फेरिँदै जानकीको दैनिकी

सृजना ऐडी

डडेल्धुरा/  जिल्लास्थित अमरगढी नगरपालिका ७ कि जानकी जोशी ३० वर्षकी भइन् । उनको परिवारमा श्रीमान, सासू, दुई छोराछोरी गरी ५ जना छन् । श्रीमान ५ वर्ष अगाडि वैदेशिक रोजगारीमा जाँदा बाटोमै गाडी दुर्घटनामा परे । दुर्घटनामा परिसकेपछि उनले सधैँका लागि अशक्त हुनु पर्‍यो। भएको अलिकति जग्गा जमिन पनि उपचारमै खर्चिंदा उनीहरुसँग अहिले केही बचेको छैन । विभिन्न अस्पतालहरूमा उपचार गराउँदा समेत उनको उचार सम्भव नभएपछि अहिले उनी घरमै हिँड्न नसक्ने अवस्थामा छन् ।

‘पहिले त श्रीमानको अपाङ्ग भत्ता आउने गरेको थियो, अलिअलि भए पनि अपाङ्ग भत्ताबाट उनको औषधी खर्च समेत टरेको थियो । अहिले अपाङ्ग भत्ता रोकिएपछि औैषधी खर्चको समेत समस्या हुने गरेको छ,’ जानकीले दुखेसो पाेखिन ।

उनको घरमा भएकी सासूआमा समेत मानसिक रोगी छन् । अर्कोतिर उनको छोरी ८ वर्षकी र छोरा २ वर्षका रहेका छन् । आर्थिक अवस्थाको भार खेपी रहेको उनको परिवारले बालबालिकालाई पढाउन समेत सकेको थिएन ।

आयआर्जनको स्रोत समेत केही नहुँदा के गर्ने भन्ने पिरलो उनलाई थियो । तर पनि परिवारको लागि दिनरात नभनी ढुंगा, बालुवा, गिट्टी बोक्ने र सिजन अनुसार अरूका खेतबारीमा ज्याला मजदुरी गरेर गुजारा चलाई रहेकी थिइन् ।

जीविकोपार्जनमा निकै समस्या खेपी रहेकी उनलाई अहिले भने दिगो जीविकोपार्जनका लागि युनिसेफको सहयोगमा बास नेपालले आर्थिक सहयोग गरेको छ । जोखिम तथा आर्थिक अवस्था न्युन भएकाहरुलाई सहयोग गर्दै आएको बास नेपालले अहिले जोशीलाई दिएको केही आर्थिक सहयोगले उनले एउटा बाख्रा किनेकी छन् । त्यहीँ बाख्राबाट आफूले अन्य बाख्राहरु पनि पाल्ने सोच बनाएको उनी बताउँछिन् ।
घर खर्च चलाउने श्रीमान नै अशक्त अवस्थामा हुँदा कसरी घर खर्च चलाउने भन्नेमा परेकी उनी अहिले भने केही खुसी देखिएकी छन् । बालबालिकाको पढाइ र दुई छाक यही बाख्रा पालनबाट टर्ने भन्दै उनको मुहारमा खुसी छाएको छ ।

अब यही बाख्रा पालनलाई अघि बढाएर दैनिकी चलाउन सहज बनाउने सोचमा समेत जोशी छिन् । आफूलाई कहि कतैबाट सहयोग नभएको अवस्थामा बास नेपालले गरेको यो सहयोग उनका लागि निकै ठूलो सहयोग भएको समेत बताउँछिन् उनी । जसबाट अब उनलाई जीविकोपार्जनमा टेवा पुग्ने विश्वास गरेकी छन् ।

 

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech