सामाजिक क्षेत्रका मुर्धन्य व्यक्तित्व कृष्णजंग

मन भण्डारी

कृष्णजंग शाह बाँके र बर्दिया जिल्लाको सामाजिक क्षेत्रको अनुभवी र पुराना व्यक्ति मध्येका एक हुन् । विगत ३० वर्षदेखि सामाजिक क्षेत्रमा आवद्ध भई अविछिन्न रूपमा अगाडि बढेका शाहले आफूलाई बर्दिया र बाँके जिल्लामा समाजसेवीको रूपमा चिनाउन सफल भएका छन् । भनिन्छ, सफलताको शिखर चुम्न त्यसले मात्रै सक्छ, जसले संघर्ष, असहजता र चुनौतीसँग मुकाबिला गर्न तयार हुन्छ । धेरै व्यक्तिहरूले पढेको विषय अनुरूप सोही क्षेत्रमा काम गर्दैनन्, जे पढ्छन् त्यो गर्दैनन् । धेरै व्यक्तिले पढेको सीपलाई समाजमा लग्दैनन् । कृष्ण जंग शाहले समाज शास्त्रमा स्नाकोत्तर गरेर फर्केपछि पढेको विषय अनुसार नै सामाजिक कार्य रोजे ।

एउटै कार्य क्षेत्रमा निरन्तर रूपमा लाग्ने र निरन्तरता दिने व्यक्ति कमै हुन्छ । धेरै व्यक्तिहरू आफ्नो व्यक्तिगत स्वार्थपूर्ति हुने र आफूलाई नाफा हुने कामको खोजीमा दौडिन्छन्, अवसर पाएपछि कार्य क्षेत्र बदल्छन्, पेशा बदल्छन्, अनि बढी भन्दा बढी सुख सुविधा प्राप्त गर्नेतर्फ केन्द्रित हुन्छन् । आफ्नो लागि भन्दा पनि समाजको हितको लागि काम गर्ने र जस्तोसुकै चुनौतीहरूको सामना गर्दै निरन्तर रूपमा एउटै पेशामा अविछिन्न लागिरहेको व्यक्ति कमै पाउन सकिन्छ आजको युगमा । त्यही कम व्यक्तिहरू मध्येका एक हुन्– शाह ।

बुवा स्व. टेकजंग शाह र आमा स्व. प्रेम कुमारी शाहको कोखबाट वि.सं. २०२१ साल फागुन २० गतेका दिन जाजरकोट जिल्लाको साबिक लह पञ्चायत हालः नलगाढ नगरपालिकामा जन्मिएका शाह २०६३ सालदेखि बाँकेको जानकी गाउँ पालिका वडा नं. ३ सद्भाव नगरमा बस्दै आएका छन् । शाहको जन्म जाजरकोटमा भए पनि उनको पुख्र्याैली घरबाट २०३० सालमा बर्दियाको दौलतपुरमा आएका थिए । सानै उमेरमा पहाडी इलाका जाजरकोटबाट तराई क्षेत्रमा बसोबास गर्न आउँदा तराईको वातावरणमा घुलमिल हुन शाहलाई समस्या भएको थियो । चिसो हुने क्षेत्रबाट अत्याधिक गर्मी हुने ठाउँमा आउँदा सुरुका केही वर्ष याहाँको वातावरणसँग घुलमिल हुन गाह्रो भएको कुरालाई शाहले जीवनको अविस्मणीय क्षणको रूपमा लिएका छन् ।

शाहको बाल्यकालका केही वर्ष आफ्नै जन्म स्थान जाजरकोटमा पढाइसँगै बिदाको समयमा नदीमा पौडी खेल्न जाने, नाचगान गर्ने, जात्रा (मेला) जाने र खेलकुदमा बित्यो । बाल्यकालमा पढाइ भन्दा खेलकुद मन पराउने शाहको बिशेषता थियो । माध्यामिक तहसम्मको अध्ययन गर्ने समयसम्म पढाइको साथमा खेलकुदलाई सँगै लगेका शाहले खेल खेल्न नेपालका विभिन्न जिल्ला र भारतको विभिन्न ठाउँमा पुग्ने अवसर पाएका थिए । भलिबल, फुटबल, क्रिकेट र ब्याडमिन्टन खेलमा उत्कृष्ट शाहले विभिन्न अवार्ड पाएका छन् ।

३ कक्षासम्मको अध्ययन राष्ट्रिय प्राथमिक विद्यालय जाजरकोटमा गरेका शाहले अमर शहिद दरशरथ चन्द माध्यामिक विद्यालय राजापुर बर्दियाबाट एसएलसी, डिएभी कलेज लखनउबाट प्रवीणता प्रमाणपत्र तह, अवध विश्व विद्यालय अयोध्याबाट समाजशास्त्र, मास कम्युनिकेशन र राजनीति शास्त्र गरी ३ वटा विषयमा स्नातकोत्तर पास गरेका छन् । सम्पन्न परिवारमा जन्मिएका उनले बाल्यकालमा आर्थिक अभावको कारणले कुनै समस्या भोग्नु परेको थिएन । शाहका बुबा जमिनदार र आर्थिक क्षेत्रमा सम्पन्न भएका कारण पनि शाहले कुनै अभावको महसुस गर्न परेन ।

समाज शास्त्रमा स्नातकोत्तर गरेर गाउँ फर्केपछि पढेको विषयसँग सम्बन्धित कार्य गर्ने इच्छा जागेर सामाजिक क्षेत्रमा आवद्ध भई कार्य गरेका शाहले हालसम्म पनि त्यो क्षेत्रलाई छोडेका छैनन् । वि.सं. २०५६ सालमा एमआरटिए काठमाडौंको कार्यकारी निर्देशक भइ काम गरेका शाहले जीवनको पहिलो जागिरे अनुभव गरेका थिए । ३ वर्ष सो कार्य गरेपछि शाहलाई सामाजिक क्षेत्रमा काम गर्ने उत्प्रेरणा मिलेको थियो । शाहले क्यानडिएन सिएलओ सहयोगमा एकीकृत विकास कार्यक्रमको सामाजिक विकास अधिकृत भएर ३ वर्ष काम गरेका थिए । त्यस भन्दा अगाडि नै २०४९ सालमा बर्दियाको राजापुर क्षेत्रका युवाहरू संगठित भई समाजको स्वास्थ्य, शिक्षा, मानवीय विकास, वातावरण संरक्षण र समग्र समाजको उत्थानका लागि काम गर्ने भावना जागेर आएपछि गेरुवा ग्रामीण जागरण संघ संस्था स्थापना गरेका थिए । जो शाहको परिकल्पना थियो । गेरुवा ग्रामीण जागरण संघका संस्थापक सदस्य रहेका शाह २०५८ सालदेखि संस्थाका अध्यक्ष छन् ।
सुरुमा सांस्कृतिक कार्यक्रम गर्ने, देउसी भैलो खेल्ने, सामुदायिक वन व्यवस्थापन गर्ने र सामाजिक विकासका काम गर्ने उद्देश्य बोकेर गेरुवा ग्रामीण जागरण संघ संस्था स्थापना भएको भए पनि पछि विस्तारै संस्थाको कार्यक्षेत्र फराकिलो बन्दै गयो । शाह उक्त संस्थाको स्थापनाकालदेखि हालसम्म निरन्तर काम गरिरहेका छन् । सुरुका केही वर्ष बर्दिया जिल्लामा कार्यालय स्थापना गरेर कार्य गरेको उक्त संस्थाको कार्यक्षेत्र फराकिलो बन्दै गएपछि नेपालगन्ज लगायतका ठाउँमा कार्यालय स्थापना भई संस्थाले कार्य गरिरहेको छ । बर्दिया र बाँके जिल्लामा सामाजिक क्षेत्रमा लामो अनुभव सङ्गालेका पुरानो व्यक्ति मध्येका एक शाहले यो अवधीमा विभिन्न संस्था, समिति, समूह तथा निकायमा विभिन्न पद तथा जिम्मेवारीमा रहेर कार्य गरिसकेका छन् । सामाजिक क्षेत्रलाई आफ्नो कर्म बनाएका शाह बर्दिया जिल्लाको गरिबी, अशिक्षा, रोग भोक, पछौटेपन, रुढीवादी ग्रस्त समाजमा घटिरहने घटनानै समाज सेवामा लाग्ने प्रेरणाको स्रोत भएको र सामाजिक क्षेत्रले नै आफ्नो पहिचान बनाएको बताउँछन् । सामाजिक क्षेत्रलाई आफ्नो अत्यधिक रुचिका साथ महत्व दिने शाह डा. आरजु राणा अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघको केन्द्रीय सदस्य, दर्शन सेवा समाजका सल्लाहकार, सद्भाव नगर नेपालगन्जको अध्यक्ष हुन् । शाह २०५३÷०५४ सालतिरका गैर सरकारी संस्था महासंघ नेपाल, बर्दिया शाखाको सभापति समेत हुन् । उनले गैर सरकारी संस्था समन्वय समिति बर्दियाको २ कार्यकाल अध्यक्ष भई जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

सामाजिक क्षेत्र र समाज सेवाको लामो अनुभव सङ्गालेका शाहले संस्था स्थापना गर्दा बर्दिया र बाँके जिल्लामा काम गर्ने सक्रिय संस्था ८÷१० वटा मात्रै थिए । शाहले नेतृत्व गरेको संस्थाले सुरक्षित मातृत्व, किशोरकिशोरी र बालबालिका, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, विपत व्यवस्थापन, मुक्त कमैया संरक्षण र सुरक्षित आवासको क्षेत्रमा सुरुदेखि नै काम गर्दै आएका छन् । सुरुमा बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई मात्रै कार्य क्षेत्र बनाएको संस्थाले विस्तारै बर्दिया जिल्ला हुँदै बाँके, कैलाली, कञ्चनपुर, दाङ, रोल्पा, डोटी र अछाम जिल्लामा हालसम्म ५२ वटा ठूला परियोजना मार्फत् काम गरिसकेको छ । शाहले नेतृत्व गरेको संस्थाको सहयोगले धेरै व्यक्तिहरूले आफ्नो अधिकारको प्रत्याभूति गर्न पाएका छन्, धेरै व्यक्तिहरूको क्षमता विकास भएको छ, धेरैले रोजगार पाएका छन्, धेरै गरिब तथा असहायहरूले आर्थिक लाभ पाएका छन्, धेरै सार्वजनिक संरचना बनेका छन् भने धेरै व्यक्तिहरूको समस्या समाधानमा संस्था सहयोगी बनेको छ ।
आफ्नो कारणले आएका विभिन्न परिवर्तनलाई हेर्दा शाहले धेरै धन सम्पत्ति कमाउन नसके पनि मान, सम्मान र प्रतिष्ठालाई सम्पत्तिको रूपमा लिएका छन् । ग्रामीण क्षेत्रमा स्थापना भएको संस्थालाई संस्थागत गर्न शाह सफल भएका छन् । शाहलाई बर्दिया र बाँके क्षेत्रका जनताले सामाजिक अभियन्ता तथा समाजसेवीको रूपमा चिन्दछन् ।

संस्था सँगसँगै शाहले राजापुरस्थित कालिका निम्न माध्यामिक विद्यालयको १ कार्यकाल (३ वर्ष) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिसकेका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा शाह विद्यालयको भौतिक पूर्वाधार निर्माण सँगै विद्यालयलाई मावि बनाउन सफल भएका थिए । सुरुका वर्ष निजी स्रोतबाट मावि संचालन गरिएकोमा पछि दरबन्दी कायम गर्न शाह सफल भएका थिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर शिक्षा सुधारको क्षेत्रमा काम गरेका शाहलाई क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले सम्मान गरेको थियो । सामाजिक क्षेत्रमा काम गर्दा विभिन्न अनुभव सङ्गालेका उनले सामाजिक क्षेत्रमा विभिन्न किसिमका समस्या र चुनौतीहरूको सामना गर्नु परेको अनुभव छ । निस्वार्थ भावनाले समाजका लागि काम गरिरहेको भए पनि समाज र राज्यमा अझैँ पनि गैर सरकारी संस्थाहरू समाजका लागि काम गर्छन् भन्ने सोचको विकास नहुँदा गैर सरकारी संस्थाहरूले डलरको खेती गर्छन् भन्ने भ्रम भएको शाहको भनाइ छ । सुरुमा संस्था स्थापना गरेर काम गर्ने समयमा गैर सरकारी संस्थाबीच प्रभावकारी समन्वय हुने गरेको, १÷२ महिनामा समन्वय बैठक बस्ने गरेको भए पनि अहिले गैर सरकारी संस्थाहरू बीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, समन्वय, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको अभाव रहेको शाह बताउँछन् ।

शाहले निस्वार्थ भावनाले सामाजिक क्षेत्रमा निरन्तर रूपमा काम गरे बापत विभिन्न निकाय तथा संस्थाबाट ३ दर्जन बढी पुरस्कार तथा सम्मान पाएका छन् । सामाजिक क्षेत्रमा काम गर्ने क्रममा शाहले नेपालको लगभग सबै क्षेत्र र भारतको केही ठाउँको भ्रमण गर्ने अवसर पाएका छन् भने सामाजिक क्षेत्रमा विभिन्न सफलता हासिल गरेका छन् ।

गैसस दर्ता ऐन संशोधन गर्न नेपाल सरकारलाई दिएको सुझाव कार्यान्वयन नभएको, गैर सरकारी संस्थालाई कार्यक्षेत्रको हिसाबले वर्गीकरण गर्न नसकिएको, संस्थाको दीर्घकालीन र नियमित स्रोतको व्यवस्थान गर्न नसकिएको, नेपाल सरकारले राम्रो काम गर्ने संस्थाको मूल्याङ्कन गर्ने वातावरण तयार नभएको लगायतका कार्य गर्न नसकिएको शाह बताउँछन् । बाँके र बर्दिया जिल्लामा रहेका सक्रिय संस्था र सामाजिक व्यक्तिसँगको सहकार्यमा बहुउद्देस्सीय स्रोत केन्द्र स्थापना गरी आर्थिक विकाससँग जोड्ने र जीवनयापनमा सहयोग गर्ने शाहको भाबी योजना हुन् । शाहको सामाजिक कार्यले सफलता पाओस् शुभकामना ।

  • १६ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech