बुढासुब्बा मन्दिर बारे चर्चा

लोक राना

बुढा सुब्बा मन्दिर नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। काठमाडौबाट झण्डै २२० कि मी रहेको यस मन्दिरका नजिक दन्तकाली मन्दिर तथा पिण्डेश्वर बाबा धाम पनि रहेको छ । पूर्व सेउती खोलाको डिलमाथि रहेको मन्दिर परिसरमा टुप्पा नभएका बाँसहरू पाइन्छन् । किराती तथा गैरकिरातीहरूका लागि महत्त्वपूर्ण मन्दिर मानिन्छ। बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको रूपमा पूजा आजा गर्ने चलन छ। त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो। बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ।

नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति जनजति आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ। विशेष गरी शनिवारका दिन कुखुरा, सुँगुर, आदि बली दिएर पूजा अर्चना गर्ने देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ। व्यवस्थित रूपमा वि.सं. २०१५ देखि बुढासुब्बा मन्दिरमा पूजा हुँदै आएको बुझिन्छ ।

मन्दिर आसपासमा भएका बाँसमा पहिला–पहिला नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किवदन्ती रहेकाले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे । तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । अहिले बुढा सुब्बा मन्दिरमा पुजा गरी बाँसमा धागो बाँध्रने चलन छ । यसरी धागो बाध्दा प्रेमी प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने चलन छ ।

उत्पत्तिसम्बन्धमा रहेका केहि श्रृतिहरु :-

१) कथा : बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढा सुब्बाले त्यहीँ ध्यान गरे, जहाँ अहिले बुढा सुब्बाको मन्दिर छ । उनकी बहिनी सुब्बिनीको मन्दिर छेउमै छ।

२) इतिहास: इतिहासकार इमानसिंह चेम्जोङको भनाइ अनुसार यो मोरङका अन्तिम लिम्बु राजा बुद्धिकर्ण राय खेवाङको समाधिस्थल हो । नेपालको एकीकरणताका पृथ्वीनारायण शाहबाट विजयपुर लगायत लिम्बुवान (पल्लो किरात) क्षेत्रको एकीकरण गर्ने क्रममा उनलाई कुटनीतिक रूपले विजयपुरमा मारिएको हुनाले उनका जनताहरूले राजाको मृतआत्माको चिरशान्तीका लागि समाधिस्थल निर्माण गरे । स्थानीय लिम्बु मानिसहरूको अनुसार बुद्धीकर्ण राय खेवाङ आत्मा भएर मानिसहरूको मद्दत गर्न थाले । स्थानीय लिम्बुहरूले राजाको आत्माको राम्रो प्रभाव पार्ने भएर उनको समाधिस्थल (हालको बुढा सुब्बा मन्दिर) पूजा आजा गर्न थाले (सुब्बा वा हांगको अर्थ लिम्बु भाषामा राजा हुन्छ)।

३) किराँतेश्वर: बुढा सुब्बालाई हिन्दुहरुले किराँतेश्वरको रूपमा पनि पुज्ने गरेका छन। कसैका अनुसार भगवान शिव र देवी पार्वतीलाई हाङ्साम र युमामाङको भेषमा किरात राजा र रानी भइ शिकार गर्ने क्रममा विजयपुर आइपुगेका थिए जहाँ उनीहरूले आफ्ना धनुहरू राखेर तपस्या गरे। त्यस बेला कलियुगको आरम्भ भएको उनीहरूले बुझे र अन्तरध्यान भए । धनुबाट टुप्पा बिनाका बाँस अंकुरित भए ।

४) एकलब्य : कुनै समयमा बिरयोद्धा एकलब्य घुम्दैघुम्दै यस स्थानमा आई विश्राम अवस्थामा समाधिस्थ भएछन् । उनका अनुयायीहरूले उनको उक्त समाधिस्थललाई माटोले पुरिदिएको र पछि त्यसलाई बुढा सुब्बाको नाम दिई सिद्धपीठको रूपमा पूजा गर्दै प्रचार प्रसारसमेत गर्न थालेका श्रुतिकथा छन् ।

  • १९ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech