९ को पर्यबेक्षण गरेका संस्थाहरुले जिल्लामा समग्र निर्वाचन व्यवस्थापन फितलो भएको निष्कर्ष निकालेका छन् । बाँके जिल्लाका आठ वटै पालिकामा निर्वाचन पर्यबेक्षण समिति (नियोक) र बास नेपालका पर्यवेक्षकहरुले पर्यबेक्षणपछि विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपमा निर्वाचन भएपनि व्यवस्थापकीय पक्ष फितलो भएको निष्कर्ष निकालेका हुन् ।

कानुन व्यवसायी, अधिकारकर्मी सहितको टोलीले पर्यवेक्षणपछि ‘केही मतदान केन्द्रहरुमा खटिएका निर्वाचन सम्बद्ध कर्मचारीहरु स्थानीय कर्मचारी रहँदा निर्वाचनको निष्पक्षतामा समस्या रहेको’ भन्दै गम्भीर शंका उत्पन्न पनि गरेको छ ।
‘केही मतदान केन्द्रमा झड्प र विवाद भएता पनि समग्रतामा मतदान शान्तिपूर्ण रह्यो,’ नौ जना प्रतिनिधि सम्मिलित नियोग नेतृत्वको पर्यवेक्षणले विभिन्न १४ बूँदे अवस्था सार्वजनिक गर्दै भनेको छ, ‘मतदान स्थल अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई सास्ती भएको पाइयो ।’

भौतिकरुपमा पहुँचयुक्त नभएपछि व्हिल चियर प्रयोगकर्ताहरु असहज रुपमा मतदान गर्न बाध्य भएको अवस्था औल्याउँदै विज्ञप्तिमा नेपालगन्ज– २० को आदर्श मा.बि. मा रहेको मतदान केन्द्रमा घिस्रेर फागुराम चौधरी, कलसा बि.क. र लालमती सुनार लगायतले मतदान गरेको पर्यवेक्षणको क्रममा पाइएको प्रष्ट पारिएको छ । आदर्श माविको घटनालाई लिएर चौतर्फी आलोचना पनि गरिएको छ ।
सम्पूर्ण मतदान स्थलहरुको व्यवस्थापन गर्दा गर्मी मौसम ख्याल गरि आवश्यक व्यवस्था नगर्दा कर्मचारी मतदाताहरुलाई असहज भएको, मतदान स्थलको लाइन व्यवस्थित भएता पनि बाहिरको लाइन अस्त,व्यस्त रहेको, केही मतदान केन्द्रहरुमा खानेपानी, शौचालय बाहिर, भित्र जाने बाटोको व्यवस्थापनले उचित रूपमा नभएको पर्यवेक्षणमा पाइएको उल्लेख छ ।

मतदाताहरुको मोबाइल झोला लगायतका सामाग्रीहरु राख्ने उचित व्यवस्था नभएको विषय उठाएको नियोकले मतदाता परिचयपत्र भएको क्रम संख्या र मतदान केन्द्रमा रहेको मतदाता नामावलीको क्रम संख्यामा फरक देखिने समस्या रहेकाले मतदान गर्न मतदातालाई असहज भएको जनाएको छ ।

पर्यवेक्षणका क्रममा निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना नभएको पाइएको उल्लेख गर्दै विज्ञप्तिमा नियोकले सवारी साधन अनुमति नलिएका केही सवारी साधनहरु निर्वाध रुपमा चलेको जनाएको छ ।
म्यादी प्रहरीको व्यवहार मतदातामैत्री नभएको टिप्पणी गरिएको छ । ‘सुत्केरी महिला, गर्भवती महिला, जेष्ठ नागरिक, अशक्त व्यक्तिहरुको लागि मतदानका लागि सहज बाताबरण नभएको’ भन्दै नियोकले आपतकालीन व्यवस्था (एम्बुलेन्स, हेल्थ डेस्क) कुनैपनि मतदान केन्द्रमा नभएको औल्याएको छ ।

विज्ञप्तिमा पर्यवेक्षकहरुको तर्फबाट नियोकका पूर्व अध्यक्ष, अधिवक्ता लोक बहादुर शाह, गैसस महासंघ बाँकेका अध्यक्षसमेत रहेका नियोकका अध्यक्ष नमस्कार शाह, उपाध्यक्ष देबिदत्त आचार्य, सीता बोहरा, अधिकाकर्मी रबिन्द्र कर्ण, बासका पूर्व अध्यक्ष रमेश सिटौला, प्रदेश संयोजक खेम विष्ट, डेक नेपालका प्रवन्धक जीवन गिरि, कार्यक्रम संयोजक गणेश पाण्डे लगायतले पर्यवेक्षणपछि हस्ताक्षर गरेका हुन् ।

  • १ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech