कलावतीको संघर्ष – रित्तो घर, रित्तो मन

जब छोरी जन्मिईन्, उनले नाता तोडेर गए

गंगा भण्डारी

कैलाली/४६ वर्षिया कलापति चौधरी धनगढी उपमहानगरपालिका वडा नम्बर ९ की स्थानीय बासिन्दा हुन् । उनी घरकी कान्छि बुहारी हुन् । उनको श्रीमानका चार दाजुभाई छन् ।

चार जना दाजुभाईहरुका एकै ठाउँमा लस्करै चार घरहरु छन् । तीन दाजुभाईको घरमा घर भरि परिवार छन् । छोराबुहारी, नाती नतिना छन् । तर उनको घरमा भने उनी र घरका भित्ताहरु मात्रै छन् । उनीसंग बोल्ने कोहि छैन । छ त केवल रित्तो घर र उनको रित्तो मन । उनका कोहि नभएका भने होईनन् । श्रीमान, छोरी ज्वाईं, नाती नतिना सबै छन् । तर केवल संख्यामा मात्र सिमित ।

उनका चार छोरी, छोरी मात्रै छन् । छोरा पाउने सपनामा उनले ४ छोरी जन्माईन् । कान्छि छोरी पेटमा हुँदा उनका श्रीमानले र उनले पनि अब छोरा नै जन्मिन्छ भन्ने ठुलो आशा लिएका थिए । छोरा जन्मिन्छ भन्ने लागेर उनका श्रीमानले पनि उनलाई निकै माया गरे, हेरविचार पनि गरे तर बिडम्बना फेरि छोरीनै जन्मिईन् । छोराको आशमा रहेका उनका श्रीमान छोरी जन्मिएपछि निकै निराश भए । परिवारमा नयाँ सदस्यको आगमनसंगै खुशी, हर्षउल्लास हुनु पर्ने थियो तर त्यसो भएन, पुनः छोरी जन्मिएपछि परिवारमा सबै दुःख मनाउ गर्न थाले ।

परिवार, आफन्त सबैले उनलाई नाना थरिका कुरा सुनाउन थाले । उनका श्रीमानले पनि बिस्तारै उनलाई नराम्रो मान्न        थाले । छोरी जन्मिएको १५ दिन नहुँदै उनका श्रीमानले दोस्रो बिवाह गरे । छोरीहरु, श्रीमती, आमा बुवा सबैलाई अलपत्र पारेर घर नै छोडेर उनी दोस्री श्रीमतीसंग बस्न थाले । सुत्केरि अवस्थामा झन श्रीमानको साथ र सहयोगको आवश्यकता पर्ने बेलामा उनलेनै सबै नाता तोडेर गए । आफन्त, समाज र परिवारका अनेकौँ कुराहरुको सामना उनी एक्लैले गर्नु पर्यो ।

उनी घरकी कान्छि बुहारी । उनका ३ जेठाजु र जेठानी छन् । तर थारु समुदायमा आमा बुवा कान्छा छोराले नै पाल्नु पर्ने सँस्कार भएकाले सासुससुरा उनलेनै पाल्नु पर्ने भयो । परिवार कसरी पाल्ने भन्ने समस्याले उनलाई निकै पिरोल्न थाल्यो । “सबैले मेरो साथ छोडे तर मैले कहिले हार मानिन, सानी छोरीलाई छोडेर काम गर्न जानु पथ्र्यो, ४ छोरी र सासुससुरालाई कहिले बजारमा श्रमिकको काम गरेर त कहिले अरुको घरमा भाँडा माझेर, अरुको खेतबारीमा मजदुरी गरेर पालें” –उनले भनिन् ।

जसोतसो आधा पेट खाएर पनि उनले छोरीहरुलाई हुकाईन् । जती जती छोरीहरु ठुला हुँदै गए उनीहरुका आवश्यकताहरु पनि बढ्दै गए । खान लगाउने देखि लिएर सबै कुराको अभाव हुन थाल्यो । जग्गा जमिनको नाममा घरबास मात्रै भएको र त्यो पनि ऐलानी भएकाले उनलाई एक्लैले छोरीहरुलाई पाल्न निकै गाह्रो हुन थाल्यो । त्यसपछि उनले बाध्य भएर दुई छोरीहरुलाई अर्काको घरमा काम गर्न कम्लहरीका रुपमा पठाईन् ।

उनले निकै दुःख गरेर परिवार पालिन् । अहिले सबै छोरीहरुको बिवाह भईसकेको छ । सासुससुराको पनि मृत्यू भईसकेको छ । कान्छि छोरीले पनि बिवाह पनि गरिसकिन् । १९ वर्ष भईसक्दा समेत उनका श्रीमानको मन पग्लेन । उनी हाल सम्म श्रीमती र छोरीहरु भेट्न आएका छैनन् । उनी भन्छिन्– “छोरीहरु सबैको बिवाह भएर आ–आफ्नो घर गईसकेका छन् । अब उनीहरु आ–आफ्नै संसारमा रमाउन थालेका छन्, कहिले कसो चाड पर्वमा मात्रै आउँछन्, म पनि चिन्तै चिन्ताले अब पहिलेको जस्ता काम गर्न सक्दिन, श्रीमानको मृत्यु भएकाले त अलिकती भए पनि सामाजिक सुरक्षा भत्ता त पाउँछन, मेरो त श्रीमानले छोडेको १९ वर्ष भईसकेको छ तर म न कुनै भत्ता पाउछु न कुनै सुविधा ।”

उनलाई एकल महिलाको भत्ताका लागि पहल गरिएको थियो तर श्रीमान जीवितै भएको र छोड पत्र पनि नभएकाले भत्ता पाउनबाट समेत उनी बञ्चिन छिन् । अहिले उनी एक्लै बस्छिन् । सकेको बेला गाउँ घरमा सिजनको समयमा अरुको खेतबारीमा ज्याला मजदुरी गरेर गुजारा चलाई रहेकी छन् ।

उनलाई जिविको पार्जनमा निकै समस्या भएकाले दिगो जिविको पार्जनका लागि बंगुरको पाठो पाल्न उनलाई युनिसेफको सहयोगमा बास नेपालले आर्थिक सहयोग गरेको छ । त्यहि सहयोग रकमबाट उनले सानो बंगुरको पाठा खरिद गरेकी छिन् र उनले आफुलाई अहिले सम्म कहि कतैबाट सहयोग नभएको अवस्थामा बासले गरेको यो सहयोग उनका लागि निकै ठूलो सहयोग भएको छ । जसबाट उनी आयआर्जनमा टेवा पुग्ने बिश्वासमा रहेकि छिन् । उनको बिश्वास नटुटोस्, उनको आत्मवल कायम रहोस् र अन्य सहयोगी हातहरु पनि बढुन् हाम्रो यहि कामना छ ।

 

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech