‘अपाङ मैत्री बनेनन् सरकार’

असल शासन प्रतिनिधि

नेपालगन्ज/ देशमा रहेका तीन तहका सरकार अपाङमैत्री हुन नसकेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । अपाङ्गता सशक्तिकरण एवम् सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेको १५ वार्षिक साधारण सभा तथा छैठौं अधिवेसनका सहभागीले उक्त गुनासो गरेका हुन् ।


गैर सरकारी संस्था बाँकेका अध्यक्ष नमस्कार शाहले गैर सरकारी संस्थालाई नियमन गर्ने निकाय कमजोर रहेको बताए । ५० हजारको संख्यामा नेपालमा गैरसरकारी संस्था रहेको भए पनि कमै मात्रामा सामाजिक कार्यमा क्रियाशील बनेको उल्लेख गरे । अध्यक्ष शाहले निरन्तर अविछिन्न ढङले डेक नेपाल अपाङ्गता भएकाहरुको हक हितका पक्षमा लागिपरेको भन्दै थप सफलताको शुभकामना व्यक्त गरे ।

राष्ट्रिय अपाङ महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय शर्माले अझै पनि स्थानीय तहमा अपाङ्गता भएकाहरुलाई हेर्ने दृष्टि अन्य सरह नभएको बताउँदै यसतर्फ गम्भीर हुनपर्नेमा जोड दिए । शर्माले डेक नेपालले विभिन्न परियोजना संचालन गरेर अपाङ्गता भएकाहरुको क्षमता अभिवृद्धि गर्ने, पैरवी गर्नेलगायतका काम गरेको भन्दै धन्यबाद ज्ञापन गरे ।

राष्ट्रिय अपाङ महासंघका संघीय सचिव भावुक जंग थापाले डेक नेपालका कारण धेरै सबै प्रकारका अपाङ्गता भएकाहरुको लागि काम गरेको जसले गर्दा अपाङ्गता क्षेत्रमा ठूलो टेवा पुगेको बताए । अपाङ्गता मैत्री वातावरण सबै निकायहरुमा अझै स्थापना हुन नसकेको भन्दै उनले यसतर्फ चासो बढाउन आग्रह गरे ।

डेक नेपालका सल्लाहकार अशोक कोइरालाले सबै क्षेत्रमा रहेका अपाङ्गता भएकालाई खोज्ने, आश्रय दिने र अवसर दिने कार्य गरेको भन्दै प्रशंसा गरे । डेक नेपालले बाँकेको बैजानाथ र राप्ती सोनारीमा अपाङ्गता भएकाहरुका लागि बसोबास गर्ने वातावरण मिलाएको छ तर व्यवस्थापनमा स्थानीय सरकारले चासो नबढाउँदा संचालन गर्न समस्या हुने गरेको उल्लेख गरे ।

दिगो विकास, सम्बृद्धिको आधार, अपाङ्गता मैत्री पहुँचयुक्त पूर्वाधार भन्ने नारासहित स्थापना भएको डेक नेपालले आफ्नो १५ औं वार्षिक साधारण र अधिवेसन बाँकेको खजुरामा सम्पन्न गरेको छ ।

डेक नेपालका अध्यक्ष हरिकला थापाको सभापतित्वमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका सांसद उसा पुनको प्रमुख आतिथ्यमा भएको थियो । मंगल प्रसाद माविमा अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरुले स्वागत गीतबाट अतिथि पाहुनालाई स्वागत गरेका थिए । राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माले डेक नेपालले हजारौ अपाङ्गता भएकाहरुका लागि काम गरेको भन्दै अझै पनि पैरवीको कार्यलाई सशक्त बनाउन आग्रह गरिन् ।

खजुरा गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख सुशीला न्यौपानेले डेक नेपालले स्थानीय सरकारसँग समन्वय सकहकार्य गरेर काम गर्दा सरकारले लिएको लक्ष्य प्राप्तिका लागि सहज बनेको बताइन् । दैनिक जीवनलाई सहज बनाउनका साथै अपाङ्गता भएका व्यक्तिको हक अधिकारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरिन् ।

नेपालगन्ज उप महानगरपालिकाका निवर्तमान उप मेयर उमा थापामगरले डेक नेपालले राज्यको आँखामा पर्न नसकेको विषयलाई सस्थागत गर्न सफल भएकोमा धन्यबाद ज्ञापन गरिन् । अपाङ्गता भएकाहरुले जान्न बुझ्नका लागि डेक नेपालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । अपाङ्गता भएकाहरु आफू पनि आफ्नो क्षमता बढाउन अघि बढ्नु पर्नेमा उनले जोड दिइन् । स्थानीय सरकारसम्मै अपाङ्गता भएकाको अधिकार स्थापित भएको र त्यसको कार्यान्वयनमा काम गर्नु पर्ने थापाले बताइन् ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले खजुरा गाउँपालिका सरकारले गर्ने काम पनि डेक नेपालले गरिदिएको बताइन् । गाउँपालिकाले गर्न पर्ने कामलाई डेक नेपालले काम गर्दा सहजता भएको र आगामी दिनमा थप सहकार्य सहयोग गर्नेमा प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

बैजानाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले स्थानीय तह अपाङ मैत्री नभएको पाइएकोमा त्यसलाई सुधार गर्दै सम्पूर्ण भौतिक पूर्वाधार अपाङमैत्री बनाउन लागेको उल्लेख गरिन् ।

बैजानाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले स्थानीय सरकारको अपाङ्गता भएकाहरुका लागी केही उपलब्धिमूलक कार्यका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । अध्यक्ष शाहीले अपाङ्गता भएकाका लागि ३० लाख बजेट छुट्टाएको बताए । ‘अब बन्ने भौतिक संरचनाहरु अपाङमैत्री नहँुदासम्म स्वीकृति दिँदैनौं’, अध्यक्ष शाहीले भने ।

पूर्व संविधान सभा सदस्य देवराज भारले अपाङ्गता भएकाका लागि डेक नेपालले गरेको कार्य प्रशंसा योग्य रहेको बताए । अपाङ्गता क्षेत्रमा धेरे उपलब्धि भएको बताउँदै भारले अपाङ्गताको क्षेत्र सम्मानित जीवनको मार्ग हुन आवश्यक रहेको उल्लेख गरे । अपाङ्गता क्षेत्र उपेक्षित हँुदै आएकोमा यसलाई सबैको चासोको विषय बन्नु पर्ने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद उशा पुनले अपाङ्गता क्षेत्रमा राज्यले अझै धेरै काम गर्न आवश्यक रहेको बताइन् । अपाङ्गता भएकाहरुको विषयमा डेक नेपालले अभिभावकत्व निर्वाह गरेको बताउँदै सांसद पुनले डेक नेपाल गाउँगाउँ बस्तीमा पुगेर काम गरेको र त्यसले सकारात्मक सन्देश प्रवाह गरेको बताइन् । उनले प्रदेश स्तरमा पनि अपाङ्गता भएकाहरुका लागि पहलकदमी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

डेक नेपाल बाँकेका अध्यक्ष हरिकला थापाले अपाङ्गता भएकाको समस्या समाधान गर्न संस्था तत्पर रहेको बताउँदै कुनै पनि समस्या आए सम्पर्क गर्न आग्रह गरिन् ।

  • २२ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech