१५ वर्षपछि उभिन पाउँदा खुसीले भावशून्य गजेन्द्र

सविना देवकाेटा

जीवनभर उभिइरहने रुखलाई थाहा होला ! या त, (जीवनभर) उभिन नपाएर अशक्त भएकाहरूलाई नै थाहा होला !

उभिनु भनेको के हो ? उभिन पाउनु भनेको के हो ?

१५ वर्षदेखि उभिन नपाएका पत्रकार गजेन्द्र बुढाथोकी ९० डिग्रीमा उभिन पाउँदाको खुसी नसाँटिरहन सक्दैनन् ।

‘दुर्घटना भएको १५ वर्षपछि उभिन पाउँदा कस्तो हुँदो रहेछ ?’

शुभेच्छुकले बारबार उनलाई साेध्छन् । तर, जवाफमा उनीसँग केवल एक शब्द छ– भावशून्य ।

‘१५ वर्षपछि पहिलोपटक उभिएको आफ्नै पैताला । एकदमै शून्य हुँदोरहेछ’, टोलाउँदै उनले थपे ।

हुन त, उनी यसबीचमा ‘नउभिएका’ भने होइनन् । कोकाकोला कर छली प्रकरणमा ३ अर्बभन्दा बढीको भण्डाफोर गरेर होस् या राष्ट्रिय/अन्तर्राष्ट्रिय पत्रकारिता अवार्ड पाएर । उनी (आर्थिक) पत्रकारितामा दरिलाेसँग उभिँदै आएका छन् ।

तर, यतिखेर उनी भौतिक रूपमा पनि उभिन थालेका छन् ।

४५ वर्षीय बुढाथोकीलाई अब फेरि उभिन सकिएला भन्ने कहिल्यै लागेको थिएन । अरु कसैको सहारा नलिईकन आफ्नै हातको बलले आफैँ उभिन सक्छु भन्ने सोचेकै थिएनन् उनले ।

‘म पनि खडा हुन्छु र ?’ लाग्ने बुढाथोकी हिजोआज ‘हम् भी खडे हैं राह में’ भनिरहेका भेटिन्छन्, सामाजिक सञ्जालमा ।

ढाड भाँचिएयता उभिन नसकेका उनी यतिखेर ‘मेकानिकल स्टान्डिङ ह्वील चियर’ले गर्दा उभिन सकेका हुन् । हुन त, मेडिकल साइन्समा ‘मेकानिकल स्टान्डिङ चियर’ आविष्कार भएको यो पहिलोपटक भने होइन । योभन्दा पनि अत्याधुनिक इलेक्ट्रिक ह्वील चियर विदेशी बजारमा उपलब्ध नै छन् । तर, स्पाइनल इन्जुरी भएका उनलाई तल्लो भाग मात्रै काम नगर्ने हुँदा भारतबाटै किन्न पाइएको सस्तो र राम्रो मेकानिकल स्टान्डिङ ह्वील चियरले खुसीको गियर बढाएको हो ।

‘हुन त यो त्यतिधेरै खुसी हुनुपर्ने कुरा होइन होला । तर, यसरी उभिन सक्नु पनि हाम्रा (गरिब मुलुकहरूका) लागि ठूलै कुरा हो’, उनले भने ।

पहिलोपटक ह्वील चियरमा उभिँदा गजेन्द्र भावशून्यमा डुबेका थिए । श्रीमती कुन्ता थापाले उनको घुँडा छामिन् । छेउमै उभिएका छोराले झ्याप्प फोटो खिचिदिए । अनायासै उनले हात माथि उचाले– मानौं, उनले आफ्नै शरीरलाई जिते । ‘शरीरले आफैँ विजय स्वीकार्दोरहेछ’, उनले भने ।

उक्त ‘चियर’मा आफैँ उभिन सक्दा हिजोआज गजेन्द्रको दैनिकी नै फेरिएको छ । बिहान उठेर एकपटक नियमित उभिन्छन् उनी ।

 

वास्तवमा स्पाइनल इन्जुरी भएको मान्छेले दिनको एकपटक उभिनैपर्ने हुन्छ । शारीरिक अभ्यास नहुँदा प्रेसर, कोलेस्ट्रोल, सुगर, पिसाबलगायतको समस्या हुने जोखिम हुँदा उभिनुपर्ने गजेन्द्र बताउँछन् । मेकानिकल स्टान्डिङ चियरले गर्दा अब गजेन्द्रले उभिएर अभ्यास गर्न पाउने भएका छन् ।

हुन पनि अभ्यासको अभावमा यसबीचमा उनकाे कोलेस्ट्रोल बढ्याे । दमकाे पनि समस्या देखियाे । सास फेर्न गाह्रो हुन थालिसकेको थियो । ‘चियरले उभिने ठाउँ दियो । टेको दियो । अब त म एक्टिभ हुने भएँ नि’, दैनिक सातथरी औषधि खाइरहेका उनले भने ।

सकिएकै ठाउँबाट पलाउने जीवन 

‘मेकानिकल ह्वील चियर’ उपलब्ध गराएर गजेन्द्रलाई साथीहरूले उभिन सघाएका हुन् । मुटु चिकित्सक डा. रामेश कोइराला, भीष्म कोइरालालगायतको सहयोगमा १५ वर्षपछि आफू उभिन पाएको गजेन्द्र बताउँछन् ।

त्यसो त १५ वर्षअघि दुर्घटना हुनु १५ मिनेटअघिसम्म पनि गजेन्द्र डा. रामेशसँगै थिए । सायद त्यसैले पनि होला, रामेशले यति लामो समयसम्म गजेन्द्रलाई उभ्याउने पहल गरिरहे । बिहीबार रामेशले फोन गरेर खुसी साट्दा गजेन्द्र फोनमै बरर रोएका थिए । ‘तेरो लागि मैले केही गर्नु थियो । तँलाई उभ्याइछाड्ने प्रण थियो । सफल भएँ,’ डाक्टर भएर पनि केही गर्न सकिनँ भनेर गुनासो गर्ने गरेका रामेशले यसो भनिदिँदा फोनमा बरर रोएका थिए गजेन्द्र ।

१५ वर्षअघि पनि गजेन्द्र यसरी नै रोएका थिए, श्रीमतीलाई गम्लङ्ग अँगालो हालेर । ‘यो मान्छे ज्युँदो लास हो । बाँचेर केही काम छैन । र, यसलाई स्पाइनल इन्जुरी भनिन्छ । यसको उपचार हुँदैन,’ आफूलाई देखाएर टिचिङ अस्पतालका एक जना आवासीय डाक्टरले अंग्रेजीमा यसो भनेर विद्यार्थीलाई पढाइदिँदा उनी बरर रोएका थिए । दुर्घटना भएर अशक्त हुँदै अस्पताल बस्नुपर्दाका अत्यासलाग्दा दिन सम्झँदा गजेन्द्र अहिले पनि भावुक हुन्छन् ।

यतिसम्म कि उनलाई अस्पतालकै कुनै तलाबाट हाम फालेर मरौँमरौँ पनि लागेको थियो । एकैचोटि पाँचवटासम्म ‘फ्लेक्जन’ पनि खाएर मर्ने प्रयास नगरेका होइनन् उनले । ‘तर, जीवन सकिएकै ठाउँबाट पलाउँदो रहेछ । म सकिएँ भन्न कहिल्यै नहुने रहेछ’, आत्मसमीक्षा गर्दै उनले भने ।

 

१५ वर्षअघिको त्यो घटना 

२०६५ साल असोज ८ गते । राति ९ बजे । घनघोर वर्षा भइरहेको थियो । गजेन्द्र बाइकमा घर फर्कंदै थिए ।  अनायासै भद्रकालीको घुम्तीमा एउटा गाडीले ठक्कर दिएर गयो ।

झट्ट हेर्दा उनलाई केही चोट देखिएन । उनी होसमै थिए । तर दुवै खुट्टा चलेनन् । आफैँले रेनकोटभित्र पाइन्टको गोजीमा हात छिराएर मोबाइल झिकेका उनले घटनास्थलबाटै श्रीमतीलाई दुर्घटनामा परेको खबर त सुनाए । तर, आफैँ अस्पताल जान सकेनन् ।

अस्पताल लगिदिन उनले बाटोका पैदलयात्रुहरूलाई आग्रह गरे । तुरुन्तै ट्याक्सी रोकेर उनीहरूले वीर अस्पताल लगे । हेर्दा केही चोट देखिँदैन । तर खुट्टा चल्दैन । वीर अस्पताल पुगेपछि डाक्टरहरूले गजेन्द्रलाई देखेर एकैछिन हाँसे पनि । पानी परेकाले जाडो भएर खुट्टा नचलेको होला भनेर उनलाई कम्मल ओडाइयो । हुन पनि चिउँडोमा हेलमेटको कभरले थोरै ददारेको मात्रै थियो । चोट केही थिएन ।

राति श्रीमती कुन्ता आइपुगिन् । १२ बजे अकस्मात् गजेन्द्रको ढाड दुख्न थाल्यो । ढाड त प्याकप्याक सुन्निएको रहेछ । एक्सरे गरेर हेर्दा ढाड भाँचिएको देखियो । जहाँनेर ढाड भाँचिएको थियो, त्यहीँ सुन्निएको रहेछ ।

अब के गर्ने ? सिनियर डाक्टर नआइदिनाले अन्योलमै बित्यो त्याे रात ।

भोलि बिहान टिचिङले एमआरआई नगरी लिन मिल्दैन, जोरपाटीमा लगेर आउनू भनिदियो । जोरपाटीमा भने एमआरआई मेसिन छैन, टिचिङ नै जानुस् भनेपछि गजेन्द्रका केही दिन अस्पतालको दौडादौडमै बित्यो ।

त्यसपछि टिचिङ अस्पतालको पेटीमै धर्ना बसेका गजेन्द्रलाई भर्ना लिइयो । तर, तीन दिनपछि मात्रै एमआरआईको रिपोर्ट आयो । २४ घण्टाभित्र इन्जेक्सन लगाएर ४८ घण्टाभित्र अपरेसन गर्न पाएको भए हिँड्ने सम्भावना हुन्थ्यो भन्ने गजेन्द्रले धेरै पछि सुने । तर, मन बुझाउने मेलो मात्रै भएको छ यो कहावत् । सत्य हो होइन, थाहा छैन उनलाई ।

त्यसपछि उनी २८ दिन टिचिङ अस्पताल बसे । सामान्य दुखाइ भए पेनकिलर, धेरै दुखाइ भए नसाबाट पेनकिलर दिनेबाहेक केही उपचार टिचिङ अस्पतालले नगरिदिएको गजेन्द्रको गुनासो छ ।

संयोगवश गजेन्द्रका साथीहरूको पहलमा बीएन्डबी अस्पतालका डा. विनोद विजुक्छेलाई एमआरआई रिपोर्ट देखाइयो । डा. विनोद स्पाइनल इन्जुरी विषय पढेर नेपाल आउने पहिलो डाक्टर हुन् । हिँड्न सक्ने त होइन, ह्वील चेयरमा बसेर काम गर्न सक्नेचाहिँ बनाउँछु भनेर विनोदले आश्वासन दिए । त्यसपछि गजेन्द्र बीएन्डबीमा भर्ना भए । आठ जनाको चिकित्सकको टिमले ९ घण्टा लगाएर उनको अपरेसन गर्‍यो ।

मेरुदण्डको टी वानदेखि टी टुवेल्भसम्म चिरेर बेन्ट गरेको ढाडको अपरेसन । अत्यधिक दुखाइ अनि अनिद्रा । तर, चिकित्सकले उनलाई कहिल्यै निद्राको औषधि दिएनन् । सामान्य तवरले उनलाई ३० डिग्री, ४० डिग्री हुँदै नर्मल मुद्रा (पोस्टर)मा उठाउन लगाइयो । अस्पतालमै हुँदा चिकित्सकले उनलाई ल्यापटपमा लेखेर काम गर्न अह्राए । साथीहरूले आर्टिकल छापिदिए । त्यसपछि साँगाको पुनर्स्थापना केन्द्रमा उनले केही समय बिताए ।

यसरी दुर्घटना भएको सात महिनामा उनी घर फर्किए । घर आएको भोलिपल्टदेखि नै गजेन्द्रले दैनिकी डट कम नामक अनलाइनमा कार्यकारी सम्पादकको रूपमा काम गरे । ढाडमा बेल्ट बाँधेर उनी अफिस जान्थे । श्रीमती कुन्ताले अफिसमै आएर दिसापिसाब भए लुगा फेरिदिने गर्थिन् । एक वर्ष अनलाइनमा काम गरेपछि कारोबार दैनिकमा उनले १० वर्ष पत्रकारिता गरे । ९ महिना निमित्त सम्पादकको रूपमा काम गरे । कारोबारका साथीहरूले आफ्ना लागि निकै दुःख गरेको उनी बताउँछन् ।

त्यसयता विगत २ वर्षदेखि टक्सार म्यागेजिनको सम्पादकको रूपमा काम गर्दै आएका छन् गजेन्द्र ।  हालसम्म उनले १५औँ अंक निकालिसकेका छन् ।

 

सक्रिय दैनिकी

प्रत्येक दुई/दुई घण्टामा पिसाब निकाल्नुपर्ने भएकाले गजेन्द्र किस्ताबन्दीमा निदाउँछन् । शरीरको पोश्चर परिवर्तन गरिरहनुपर्छ । त्यसैले पनि होला, उनको बिहानी ढिलै सुरु हुन्छ । बिहान ८ बजे उठेर चियानास्ता खाएर औषधि खाएपछि नै उनको दैनिकी सुरु हुन्छ । प्रेसर, सुगर, खुट्टा सुनिने, झट्का हान्ने, पिसाबमा समस्या हुन नदिने, किड्नीमा भएको समस्यालाई नियन्त्रण गर्न मात्रै गजेन्द्र सात थरी औषधि खान्छन् ।

त्यसपछि मात्रै उनी ह्वील चियरमा ‘सिफ्ट’ हुन्छन् । अखबार पढ्छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय साइटहरू खोल्छन् ।

घरमै अफिसको काम गर्छन् । अन्तर्वार्ता लिन पनि हिजोआज उनी आफैँ पुग्छन् । राति ११/१२ बजेसम्म ‘टक्सार’ पत्रिकाको काम गरेर उनी क्रियाशील हुन्छन् ।

सामाजिक सञ्जालमा अत्यधिक समय बिताउँछन् गजेन्द्र । सन् २००९ देखि उनले सामाजिक सञ्जालमार्फत नै विश्व डुल्न पाएको बताउँछन् ।

श्रीमतीको साथ

हिजोआज श्रीमतीसँगै बेलाबखत अस्पताल जाँदा डाक्टरहरू कुन्तालाई सोध्ने गर्छन्, ‘तपाईं उहाँको पसर्नल नर्स हो ?’

‘परिस्थितिले कुन्तालाई नर्स पनि बनायो’, गजेन्द्र भावुक हुँदै भन्छन्, ‘उसले नजानेको कुरा केही छैन होला अब त ।’

गजेन्द्रको स्याहारसुसार गर्दागर्दै अभ्यस्त भएकी कुन्ताले हुँदाहुँदा गजेन्द्रलाई क्यानुलाबाट औषधि पनि आफैँ दिन्छिन् । २०७२ सालमा भूकम्प जाँदा गजेन्द्र तीन महिना ओछ्यान परे । त्यो बेला कुन्ताले ड्रेसिङसमेत गरिदिइन् ।

‘दुःख सहने शक्ति भगवान्‌ले निकै दिएका रहेछन् कुन्तालाई,’ गजेन्द्र एकछिन टोलाउँछन् । ‘४ वर्षको बच्चालाई छोडेर अस्पताल-अस्पताल चहार्दा कस्तो भयो होला ? उसको साथ र माया नपाएको भए म यो ठाउँमा आइपुग्दैनथेँ’, उनले भने । कुन्ताजस्तो श्रीमती पाएर आफू भाग्यमानी भएको गजेन्द्र बताउँछन् ।

 

दुर्घटनाले सिकाएको पाठ

दुर्घटनापछि पटकपटक आत्महत्याकाे प्रयाससमेत गरेका गजेन्द्र हिजोआज गम्छन्, ‘हामीले सोचेको मात्रै होइन रहेछ जीवन । थुप्रै काम र अवसरले पर्खिरहेको हुन सक्छ जीवनमा ।’

यसरी सोच्दा कहिलेकाहीँ ‘भाग्यवादी पो भएँ कि’ जस्तो पनि लाग्छ उनलाई । ‘तर, जिजीविषालाई जोगाइराख्नुपर्ने रहेछ । म सकिएँ भन्न हुँदैन रहेछ बाबै’, उनले भने ।

सायद त्यसैले पनि होला, गजेन्द्र पाएसम्म खाली बस्दैनन् । केही न केही गरिरहन्छन् । पढिरहन्छन्, लेखिरहन्छन्, खोजिरहन्छन् । दुर्घटनाले समयको महत्त्व सिकाएको उनी बताउँछन् । ‘पहिलेपहिले मसँग धेरै बहाना हुन्थे । हिजोआज हुँदैनन्’, उनले भने ।

कताकता गजेन्द्रलाई अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा बोलिदिने प्रवक्ता बनाइदिनकै लागि ‘भगवान्’ले दुर्घटना गराइदिएका हुन् कि जस्तो पनि लाग्छ ।

त्यति मात्रै होइन, गजेन्द्रलाई १५ वर्षअघिको दुर्घटनाले कृतज्ञता पनि सिकाएको उनी बताउँछन् । ‘वीर अस्पताल लगिदिने दुई जनालाई भेटेर धन्यवाद भन्न मन छ’, उनले भने ।

हाल उभिन सक्ने भएका गजेन्द्र कुनै दिन मेडिकल साइन्सले ठूलै चमात्कार गरे हिँड्न पनि सक्छु भन्ने आशाको त्यान्द्रो सँगै लिएर काम गर्छन् ।

‘मुटु फेर्न मिल्छ, कलेजो प्रत्यारोपण गर्न मिल्छ, आन्द्रा फेर्न मिल्छ । ४०/४२ वर्षदेखि स्पाइनको भने केही भएको छैन । सबै ट्रायल एन्ड एरर नै चलिरहेको छ । चिप्स हालेर पनि चल्दैन,’ उनले भने ।

गजेन्द्रको फेरि पनि एउटै कामना छ, मेडिकल साइन्समा केही चमात्कार होस् । फेरि पनि उभिने उनको सपना अझै सकिएको छैन ।

– शिलापत्रबाट साभार

  • २५ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech