पिठ्युमा बोत्तलको भारी

अनुहारमा मन्दमुस्कान, मनमा दुःखको भारी

सृजना ऐडी

डडेल्धुरा/ डडेल्धुराको अमरगढी नगरपालिका –७ की सपना बि.क अहिले १६ बर्षकी भईन् । उनको परिवारमा ८ जना     छन् । जसमध्ये उनी माईली छोरी हुन् । उनको दुईवटा आमा छन् । उनी पहिलो पट्टीकि आमाको छोरी हुन् ।

उनको पारिवारिक अवस्था निकै कमजोर रहेको छ । उनको आमाको मानसिक अवस्था समेत ठीक छैन । बुवाले अर्को बिवाह गरेपछि उनीहरूलाई साँझ बिहानको छाक टार्न समेत निकै समस्या प¥यो । बुवाले दोस्रो बिवाह गर्ने बेला उनी १० बर्षकी थिईन् । ३ कक्षामा पढ्दा पढ्दै बिद्यालय छोड्न बाध्य भईन् उनी ।

पारिवारिक अवस्था धान्नै नसक्ने भएकाले उनले घरबाट टाढिएर काम गर्नु पर्यो । उनी अहिले डडेल्धुरा सदरमुकाममा सिसा तथा बोत्तलहरु उठाउने काम गर्छिन् । सिसा, कवाड, खालि बोत्तल उठाउन उनी बिहान ६ बजे देखि साँझ ९ बजे सम्म काममा लाग्छिन् ।

यति काम गर्दा पनि महिनाको पाँच हजार मात्र आउने गरेको र त्यहि आम्दानीबाट अलि अलि जम्मा गरी घरमा पठाउने गरेको उनी बताउँछिन् । पढ्ने रहर हुँदा हुँदै पनि बाध्यताले गर्दा काममा नै दैनिकी बिताउनु परेको दुःखेसो उनी पोख्छिन् ।

अहिले यो काम गर्दा पनि विभिन्न किसिमका अप्ठ्याराहरू भोग्नु पर्ने उनको भनाई छ । अहिले किशोरावस्थामा रहेकाले पनि काम गर्न निकै चुनौती खेप्नु परेको उनले बताईन् ।

महिनावारी भएको बेलामा निकै अप्ठ्यारो हुन्छ । तर पनि दिनभरि भारि बोक्नु पर्छ –उनी भन्छिन् । मलाई धेरै समस्या छ । काम गर्दै जाँदा मान्छेहरूले विभिन्न किसिमका प्रलोभन देखाउने गर्छन् । जिस्काउने, नराम्रो शब्दहरू बोल्ने गर्छन् तर पनि आफुलाई बचाई बचाई काम गर्नु पर्ने बाध्यता रहेको उनले सुनाईन् ।

‘काम नगर्ने हो भने घरपरिवारको खर्च चलाउन सकिन्न, बाध्य भएर पनि काम गर्नु नै पर्छ’ उनी भन्छिन् –मान्छेहरू धेरै आउँछन डाटा टिपेर जान्छन् । सहयोग गर्छु भन्छन् तर त्यस्तो भन्ने मान्छेहरू अहिलेसम्म कहिले पनि फर्केनन् ।

आफुले अध्ययनलाई अघि बढाउन नसके पनि आफ्नो भाईलाई पढाएर ठुलो मान्छे बनाउने ईच्छा छ उनको । आँखा भरी आशु पार्दै भनिन्, ‘मेरो भाईलाई पढाएर ठुलो मान्छे बनाउने सपना पूरा हुन्छ, हुँदैन थाहा छैन ।’ कलिला हात, कापी कलम समातेर बिद्यालय जाने उमेरमा उनले बालश्रम गर्नु पर्ने बाध्यता रहेको छ । नेपालमा बालश्रम न्यूनीकरणका लागि विभिन्न ऐन नियम बनेका छन् ।

बालश्रम शोषण गर्ने र गराउने माथि कारबाही हुन थालेको छ । तरपनि, बाल श्रमिकहरु खुलेर बाहिर आउन सकेका छैनन् । यस तर्फ सरकार को ध्यान कहिले जाने ?

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech