ऐतिहासिक व्यक्तित्व फतेह सिंह थारु

खगेन्द्र गिरि कोपिला

‘थाह छ ? म मेरो बुवाको विवाहमा जन्ती पनि गएको छु’ उहाँले रमाइलो पाराले सुनाउनु भो । उहाँ अर्थात् श्री फतेहसिंह थारु । ८४ वर्ष लाग्दै गरेको बिहानीपख आफूलाई भेट्न आएका शुभेच्छुक सामु आफ्नो अतीतयात्रा रमाइलो गरि सुनाउँदै हुनुहुन्थ्यो ।

फतेहसिंह थारुका पिता थपुवा गाउँका जिम्दार देवीराम थारुले पहिलो विवाह बर्दियाको कोठियाकी भगवतीदेवीसित गर्नु भएको थियो । उहाँबाट फतेहसिंह थारुको जन्म भैसकेपछि फेरि मैतहवाकी सीताजानकीसंग दोस्रो विवाह गर्नु भो ।

थारु समुदायमा बहुविवाहको चलन उतिसारो नभएपनि जिमिन्दारहरुमा फाट्टफुट्ट त्यो चलन पाइन्थ्यो ठकुरी र राणाहरुको सिको गरेर । आफ्ना पिताको दोस्रो विवाहमा फतेहसिंह थारु जन्ती जानु भएको घटना थियो त्यो ।

फतेहसिंह थारुको जन्म विक्रम संवत् १९९६ सालको शरद ऋतुमा थपुवाका जिम्दार देवीराम थारु र भगवतीदेवी थारुको जेठो छोराको रुपमा भएको थियो ।

आफ्नो जन्ममितिबारे उल्लेख गर्दा उहाँ भन्नुहुन्छ— ‘मलाई गते र तारिक केहि थाह छैन । म जन्मेको १९९६ सालको शरद शुक्ल सप्तमी अर्थात् फूलपातीको दिन हो। औपचारिक कागजपत्रमा भने सन् १९३८ को अक्टोवर १५ लेखेको छु’ ।

फतेहसिंह थारुले नेपालगंजको मंगलप्रसाद माविमा छ कक्षासम्म पढेर हाइस्कुलको परिक्षा योगी गोरखनाथको नगरी गोरखपुरबाट उत्तीर्ण गर्नु भयो । आइए तीर्थ नगरी प्रयागराजमा गएर पढेपछि वीए त्रिचन्द्र कलेज काठमाडौंमा पढ्नु भो । त्यसपछि लखनौमा गएर २०२१ सालमा राजनीतिशास्त्रबाट एमए र ‘डिप्लोमा इन फरेन अफेयर्स’ को डिग्री बोकेर स्वदेश फर्किनु भो ।

२०१७ सालमा उहाँले शोभादेवीसंग विवाह गर्नु भयो । त्यो विवाह आफ्नो समयको निकै चर्चित विवाह मानिन्थ्यो— ‘थपुवाको जिम्दार देवीरामको छोराले मैतहवाको जिम्दार रामदयालको छोरीसित विवाह गर्‍यो’ यो थेगो मानिसका मुखमुखमा झुण्डिएको थियो । पछिसम्म पनि धेरै मानिसहरु सो बिहेको तामझाम र भोजलाई सम्झिरहन्थे ।
थपुवाका देवीराम थारु, भवनियाँपुरका सरकारबक्स कुर्मी र मैतहवाका रामदयाल थारुलाई कुनै समय बाँकेका सबैभन्दा ठूला जिम्दार मानिन्थ्यो ।

२०२३ सालमा फतेहसिंह थारुले हसनापुर गाउँ पंचायतको प्रधानपंचको निर्वाचन जितेर राजनीतिमा प्रवेश गर्नु भो । २०२५ मा उहाँ बाँके जिल्ला पंचायतको सदस्य र २०२८ सालमा सभापति भै हाल्नु भो । बैजापुरका जिम्दार खेमराज श्रेष्ठलाई उहाँले सभापतिको चुनावमा पराजीत गर्नु भएको थियो ।

त्यतिखेर देशमा पढेलेखेका मान्छे थोरै थिए । राजनीतिमा त झन् अत्यन्त न्युन थिए । एमए गरेको मान्छे त्यतिखेर जिल्ला सभापति भएको घटना यो मात्रै थियो । उहाँ युवा राजा श्री ५ वीरेन्द्रको दृष्टिमा परिहाल्नु भो । २०२९ सालमा श्री ५ वीरेन्द्रको नेपालगंजमा सवारी हुँदाको घटनालाई सम्झिदै उहाँ स्वयम् भन्नुहुन्छ— ‘जिल्ला पंचायत सभापतिको नाताले म स्वागत समितिको अध्यक्ष थिएँ । मौसूफमा फूलमाला चढाउने बेलामा मौसूफले मलाई खुट्टादेखि टाउकोसम्म हेरिबक्सेको थियो’ ।

फतेहसिंह पहिलेदेखि नै स्वाभिमानी हुनुहुन्थ्यो । चाकडी गर्ने स्वभाव थिएन । राजा र पंचायती व्यवस्थाप्रति भने हृदयदेखि नै आस्था थियो । दरबारलाई घेरेर बसेका भारादार, सचिव र प्रशासकहरुसित भने उहाँको कहिल्यै कुरो मिलेन । त्यहि भएर धेरैले उहाँलाई पंचायतको विरोधी भनेर केन्द्रमा रिर्पोटिङ गर्थे । सुर्खेतको सवारी शिविरमा राजाको दर्शन गर्न आफूलाई मात्र जान दिने र आफूसंग गएका पंछ साथीहरुलाई नदिने भएपछि उहाँले ‘म एक्लै राजाको दर्शन गर्दिन’ भनेर अड्डी लिएको घटना त्यो बेला निकै चर्चित भएको थियो ।

यो कुरा राजाको कानमा पनि पुग्यो होला । पछि सबै साथीहरु सहित श्री ५ वीरेन्द्रको दर्शन भेटको अवसर मिलाईएको थियो । उहाँ अहिले पनि सम्झिनु हुन्छ श्री ५ बाट हुकुम भएको कुरा— ‘हेर फतेहसिंह ! पंचायतमा सबैलाई जसरी पनि पौडी खेल्ने सुविधा छ तिमी पनि पंचायतकै सीमाभित्र बसेर आफ्नो इच्छाअनुसारले पौडी खेल न’ । त्यसपछि पंचायतमा जोजोसंग जे जस्तो खटपट परिरहे पनि उहाँले पंचायती व्यवस्थालाई भने कहिल्यै त्याग्नु भएन।

२०३१ सालमा श्री ५ बाट उहाँलाई गाउँफर्क राष्ट्रिय अभियान समितिको केन्द्रीय सदस्य मनोनित गरिबक्सियो । दुई वर्षपछि २०३३ सालमा उहाँ फेरि बाँके फर्किनु भो र जिल्ला पंचायतको सभापति चुनिनु भो । त्यसपछि उहाँले राष्ट्रिय पंचायतको सदस्यको चुनाव लड्न खोज्नु भो । त्यतिखेर पंचायतका निकायमा चुनाव लड्न गाउँफर्कको अनुमोदन लिनु पर्ने व्यवस्था थियो । फतेहसिंह थारु रापंस नहोस् भन्ने समुहले उहाँलाई अनुमोदन नदिने निर्णय गर्‍यो । बाँकेबाट फतेहसिंह कै छिमेकी गाउँ रनियाँपुरका सफि अहमद खाँलाई रापंस बनाइयो ।

गाउँफर्क राष्ट्रिय अभियान समितिको केन्द्रीय समितीले पंचायतको अनुशासन भंग गरेको कारणले उहाँलाई निलम्बन गर्‍यो । काठमाडौं पुगेर उहाँले गाउँफर्कका अध्यक्ष विश्वबन्धु थापालाई औंला ठड्याएर भन्नु भो— ‘थापाजी आज त कार्यवाही गरिहाल्नु भो । म एकदिन तपाइँकै कुर्सीमा पुग्न सक्छु यो नबिर्सिनु होला’ । उहाँले आफूमाथि अन्याय भएको कारण जनाउँदै रानीपोखरीको पानोरमा होटेलमा पत्रकार सम्मेलन नै गरेपछि त्यसको निकै चर्चा भएको थियो । सायद त्यो घटना राजाको कानमा पनि पुग्यो होला । केही समयपछि उहाँको निलम्बन फुकुवा गरियो ।

२०३८ साल भन्दापछिका हरेक निर्वाचनमा उहाँको सहभागिता रह्यो । उहाँ पाँच पटक पराजीत र ३ पटक विजयी हुनु भो । २०४३ सालको निर्वाचनमा उहाँ बाँकेबाट राष्ट्रिय पंचायतको सदस्य निर्वाचित हुनुभो । २०५१ मा बाँके ३ नं बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित हुनु भो । २०३८ सालमा संचार राज्यमन्त्री, २०४४ सालमा शिक्षा तथा संस्कृति राज्यमन्त्री र २०४६ सालमा कृषिमन्त्री हुनु भो । बहुदल आएपछि उहाँ २०५४ साल असोजमा उद्योगमन्त्री र २०५४ मंसिरमा रक्षामन्त्री हुनु भो । उहाँ रक्षामन्त्री हुने तराईको रैथाने समुदायको पहिलो व्यक्ति हुनुहुन्छ ।

सधैं प्रशासनको विरोध गर्ने र जनताको पक्ष लिने कारणले पंचायतकालमा रापंस हुँदा २०४४ सालमा उहाँलाई भेरी अंचलाधीश नवराज गुरुङ्ले राजकाज मुद्धा लगाएर थुनेका थिए । तर राजकाज मुद्धा लगाएको दुई वर्षमैं श्री ५ वीरेन्द्रले उहाँलाई कृषिमन्त्री नियुक्त गरिबक्सेको थियो ।

२०४७ साल वैसाखमा उहाँलाई मण्डले भनेर आन्दोलनकारी उपद्रवीहरुले कालो मोसो दलेर जुत्ताको माला लगाएर नेपालगंजको बजार घुमाएका थिए । त्यही दिन उहाँले त्रिभुवनचोकमा कालो मोसो दलेको अनुहार नपखालिकनै भाषण गर्दै भन्नु भएको थियो — ‘म छिटै फूलमाला लगाएर यही ठाउँमा आइपुग्ने छु’ ।
नभन्दै त्यसको ४ वर्ष मैं उहाँ प्रतिनिधी सभाको चुनाव जितेर फूलमाला पहिरेर त्यहि चोकमा भाषण गर्न आइपुग्नु भएको थियो । २०५१ सालमा बाँकेका तीनै क्षेत्रमा उहाँको दलले जितेर कीर्तिमान कोरेको थियो ।

२०४६ सालको परिवर्तनपछि उहाँ निरन्तर रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहनु भएको छ । आगामी निर्वाचनमा उहाँलाई पार्टीले समानुपातिक र खुला दुईटै सूचिमा सीफारिस गरेको छ ।

राजनीतिमा लागेर सबै सम्पत्ति सकेका श्री थारु थपुवा गाउँको आफ्नो पैत्रिक घर माओवादीले भत्काइदिएपछि अचेल नेपालगंजको घरवारी टोलमा बस्नुहुन्छ।

सरल जीवन र उच्च विचारका धनी श्री थारु अचेल नेपालगंजको धम्बोझीमा बस्नुहुन्छ । उहाँले आज फूलपातीको दिनमा आफ्नो ८४ औं जन्मदिन मनाउनु हुँदैछ ।

उहाँलाई हजार चन्द्रदर्शन (८४ औं जन्मोत्सव) को अवसरमा आज बिहान उहाँको निवासमा पुगेर हार्दिक शुभकामना टक्रयाउन पाउँदा अपार खुसीको अनुभूति भएको छ । उहाँ हाम्रो समयको जल्दोबल्दो व्यक्तित्व हुनुहुन्छ। उहाँबाट सदा प्रेरणा मिलिरहोस्।
जन्म दिनको हार्दिक शुभकामना ।

(चित्र साभार : गोविन्द पाण्डेय)

  • १६ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech